२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

स्वदेशी डिग्री, स्वदेशमै उद्यम

उच्च शिक्षा, सीप र जाँगर भए काम खोज्न विदेश भौंतारिनुपर्दैन, स्वदेशमै उद्यमका थुप्रै सम्भावना छन् । कुमुद र रसना यस्ता युवा हुन्, जसले स्वदेशमै एमबीए पढे, स्वदेशमै उद्योग खोले । यी दुवै अहिले नेपाली बजारमा सफलताको सिँढी चढ्दै गरेका उद्यमीका रुपमा चिनिन्छन् ।
सुरेश न्यौपाने

काठमाडौँ — उच्च शिक्षा हासिल गर्न विदेश जाने र विदेशी डिग्री लिएर उतै उद्यम गर्ने वा जागिर खाने अधिकांश नेपाली विद्यार्थी को सपना हो । स्वदेशी कलेज र पाठयक्रम भन्नासाथ हेयका दृष्टिकोणले हेर्ने आमप्रवृत्तिले प्राय: विद्यार्थीको रोजाइ विदेशी डिग्री, विदेशी काम बन्ने गरेको हो ।

स्वदेशी डिग्री, स्वदेशमै उद्यम

अझ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन (एमबीए) अध्ययनका लागि त विदेशकै महँगा कलेज र विश्वविद्यालय ताक्ने गर्छन् नेपाली विद्यार्थीहरू । जब कि स्वदेशमै त्यस्ता दर्जनौं कलेज छन् जसले विश्वस्तरीय पाठयक्रमसहितको एमबीए अध्यापन गराउँदै आएका छन् । र, तिनै कलेजहरूबाट एमबीए पढेर स्वदेशमै उद्योग–व्यवसाय सुरु गर्ने युवाहरूको संख्या पनि पछिल्ला वर्षहरूमा उल्लेख्य संख्यामा बढ्दो छ । स्वदेशमै पढेर स्वदेशलाई नै कर्मथलो बनाइरहेका युवामध्ये एक हुन्– रसना श्रेष्ठ ।

काठमाडौंको किंग्स कलेजबाट मार्केटिङ मुख्य विषय लिएर एमबीए गरेकी रसनाले दुई महिनाअघि कलेजकै सहपाठी सुशय श्रेष्ठसँग मिलेर एउटा उद्योग सुरु गरिन् । त्यसो त कलेज पढ्दादेखि नै कुनै नौलो व्यवसाय सुरु गर्ने सोच पलाएको थियो उनमा । अध्ययन पूरा हुनासाथ त्यही सोचलाई व्यवहारमा उतारिन् उनले । उनको उद्योगले साबुन, बुकुवा, लिपबाम, बडी क्रिमलगायतका सामग्री उत्पादन गर्छ । पूर्णत: रसायनमुक्त ती उत्पादनका कच्चा पदार्थ अधिकांश स्वदेशमै उपलब्ध छन् । नुग: बान्डमा यी उत्पादन स्वदेशी र विदेशी दुवै बजारमा पुर्‍याउने उनको योजना छ । ‘नुग:’ नेवारी शब्द हो । यसको अर्थ हो– ‘मन’ । नामजस्तै आफ्ना उत्पादनले स्वदेशी उपभोक्ताको मन जित्नेमा ढुक्का छिन् रसना । हाल सीमित स्थानमा मात्र उपलब्ध यी उत्पादनलाई आगामी महिनादेखि आक्रामक ढंगले बजारमा उतार्ने रणनीति बुनेको छ रसनाको टिमले । नेपाली उत्पादन पनि विदेशी ब्रान्डभन्दा कुनै पनि हिसाबले कम हुँदैन भन्ने प्रमाणित गर्न चाहन्छिन् रसना । ‘मेरो प्रमुख लक्ष्य आफ्ना उत्पादनलाई स्थापित गर्दै नेपाली बजारबाट विदेशी ब्रान्डलाई विस्थापित गर्नु हो,’ रसनाले भावी योजनाबारे बताइन् । आफ्नो लक्ष्य बताइरहँदा उनको मुहारमा गज्जबको आत्मविश्वास झल्किन्थ्यो । कसरी कमाइन् त उनले यो आत्मविश्वास ? भन्छिन्, ‘एमबीए अध्ययन नै हो, त्यो पनि स्वदेशमा बसेर ।’

