लक्ष्य पछ्याइरहेको चीन

दुर्गा खनाल

काठमाडौं — चीनको पछिल्लो आर्थिक सुधारको पहिलो विन्दु नै १९७८ लाई मानिन्छ । तङ सियाओ पिङको नीतिलाई पछ्याउँदै अगाडि बढेको चीनले १९८७ मा चिनियाँ कम्युनिस्ट पार्टीको तेर्‍हौं सम्मेलनबाट ‘तीन चरणको रणनीति’ पारित गर्‍यो । जसमा पहिलो चरणमा १९९० सम्म आय वृद्धि दोब्बर गर्ने, सन् २००० सम्म जनताको जीवनस्तर राम्रो बनाइसक्ने र शताब्दीको आधासम्म विकसित मुलुकको सूचीमा पुग्ने, आधुनिक र समृद्ध बन्ने । यही रणनीतिअन्तर्गत चीनले आर्थिक प्रगति गरिरहेको छ । अहिले तेस्रो अर्थात् आधुनिक र समृद्ध बन्ने चरणमा छ ।

बेइजिङस्थित ‘ग्रेट हल अफ दी पिपल’ मा राष्ट्रपति सी चिनफिङले ‘चिनियाँ विशेषतासहितको समाजवाद’ ले कसरी सफलता हासिल गरिरहेको छ भन्ने फेहरिस्त प्रस्तुत गरिरहंँदा झन्डै १ सय ४० किलोमिटर टाढा थ्यान्जिन सहरको पांँचतारे ‘ग्रान्ड भ्यु होटल’ मा ठीक त्यही विषयको कक्षा चलिरहेको थियो ।

अक्टोबर तेस्रो साता चिनियाँं कम्युनिस्ट पार्टी (सीपीसी) को १९ औं राष्ट्रिय सम्मेलनले विश्वको ध्यान खिचेको थियो । चिनियाँ टेलिभजनमा सी चिनफिङका नयाँ र पुराना भिडियो फुटेजहरू शृंखलाबद्ध रूपमा प्रस्तुत भइरहेका थिए । विश्वभरका सञ्चारमाध्यमहरूले उक्त सम्मेलनलाई नजिकबाट नियालिरहेका थिए । सीपीसीको सम्मेलनबारे थरीथरी एंगलबाट ‘मिडिया कभरेज’ भइरहेका बेला ग्रान्ड भ्यू होटलको कक्षामा साक्षात्कार गर्न हाजिर थिए, चीनको राष्ट्रिय सूचना केन्द्रका वरिष्ठ अधिकारी ऊ सियाओ झिन । उनको विषय थियो— चिनियाँ विशेषताको समाजवाद के हो ? र, चीनले आर्थिक प्रगति कसरी गरिरहेको छ ?

चीन सरकारको प्रायोजनमा सञ्चालित २१ दिने सेमिनार ‘कन्स्ट्रक्सन एन्ड म्यानेजमेन्ट अफ साइन्टिफिक एन्ड टेक्नोलोजिकल पार्क फर एसियन कन्ट्रिज–२०१७’ ले मलाई चिनियाँ विकासबारे बुझ्ने र उनीहरूका अनुभूति सुन्ने अवसर जुटाएको थियो । संयोग यस्तो पर्‍यो कि, त्यति नै बेला चिनियाँ कम्युनिस्ट पार्टीको सम्मेलनले सीलाई नयाँ कार्यकालका लागि दोहोर्‍याएन मात्र, ‘सी चिनफिङ विचारधारा’ नै पारित गर्‍यो । यो सब कसरी सम्भव भयो ? यही प्रश्न मथिंगलमा खेलिरहेका बेला वरिष्ठ अधिकारी झिनले दिएको तथ्य र विश्लेषणभित्र त्यसको जवाफ भेटियो । ‘पछिल्लो समय हाम्रो नेतृत्वले भ्रष्टाचार अन्त्य, रोजगारी सिर्जना र प्रविधि विकासजस्ता कदम चालेकोप्रति जनता खुसी छन् र यही नेतृत्वले थप प्रगति गराउन सक्छ भन्नेमा विश्वस्त पनि छन्,’ उनको भनाइ थियो, ‘जनताले भरोसा गर्ने नेतृत्व छ भने यसमा अरूले टाउको दुखाइराख्नुपर्दैन ।’

