कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बंगलादेशका मेडिकल कलेज “स्तरहीन”

नेपाली दूतावासका अधिकारी भन्छन्, ‘हतारमा निर्णय गरेर फुर्सदमा नपछुताउनोस् ।’
पर्वत पोर्तेल

ढाका (बंगलादेश) — गत वर्ष बंगलादेशको ढाकास्थित नाइटिङ्गेल मेडिकल कलेज बन्द भयो । त्यसको कारण थियो– सरकारी मापदण्डअनुसार सञ्चालन नहुनु । त्यो कलेज बन्द हुँदा २० नेपाली विद्यार्थीको भविष्य झन्डै अन्धकार बनेको थियो । 

बंगलादेशका मेडिकल कलेज “स्तरहीन”

‘ती विद्यार्थीलाई अन्य ६ कलेजमा स्थानान्तरण गर्नुपर्‍यो,’ ढाकास्थित नेपाली दूतावासका नियोग उपप्रमुख धनकुमार ओलीले भने, ‘अहिले पनि सिटीलगायतका केही नाम चलेका मेडिकलमा समस्या देखिएको छ । आठ कलेजलाई त सरकारले नयाँ भर्ना गर्न नै रोक लगाएको छ ।’


यो प्रतिनिधि घटना मात्रै हो । बंगलादेशका मेडिकल कलेजहरूमा पछिल्लो समस्या गुणस्तरमा समस्या देखिएको छ । सरकारी कलेजहरू प्राय: स्तरीय नै छन् । तर, निजी लगानीमा सञ्चालित कलेजहरूको गुणस्तर ज्यादै खस्केको छ । धेरैले सरकारी मापदण्ड पूरा नगरी अवैध ढंगबाट पठनपाठन गरिरहेका छन् । नेपाली दूतावासले केही समयदेखि बंगलादेशका ३० भन्दा वढी मेडिकल कलेजलाई कालोसूचीमा राखेको छ । उसले नेपालस्थित शिक्षा मन्त्रालय तथा नेपाल मेडिकल काउन्सिललाई यसबारे पत्राचारसमेत गरिसकेको छ । सरकारी मापदण्ड पूरा नगरी सञ्चालित कलेजहरूमा अध्ययनका लागि आउने नेपाली विद्यार्थीहरू समस्यामा पनि पर्ने गरेका छन्, ठगिएका पनि छ, दु:ख पनि पाएका छन् । ‘कुन कलेज कस्तो छ भन्ने बुझेर मात्रै नेपाली विद्यार्थी पढ्न आएको राम्रो,’ नियोग उपप्रमुख ओली सुझाउँछन्, ‘हचुवाका भरमा आउने विद्यार्थीले यहाँ समस्या भोग्छन् ।’


बंगलादेशको स्वास्थ्य मन्त्रालयमा इजाजत लिएर सञ्चालन भएका मेडिकल कलेज ९६ वटा छन् । तीमध्ये ३० वटा सरकारी हुने भने ६० वटा निजी । ६ वटा चाहिँ बंगलादेशको रक्षा मन्त्रालय मातहतमा सञ्चालित छन् । सरकारी इजाजतै नलिएका कलेजहरूको संख्या पनि उल्लेख्य छ । खासगरी नेपाली विद्यार्थीहरूचाहिँ यस्ता अवैधानिक कलेजहरूको जालमा परेको पाइएको छ । ‘फ्ल्याट भाडामा लिएर पनि मेडिकल कलेजको नाममा विद्यार्थी पढाइएको पाइन्छ,’ ढाकाका व्यवसायी नासिर हुसेन भन्छन्, ‘पछिल्लो समय सरकार यस्ता कलेजविरुद्ध कडा रूपमा प्रस्तुत भएको छ ।’ यहाँको सरकारले प्रयत्न गर्दा गर्दै पनि सबै कलेजलाई नियमन गर्न नसकिरहेको उल्लेख गर्दै उनी थप्छन् । ‘सरकारले पठनपाठन रोक्नु भनेका कतिपयले कलेजले अदालतबाट स्टे अर्डर लिएर पनि कक्षा सञ्चालन गरिरहेका छन् ।’


नेपाली दूतावासका अनुसार, यहाँका ३० भन्दा बढी कलेज शंकास्पद छन् । ती कलेजको सम्पूर्ण विवरण शिक्षा मन्त्रालयमा पठाइएको छ । ‘कम्तीमा नेपाली विद्यार्थी यहाँ आएर ठगिनु नपरोस् भन्ने हाम्रो ध्येय हो,’ ओली भन्छन्, ‘तर, विद्यार्थीहरू आफ्नै कारणले ठगिइरहेका छन् ।’


बंगलादेशी कलेजको बढ्दो समस्याका कारण नेपाली विद्यार्थी निरास पनि बनेका देखिन्छन् । गत डिसेम्बर १९ मा ढाकाको बारीधारास्थित पायोनियर डेन्टल कलेजमा एक नेपाली विद्यार्थीको मृत्यु भयो । मोरङकी २० वर्षीया बेनिशा साह होस्टलमै झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । उनले आत्महत्या गरेकी हुन् या हत्या, यहाँको प्रहरीले अनुसन्धान जारी राखेको छ ।


विवादास्पद कलेजहरू लाखौं रुपैयाँ खर्च गरेर नेपाली विद्यार्थी नआउनू भन्ने दूतावासको धारणा छ । यहाँ कतिपय नयाँ कलेज प्रक्रियागत रूपमा चलिरहे पनि कतिपयलाई चाहिँ सरकारले तत्काल बन्द गर्न निर्देशन दिइसकेको छ । भलै धेरैले सरकारी निर्देशन अवज्ञा गर्दै पठनपाठन जारी राखेका छन् ।


दूतावासका अनुसार, बंगलादेशका विभिन्न मेडिकल तथा डेन्टल कलेजमा ३ हजार हाराहारी नेपाली अध्ययनरत छन् । नेपाली विद्यार्थीको संख्या अझै बढी पनि हुन सक्ने दूतावासको अनुमान छ । ओली भन्छन्, ‘हाम्रो सम्पर्कमा आएकाहरू ३ हजार जति छन् । हाम्रो सम्पर्कमै नआई पढदै गरेकाहरू पनि प्रशस्तै हुन सक्छन् ।’


ओलीका अनुसार विद्यार्थी आउनुअघि दूतावासको सम्पर्कमा नआउने परिपाटी छँदै छ । यहाँ आउने विद्यार्थीलाई दूतावासको प्रत्यक्ष सम्पर्कमा बस्न पनि उनी अनुरोध गर्छन् । ‘कलेजको क्वालिटी कस्तो छ, होस्टलको बसाइ कस्तो छ ? सबै बुझेर मात्रै आउनुहोस्,’ नेपाली विद्यार्थीलाई उनको आग्रह छ, ‘हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने काम नगर्नु होला ।’

मेडिकल शिक्षाका लागि बंगलादेश नेपालीहरूको पुरानै गन्तव्य हो । सन् ६० को दशकदेखि नै, जुन बेला बंगलादेश पूर्वी पाकिस्तान थियो, नेपालीहरू यहाँ डाक्टरी पढ्न आएको देखिन्छ ।

प्रकाशित : पुस २८, २०७४ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?