३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

एमबीएमा आकर्षण

पढाइ सकिनेबित्तिकै ठूला कम्पनीले क्याम्पसमै आएर छानीछानी रोजगारी दिने र आफंै उद्यमी बन्नसमेत सहज हुने भएकाले यो विषयप्रति आकर्षण बढ्दो छ ।

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टमा एमबीएको प्रवेश परीक्षा दिने एक हजारभन्दा बढी हुन्छन् । भर्ना भने ३० जनाको मात्र लिइन्छ । ३० जनाको कोटामा पर्न परीक्षामा प्रतिस्पर्धा मात्र होइन, भनसुन पनि उत्तिकै चल्छ । काठमाडौं विश्वविद्यालयले पनि यो कोर्सका लागि एक शैक्षिक सत्रमा ३८ जना मात्र भर्ना लिन्छ । भर्ना हुन ४ सय ५० भन्दा बढीले आवेदन दिन्छन् । त्रिवि र केयूमा एमबीए पढ्न चाहनेको तथ्यांकले विद्यार्थीमा यो कोर्सप्रतिको आकर्षणलाई पुष्टि गर्छ ।

एमबीएमा आकर्षण

‘विश्वविद्यालय पदाधिकारीकै छोराछोरीको पनि नाम निस्कँदैन,’ त्रिवि स्कुल अफ म्यानेजमेन्टका निर्देशक महानन्द चालिसे भन्छन्, ‘पढाइ सकिनेबित्तिकै ठूला कम्पनीले क्याम्पसमै आएर छनोट गरेर रोजगारी दिने र आफंै उद्यमी बन्नसमेत सकिने भएकाले यो विषयप्रति आकर्षण बढेको हो ।’

त्रिविले एमबीए कार्यक्रमका लागि अन्य कलेजलाई सम्बन्धन दिएको छैन । एमबीए कोर्सको उद्देश्य व्यावसायिक र गैरव्यावसायिक क्षेत्रका लागि सफल म्यानेजर र लिडर तयार पार्न‘ हो । त्यसैले यो विषयको ‘चार्म’ अन्यको तुलनामा बढी छ । ‘उद्यमी बनाउन पनि यो कार्यक्रमले सहयोग गर्छ,’ चालिसेले भने । केयूमा तीन वर्षयता जागिरेभन्दा पनि उद्यमी बन्ने विद्यार्थीको संख्या बढिरहेको स्कुल अफ म्यानेजमेन्टका एमबीए कोअर्डिनेटर केपी पन्तले बताए । ‘पहिला बैठकमा जानेको संख्या बढी थियो,’ उनी भन्छन्, ‘अहिले आफैं उद्यमी हुने बढ्दै छन् ।’ केयूले आफ्ना विद्यार्थीलाई रोजगार बनाउन हरेक वर्ष जब फेयर गर्ने गरेको छ । केयूमा अध्ययन गरेको ६० प्रतिशतभन्दा बढी विद्यार्थी पढाइ सक्नुअघि नै रोजगार भइसक्ने दाबी उनको छ ।

एमबीए गरेका विद्यार्थीले सिकेका सीप, ज्ञान र व्यवहार व्यावसायिक क्षेत्रलाई सजिलै बिक्री गर्छन् । ‘एमबीएमा जागिरलाई फोकस गर्दैनौं,’ चालिसे भन्छन्, ‘विद्यार्थीको पनि इन्ट्रेस्ट नै हँ‘दैन । हाम्रा ५० प्रतिशतभन्दा बढी विद्यार्थी उद्यमी बन्छन् ।’ टीयू र केयूमा अध्ययन गर्न अवसर नपाएका विद्यार्थीले स्वदेशी र विदेशी विश्वविद्यालयको स्वदेशमा सञ्चालित कलेजमा एमबीए अध्ययन गर्ने गरेका छन् ।

