कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

व्यक्तिः भ्यागुतालाई पछ्याउँदै

चेतनाथ आचार्य

काठमाडौं — पूर्वी चितवनमा जन्मिएका जनकराज खतिवटालाई भ्यागुताको कर्कश आवाज पटक्कै मन पर्दैन थियो । चितवन जिल्ला यसै पनि सिमसारका लागि प्रख्यात छ । सिमसार क्षेत्रमा भ्यागुताहरू प्रशस्त पाइन्छन् । हरेक साँझ भ्यागुताको ट्वार्रट्वार्र आवाज सुन्दा उनलाई झिँझो लाग्थ्यो ।

व्यक्तिः भ्यागुतालाई पछ्याउँदै

भ्यागुताको माहोलमा बाल्यकाल बिताएका उनी अहिले भ्यागुताका वैज्ञानिक बनेका छन् । चीनको ख्यातिप्राप्त विश्वविद्यालयबाट ‘भ्यागुताको वितरण र नामकरण’ मा पीएचडी गरेका खतिवडा चीनमा अध्ययनरत हजारौँ विदेशी विद्यार्थीमध्ये उत्कृष्ट पाँचमा पर्ने पहिलो नेपाली विद्यार्थी हुन् ।

चीनको सिचुवान प्रान्तको छन्दु इन्स्टिच्युट अफ बायोलोजीबाट जीवविज्ञानमा केही पहिले पीएचडी सकेका जनकराज खतिवडाले भ्यागुताका दुईवटा नयाँ प्रजाति पत्ता लगाएका छन् । उनले झापाको जामुनखाडीमा मान्छेको हातको बुढीऔँला जत्रो सानो भ्यागुता पत्ता लगाएका छन् । उनले पत्ता लगाएको भ्यागुताको वैज्ञानिक नाम माइक्रोहाइला तराइन्सिस हो । उनले इलामको माइपोखरीमा छेपारोजस्तै देखिन ‘ठकठके’ स्थानीय नाम रहेको नयाँ प्रजातिको भ्यागुता पत्ता लगाएका छन् । यसको वैज्ञानिक नाम ट्यलोटोट्रिटोन हिमालयनुस हो । नेपालमा ५२ प्रजातिका भ्यागुता रहेकोमा उनले नयाँ दुई प्रजातिको पत्ता लगाएपछि ५४ प्रजातिका भ्यागुता रहेको प्रमाणित भएको छ । चीनमा लगभग २७० प्रजातिका भ्यागुता पाइन्छन् । नेपालको क्षेत्रफलको तुलनामा चीनमा पाइने भ्यागुताको प्रजाति कम भएको खतिवडाको ठहर छ ।

खतिवडाले विशेषगरी भ्यागुताको डीएनए, भाले भ्यागुताले कराउँदा निकाल्ने आवाज र शारीरिक बनोटको अनुसन्धान गरेर नयाँ प्रजाति पत्ता लगाएका हुन् । उत्कृष्ट खोज अनुसन्धान गरेको भन्दै सन् २०१७ का लागि उत्कृष्ट अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा उनलाई युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सेसले पुरस्कृत गरेको छ । त्रिभुवन विश्वविद्यालयबाट जीव विज्ञानमा स्नातकोत्तर गर्ने क्रममा उनले नेपालमा हिमचितुवाको अनुसन्धान गरेका थिए । त्यतिन्जेल उनलाई भ्यागुताप्रति खासै रुचि थिएन । उनी हिमचितुवाको अनुसन्धान गर्न जाँदा उनका गुरु प्राध्यापक करणबहादुर शाहले भ्यागुताको अध्ययन गरेको देखेर उनमा रुचि जाग्यो । नेपालबाट जीवविज्ञानमा स्नातकोत्तर गरी उनी नर्वे गए भ्यागुताको विषयमा फेरि अर्को स्नातकोत्तर गरे । नर्वेबाट नेपाल फर्किएपछि सन् २०१३ मा उनी पीएचडी गर्न लागि चीनमा आए ।

