'दण्डहीनताको विरोधमा अवार्ड बहिष्कार गरें'

काठमाडौंमा सुरु भयो फिल्म साउथ एसिया
कान्तिपुर संवाददाता

काठमाडौं — भारतका तपन बोस यस्ता फिल्ममेकर हुन् जो संस्थापन (इस्टाब्लिसमेन्ट) विरुद्ध लगातार लडिरहेका छन् । राज्यले दिन चाहेका दुइटा फिल्म अवार्ड त उनले अस्वीकारै गरिदिए । आफूले किन यस्तो गरेँ भन्नेबारे बोसले बिहीबार नेपाली दर्शकलाई बताए । उनी अहिले ‘फिल्म साउथ एसिया’ को एघारौं संस्करणमा भाग लिन नेपाल आएका छन् ।

‘अत्याचारविरुद्ध आवाज उठाउने नागरिकलाई सरकारले सुरक्षा दिएको छैन,’ बोसले भने, ‘उसले त बरु त्रास र अनुदारतालाई प्रश्रय दिइरहेको छ । सन् १९८० मा ब्यान्ड गरिएका मेरा फिल्मलाई जुरीहरूको पहलले अवार्ड मिल्यो । अहिले त जुरीले पहलले गर्न सक्ने अवस्थासमेत छैन ।’ रुलिङ पार्टीका कार्यकर्ताले खुलेआम वितण्डा मच्चाइरहँदा पनि सरकार मूकदर्शक बन्नुलाई उनले विडम्बना माने ।

दण्डहिनता मौलाउन दिएको विरोधस्वरूप अवार्ड रिजेक्ट गरेको उनले बताए । आफू मोदी सरकारको कदमप्रति असन्तुष्ट रहेको पनि बोसको भनाइ थियो । ‘उहाँ सधैं करोडका कुरा गर्नुहुन्छ,’ पत्रकारसमेत रहेका उनले ठटयौलो शैलीमा भने, ‘कहाँबाट ल्याउनुहुन्छ त्यत्रो पैसा !’

दक्षिण एसियाली डकुमेन्ट्री फेस्टिभलको पहिलो दिनमै बोसको फिल्म ‘द एक्सपेन्डेबल पिपल’ प्रदर्शन गरिएको थियो । यसमा उनले भारतका आदिवासीहरूमाथि राज्यले देखाएको खस्रो व्यवहार प्रस्तुत गरेका छन् । ‘सन् १९८१ देखि यो फिल्म खिच्न सुरु गरेको थिएँ,’ ५८ मिनेट लामो डकुमेन्ट्रीबारे उनले भने, ‘पुराना फुटेज धेरै छन् । पोहोर मात्र काम सकेको थिएँ ।’

आदिवासी को हुन्, के हुन्, विकासका नाममा तीमाथि कस्तो व्यवहार गरिएको छ भन्नेबारे डकुमेन्ट्रीमार्फत उत्तर दिन खोजेको बोसको भनाइ थियो । सन् २००६ मा लागू गरिएको ‘फरेस्ट राइट’ को गलत अर्थ लगाएर ‘विकासवादी’ हरूले जंगल छेउछाउ बस्ने आदिवासीलाई नै जंगल प्रयोग गर्न नदिएको घटनामाथि उनको फिल्म केन्द्रित छन् । आदिवासीमाथि भुटान, बर्मालगायत दक्षिण एसियाली मुलुकमा पनि राम्रो व्यवहार नभइरहेको बोसको बुझाइ छ । ‘व्यावसायिक प्रयोजनका लागि आदिवासीहरू आफ्नो ठाउँबाट लखेटिएका छन्,’ उनले भने, ‘तिनलाई सुरक्षा र स्वतन्त्रता दिनुको सट्टा सरकार बहकिएको छ ।’

बोसले नन–फिक्सन विधामा थुप्रै फिल्म बनाएका छन् । सन् १९८१ को ‘एन इन्डियन स्टोरी’ र १९८६ को ‘भोपाल : बियोन्ड जेनोसाइड’ का लागि उनलाई राष्ट्रिय फिल्म अवार्ड दिइएको थियो जुन उनले अस्वीकार गरिदिए । ती डकुमेन्ट्रीमा उनले भागलपुर प्रहरीले ट्रायलमा रहेका कैदीहरूका आँखा फुटाएको घटना र झन्डै २५ सयको ज्यान गएको ‘भोपाल ग्यास ट्राजिडी’ को यथार्थ समेटेका छन् । उनका ‘फ्रम बिहाइन्ड द ब्यारिकेड’, ‘झारखण्ड’, ‘द भल्नरेबल रोडयुजर’ जस्ता डकुमेन्ट्री पनि कहलिएका छन् ।

फिचर फिल्ममा चाहिँ किन हात नहालेको भन्ने प्रश्नमा उनी बोले, ‘फिचर फिल्म र डकुमेन्ट्रीमा खासै भिन्नता देख्दिनँ । डकुमेन्ट्री अलि बढी च्यालेन्जिङ छ जस्तो लाग्छ । फिल्म कथावाचनको शैली हो । यसलाई महँगो आर्ट फर्म मान्छु ।’ फिल्म समीक्षक समाज नेपाल (फिक्सन) सँगको अन्तरक्रियामा उनले प्रायोजित र स्वतन्त्र फिल्म निर्माणबारे पनि आफ्नो धारणा राखेका थिए । ‘इन्डिपेन्डेन्ट फिल्म–मेकिङमा निर्देशकले बिनारोकटोक आफ्नो कौशल देखाउन पाउँछ,’ उनले भने, ‘विषयले भन्ने कुरा तिनले जस्ताको तस्तै देखाउँछन् ।’