झिनले यस्तो भनिरहँदा पश्चिमा सञ्चारमाध्यमहरू सीले अधिनायकवादी बाटो पक्रे, उनी चीनलाई आफ्नो औंलामा नचाउन चाहन्छन्जस्ता विश्लेषण गरिरहेका थिए । तर यसप्रति चिनियाँहरू त्यति परबाह राख्दैनन् । ‘पश्चिमाहरू चीनबारे अलि बढी अफवाह फैलाउन खोज्छन्’ भन्ने चिनियाँहरूले बुझेका छन् । त्यसैले उनीहरूको विश्लेषणमाथि दिमाग ख्याउने झन्झट गर्दैनन् । उनीहरू केवल आफ्नो आत्मविश्वास प्रकट गर्छन्, झिनले प्रस्तुत गरेको झन्डै चार दशकयताको प्रगतिको तथ्यकथाले त्यसलाई झल्काउँथ्यो ।

‘टार्गेट अमेरिका’

१९७८ मा चीन विश्व व्यापारको ३२ औं नम्बरमा पर्‍थ्र्यो । ‘क्लोज इकोनोमी थियो । त्यसयता खुला अर्थतन्त्र अँगालेको चीन अहिले उक्त सूचीमा पहिलो नम्बरमा उक्लिसकेको छ । सन् २०१० देखि विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक बनेको छ । १९७८–२०१६ को तुलना गर्ने हो भने सहरियाहरूको आय ३४३ युआनबाट बढेर ३३ हजार ६ सय १६ पुगेको छ । गाउँलेहरूको आय १३४ बाट बढेर १२ हजार ३ सय ६३ पुगेको छ । अर्थात् औसत साढे ७ प्रतिशतको आर्थिक वृद्धिसँगै प्रतिव्यक्ति आय झन्डै १५ गुणा बढेको छ ।

अब चीनको मुख्य ध्यान नै कसरी आर्थिक रूपमा पहिलो मुलुक बन्ने भन्नेमा केन्द्रित छ । यो मामिलामा राष्ट्रपति सी र अन्य नागरिकले बोल्ने भाषा करिब एउटै छ । हरेक विषयको उदाहरण उनीहरू अमेरिकासँंग तुलना गरेर दिन्छन् । २१ दिन लामो यात्राका क्रममा भेटिएका व्यक्ति र कक्षामा आएका स्रोत व्यक्तिहरू कसैले पनि अरू मुलुकको नामै लिएनन्, अमेरिका बाहेक ।

‘अमेरिकाले यो गरिरहेको छ’, ‘हामी यो गर्दै छौं’ र ‘यहाँ पुग्छौं’ भन्ने वाक्यांश पटक–पटक दोहोर्‍याइरहे उनीहरूले । त्यो लक्ष्य हासिल गर्ने बाटो भनेको ‘चिनियाँ विशेषतासहितको समाजवाद’ हो भनी सी विचारधाराको प्रशंसा गर्न झन् उनीहरू कसैले छुटाएनन् ।

पूर्वाधार, व्यापार, आविष्कार, प्रविधिमा चीनले गरेको प्रगतिको प्रमाण आँखैले देखेपछि उनीहरूका सपना झूटा लाग्दैनन् । चीनका पाँंच ठूलामध्येमा पर्ने सांघाई, बेइजिङ र थ्यान्जिन भ्रमणका क्रममा देखिएका विकास र प्रगति खास छ । चिल्ला फराकिला सडक, गगनचुम्बी भवन, बाहिरबाट हेर्दा झट्ट देखिने विकासका सूचक हुन् । तर ती गगनचुम्बी भवनभित्र भइरहेका काम त्योभन्दा बढी विकसित खालका छन् । ‘थ्यान्जिन इकोनोमिक एन्ड डेभलपमेन्ट एरिया’ (टेडा) त्यस्तै काम गर्ने एउटा क्षेत्र हो । त्यहाँको गगनचुम्बी भवनभित्र मोटर कम्पनीदेखि, जुस फयाक्ट्री, अनलाइन मार्केटदेखि ‘इको सिटी’ सम्म अटाएका छन् । हजारौं व्यक्ति त्यहाँ काम गरिरहेका छन् । अपार्टमेन्टमा बस्ने ती कामदारको सामाजिक सुरक्षाको पूर्ण व्यवस्था गरिएको छ । सिंगापुर सरकारसँग मिलेर ‘सिनो–सिंगापुर इकोलोजिकल सिटी’ बनाइएको छ । सिंगापुरकै डिजाइनमा बनेको उक्त वातावरणमैत्री क्षेत्रमा कुनै प्रदूषण छैन ।

