समृद्धितर्फ लम्किंदै दोलखाका उत्तरी गाउँबस्ती

दोलखा (लामावगर) — केही समयअघिसम्म दु:ख हेर्न दोलखाको उत्तरी भेगमा जानुपर्छ भनिन्थ्यो, अहिले राम्रा अवसरका लागि त्यता जानुपर्छ ।

समृद्धितर्फ लम्किंदै दोलखाका उत्तरी गाउँबस्ती

गरीवि, अशिक्षा र पछौटेपनाले जकडिएको दोलखाको उत्तरी क्षेत्रको पहिचान बदल्ने जस तिव्र विकास भैरहेको जलविद्युत् आयोजनाहरुलाई जान्छ । चालु माथिल्लो तामाकोसीलगायत दर्जनौ जलविद्युत आयोजनाका कारण जनताका घरमै अवसरहरु आइरहेका छन् । दोलखाको उत्तरी क्षेत्र प्रवेशको घाँटी सिंगटी बजारबाट तिब्बती सिमाक्षेत्रतर्फ लागेपछि डोजरले जोतिरहेको देखिन्छ ।


सडक र सुरुङका लागि पड्कीएको ब्लास्टिङका आवाज सुनिन्छ । भिमकाय सामाग्री (१२० टनसम्मका) मेशिनहरु बोकेका ठूलाठूला गाडीहरु कुदिरहेको मात्रै भेटिन्छ । सुरक्षा टोपी लगाएका मानिसहरु काम गरिरहेको मात्रै भेटिन्छ ।


जलविद्युत आयोजनाबाट सिर्जित रोजगार, व्यवसाय र पर्यटकीय उद्यमका अवसर खोज्दै यस क्षेत्रमा मानिसहरुको ओइरो लागिरहेको छ । कयैन दक्ष जनशक्तिहरु वाहिरबाट यस क्षेत्रमा अवसरको अनुभवका लागि प्रवेश गरिरहेका छन् । ‘यहाँ बेकामी कोही छैनन्, गर्न खोज्नेले तत्काल काम पाइहाल्छन्,’ लामावगरका वडा अध्यक्ष हिरण्डेबहादुर गुरुङ गर्वसाथ भन्छन्, ‘हाइड्रोपावरका कारण मिहेनती मानिसहरुलाई जे उद्यम गरे पनि पैसा फलिहाल्छ ।’


आफ्नो क्षमता अनुसारको रोजगार फालाफाल छ । कृषि उपजहरु जति पनि बिक्छन् । सडक सञ्जालका कारण हिंडेर सहर बजार पुग्नुपर्ने दिनहरु पनि सकिएका छन् । बाहिरिया मानिसहरुको आगमण र अस्थायी वासोवासले होटलदेखि पसल व्यवसायीहरु फाइदाको दृष्टिले चम्किरहेका छन् ।


चालु आयोजनाहरुमध्ये देशकै ठूलो माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको कार्य सुरुवातसंगै क्रमिक रुपमा यस क्षेत्रको परिवर्तनको ढोका खुलेको हो । यसक्षेत्रको विकासको पहिलो खुड्किला तामाकोसी आयोजनाले बनाएको सडक विस्तार सावित भएको छ । सडक नआएसम्म मानिसहरु ३२ कोष हिडेर जिल्ला सदरमुकाम पुग्थे । डोकोमा लादिएको भारी नाम्लोको साहरामा मानिसको थाप्लोले थेगेर यस क्षेत्रको भोक टर्थ्यो ।


बाटाहरु अप्ठेरा भएका कारण कयौं लडेर घाइते हुन्थे, ज्यान जान्थ्यो । तिब्बती सीमा गाउँ लामावगरसम्म पुग्दा भोका, नाङ्गा, निरक्षर कुपोषणपीडित वालवालिकाहरु बाटा वरपरका गाउँवस्तीमा भेटिन्थे । अहिले परिस्थिति विलकुल बदलिएको लामावगरका अगुवामध्ये छ्योतर शेर्पा बताउँछन् । ‘निरक्षरले पनि मासिक २० हजार भन्दा माथिको जागिर घरमै रहेर पाउछन्, पढेलेखाको थप कमाई छ,’उनले भने ।


उनका अनुसार राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी आयोजना भित्रिएपछि यस क्षेत्रमा पनि गौरवका दिन भित्रिएका हुन् । आयोजनाले जव सडक ल्यायो मानिसको दु:ख आधा सकियो । तामाकोसी आयोजनाले काम सुरु गरेपछि मानिसहरुको कमाइ खाने आधार घर आँगनमै आयो । उक्त आयोजनाले सदरमुकामदेखि सडक सुधार गर्दै उत्तरी केन्द्र सिंगटीबाट लामावगरसम्म मोटर चल्ने बनाएपछि यसक्षेत्रमा उज्याला दिन सुरु भएको हो । तामाकोसी आयोजनाले सडक र विद्युत् राजमार्ग (ट्रान्समिसन लाइन) विस्तार गरेपछि उत्तरी क्षेत्रका हरेक खोलाहरुमा निर्माणाधिन दर्जन हाराहारीको जलविद्युत् आयोजनाहरुले ग्रामीण बस्तीका भित्रि कुनामा सडक सञ्जाल पुर्‍याइयो ।

