कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

रोजाइ छात्राको

व्यवस्थापकीय क्षेत्रमा आउन चाहने र काम गरिरहेकाहरुलाई एमबीए र ईएमबीएले आकर्षित गरिरहेका छन् । पूर्णकालीन विद्यार्थीले एमबीए पढ्छन् भने कामकाजीका लागि ईएमबीए कोर्सले पढाइसँगै काम गर्ने अवसर दिन्छ । एमबीएमा अहिले छात्रभन्दा बढी छात्रा आकर्षित छन् ।
कृष्ण आचार्य

काठमाडौँ — क्लासिक डेभलपर्स रियल स्टेट कम्पनीमा कार्यरत मिबिका शाक्यलाई मास्टर अफ बिजनेस स्टडिज (एमबीएस) गरे पनि अर्को कोर्स नगरी चित्तै बुझेन । उनी मास्टर अफ बिजनेस एडमिनिस्ट्रेसन (एमबीए) 
तिर आकर्षित भइन् । एमबीए पढ्न त मन लाग्यो तर कामकाजी भएकाले समय मिलेन । 

रोजाइ छात्राको

जहाँ इच्छा त्यहाँ उपाय । उनले त्यसको सट्टा एक्जुकेटिभ एमबीए (ईएमबीए) पढ्ने अवसर पाइन् । किनकि ईएमबीएको पढाइ बेलुका हुने भएकाले उनको कामले पढ्ने इच्छालाई छेक्न सकेन । ‘व्यवस्थापकीय क्षेत्रमा काम गर्नेहरूका लागि ईएमबीए नयाँ कोर्स हो,’ उनले अनुभव बाँडिन्, ‘आफ्नो क्षमता बढोस् र त्यहीअनुसार कमाइ होस् भन्ने उद्देश्यले मैले यो कोर्स गर्नैपर्ने आवश्यकता महसुस गरेँ ।’

उनी अहिले एस इन्स्टिच्युड अफ म्यानेजमेन्टबाट पढाइसँगै कामलाई निरन्तरता दिइरहेकी छन् ।

आफ्नो कार्यक्षमता थप मजबुत बनाउन ‘एक्जुकेटिभ एमबीए’ कोर्स गरिरहेकी शाक्य प्रतिनिधि मात्रै हुन् । व्यवस्थापकीय क्षेत्रमा काम गर्ने र भविष्यमा यही क्षेत्रमा आउन चाहनेहरूलाई एमबीए र ईएमबीएले आकर्षित गरिरहेका छन् । पूर्णकालीन विद्यार्थीले एमबीए पढ्छन् भने कामकाजीका लागि ईएमबीए कोर्सको विकास भएको हो । दुवैको कार्यक्रमले दक्ष लिडर र उद्यमी नै बनाउने हो ।

खासगरी एमबीए कोर्स सञ्चालन गर्ने विश्वविद्यालयका अधिकारीहरूका अनुसार पछिल्लो समय छात्राहरूमा यो विषयप्रतिको आकर्षण बढेर गएको छ । तीन/चार वर्षअघिसम्म एमबीए पढ्नेमा ७० प्रतिशत छात्र र ३० प्रतिशत छात्रा थिए । केही विश्वविद्यालयमा अहिले छात्राको उपस्थिति ५० प्रतिशत देखिन्छ । त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको एमबीएमा त छात्राको उपस्थिति ७० प्रतिशत पुगिसकेको छ । ‘१ सय ३७ विद्यार्थीमध्ये ९६ जना छात्रा अध्ययनरत छन्,’ त्रिविको एमबीए विभागका सहायक निर्देशक जितेन्द्र डंगोलले भने, ‘पछिल्लो समय छात्राहरूको आकर्षण निकै बढेको छ ।’

एमबीए ४ सेमेस्टरमा पढाइन्छ । बैंक तथा बिमा, उद्योग, कलकारखाना, जलविद्युत्, पूर्वाधार क्षेत्रको विकाससँगै विदेशी तथा स्वदेशी विश्वविद्यालयले एमबीए पढाउन थालेका छन् । यो पढाइ सुरु भएको केही वर्ष छात्रहरूको वर्चस्व रहे पनि छोटो अवधिमै छात्राहरूको आकर्षण ह्वात्तै बढेको देखिन्छ । यसका कारण धेरै छन् । ‘एउटा त जनसंख्याकै अनुपातले हुन सक्छ,’