सांघाईबाट झन्डै ५० किलोमिटर टाढाको ‘सुजो’ सहर पुग्दा विकासको अर्को नमुना भेटिन्छ । पूर्ण रूपमा वातारणीय सन्तुलत कायम गर्ने गरी विकास गरिएको यो सानो सहर छिर्दा पनि अर्कै संसारमा पुगेजस्तो अनुभव हुँदो रहेछ । सिंगापुरसँग मिलेर विकास गरिएका यी सहर र क्षेत्र हेर्दा राष्ट्रपतिले सी चिनफिङले १९ औं सम्मेलनमा गरेको वातवरणमैत्री सहर र प्रविधि विकासको उद्घोष व्यवहारमा कार्यान्वयन भइरहेको भान हुन्छ । थ्यान्जनिकै ‘हाउताई’ मोटर कम्पनीले बर्सेनि झन्डै १० लाख विद्युतीय कार उत्पादन गरिरहेको छ । वातावरणमैत्री अभियानलाई सफल पार्ने हाउताईजस्ता अन्य कम्पनीहरू पनि चीनमा बढिरहेका छन् ।

‘सियोबाट फाली’
चीनलाई बुझ्ने नेपाली विश्लेषकहरूले बेलाबखत टिप्पणी गर्छन्, ‘चीन कुनै स्थानमा सियो बनेर छिर्‍यो भने फाली बनेर निस्कन्छ ।’ यो टिप्पणीको अर्थ खोज्न धेरै भौतारिनु परेन । सुहाउँंदो उदाहरण दिने व्यक्ति भेटिए— वाङ काई । एक दिन दुईटा सेसन गरी झन्डै ६ घण्टा लामो कक्षा लिएका यी पाका मान्छेले मोबाइल प्रविधिमा चीनले कसरी प्रगति गर्‍यो भन्ने अनुभव सुनाए । अमेरिकाको ‘मोटोरोला’ कम्पनी कसरी चिनियाँहरूको पोल्टा पुग्यो र अहिले नयाँ चिनियाँ मोबाइल कम्पनीले कसरी प्रगति गरिरहेका छन् भन्ने फेहरिस्त प्रस्तुत गरे उनले ।

वाङका अनुसार चीनको बजार र सस्ता कामदार देखेर ‘मोटोरोला कम्पनी’ त्यहाँ छिरेको थियो । तर त्यसबेला चिनियाँहरू मोबाइल प्रविधिसँग अपरिचित थिए । मोटोरोला कम्पनी आएपछि चिनियाँहरूले उसबाट प्रविधि सिक्न पाए । केही युवालाई प्रविधि सिक्नकै लागि अमेरिका नै पठाइयो । मोबाइल कसरी उत्पादन गर्ने भन्ने प्राविधिक ज्ञान हासिल गरेपछि मोटोरोला कम्पनीमा काम गर्नेहरू बिस्तारै कम्पनीबाट बाहिरिए । आफैं नक्कल गर्दै नयाँ मोबाइल बनाउन थाले । ‘सुरुमा कपी गरिएका मोबाइलहरूको गुणस्तर राम्रो भएन,’ उनले सुनाए, ‘तर अध्ययन गर्ने र सुधार गर्ने क्रम रोकिएन ।’ नयांँ मोबाइलहरू आउन थालेपछि बिस्तारै मोटोरोलाको बजार खस्किन थाल्यो । सन् २०१३ मा आइपुग्दा त टाटै पल्टिने अवस्था आएपछि मोटोरोला चिनियाँ कम्पनी ‘लेनोभो’ संँग मर्ज भयो । अहिले चिनियाँ मोबाइलहरूले आफ्नै बजार विस्तार गरिसकेका छन् । संसारका अन्य ठूला मोबाइल कम्पनीहरूकै हाराहारीमा पुगेका छन् । ‘अहिले हामी आफैं नयाँ प्रविधि आविष्कार गर्न सक्ने भइसकेका छौं, ‘हुवावे’ जस्तो ब्रान्डले अहिले संसारका धेरै मुलुकमा राम्रो व्यापार गरिरहेका छन्,’ वाङले भने ।