पोखरा विश्वविद्यालयको सम्बन्धन लिएको राजधानी कलेजका प्रिन्सिपल केपी पन्तले एमबीए व्यवस्थापन संकायको उच्च तहको म्यानेजर र सफल उद्यमी बनाउने कार्यक्रम भएकाले विद्यार्थीमा यो कार्यक्रमको आकर्षण रहेको बताउँछन् । विश्वविद्यालयका अनुसार यो कार्यक्रममा भर्ना हुन आवश्यक योग्यता फरक फरक हुन्छ । त्रिविको स्कुल अफ म्यानेजमेन्टमा भर्ना हुन स्नातकमा ४५ प्रतिशत अर्थात २ सीजीपीए ल्याउनुपर्ने हुन्छ । केयूको स्कुल म्यानेजमेन्टमा कम्तीमा ५० प्रतिशत ल्याएको हुनुपर्छ । यो विषय अध्ययन गर्न स्नातकमा न्यूनतम ४५ प्रतिशत ल्याउनै पर्ने हुन्छ । बेलायतको नर्थटम्टन विश्वविद्यालयको कार्यक्रम सञ्चालन गर्ने नामी कलेजमा ५५ प्रतिशत ल्याएका र जागिरेलाई भर्नामा प्राथमिकता दिइन्छ । पोखरा विश्वविद्यालयको एमबीए राजधानी कलेजमा दिनभर काम गरेर साझ पढ्न पनि सकिने पन्तले बताए । ‘विद्यार्थीले रोजगारी गर्दै पढ्न सक्छन् । कामको अनुभव कक्षामा प्रस्तुत गर्छन् भने कक्षाको ज्ञान काममा प्रयोग गर्छन्,’ उनले भने ।

एमबीए गरेका विद्यार्थीमा समस्याको मूल्यांकन गर्ने र चुनौतीको समाधान गर्ने क्षमता हुने भएकाले मलेसियाली विश्वविद्यालयको एमबीए कार्यक्रम सञ्चालन गरेको लर्डबुद्ध एजुकेसन फाउन्डेसनका कार्यकारी निर्देशक पंकज जलानले बताए । ‘विश्वमा व्यापारिक क्षेत्रमा देखिएको समस्या विश्लेषण गरेर समाधानमा सक्षम हुन्छन्,’ उनले भने । दुईवर्षे यो कोर्स गरेका जनशक्ति उद्योग, व्यवसाय, बैकिङ क्षेत्रमा खपत हुन्छ । आफैं व्यवसाय गर्न चाहनेलाई यसले सफल उद्यमी बन्न सिकाउँछ ।

त्रिवि, केयू, पूर्वाञ्चल, पोखरा र मध्यपश्चिम विश्वविद्यालयमा एमबीए पढाइ हुन्छ । त्रिविले बजारको मागअनुसार समयानुकूल एमबीए पाठयक्रम परिवर्तन गरिरहेको छ । स्थानीय र अन्तर्राष्ट्रिय बजार मागअनुसार जनशक्ति उत्पादन गर्ने किसिमको पाठयक्रम बनाउने गरेको निर्देशक चालिसेले बताए ।

मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटीको एमबीए अध्यापन गराइरहेको लर्ड बुद्ध एजुकेसन फाउन्डेसनमा ८५ प्रतिशत कक्षा लिन अनिवार्य कलेज जानै पर्ने र नियमित विद्यार्थी मूल्यांकन गर्ने पद्धति रहेको कार्यकारी निर्देशक जलानले बताए । ‘ब्याचलर गरेर जागिर पाइँदैन । कर्पोरेट हाउसमा काम गर्न पनि सक्षम हुँदैनन्,’ जलान भन्छन्, ‘विद्यार्थीको नियमित मूल्यांकन गर्दै घोकाइभन्दा पनि सिकाइमा जोड दिइन्छ ।’ इन्स्टिच्युट अफ इन्टरनेसनल म्यानेजमेन्ट साइन्स (आईआईएमएस) ले पनि मलेसियाको लिंकन विश्वविद्यालयको एमबीबीएस अध्ययन गराउने गरेको छ ।

‘पहिलो वर्ष नेपालमा पढेर अर्को वर्ष मलेसियामै अध्ययन गर्न सकिन्छ,’ कार्यकारी प्रमुख सबिन्द्र महर्जनले भने, ‘जागिर र आफैं पेसा गर्न यो कार्यक्रम चलाएका छौं । जब प्लेसमेन्ट शतप्रतिशत नै छ ।’ स्वदेशकै पोखरा विश्वविद्यालयको एमबीए सञ्चालन गर्ने एक्सेल बिजनेस कलेजमा अध्ययन गर्दा चौधरी ग्रुपमै इन्टर्न गरेर धेरै कुरा सिक्न सकिने एकेडेमिक डाइरेक्टर विष्णुप्रसाद भट्टराईले बताए । यो कलेज चौधरी ग्रुपले सञ्चालन गरेको हो । पूरा कोर्सको ६ लाख २० हजार शुल्क तिर्नुपर्ने उनले बताए ।


ईएमबीए

काम गरिरहेका म्यानेजर, सञ्चालकलाई लक्षित गरेर एक्ज्युकेटिभ एमबीए गर्न सकिन्छ । कुनै संस्थाको जिम्मेवारी लिइरहेका म्यानेजरले यो कार्यक्रम अध्ययन गर्न सक्छन् । यो कार्यक्रम अध्ययन गर्न कम्तीमा दुई वर्ष काम गरेको अनुभव हुनुपर्छ । स्वदेशी विश्वविद्यालयमा अध्ययन गर्न तीन वर्ष र विदेशीको कार्यक्रम अध्ययन गर्न दुई वर्षको हुनुपर्ने भर्नाको आधार तय गरेको छ । नेतृत्व क्षमता विकास, फाइनान्स, एचआर, मार्केटिङ लगायत क्षेत्रको ज्ञान हासिल गर्छन् । दुईवर्षे यो कार्यक्रम काठमाडौं विश्वविद्यालयमा यो कार्यक्रम अध्ययन गर्न ५ लाख लाग्छ । पोखरा विश्वविद्यालयले पनि यो कार्यक्रम सञ्चालन गरेको छ । बेलायतको लिड्स ब्याकेट युनिभर्सिटीको ईएमबीए कार्यक्रम थापाथलीको ब्रिटिस कलेजले सञ्चालन गर्छ । स्नातकमा ५० प्रतिशत, म्यानेजर तहमा कम्तीमा दुई वर्ष काम गरेका विद्यार्थीले यो विषयमा भर्ना पाउने कलेजले जनाएको छ । ८ लाख रुपैयाँमा स्वदेशमै ब्रिटिस डिग्री हासिल गर्न सकिने कलेजले जनाएको छ ।

आफैं बिजनेस सुरु गरेका सञ्चालकहरू पनि यो कार्यक्रम अध्ययन गर्न विश्वविद्यालयमा भर्ना हुन्छन् । अरुको कम्पनीमा म्यानेजर तहमा न्यूनतम तीन वर्ष काम गरेका व्यक्ति स्वत: भर्ना पाएजस्तै आफ्नै कम्पनीको सञ्चालक वा लगानीकर्ता भएको पुष्टि हुनुपर्छ । यस्ता व्यक्तिहरू आफ्नो संस्थाको गुणस्तर सुधार गर्न ईएमबीए अध्ययन गर्छन् । संस्थाको कसरी व्यवस्थापन गर्ने, बजार कसरी विस्तार गर्ने ? लगानी सुरक्षा कसरी गर्ने ? प्रोजेक्ट कसरी व्यवस्थापन गर्ने भन्ने सिक्न ईएमबी अध्ययन गर्न जान्छन् । अरू विषयमा डिग्री छ तर, व्यवस्थापनको स्किल छैन भने यो कार्यक्रम पढ्छन् ।


शुल्क कति ?

एमबीए अध्ययन शुल्क विश्वविद्यालयअनुसार फरक छ । ३ लाख ५० हजारदेखि ६ लाख ५० हजारसम्ममा दुईवर्षे यो कोर्स अध्ययन गर्न सकिन्छ ।


पढाइ कहाँ हुन्छ ?

त्रिवि, पोखरा, पूर्वाञ्चल, मध्यपश्चिम विश्वविद्यालयमा यो विषय पढाइ हुन्छ । यीमध्ये पोखरा विश्वविद्यालयको सम्बन्धनमा धेरै कलेजमा यो विषय अध्यापन गराइन्छ । त्रिवि र केयूको आफ्नो स्कुलमा मात्रै पढाइ हुन्छ । विदेशी विश्वविद्यालयको सहकार्यमा पनि काठमाडौंलगायत अन्य सहरका विभिन्न कलेजमा एमबीए कार्यक्रम अध्यापन गराइन्छ । बेलायत, अमेरिका, थाइल्यान्ड र मलेसियाका विश्वविद्यालयको एमबीए कार्यक्रम पढाइ हुने गरेको शिक्षा मन्त्रालयले जनाएको छ । विदेशी विश्वविद्यालयको एमबीएलाई पनि त्रिविले समकक्षता दिने गरेको छ ।

प्रकाशित : पुस १३, २०७४ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?