तीन महिनाअघि काठमाडौंको बिजुलीबजारमा रहेको किंग्स कलेजबाट एमबीए उत्तीर्ण गरेकी रसनाले प्लस टु भने भारतबाट गरेकी थिइन् । विदेश बसाइकै क्रममा उनले आफ्नो देशप्रतिको मायालाई राम्ररी बुझ्न पाइन् । देशप्रेमको पारो चढ्दै गएपछि उनमा बाँकी अध्ययन आफ्नै देशमा गर्ने र काम पनि देशभित्रै गर्ने अठोट गरिन् । ‘म नेपालमै केही गर्छु र देशभित्रै आफ्नो परिचय बनाउँछु भन्ने निष्कर्षमा पुगें,’ श्रेष्ठले सुनाइन् । त्यही भावनाले उनलाई नेपालमै एमबीए अध्ययन गर्न प्रेरित गर्‍यो । साथीभाइहरूले विदेशका नाम चलेका विश्वविद्यालयको चर्चा गरिरहँदा यहाँको एमबीएको गुणस्तरका उनमा मनमा पनि शंकाउपशंका थिए । भर्ना हुँदासमेत त्यो कायम थियो । तर, पढ्दै जाँदै ती शंकाहरू गलत सावित भए । कक्षाकोठाभित्रको गहन पढाइदेखि विविधतापूर्ण फिल्ड भिजिट समावेश थियो । त्यसबाहेक नेपाली माटो सुहाउँदो केस स्टडिजहरूले उनको ज्ञानको दायरालाई थप फराकिलो बनाउन सघायो । ती केस स्टडिजहरू पनि नेपालकै बजार र उद्योग–व्यवसायसँग सम्बन्धित हुन्थे । त्यसबाहेक गेस्ट लेक्चरहरूको अध्यापनले स्थानीय बजारलाई बुझ्न धेरै सहज बनायो । ‘यही कोर्स अमेरिकामा पढेको भए त्यहाँको बजारबारे जानकारी हुन्थ्यो, केस स्टडिज पनि उतैका हुन्थे,’ रसनाले भनिन्, ‘व्यवसाय गर्दा आइपर्ने समस्या बुझन् र त्यसको समाधानसँग साक्षात्कार हुने अवसर मिल्यो, जुन विदेशको पढाइबाट सम्भव थिएन ।’ त्यति मात्र भएन, उनले स्वदेशमै पढ्नुमा अन्य धेरै सकारात्मक पक्ष पनि पाइन् । पहिलो, विदेशमा जस्तो काम गर्दै पढ्नुपर्ने बाध्यता रहेन । केस स्टडिजहरू पनि नेपालकै बजार र उद्यमसँग सम्बन्धित हुन्थे । त्यसले देशभित्रको उद्योग–व्यवसायको अवस्था बुझ्न मात्र होइन, स्वदेशी बजारका कमजोरी र सकारात्मक पक्ष जान्न पनि धेरै सहज बनायो । घरकै हेरचाहमा पढ्न पाइयो । कलेजको शुल्क तिर्न काम गर्नैपर्ने बाध्यता रहेन । घरमै बसेर पढ्न पाउँदा नतिजा पनि राम्रो आयो । कुनै दबाब रहेन, उनीमाथि । कलेज–कलेजबीचको अन्तरक्रिया, इन्टर्नसिपले अध्ययनलाई थप गहन बनायो । ठूला व्यापारिक गृहका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सँगको अन्तरक्रियाले विद्यार्थीहरूको ज्ञान र सोचको दायरा फराकिलो बनाउन सघाउको उनको अनुभव छ । नियमितजसो हुने फिल्ड भिजिटले व्यावहारिक ज्ञानलाई झनै बढायो ।