कुनै बेला एप्पलको आइफोनका लागि चिनियाँहरू मरिहत्ते गर्थे । तर अझ राम्रो फिचर भएका मोबाइल सस्तोमा पाउने भएपछि बिस्तारै आइफोनप्रतिको आकर्षण घटिरहेको दाबी वाङको छ । मोबाइल मात्र होइन, आफूसँग नभएको प्रविधि अन्यबाट नक्कल गर्ने र त्यसलाई आफ्नो तरिकाले सुधार्दै बजारमा स्थापित हुने यो काइदा वाङबाट सुनेपछि ‘सियो बनेर छिर्ने र ‘फाली’ बनेर निस्कने टिप्पणी साँच्चै सही लाग्यो ।

पश्चिमा सञ्चारमाध्यमहरू सीले अधिनायकवादी बाटो पक्रे, उनी चीनलाई आफ्नो औंलामा नचाउन चाहन्छन्जस्ता विश्लेषण गरिरहेका थिए । तर यसप्रति चिनियाँहरू त्यति परबाह राख्दैनन् । ‘पश्चिमाहरू चीनबारे अलि बढी अफवाह फैलाउन खोज्छन्’ भन्ने चिनियाँहरूको बुझाइ छ । त्यसैले उनीहरू पश्चिमा विश्लेषणमाथि दिमाग ख्याउने झन्झट गर्दैनन् । केवल आफ्नो आत्मविश्वास प्रकट गर्छन् ।

यसको अर्थ चीन अरूको ‘कपी’ मात्र गर्छ भन्ने होइन । उसका आफ्ना उत्पादनले अहिले विश्व बजारमा कब्जा जमाइरहेका छन् । चिनियाँ माल कमसल मात्र हुन्छ भन्ने मान्यता तोडिइसकेको छ । आवश्यकताअनुसार जस्तो गुणस्तरको सामान पनि भेटिन्छ । कुनै बेला अरूसँग प्रविधि सिक्नुपर्ने अवस्थाबाट गुज्रिएको चीन अहिले आफ्नै आविष्कार अरूलाई निर्यात गर्ने अवस्थामा पुगिसकेको छ । चीनको सबैभन्दा ठूलो र तीव्र गतिको रेल सञ्जाल र प्रविधिले विश्वको ध्यान खिचेको छ ।

वाङकै भनाइलाई आधार मान्ने हो भने अहिले चीनले ‘नयाँ प्रविधिको­ ‘एयरक्राफ्ट’ निर्माण गरिरहेको छ । उनले हवाइजहाजलाई ‘ए’ ‘बी’ र ‘सी’ भनेका छन् । ए भनेको एयरबस, बी भनेको बोइङ र सी भनेको चाइनिज जहाज । जुन एयरबस र बोइङभन्दा फरक हुन्छ र त्यो चनाइनिज जहाजका रूपमा ब्रान्डिड भइरहेको छ । ‘सांघाईमा हाम्रै मोडलको एयरक्राफ्ट बन्दै छ,’ उनले भने, ‘यो ‘सी’ जहाजमा हामी हाम्रो प्रविधि प्रयोग गर्दै छौ, न्युक्लियर प्रविधिमा पनि हामी आफैं सक्षम भइसकेका छौं, अब कुनै पनि प्रविधिमा हामी कोहीभन्दा कम छैनौं ।’