काठमाडौं विश्वविद्यालयको एमबीए कार्यक्रम संयोजक सविनविक्रम पन्तले भने, ‘अर्को कारण त कामका लागि यो विषय पढ्ने छात्राहरूको माग नै उच्च देखिन्छ ।’ मार्केटिङ तथा अन्य व्यवस्थापकीय कामका लागि निजी क्षेत्रमा छात्राहरूको माग बढी रहेको छ । अब्बल व्यवस्थापकीय नेतृत्व गर्न सक्नेलाई व्यावसायिक क्षेत्रले कलेजमै गएर रोजगारीको प्रस्ताव गर्ने गरेका छन् ।

साना तथा मझौला प्रकृतिका व्यवसायमा समेत एमबीए पढ्ने जनशक्तिको माग हुन थालेको छ । ‘एमबीए पढ्न आवेदन दिनेमा उपत्यकाबाहिरबाट पनि छात्रा धेरै छन्,’ उनले भने, ‘हाम्रो विश्वविद्यालयमा दुई/तीन वर्षअघिसम्म ६५ प्रतिशत छात्र र बाँकी छात्रा पढ्ने गरेका थिए, अहिले ५०/५० प्रतिशत छन् ।’ काठमाडांै विश्वविद्यालय मातहतको एमबीएमा १८/१८ जना छात्रछात्रा पढिरहेका छन् । यो आधारमा पनि छात्राहरूको आकर्षण भविष्यमा झन बढ्ने अनुमान उनको छ ।

पूर्वाञ्चल विश्वविद्यालयमा भने हालसम्म पनि छात्रकै संख्या बढी छ । यद्यपि, छात्राहरूको संख्या पनि बढ्दै गएको छ । ५२ जना छात्रा र १ सय ६९ जना छात्रले अध्ययन गरिरहेको विश्वविद्यालयले जनाएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पनि हालसम्म छात्रकै संख्या बढी छ । एमबीए कार्यक्रम निर्देशक नारायण पौडेलका अनुसार हाल ५५ जनाले एमबीए पढिरहेका छन् । यसमध्ये २० जना छात्रा छन् । ‘पछिल्लो समय छात्राको उपस्थिति बढ्दै गएको हो,’ उनले भने, ‘बीबीएमा छात्रा र छात्र बराबरीजस्तो छन् । अब एमबीएमा पनि त्यसको असर देखिँदै जानेछ ।’

त्रिवि बाहेकका विश्वविद्यालयले झन्डै २० वर्षअघिबाट एमबीए बढाउन सुरु गरेका हुन् । त्रिविले यो कोर्स पढाउन सुरु गरेको ५ वर्ष भयो । पहिले व्यवस्थापन विषयमा एमकम विषय पढाइ हुने गरेको थियो जसमा लेखा र वित्त विषयका सैद्धातिक पढाइ हुने गरेको थियो । यसलाई परिष्कृत गर्दै एमबीएस पनि अध्यापन सुरु भएको हो । थप व्यावहारिक र प्रयोगात्मक बनाउन एमबीए कोर्सको विकास भएको जानकारहरू बताउँछन् । कामकाजीकै लागि भनेपछि ईएमबीएको कोर्स पढाउन थालिएको हो । ईएमबीएले आफ्नो कामलाई सघाउनुका साथै क्षमता विस्तारमा थप सहयोग गर्छ ।

ईएमबीए सबैभन्दा पहिले पोखरा विश्वविद्यालयले पढाउन सुरु गरेको हो । हाल काठमाडौं विश्वविद्यालयले पनि यो कोर्स पढाउन थालेको छ । एमबीए र ईएमबीए पढाइले कुशल व्यवस्थापन तथा नेतृत्वका लागि प्रयोगात्मक ज्ञान दिने दाबी गरिन्छ । एमबीए भने सबै विश्वविद्यालयले सञ्चालनमा ल्याइसकेका छन् ।

त्रिविबाहेकका विश्वविद्यालयले निजी कलेजलाई पनि यो कोर्स पढाउने अनुमति दिएका छन् । त्रिविले भने आफ्नै विभागमा मात्रै सञ्चालन गरिरहेको छ । यो कोर्स पढ्न ३ लाख ५० हजार रुपैयाँदेखि ६ लाख ५० हजार रुपैयाँसम्म लाग्ने गरेको छ । विश्वविद्यालयअनुसार शुल्क भने फरक फरक छ ।


छात्र/छात्राको तुलना

विश्वविद्यालय छात्रा छात्र

त्रिभुवन ९६ ४१

पूर्वाञ्चल ५२ १६९

काठमाडांै १८ १८

मध्यपश्चिमाञ्चल २० ५५

प्रकाशित : पुस १३, २०७४ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?