विस्तारित विद्युत् आयोजनाको सञ्जालले भित्रि बस्तीहरुमा बजारीकरण भैरहेका छन् । बजारीकरणसँगै स्थानीय उत्पादन खपत, रोजगारको सिर्जनाले मानिसहरुका कमाइ गर्ने आधार थपिंदै गएको छ । लामावगरका वडा अध्यक्ष गुरुङको भनाईमा केहीसमय अघिसम्म यहाँका मानिसहरु तामाकोसीले स्थानीयलाई दिने भनिएको सेयर रकम हाल्न सक्दैनन् भन्ने ठानिन्थ्यो । त्यसैले यहाँका वासिन्दाले अधिकारले पाउने सेयरको कित्ता नै घटाइयो । उनी थप्छन्, ‘अब यहाँका मानिसहरु जति पनि पैसा लगानी गर्न सक्छन् भनेर अधिकारअनुसारको सेयर दिइनुपर्ने माग गरिरहेका छन् ।’


यतिखेर यहाँका मानिसहरु कि त स्थानीयस्तरमा उद्यम गर्दैछन्, कि त नजिकका विकासको काममा रोजगार गर्दैछन् । वैदेशिक रोजगारमा न्युन संख्यामा छन्, गएकाहरु पनि फर्किएर घर नजिकै केही न केही सहभागी छन् । माथिल्लो तामाकोसीका अनुसार हालसम्म आयोजनाको ९३ प्रतिशत काम सम्पन्न भैसकेको अवस्थामा पनि करिब एक हजार मानिस यहीँ आयोजनासँग गाँसिएर आयआर्जन गरिरहेका छन् । यस क्षेत्रका प्रदेशसभा सदस्य पशुपति चौलागाईं हाइड्रोपावर कम्पनीको आगमणसँगै उत्तरी क्षेत्रको समृद्धिको ढोका खुलेको बताउँछन् । ६५० मेगावाटको तामाकोसी तेस्रो आयोजना सञ्चालनका लागि पहल थालिएको उनले बताए । ‘उक्त आयोजनाको सुरुवात र लामावगरबाट चीनको सिमासम्म सडकले जोड्ने प्रयास सफल भए दोलखा जिल्लाले काँचुली फेर्छ,’ सांसद चौलागाईंले भने ।

उक्त आयोजनाको पछिपछि लागेर आएको अन्य निजी आयोजनाहरुका कारण स्थानीय र वाहिरीया गरेर हजारौ मानिसहरु काममा छन् । रोजगार र उद्यमका कारण यस क्षेत्रको लगभग सतप्रतिशत वालवालिकाहरु विद्यालय शिक्षामा भएको जिल्ला शिक्षा कार्यालयको प्रगतिवेदनले बताउँछ । गरीविको सुचांङ्कमा पनि यस क्षेत्र उकालो लागिरहेको अगुवा पेम्बाछिरी शेर्पा भन्छन् । उनका अनुसार पहिलेपहिले जस्तो खान पाइन, लाउन पाइन, छोराछोरी पढाइन पाइन भन्नेहरु छैनन् । उच्च शिक्षा हासिल गर्नेहरुको संख्या भने अझै न्युन रहेको उनले बताए ।


माथिल्लो तामाकोसीले ९३ प्रतिशत काम सकेर आउने मंसिरमा काम सक्ने प्रक्षेपण गरेको छ । यसैको टेलरेसबाट तामाकोसी पाँचौको काम पनि थालिसकेको छ । रोल्वालिङ खोलाको काम पनि यसैले सुरु गर्ने योजना बनाइरहेको छ । यसै क्षेत्रमा अरु एक दर्जन आयोजनामध्ये आधाले धमाधम काम गरिरहेका छन् भने आधा जति काम थाल्ने योजनामा छन् । माथिल्लो तामाकोसीले निम्त्याएको अरु जलविद्युत आयोजनाहरुका कारण कुनै बेला अति दुर्गम क्षेत्रमा राखिएको उत्तरी क्षेत्र सुगममा परिणत भैरहेको छ । जलविद्युत नै प्रमुख आधार बनाएर दोलखाको समृद्धि हुनसक्ने प्रतिनिधिसभा सदस्य पार्वत गुरुङ बताउछन् । जलविद्युत हवकै रुपमा रुपान्तर भैरहेको उत्तरी क्षेत्रबाट तिब्बत जोड्ने नाका खुलाउने तयारी भैरहेको उनले बताए । नाकासमेत खुलेर विद्युत आयोजनाहरु सम्पन्न भएपछि पहिले दु:खले जेलिएको भनेर चिनिने दोलखाको उत्तरी क्षेत्र समृद्धिले भरिएको बस्तीहरुमा रुपान्तरित हुने उनले दावी गरे ।


प्रकाशित : पुस २७, २०७४ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?