चिनियाँ प्रविधि सिक्न अन्य विकसित मुलुकहरूबाट चीन भित्रिनेको संख्या पनि पछिल्लो समय बढेको छ । कुनै बेला अन्य देशमा सिक्ने जाने चिनियाँहरू अहिले आफ्नो देशमा पढ्न र सिक्नका लागि बोलाउने गर्छन् । चिनियाँ विश्वविद्यालयहरूले विदेशीहरूको छात्रवृत्तिको संख्या बढाएका छन् । आफ्नो विकास र प्रगतिको कथा सुनाउन, देखाउन उनीहरूले बर्सेनि हजारौं विदेशीलाई सेमिनार र भ्रमणका लागि निम्त्याउँछन् । र, ती भ्रमण–सेमिनारमा ‘चिनियाँ विशेषताको समाजवाद र आर्थिक प्रगति’ शीर्षकका विषय भने छुट्दैनन् ।

अलिबाबा भर्सेस मल
इन्टरनेट प्रविधिलाई प्रयोग गरेर डिजिटल कारोबार गर्ने क्रम बढेको छ । यसले बिस्तारै पुरानो बजार प्रणालीलाई धक्का दिइरहेको छ । चीनको ‘अलिबाबा’ कम्पनी नै त्यस्तो एउटा सफल उदाहरण हो जो अनलाइन व्यापारबाटै धनी बन्ने विश्वका दसवटा धनी कम्पनीहरूमध्ये पर्छ । चिनियाँ सामान बिक्री गर्नका लागि ज्याक माले १९९९ खोलेको ‘अलिबाबा डट कम’ वेब पोर्टलले अहिले अनलाइन व्यापारको साम्राज्य खडा गरिरहेको छ । कुनै बेला चिनियाँहरूलाई अंग्रेजी सिकाउने यी दार्शनिक गुरुले अमेरिका पुगेपछि चिनियाँ सामान बिक्री गराउने ‘आइडिया’ अनुसार यो वेबसाइट खोलेका थिए । एउटा कोठाबाट सुरु गरेको उनको व्यापारको सञ्जाल संसारका झन्डै २०० मुलुकमा पुगिसकेको छ । पछिल्लो तथ्यांकअनुसार मासिक झन्डै ५५ करोडभन्दा बढी मोबाइल फोन प्रयोगकर्ताहरूले अनलाइनमार्फत् अलिबाबासँग कारोबार गर्छन् । राम्रा सामान उत्पादन गर्नेबित्तिकै कम्पनीहरू ‘अलिबाबा’ संँग पुग्छन् र किन्न चाहने ग्राहकहरू पनि मोबाइलको कि प्याडमा औंला दबाउँदै सम्पर्क गर्छन् ।

व्यस्त जीवनशैली र गुणस्तरीय सामान खोज्ने मानिसलाई ‘अलिबाबा’ को जस्तो अनलाइन कारोबारले सजिलो बनाइदिएको छ । अलिबाबा त एउटा उदाहरण मात्र हो यस्ता धेरै कम्पनी चीनमा चलिरहेका छन् । प्रविधिसँगै विकसित नयाँ बजार प्रणालीले पुरानो बजारलाई चाहिं धक्का दिने हो कि भन्ने चिन्ता भने चिनियाँहरूमा देखिन्छ । ‘अलिबाबा’ जस्ता अनलाइन कारोबार गर्ने कम्पनीहरू फस्टाउँदै जाँदा त्यसको सीधा असर पुरानो बजार प्रणालीअनुसार चल्ने ठूल्ठूला ‘सपिङ मल’ हरूमा पर्ने खतरा छ । ‘अनलाइन कारोबारले हामीलाई हौसला बढाएको छ’ वाङ भन्छन्, ‘तर यो बिजनेस बढ्दै जाँदा धेरै मलहरू टाट पल्टिन सक्छन्, बैंकहरूको लगानी जोखिममा पर्न सक्छ, हामीलाई त्यस्तो पुरानो बजार प्रणालीलाई सुरक्षित अवतरण गराउने चुनौती छ ।’