उनले भ्यागुताको अध्ययनबाट जलवायु परिवर्तनको जीवजन्तुमा असरदेखि नेपाली समाज र संस्कृतिसँग भ्यागुताको सम्बन्धमा पनि रोचक कुराहरू फेला पारेका छन् । भ्यागुताले छालाले सास फेर्ने भएकाले जलवायु परिवर्तनको पहिले असर भ्यागुतामा पर्छ । वातावरण प्रदूषणका कारण पनि भ्यागुता घट्दै गएको उनको अनुसन्धानले देखाएको छ । काठमाडौँ उपत्यकामा वाग्मती नदीको आसपासमा कुनै पनि भ्यागुता नपाइनु त्यहाँको प्रदूषण रहेको उनी बताउँछन् । बालीनालीमा प्रयोग गरिने कीटनाशक रासायनिक पदार्थ र वातावरण प्रदूषणले भ्यागुताहरू घट्दै गएका छन् ।

नेपालको पूर्वी क्षेत्रमा भ्यागुताको अध्ययन अनुसन्धान गरेका खतिवडाले त्यहाँको समाज र संस्कृतिसँग भ्यागुताको अन्योन्याश्रित सम्बन्ध रहेको थाहा पाए । विशेषगरी राई जातिसँग भ्यागुताको सांस्कृतिक सम्बन्ध जोडिएको हुन्छ । राई जातिले भ्यागुतामध्ये एक प्रजाति पाहा खाने गर्छन् । औषधिका रूपमा सुकाएर राख्ने पनि चलन छ । यसर्थ पाहा लोप हुँदै गएको छ । नेपालका पूर्वी क्षेत्रका मानव बसोबासको पाँचदेखि दस किलोमिटर आसपासका खोलाखोल्सामा पाहा पाउन छोडेको छ । नेपालका जनजातिहरूले प्रकृतिको र जीवजन्तुको पूजा गर्छ् । कतैकतै पानी पार्नका लागि भ्यागुताको बिहे गराउने चलन पनि छ ।

यी सबै चलनसँग वैज्ञानिक सम्बन्ध रहेको खतिवडाको ठहर छ । भ्यागुतो पानी परिरहने र ओसिलो सिमसार क्षेत्रमा बस्न रुचाउँछ । भ्यागुताले साँझमा करायो भने पानी पर्छ भन्ने भनाइ छ । भ्यागुतो कराउनुको कारण पानी पार्न नभई सहवास गर्नका लागि हो भन्ने कुरा थाहा पाउँदा उनलाई पनि रमाइलो लागेको बताउँछन् । भाले भ्यागुतो मात्र कराउँछ किनभने पोथी भ्यागुताको आवाजग्रन्थि नै हुँदैन । भाले भ्यागुताले पोथीलाई आकर्षित गर्नका लागि कराउँछ र पोथी छेउमा आएपछि सहवास गर्छ । भ्यागुताले पनि मान्छेले जस्तै रोमान्टिक सिजन चाहने हुनाले सहवास गर्नका लागि पानी पर्ने मौसम खोजेको हुन सक्छ । फलत: हाम्रो बुझाइ भ्यागुतो कराएपछि पानी पर्छ भन्ने रहेको हो । अनि खडेरी पर्‍यो भने भ्यागुताको बिहे गराउने चलन चलेको हो ।

खतिवडाभन्दा अगाडि नेपालमा भ्यागुताको गहन अध्ययन गर्ने प्राध्यापक करणबहादुर शाह र प्राध्यापक कालुराम राई दुई जना मात्र विज्ञ थिए । तिनै अग्रजले बनाएको गोरेटोमा उनी हिँड्न थालेका छन् । चितवनको भ्यागुताको ट्वार्रट्वार्र आवाजलाई झर्को मान्ने जनक खतिवडा अहिले त्यही आवाजको अर्थ केलाउने भइसकेका छन् । भ्यागुता कराइसक्दा उनी टर्च बालेर त्यसको अनुसन्धान गर्न निस्कन्छन् । 

प्रकाशित : पुस १, २०७४ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?