एमबीए अध्ययनले व्यवसायको जग बसाल्नदेखि व्यावसायिक रूपमा अगाडि बढाउनसम्म सघाएको रसनाको अनुभव छ । किनकि अध्ययनकै क्रममा उनले अन्य थुपै कम्पनीको बजार र उत्पादनको अध्ययन र विश्लेषण गरेकी थिइन् । त्यही ज्ञानलाई उनले व्यवहारमा उतारिन् । व्यवसाय सुरु गर्नुअघि पर्याप्त गृहकार्य गरिन् । सूक्ष्म ढंगले बजारको अध्ययन र विश्लेषण गर्‍यो उनका टिमले । एमबीए नपढेको भए सायद यस्ता विषयमा त्यति ध्यान पुग्दैनथ्यो । बिजनेस प्लान कसरी बनाउने, व्यवसाय गर्दै जाँदा सामना गर्नुपर्ने चुनौतीका गाँठो कसरी फुकाउने भन्ने उनलाई एमबीए अध्ययनले नै सिकायो । ‘व्यवसाय सफल बनाउन चाल्नुपर्ने पाइलाहरूको योजनाबद्ध र सिलसिलेवार खाका तयार गर्न एमबीए नपढेको भए सम्भव थिएन,’ रसनाले भनिन्, ‘प्राथमिकताहरू

निर्धारण गर्न पनि सिकायो । नेपालमै पढेका कारण

यहाँको बजारको चरित्रलाई नजिकबाट बुझ्न पनि

सहज भयो । भ्यालु चेनमा देखा पर्ने अवरोधलाई हटाउँदै आफ्ना उत्पादन बजारमा कसरी जानुपर्छ भन्नेमा ज्ञान पनि भयो ।’

विदेशी डिग्री लिने र नेपालमा उद्यम गर्न अनुकूल वातावरण छैन भन्नेहरूलाई पनि उनीसँग दह्रो जवाफ छ । ‘नेपालमै पर्याप्त स्कोप छ । विदेश जानै पर्दैन,’ रसनाले बताइन् । त्यसो भन्दैमा यहाँ समस्या र अवरोध नभएका होइनन् । सरकारी काममा झेल्नुपर्ने अनावश्यक झन्झट र स्वदेशी उत्पादनप्रति नेपालीको अविश्वास रसनाको नजरमा प्रमुख समस्या हुन् । ‘उपभोक्ताको कुनै समस्या छैन । सस्तोदेखि विलासी सामान खपत गर्ने उपभोक्ता छन् । त्यसमा पनि ब्रान्ड खोज्ने प्रवृत्ति छ’, उपभोक्ताको यो मनोविज्ञानलाई बुझेर अगाडि बढ्नुपर्ने खाँचो उनी औंल्याउँछिन्, ‘कस्तो किसिमको उत्पादन गर्ने र कुन बजारमा जाने भन्ने उत्पादकमा निर्भर गर्छ ।’ नेपाली उत्पादन जापान र अमेरिकाको बजारमा बिक्न सक्छन् भने स्वदेशमै बिक्री नहुने भन्ने त कुरै भएन, त्यसैले नेपाली उत्पादकले नेपाली बजार र उपभोक्ताको विश्वास गर्नतर्फ बढी मिहिनेत गर्नुपर्ने उनको निष्कर्ष छ ।

