कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

मर्स्याङ्दीका १३ गाउँमा होमस्टे

आश गुरुङ

लमजुङ — उत्तरी क्षेत्रको मर्स्याङ्दी गाउँपालिकाले गाउँपालिकाभित्रका १३ गाउँमा होमस्टे प्रवर्द्धनका कार्यक्रमलाई अघि सारेको छ ।

मर्स्याङ्दीका १३ गाउँमा होमस्टे

उत्तरी क्षेत्रको मर्स्याङ्दी गाउँपालिकाले गाउँपालिकाभित्रका १३ गाउँमा होमस्टे प्रवद्र्धनका कार्यक्रमलाई अघि सारेको छ ।

साबिकका ७ गाविसलाई ९ वडामा विभाजन गरी बनाइएको मस्र्याङ्दी गाउँपालिकामा एउटाबाहेक सबै वडाका कम्तीमा एउटा र बढीमा ३ वटा गाउँमा होमस्टे सञ्चालन गर्ने गरी कार्यायोजना अघि बढाएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । उनका अनुसार मर्स्याङ्दी १, घनपोखरा, ३ को सिउरुङ र ढगैं, ४ को कालाघिरिङ, छापा र मिप्रा, ५ को सञ्जापु र खानीगाउँ, ६ को भीरपुस्तुन, ७ को उस्ता र नयाँगाउँ, ८ को भुस्मे र ९ को भलामचौरमा होमस्टे प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने भएको छ ।

यीमध्ये सिउरुङ, ढगैं, छापा, मिप्रा र भुस्मेमा होमस्टे कार्यान्वयनमा आइसकेको छ । यी गाउँमा करिब ७० बढी घरमा होमस्टे सञ्चालनमा छ । अन्य गाउँमा सुरुवाती समयमा तत्काल ८० घरमा होमस्टे सञ्चालन गर्न सकिने गाउँपालिकाले जनाएको छ । होमस्टे सञ्चालन गरिएका गाउँले वार्षिक रूपमा पर्यटन प्रवद्र्धनका कार्यक्रम पनि गर्दै आएका छन् ।

जिल्लाकै सबैभन्दा उचाइ (२,२५० मि) उचाइमा रहेको गाउँ घनपोखरावासीले पर्यटन प्रवद्र्धनका कार्यक्रम गर्दै आए पनि उक्त गाउँ ओझेलमा छ । ‘होमस्टे सञ्चालनमा नआएका यी गाउँका घरहरू होमस्टे बनाउन योग्य छन् । पुरानालाई संरक्षण र नयाँलाई प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्छौं,’ उनले भने ।

उनका अनुसार होमस्टे सञ्चालन गर्न रुचाउने नयाँलाई सुरुमा तालिम दिइने र त्यसपछि भौतिक सामग्री जुटाउनका लागि आवश्यक सहयोग जुटाइनेछ । सञ्चालनमा रहेका होमस्टेका लागि भने आवश्यकताअनुसार कार्यक्रम सञ्चालन गरिनेछ । सुरुआती चरणको कार्यक्रमका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष होमबहादुर विकले बताए । उनले पुस पहिलो साता होमस्टे सञ्चालनमा रहेका र सञ्चालनमा ल्याइने गाउँका ३/३ जना प्रतिनिधिसँग छलफल गरेर कार्यक्रम निर्धारण गरिने बताए । यसका लागि सम्बन्धित निकाय र विज्ञसँग छलफलसमेत गरिने
उनले बताए ।

मर्स्याङ्दी गाउँपालिकाको दोस्रो गाउँसभाले ल्यान्डफिल साइटको निर्माण गर्ने र व्यवस्थापनका लागि छलफल गर्ने, विद्यालय सुधारका लागि अध्यक्षहरूसँग छलफल गर्ने, माध्यमिक विद्यालयमा इन्टरनेट जडान गर्ने, जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने अवधारणालाई अगाडि बढाउने, बजार व्यवस्थापनका लागि अनुगमन र छलफल गर्ने, चक्रीय अन्नपूर्ण पदमार्गको मस्र्याङ्दी गाउँपालिकामा पर्ने बजारको अनुगमन गर्ने निर्णय गरेको छ । तरकारी, फलफूल र पशुजन्य कृषि उत्पादनको पकेट क्षेत्र घोषणा गर्ने निर्णयसमेत गरेको उपाध्यक्ष विकले बताए ।

प्रकाशित : मंसिर २१, २०७४ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?