२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

रिप म्याल्कम

हिमेश

काठमाडौं — ओजी ओसबर्नले ट्वीट गरेका छन्, ‘फेरि एक जना साथी म्याल्कम योङ हामीबाट टाढिए । उनको खुबै सम्झना आउनेछ ।’ गत साता विश्व संगीतले निकै उम्दा रिदम गितारिस्ट म्याल्कमलाई गुमायो ।

रिप म्याल्कम

ओजी ओसबर्नले पनि आफ्ना भावना लुकाउन सकेनन् । उनका लागि म्याल्कम साँच्चै प्रिय साथी थिए । मेटालिका फाउन्डर डेभ मुस्टेनलाई पनि विश्वास नै भएन, म्याल्कम रहेनन् भनेर । मेगाडेथका यी गायकले पनि ट्वीट गरे, ‘म्याल्कमको मृत्युमा मलाई विश्वास नै छैन ।’ 

म्याल्कम अर्थात् एसी/डीसीका संस्थापकमध्ये एक । सन् १९७३ तिर उनले आफ्ना भाइ एन्गस योङसँग मिलेर एउटा रक ब्यान्ड बनाएका थिए, जुन पछि गएर साँच्चै लिजेन्डरी सावित भयो । रक एन्ड रोलको खास स्वाद पाइन्छ, एसी/डीसीका गीतमा । यो ब्यान्डका जति पनि गीत छन्, त्यसको लेखनमा म्याल्कमको कुनै न कुनै भूमिका छ । अझ भनौं, स्कुल ब्वाई ड्ेरसमा देखिने आफ्ना भाइ एन्गससँग मिलेर उनले लगभग एसी/डीसीका सबै गीत लेखे । 

जस्तै, ‘हाई वे टु हेल’, ‘टीएनटी’, ‘ब्याक इन ब्ल्याक’ र ‘फर दोज एबाउट टु रक’ । केही दिन अगाडि मात्र म्याल्कमको सिड्नीमा अन्तिम संस्कार पनि गरियो । त्यसमा एसी/डीसीका अहिलेका लगभग सबै ब्यान्ड सदस्य थिए । त्यसमा एन्गस त हुने नै भए । अन्त्येष्टिमा एन्गस आफ्ना गितारसहित आएका थिए र त्यहाँ म्याल्कमको सम्मानमा एक गीत पनि गाए । आफ्ना दाइबिना अब एसी/डीसी ? एन्गसको भाषामा यस्तो हुन्छ भनेर कहिल्यै सोचिएको थिएन ।

एन्गस राम्रा गितारिस्ट भए पनि उनलाई स्टेजमा सम्हाल्नुपथ्र्यो, समय–समयमा । उनलाई त्यति बेला बहकिनबाट रोक्ने कोही थिए भने ती म्याल्कम नै थिए । त्यसैले त एन्गसले एकपल्ट भनेका थिए, ब्यान्ड टिकाउन ईश्वरीय शक्ति चाहिन्छ भने ती यिनै म्याल्कम हुन् । यी दाजुभाइ खुबै मिल्थे, विशेषत: संगीतका लागि । धेरै एन्गसलाई ब्यान्डका फ्रन्टम्यान भन्छन् । तर एन्गस आफैं भने ब्यान्डका खास फ्रन्टम्यान मान्छन्, आफ्नै दाइलाई । 

पछिल्लो समय म्याल्कमले स्वास्थ्यका कारण ब्यान्ड छाडेका थिए । उनी बिरामी थिए । धेरै अगाडि पनि एकपल्ट उनी ब्यान्डमा अनुपस्थित रहेका थिए । तर छोटो समयका लागि । सबैको अपेक्षाअनुसार त्यति बेला रिसाएका म्याल्कम केही दिनमै फेरि ब्यान्डमा फर्के । रिस मरेपछि उनी कसरी ब्यान्डसँग टाढिन सक्थे र ? सन् १९७३ देखि २०१४ सम्म उनी लगातार ब्यान्डसँगै जोडिए । केही वर्ष भयो, उनको स्वास्थ्य खराब हुन थालेको । नोभेम्बर १८ मा त हो, म्याल्कमले मृत्यु आत्मसात् गरेको । 

त्यति बेला उनी ६४ वर्षका थिए । यो ब्यान्ड इंग्ल्यान्डमा खुबै लोकप्रिय छ । त्यसैले उताका ब्यान्ड प्रशंसकले म्याल्कमप्रति सम्मानमा एउटा अनौठो उपाय निकालेका छन् । क्रिसमसको वरिपरि एसी/डीसीका गीतलाई फेरि ब्रिटिस चार्ट्सको नम्बर १ मा पुर्‍याउन । अहिले उता अभियान जस्तै चलिरहेको छ, यसका लागि । कोही लिजेन्डरी फिगरको मृत्युमा ब्यान्डका एल्बम फेरि नाटकीय रूपमा बिक्री हुने गर्छ, अहिले एसी/डीसीलाई लिएर त्यस्तै भइरहेको छ । 

एसी/डीसीको परिचय अस्ट्ेरलियन ब्यान्डका रूपमा छ । सिड्नीतिर उनीहरूले आफूलाई स्थापित गरे । तर योङ दाजु भाइ खासमा स्टकल्यान्डका हुन्, ग्लास्गो उनीहरूको जन्म सहर । सन् साठीको अन्त्यतिर उनीहरू अस्ट्ेरलियातिर बसाइँ सरे, उतैका भए । एसी/डीसी गायक ब्रायन जोन्सन आफ्नो शक्तिशाली स्वरका लागि चिनिन्छन् । उनका अनुसार पनि म्याल्कम नै ब्यान्डका ती सदस्य थिए, जसले ब्यान्डलाई एकजुट राखे । नत्र उहिल्यै ब्यान्ड रहने थिएन । 
रिप म्याल्कम । 

twitter : @himeshratna

प्रकाशित : मंसिर १५, २०७४ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?