विकासको ‘संक्रमण’
विकासको अनुपम नमुना प्रस्तुत गरिरहँदा चिनियाँ विज्ञहरूका ‘पावरप्वाइन्ट स्लाइड’ मा चीनको पूर्वी र उत्तर क्षेत्रका ग्राफ मात्र बढी उचाइमा देखिन्छन् । यसको अर्थ पूर्व र उत्तर क्षेत्रमा धेरै विकास भइसकेको छ र पश्चिम र दक्षिण भूगोलमा विकासको मात्र कम छ । त्यसैले विकसित क्षेत्रहरूमा मात्र उनीहरू विदेशीलाई घुमाउन, देखाउन मन पराउँछन् । विकासको ‘संक्रमणकालीन’ अवस्था छ । ‘हो, हाम्रो पश्चिम क्षेत्र पूर्वजति विकासित भइसकेको छैन तर अहिले मुख्य ध्यान नै त्यो क्षेत्रको विकास गर्नेतर्फ केन्द्रित छ,’ टेडा ग्रुपको व्यवस्थापन सम्हालिरहेकी पेङले भनिन्, ‘पूर्वाधार विकास गर्ने काम तीव्र गतिमा भइरहेको छ ।’ पूर्व र पश्चिमको यो असन्तुलन दशकभित्र मेटिइसक्ने उनको दाबी छ । यो आन्तरिक असन्तुलन मेटिइसक्दा चीन यो शताब्दीको मध्यसम्म विश्वकै समृद्ध र विकसित मुलुक बन्ने लक्ष्य पूरा हुने अन्तिम विन्दुमा पुग्नेछ ।

प्रकाशित : मंसिर १६, २०७४ १०:५२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

बलात्कारको प्रतिकार गर्दा दम्पतीको हत्या

घटना अनुसन्धानको लागि कुकुर ल्याइँदै
लक्ष्मी साह

बारा — जितपुर सिमरा उपमहानगरपालिका ३ बजनीमा शुक्रबार राति एक दम्पतीको हत्या भएको छ । ३५ बर्षीय दिपक सुवेदी र उनकी पत्नी ३२ बर्षीया दिपिकाको हत्या भएको हो । दिपिकाको बलात्कारसमेत गरिएको छ । उनी निर्वस्त्र अवस्थामा कोठामा मृत अवस्थामा भेटिएकी हुन् ।

जितपुर सिमरा उपमहानगरपालिका ३ बजनीमा शुक्रबार राति एक दम्पतीको हत्या भएको छ ।

३५ बर्षीय दिपक सुवेदी र उनकी पत्नी ३२ बर्षीया दिपिकाको हत्या भएको हो । दिपिकाको बलात्कारसमेत गरिएको छ । उनी निर्वस्त्र अवस्थामा कोठामा मृत अवस्थामा भेटिएकी हुन् । पति दिपकको शव गाईको गोठबाट ५० मिटरको दुरीमा भेटिएको हो । गाई पाल्ने गोठमा बसोबास गर्दै आएका उनीहरुलाई टाउकोमा बाँसको भाटाले प्रहार गरी हत्या गरिएको स्थानीय समाजिक अगुवा कृष्ण खनालले बताए । हत्यामा संलग्न भएकाको पहिचान खुलेको छैन् ।

बजनी टोलदेखि ५ सय मिटर पश्चिम रहेको गाई पाल्ने गोठमा दम्पती सुतिरहँदा घटना भएको हो । घटनास्थल पर्सा जिल्लासित जोडिएको टेढा गाउँ जाने मुख्य बाटोमा पर्छ । त्यस क्षेत्रमा उद्योगमा काम गर्ने मजदुरहरुको आवागमन सधैं भइरहेको हुन्छ । घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान थालेको छ । घटना अनुसन्धान गर्न क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाबाट कुकुर मगाई अनुसन्धान थालिने प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए । ‘कुकुर आएपछि घटना मुचुल्का हुन्छ,’ उनले भने, ‘घटनास्थललाई सुरक्षा घेरामा राखेका छौं ।’

मृतकका आमा र २ छोराछोरी बजनीमा भएको घरमा बस्दै आएका हुन् । ‘दिपिकालाई सामुहिक बलात्कारको क्रममा प्रतिकार गर्दा दम्पतीको हत्या गरिएको हुनसक्छ,’ घटना स्थल पुगेका एक प्रहरी अधिकृतले भने, ‘घटनामा संलग्नलाई चाँडै पक्राउ गर्छौ ।’ घटनापछि स्थानीय शोकमा छन् । गाउँमा त्रास बढेको छ । ‘सुरक्षाको चिन्ता भयो,’ एक स्थानीयले भने, ‘कसरी बस्ने ?’

प्रकाशित : मंसिर १६, २०७४ १०:४२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT