कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

पढ्न किन मन गर्दैनन् विद्यार्थी ?

जितेन्द्र साह

विराटनगर — दुई/चार दिन होइन, एक महिनासम्म छोरो विद्यालय नगएको थाहा पाएपछि विराटनगर–८, संगमचोककी ३५ वर्षीया सरस्वती धोबी छक्क परिन् । उनका छोरा विष्णु स्थानीय सरकारी विद्यालयमा कक्षा ७ मा पढ्छन् ।

पढ्न किन मन गर्दैनन् विद्यार्थी ?


विद्यालय जान्छु भनेर बिहान झोलासहित निस्कने उनी अन्यत्र खेलेर समय कटाउँदा रहेछन् । साँझ मात्र घर फर्कने हुनाले परिवारजनले कहिल्यै शंका गरेनन् । विष्णुकै स्कुले साथीहरूले भनेपछि उनी निराश भइन् ।
सरस्वतीका श्रीमान्को दुई वर्षअघि निधन भइसकेको छ । घरेलु कामदार, दुई सन्तानकी आमा उनले गरिबीले गर्दा जेठो छोरालाई पढाउन सकिनन् । जेठो छोरा र उनले आफ्नै पौरखले कान्छोलाई धेरै पढाउने धोको लिएका छन् । बरालिएको थाहा पाएर धेरै सम्झाइबुझाइ गरे पनि उनी पढ्न जान मानेनन् । छोराको भविष्यको चिन्ताले पिरोलिएकी उनी ढिलो नगरी विद्यालय पुगिन् र प्राचार्यसँग सम्झाइबुझाइ गरिदिन अनुरोध गरिन् । प्राचार्य परामर्शदातासहित विष्णुलाई भेट्न घरै पुगे ।
‘केही साथीले कागतको डल्लो बनाएर छात्रालाई हिर्काउँछन्, कसले फाल्यो भनेर सोधेपछि मतिर देखाइदिन्छन्, अनि सधैं मैले गाली र कुटाइ खानुपर्छ,’ विष्णुले भने, ‘धेरै पटक कक्षा शिक्षकलाई भन्दा पनि सुन्नुभएन ।’ त्यसैले आफूलाई विद्यालय जान मन नलागेको उनले बताए ।
कक्षाभित्रको माहोलले गर्दा विष्णुलाई पढाइप्रति अरुचि भएको प्रस्टियो । अबदेखि कसैले दु:ख नदिने विश्वास दिलाउँदै प्राचार्यले उनलाई विद्यालय बोलाए । त्यो अघि नै उनले शिक्षक एवं विद्यार्थीसँग छलफल गरिसकेका हुनाले विष्णुलाई फेरि कक्षाकोठामा कुनै समस्या भएन । उनी अहिले आनन्दले विद्यालय गइरहेका छन् ।
‘प्राचार्य एवं शिक्षकको सहयोगले गर्दा बाबु मन लगाएर पढ्न थालेकोले म धेरै खुसी छु,’ सरस्वतीले सुनाइन्, ‘आखिर जेठो छोरो र म उसकै पढाइको लागि अर्काका लुगा धोएर र भाँडा माझेर एक–एक पैसा जोडिरहेका छौं ।’
यस्तै, अर्को घटनामा शिशु कक्षामा पढ्ने मोरङको कटहरी गाउँपालिकाकी स्वस्तिका शर्मा सन्चो नभएर धेरै दिनसम्म विद्यालय जान पाइनन् । पहिलो दिन विद्यालय जाँदा र प्रार्थना गर्ने बेला उनी रोइरहिन् । माया गरेर सोध्दा उनले भनेको सुनेर शिक्षकहरू मुस्कुराए । धेरै दिनपछि विद्यालय आएको हुनाले मिसले पिट्ने हुन् कि भनेर उनी डराइरहेकी थिइन् । गुरुआमाले ‘छोरीसँग आज धेरै खेल्ने र रमाइलो गर्ने’ भनेपछि उनी तुरुन्तै हाँस्न थालिन् ।
पाँच कक्षा पढ्ने मोरङको धनपालथान गाउँपालिकाका आदित्य सहनी विद्यालय जाने बेलामा भोजन खाएपछि जहिल्यै बान्ता गर्थे । छोरालाई सन्चो भएन भन्दै चिकित्सकोमा लग्दा कुनै रोग फेला परेन । मनोचिकित्सककोमा लानुपर्‍यो । यस्तो हुने कारण झनै रोचक थियो । सानैदेखि फास्टफुड खाने बानी परेको उनलाई दाल, भात र तरकारी नरुचेर त्यस्तो भएको रहेछ । अभिभावक एवं चिकित्सकको प्रयासपछि बल्ल उनमा सामान्य भोजन खाने बानी बसेर समस्या समाधान भयो ।
घर, विद्यालय एवं वरिपरिको वातावरणमा गडबडी, मनोवैज्ञानिक डर र आलस्यताले गर्दा विद्यालय जान नचाहने तथा पढ्न मन नगर्ने प्रवृति देखिएको विराटनगरका प्राध्यापक एवं मनोपरामर्शदाता दुर्गा चुडालले बताए । ‘यथार्थ नबुझी बालबालिकालाई शारीरिक एवं मानसिक यातना दिनु वा बलजफती गर्नुहुन्न,’ उनले भने, ‘ऊ किन विद्यालय जान चाहँदैन वा उनलाई किन पढ्न मन लाग्दैन भन्ने कारण खोतलेपछि समस्याको हल निस्किहाल्छ ।’
मोरङको बुढीगंगा गाउँपालिकामा घर भएका कक्षा–८ का विद्यार्थी नवीन नेपाललाई
पढ्नमा भन्दा मोबाइल र टीभीमा बढी रुचि हुन्थ्यो । बाआमाले जतिभन्दा उनको बेहोरामा सुधार आएन । ती सामग्रीको अत्यधिक प्रयोगले कसरी पढाइमा ध्यान नजाने गरेको र जाँच बिग्रने गरेको एक मनोपरामर्शदाताले बुझाएपछि नवीन छक्क परे । पढाइमा असर पर्ने चिजबिजबाट उनी अहिले
टाढा बस्छन् ।
सामाजिक अध्ययन पढाउने विराटनगरका शिक्षक महेश गौतमले आफ्नो विद्यालयमा मासिक २/४ वटा यस्तो समस्या आउने गरेको बताए । अभिभावकको सहयोग, निजी अनुसन्धान, जम्काभेट र विद्यार्थी लगायतबाट यस्तो सूचना आउने गरेको उनले बताए । ‘सहजीकरण र सम्झाइबुझाइबाट समाधान भएको छ,’ शिक्षक गौतमले भने, ‘एउटै विद्यार्थीमा यो समस्या कमै दोहोरिएको देखिएको छ ।’
बालबालिकाले विद्यालय जान नमान्ने, खाने वा पढ्ने बेलामा विभिन्न बहानाबाजी गरिरहेको छ भने सदैव हल्कामा लिन नहुने मनोचिकित्सकहरूले बताए । स्थानीय वरिष्ठ मनोचिकित्सक डा. रोशन पोखरेलले आफ्नोमा मासिक एक/दुई यस्ता बालबालिका उपचारका लागि आइपुग्ने गरेको बताए । परामर्शबाटै यस्ता मनोवैज्ञानिक समस्याको समाधान निस्कने गरेको उनले बताए ।
आवश्यकताअनुरूप अभिभावक, बालबालिका र शिक्षकलाई एक्लाएक्लै भेटेर एवं एकसाथ राखेर उपचार वा हल खोज्ने गरिएको डा. पोखरेलले बताए । ‘बाहयरूपले सामान्य देखिने कुराहरूले बाआमा र बालबालिकाको जीवनमा नकारात्मक असर पारिरहेको हुन्छ,’ उनले भने, ‘घरमा अशान्ति हुन्छ, कोही खुसी हुँदैनन् ।’ डा. पोखरेलका अनुसार सानैदेखि सामान्य खाना र सन्तुलित जीवनमा जोड दिनुपर्छ । ‘चाउचाउ, बिस्कुट वा भुजियाजस्तो फास्टफुड खाने बानी परेमा बालबालिकालाई दाल, भात र तरकारीजस्तो सामान्य खाना मन पर्दैन,’ उनले भने, ‘बलजफती खुवाउन खोजेमा बान्ता गर्छन्, यो स्वास्थ्यमा होइन, आनीबानीमा समस्या हो, त्यही भएर सुरुदेखि ध्यान दिनुपर्छ, जिब्रोमा स्वस्थ भोजनको स्वाद बसाल्नुपर्छ ।’ साना बालबालिकादेखि किशोरकिशोरीसम्मका फरक उमेर समूहका समस्याहरू व्यक्ति विशेषमा पनि फरक पर्ने भएकाले त्यसप्रति अभिभावक र शिक्षकले बेलैमा ध्यान पुर्‍याउन जरुरी हुने विज्ञ सुझाउँछन् ।

प्रकाशित : मंसिर १५, २०७४ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?