***

एमबीए गरेर स्वदेशलाई नै कर्मथलो बनाएका अर्का युवा हुन् कुमुद सिंह । ११ वर्षअघि ब्याचलर इन कम्प्युटर एप्लिकेसन सकेर आईटी व्यवसायमा जम्दै गएका काठमाडौंका कुमुदमा एकाएक मास्टर्स गर्ने धुन सवार भयो । सोचविचार गर्दै जाँदा एमबीए उनको छनोटमा पर्‍यो । काठमाडौं विश्वविद्यालयको काठमाडौं स्कुल अफ म्यानेजमेन्टमा एमबीए अध्ययनका लागि भर्ना भए कुमुद । एमबीए पढ्न थालेपछि मात्र व्यवसाय सुरु गर्नुअघि र सञ्चालनका गर्दा केकस्ता विषयमा पूर्वतयारी गर्नुपर्छ र ध्यान दिनुपर्छ भन्ने थाहा भयो । ‘त्यसअघि शुद्ध प्राविधिक ज्ञान मात्र थियो, आफ्नो प्रोडक्ट राम्रो छ भने जसरी भए पनि बिक्छ भन्ने सोच थियो तर प्रोडक्ट मात्र भएर हुँदो रहेनछ,’ सिंहले आफ्नो अनुभव सुनाए, ‘एमबीए पढ्न थालेपछि मात्र व्यवसाय कसरी गर्नुपर्दो रहेछ भन्ने थाहा भयो ।’ कलेजको किताबी र व्यावहारिक ज्ञानले उनीभित्र रहेको उद्यमी बन्ने सोच उजागर हुँदै गयो । पढाइ सक्दानसक्दै उनमा त्यो सोच झाँगिसकेको थियो । एमबीए अध्ययन पूरा भएको एक महिनाभित्रै कुमुदले आफ्नै व्यवसाय सुरु गरिहाले । करिब ९ वर्षअघि सुरु भएको त्यो व्यवसायले आज देशभित्रै छुट्टै पहिचान बनाएको छ, ‘काठमाडौं कफी’ । उनको कम्पनीले कफी खेतीदेखि प्रशोधन हुँदै ब्रान्डिङ गरेर बजारमा पुर्‍याउने कफी प्रशोधन र बनाउने मेसिनहरूको समेत बिक्रीवितरण गर्दै आएको छ । गुणस्तरसँगै बजारको रणनीति र व्यवस्थापन कुशल भएकाले छोटो समयमै कफी पारखीहरूको पहिलो रोजाइमा पर्ने गरेको छ– ‘कफी काठमाडौं’ । काठमाडौंका ठूला तारे होटलदेखि रेस्टुराँ र क्याफे उनका ग्राहक हुन् । कफी व्यवसाय फस्टाउनुमा सहरियाहरूमाझ हुर्कंदै गएको कफी कल्चरको पनि राम्रो योगदान छ । व्यवसाय सुरु गर्दा नेपालको कफीलाई ब्रान्डिङ गर्दै विदेश निर्यात गर्ने योजना थियो सिंह र उनका साथीहरूको । तर, समय क्रममा स्वदेशी बजारमै पुर्‍याउन धौधौ पर्न थाल्यो । ‘संयोग नै भन्नुपर्छ हामीले व्यवसाय सुरु गरेदेखि नै नेपालीमाझ कफी संस्कृति विकास हुँदै गयो । त्यस कारण हाम्रो ध्यान विदेशमा भन्दा पनि स्वदेशमै केन्द्रित हुन पुग्यो,’ सिंहले सुनाए । तर, अब भने विदेशी बजारमा पनि आक्रामक ढंगले मार्केटिङ गर्ने सोचमा छन् कुमुद ।

त्यसो त उद्यमी कुमुद कफी कम्पनीमै मात्र सीमित छैनन् । उनकै नेतृत्वमा विगत पाँच वर्षदेखि इमेजिङ नामको इभेन्ट म्यानेजमेन्ट कम्पनी पनि सञ्चालनमा छ । यसले कर्पोरेट हाउसका इभेन्ट म्यानेज गर्नेदेखि तिनका उत्पादनहरूको बजारीकरणका लागि आवश्यक रणनीति र योजना बुन्ने गर्छ ।

एउटा उद्यमीका रुपमा कुमुदले हासिल गरेको उपलब्धि एमबीए अध्ययनबिना सायदै सम्भव थियो । त्यो कुमुद आफैं पनि स्विकार्छन् । ‘पहिले काम त गरिन्थ्यो तर, व्यवस्थापनको सीप थिएन,’ कुमुद विगत कोट्टयाउँछन्, ‘उत्पादन जतिसुकै राम्रो भए पनि व्यवस्थापन गतिलो छैन भने लक्ष्य हासिल हुँदैन भन्ने एमबीए अध्ययनबाटै थाहा भयो ।’ एमबीए अध्ययनले व्यवस्थापन, बजार, ब्रान्ड निर्माणलगायत व्यवसायका लागि आवश्यक पर्ने समग्र पक्षमा सीप विकास गर्न सघाएको कुमुदको अनुभव छ । त्यसमाथि स्वदेशमै अध्ययन गरेका कारण काम गर्दा आइपर्ने समस्या र चुनौतीहरूलाई ‘हयान्डल’ गर्ने सीप पनि एमबीएले नै दिएको कुमुदको ठहर छ ।

स्वदेशी डिग्रीले सफलतातिर डोर्‍याएको भए पनि पाठयक्रममा केही सुधारको खाँचो भने देख्छन् उनी । कुमुदको भनाइमा साना तथा मझौला उद्योग र स्टार्टअप कम्पनी कसरी सफल गराउनेजस्ता विषयलाई एमबीएको पाठयक्रममा समेटिएको खण्डमा स्वदेशको एमबीए डिग्री अझ बढी प्रभावकारी र गहन बन्नेछ ।

प्रकाशित : पुस १३, २०७४ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?