फेस्टिभलको पहिलो दिन बिहीबार ‘थर्टी टु सोल्स’ र ‘स्प्लिट इन्ड्स’ प्रदर्शन गरिए । साई नव खाम निर्देशित अघिल्लो डकुमेन्ट्रीमा एक वृद्धामार्फत म्यान्मारको ग्रामीण जनजीवन देखाइएको छ । पोर्चुगलको लिस्बन सहरमा नेपालीले चलाएको सैलुनभित्रको गतिविधि ‘स्प्लिट इन्ड्स’ मा समाविष्ट छ । ‘थेसिस–फिल्म बनाउनु थियो मैले,’ निर्देशक राजन कठायतले भने, ‘त्यो सैलुन नेपालीहरूको जक्सन रहेछ । त्यहाँको गतिविधिमार्फत विदेशमा नेपालीले बेहोर्ने कठिनाइ देखाउन खोजेको हुँ ।’

फेस्टिभलमा ‘वेलकम भ्यालेन्टाइन २०१७’, ‘टाइम भ्याम्पायर्स’, ‘ड्रिम्स अन हिल्स’, ‘प्वाइन्ट एन्ड सुट’, ‘द म्यान हु डाफ्र्ड द माउन्टेन्स’, ‘फ्लेम्स अफ फ्रिडम : द इच्छापुर डिक्लारेसन’ र ‘फायरफ्लाइज इन द अबिस’ पनि प्रदर्शित भए ।

शुक्रबारको सोमा ‘डान्सिङ विद डली’, ‘आक्स द सेक्सपर्ट’, ‘वर्मा स्टोरीबुक’ लगायत डकुमेन्ट्री देखाइनेछन् । फेस्टिभल आइतबारसम्म चल्नेछ ।

प्रकाशित : कार्तिक १७, २०७४ ०८:५६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

जेनिफर–एलेक्स “जुम्ल्याहा जस्ता”

कान्तिपुर संवाददाता

काठमाडौं — जेनिफर लोपेज र एलेक्स रोड्रिगेजको मायाप्रेम मौलाउँदो छ । यही वर्षको फेब्रुअरीदेखि उनीहरू सम्बन्धमा छन् । लोपेजकै पहलमा दुईबीच बातचित र भेटघाट सुरु भएको थियो । रेस्टुरेन्टमा खाजा खाइरहेका बेसबल खेलाडी एलेक्सलाई जेनिफरले ‘हे, म जेनिफर’ भन्दै अभिवादन गरेकी थिइन् ।

‘उनलाई देखेपछि मलाई के भयो कुन्नि,’ ४८ वर्षे जेनिफर भन्छिन्, ‘एलेक्स  भन्दै चिच्याइछु । म त्यस्तो गर्ने मान्छे होइन ।’

झन्डै बाह्र वर्षअघि मार्क एन्थोनीसँग वैवाहिक जीवन बिताइरहेकै बेला जेनिफरले एक्लेक्सलाई चिनेकी थिइन् । उनीहरूबीच हाई/हेलो सम्बन्ध थियो । तर, फेब्रुअरीमा एलेक्सलाई देख्दा आफू अनायसै उनीतिर तानिएको ‘जेनी फर द ब्लक..’ गायिकाले बताइन् । ‘म सेड्स अफ ब्लु शृंखलाको प्रोमोको सुटिङ सकेर निस्किएकी थिएँ,’ उनी भन्छिन्, ‘जिन्स, टिम्बरल्यान्ड जुत्ता, छोटो कर्ली कपालमा केटा जस्ती देखिन्थेँ । त्यस्तै लुक्समा एलेक्ससामु पुगेँ ।’

जेनिफरलाई हेर्दै एलेक्सले ‘तिमी राम्री देखिएकी छौ’ भनेछन् । उनले डिनरका लागि निम्ता गरेपछि जेनिफर रौसिँदै बाटो लागेकी थिइन् । पहिलो डेट होटल बेल–एयरमा भएछ । ‘उनी एकदम कन्फिडेन्ट भएर बसिरहेका थिए,’ जेनिफर भन्छिन्, ‘म पुगेपछि फतरफतर बोल्न थाले । आफ्नो व्यवसाय, खेल जीवन, भविष्यप्रतिको चिन्ता आदिबारे बताउन थाले । मैले चुपचाप सुनिरहेँ । त्यो डेटिङ थियो कि के ?’ 

भ्यानिटी फेयर म्यागाजिनसँगको कुराकानीमा स्टार जोडीले आफूहरूको पारिवारिक योजनाबारे पनि बताएका थिए । दुवैले आआफ्ना परिवार मर्ज गर्न लागेका रहेछन् । जेनिफरका म्याक्स र एमी जुम्ल्याहा सन्तान छन् भने एलेक्सका दुई छोरी छन् । आफूहरू समानान्तर जिन्दगी बाँचिरहेको र एकअर्काको साथले धेरै सहज भइरहेको उनीहरूले बताएका छन् । ‘हामी टीन्स जस्तै छौं,’ एलेक्स भन्छन्, ‘दुवै सिंह राशिका हौं । दुवै न्युयोर्कमा बस्छौं । दुवै ल्याटिनो (ल्याटिन अमेरिकी) हौं । यस्ता मिल्ने कुरा थुप्रै छन् ।’ 

प्रकाशित : कार्तिक १७, २०७४ ०८:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT