पढाइसँगै जागिर

बैंक तथा वित्तीय संस्था, बिमा र कर्पाेरेट क्षेत्रलाई आधार मानेर डिजाइन गरिएका सैद्धान्तिक तथा प्रयोगात्मक कोर्सका कारण एमबीए अध्ययन गरेका विद्यार्थीलाई यही क्षेत्रका ‘रेडिमेड प्रोडक्ट’ मानिन्छ । उनीहरूले यी क्षेत्रमा पढ्दापढ्दै वा पढाइ सक्नेबित्तिकै काम पाउँछन् ।
यज्ञ बञ्जाडे

काठमाडौँ — बैंक र बिमा कम्पनीमा करिअर बनाउन चाहनुभएको छ ? त्यसो भए एमबीए (मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन) पढ्नुहोस् । तपाईंलाई रोजगारी (काम) दिन बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरू आतुर छन् । यसका लागि विद्यार्थीले एउटा सर्त पालना गर्नुपर्छ– राम्रो अंक ल्याएर एमबीए पास । 

पढाइसँगै जागिर

यसको अर्थ एमबीए पास गरेका सबै विद्यार्थीले बैंक र बिमा कम्पनीमै जागिर खानुपर्छ भन्ने पनि होइन । तर, बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले एमबीए गरेका विद्यार्थीलाई ‘रेडिमेट प्रोडक्ट’ का रूपमा लिने गर्छन् । यस कारण ती कम्पनीहरूले कर्मचारी भर्ना गर्दा पहिलो प्राथमिकता एमबीए पास गरेका विद्यार्थीलाई नै दिने गरेकाले यस क्षेत्रमा बढी सम्भावना हुन्छ । एमबीए पढेका विद्यार्थीमा विषयगत र प्रयोगात्मक ज्ञान बढी हुने भएकाले सिधै जिम्मेवारी दिन सकिने बैंकरहरू बताउँछन् ।

‘एमबीए पढेकासँग विषयगत ज्ञानका साथै नेतृत्व लिने र प्रस्तुति दिने क्षमता निकै बढी हुन्छ,’ बैंकर्स संघका उपाध्यक्ष ज्ञानेन्द्र ढुंगानाले भने । ती विद्यार्थीहरूमा बैंकिङ र फाइनान्ससम्बन्धी प्रयोगात्मक तथा विषयगत ज्ञान हुने भएकाले वित्तीय संस्थाका लागि बढी उपयोगी हुने उनले बताए ।

एमबीए वाणिज्य, व्यवसाय र बिमासँग सम्बन्धित विषय भएकाले बैंक तथा वित्तीय संस्थामा बढी उपयोगी हुन्छन् । ‘बैंक तथा वित्तीय संस्थाका लागि उपयोगी हुने खालको पाठयक्रम र इन्टर्नसिपमा आधारित शिक्षा हुने भएकाले प्रयोगात्मक ज्ञान बढी हुन्छ,’ उनले भने, ‘८० प्रतिशतभन्दा बढी विद्यार्थीले अध्ययनकै क्रममा बैंक तथा वित्तीय संस्थामा काम गरेका हुन्छन् ।’ अन्य विषय पढेका विद्यार्थीको तुलनामा एमबीए विद्यार्थी व्यावहारिक र परिपक्व हुने ढुंगानाको दाबी छ । ‘जिम्मेवारी पूरा गर्न सक्ने भएकाले रिजल्ट पनि छिटो र राम्रो आउँछ,’ उनले भने ।

बिमक संघका पूर्व अध्यक्ष विजयबहादुर शाह पनि बिमा कम्पनीहरूका लागि एमबीए विद्यार्थी नै बढी उपयोगी हुने बताउँछन् । ‘जोसिला, कामलाई सम्मान गर्ने, काममा एकाग्रता, जिम्मेवारी राम्रोसँग बहन गर्नेलगायत गुण एमबीएका विद्यार्थीमा पाइन्छ,’ शाहले भने । नेतृत्व क्षमता र प्रस्तुतीकरण शैलीले कार्यप्रदर्शन (पर्फमेन्स) पनि उच्च तहको हुने उनको भनाइ छ । ‘वाणिज्य र व्यवसायसम्बन्धी जानकारी, कार्यपत्र प्रस्तुतीकरण र क्षमता प्रदर्शन राम्रो गर्न सक्छन्,’ एमबीए अध्ययन गरेका विद्यार्थीको प्रशंसा गर्दै उनले थपे ।

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीमा एमबीए विद्यार्थीहरूको माग बढेको युनिग्लोब कलेजका प्रिन्सिपल नरबहादुर विष्टले बताए । ‘एमबीएमा विद्यार्थीलाई सैद्धान्तिकसँगै प्रयोगात्मक शिक्षा पनि दिइन्छ,’ उनले भने, ‘बीबीएमा ५० प्रतिशत र एमबीएमा ६० प्रतिशत पाठयक्रम प्रयोगात्मक हुन्छ ।’ एमबीए अध्ययन गरेका विद्यार्थीमा दैनिक कामकाज सञ्चालन, क्रेडिट व्यवस्थापन र वित्तीय व्यवस्थापनको राम्रो ज्ञान हुने विष्टको तर्क छ । ‘एमबीए अध्ययनरत विद्यार्थी तुलनात्मक रूपमा बढी मिहिनेती र पढाइमा रुचि राख्ने खालका हुन्छन् । ‘कम्पनीहरूले एमबीए पढेका विद्यार्थीलाई काममा लगाउँदा थप लगानी गर्नुपर्दैन,’ उनले भने, ‘यस कारण उत्पादन र उत्पादकत्व दुवै बढ्छ ।’

अन्य विषय अध्ययन गरेका विद्यार्थीलाई काममा लगाउँदा धेरै प्रशिक्षण दिनुपर्ने तर, एमबीए विद्यार्थीमा थप लगानी गर्न नपर्ने विष्टको दाबी छ । ‘बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीका लागि एमबीए रेडिमेड प्रोडक्ट हो । काममा लगाउनासाथ सिधै जिम्मेवारी दिन सकिन्छ,’ उनले भने, ‘कर्मचारी प्रशिक्षणमा कम्पनीलाई थप आर्थिक भार पर्दैन ।’

एमबीए विषयको प्रमुख उद्देश्य नै व्यवस्थापक उत्पादन गर्ने भएकाले नेतृत्व विकास र व्यवहार विकासमा जोड दिइने त्रिभुवन विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका पूर्व सहनिर्देशक ध्रुवलाल पाण्डेले बताए । ‘एमबीएको पाठयक्रम नै बढी व्यावहारिक र प्रयोगात्मक हुन्छ,’ उनले भने, ‘विद्यार्थीको एटिच्युड र लिडरसिप विकासमा ध्यान दिइन्छ ।’ यस कारण बैंक तथा वित्तीय संस्था, बिमालगायत सेवा प्रदायक कम्पनीहरूका लागि बढी उपयोगी हुने उनले बताए । अध्ययनको सिलसिलामा प्रयोगात्मक शिक्षा धेरै हुने भएकाले एमबीए विद्यार्थीहरूमा व्यावहारिक र विषयगत ज्ञान बढी हुने उनको बुझाइ छ ।

‘एमबीए छात्रछात्रामा कार्यक्षमता, कार्यप्रदर्शन र प्रयोगात्मक क्षमता बढी हुन्छ,’ कान्तिपुर कलेजका प्रिन्सिपल नरेन्द्रकुमार श्रेष्ठले भने । विद्यार्थीहरूलाई सैद्धान्तिक कम र प्रयोगात्मक शिक्षा बढी दिइने भएकाले निकै व्यावहारिक रहेको उनको ठहर छ । ‘विद्यार्थीहरूलाई हरेक मुद्दा (केस/घटना) को अनुसन्धान गरी सबै पक्ष समेटेर कार्यपत्र तयार पार्न लगाइन्छ,’ श्रेष्ठले भने, ‘यसले छात्रछात्रामा अनुसन्धान गर्ने, प्रतिवेदन तयार पार्ने, प्रस्तुतीकरण गर्नेलगायत सिपको विकास हुन्छ ।’ एमबीए अध्ययन गरेका विद्यार्थीको ‘एक्स्पोज’ र ‘पर्फमेन्स’ राम्रो हुने उनले दाबी गरे । ‘वास्तविक घटनाको उदाहरणसहित प्रयोगात्मक काम दिइन्छ,’ उनले भने, ‘यस कारण विद्यार्थीहरू आफैं एक्स्पोज हुन सक्छन् ।’ एमबीए तहको पाठयक्रम अन्तर्राष्ट्रिय स्तरको हुनुका साथै स्वदेश तथा विदेश सबै ठाउँमा उपयोगी हुने श्रेष्ठले बताए । यसको कोर्स अभ्यास र ज्ञानअनुसार डिजाइन गरिएको हुन्छ ।

एमबीए अध्ययन गरेका विद्यार्थीबाट जागिर पाइएन भन्ने गुनासो नआएको डीएभी कलेज अफ म्यानेजमेन्ट एमबीए कार्यक्रमका संयोजक रुद्रप्रसाद घिमिरेको दाबी छ । ‘एमबीए पास गरेका विद्यार्थीबाट जागिर पाइएन, बेरोजगार भइयो भन्ने गुनासो आजसम्म सुन्नुपरेको छैन,’ घिमिरेले भने, ‘पासआउट हुनेबित्तिकै केही विद्यार्थीबाट जागिर नपाएको गुनासो आए पनि एक/दुई महिनाभित्रै पाएका धेरै उदाहरण छन् ।’

एमबीए विशेष गरी व्यवस्थापन र वित्तीय क्षेत्रकै लागि मानव संसाधन उत्पादन गर्ने उद्देश्यले सञ्चालित कार्यक्रम हो । यहाँको श्रमशक्ति वित्तीय संस्थाका लागि बढी उपयोगी हुने उनको भनाइ छ । ‘एमबीए विद्यार्थीहरूले आफैं फिल्डमै गएर काम गर्ने भएकाले व्यावहारिक ज्ञान बढी हुन्छ,’ उनले भने, ‘फिल्डमा गएर काम गर्छन ।’ यी विद्यार्थीहरूमा प्रतिवेदन लेखन, प्रस्तुतीकरण, सेमिनार र वर्कसप आयोजना तथा व्यवस्थापनलगायत धेरै विषयको ज्ञान लिएका हुन्छन् । घिमिरेले भने, ‘समग्रमा एमबीए निकै सेलेबल (बिकाउ) छ ।’

एमबीए अध्ययन गरेका जनशक्तिको माग बैंक तथा वित्तीय क्षेत्रमा मात्र नभएर कर्पोरेट क्षेत्रमा पनि रहेको उद्योगी व्यवसायी बताउँछन् । विषयगत ज्ञान भएका विद्यार्थीलाई सोही विषयसँग सम्बन्धित काम दिँदा ‘पर्फमेन्स’ राम्रो हुने भएकाले वित्तीय व्यवस्थापन, मार्केटिङलगायत काममा एमबीए अध्ययन गरेका श्रमशक्ति बढी उपयोगी हुने उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले बताए । केही तोकिएका कामका लागि एमबीए अध्ययन गरेका श्रमशक्तिको माग प्राथमिक रहने उनले बताए । ‘कर्मचारीको व्यवहार, क्षमतासँगै काम गर्ने रुचि र तत्परता भएमा अन्य विषय अध्ययन गरेका श्रमशक्तिले पनि काम पाउँछन्,’ मुरारकाले भने, ‘यस्तो अवस्थामा एमबीए नै चाहिन्छ भन्ने हुँदैन ।’ कर्मचारीहरू कामप्रति जिम्मेवार, लगनशील र कर्तव्यनिष्ट हुनुपर्ने उनको सुझाव छ ।

प्रकाशित : पुस १३, २०७४ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?