२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

ओमविक्रम भन्छन्– सरकारले सहयोग गर्न म राजनेता होइन

मृगौला दाताको पर्खाइमा ‘पप किङ’
दिनेशजंग शाह

न्यूयोर्क — ‘म मौनतामा अल्झिरहेको एउटा जीवन,
कहाँ जाने, कसलाई सोध्ने, कसलाई खोज्ने,
म आशै आशमा अल्झिरहेको एउटा जीवन’
वियोग र आशाले भरिएको यो गीत नेपाली संगीतका पारखीलाई सदैव कर्णप्रिय छ । नेपाली संगीतमा नयाँ आयामको थालनी गरेका ‘पप किङ’ ओमविक्रम विष्टको यो गीत, अहिले स्वयं उनैको जिवनको पर्याय जस्तै बनेको छ ।

ओमविक्रम भन्छन्– सरकारले सहयोग गर्न म राजनेता होइन

दुवै मृगौलाले काम गर्न छोडेपछि समुद्र पारी ओमविक्रमको ६२ वर्षे जिवनमा मौनता छाएको छ । भोलीको ‘आशै आश’को जिन्दगीमा बाँचिरहेका छन, उनी ।

‘प्रभुको ईच्छा भए, फेरि स्टेजमा फर्किनेछु । नत्र, यस्तै त हो जीवनको लिला,’ गलेको आवाजमा उनले भने, ‘सास रहुन्जेलको आश त हो ।’ उनीसँग अहिले दुवै मृगौला फेर्नुको विकल्प छैन । मृगौला दानीलाई पर्खनु, उनको नियती हो, अब ।

एक वर्षभन्दा बढी भयो ओमविक्रम थला परेको । व्यथाले अत्यधिक च्यापेपछि करिब ६ महिनाअघि भेन्टीलेटरमा तीन दिन, तीन रात बस्नुपर्‍यो । ‘यहाँ (अमेरिका) भएर बाँचें,’ मलिन स्वरमा भने ।

त्यसबेला उनी कनेटीकेटको सेन्टमेरिज हस्पिटलमा सत्र दिन बस्नुपर्‍यो । अहिले पनि हप्तामा तीन दिन, अस्पताल ध्याउनुपर्छ । तीन छोरी र एक छोराका बाबु, ओमविक्रमको हेरचाह अहिले माइली छोरी, ज्वाईंले गरिरहेकाछन् ।

‘मलाई पेनकिलर सखाप पारेछ,’ उनले भने, ‘खानपिनमा धेरै नै सहजकता अपनाएकै थिएँ, तर लामो समयको दुखाई कम गर्ने औषधि ‘पेनकिलर’ले मलाई भित्र भित्रै सिध्याएछ ।’

करिव डेढ वर्षअघि, घुँडा दुखेर हिँड्नै नसक्ने भएपछि, एक साथीको सल्लाहमा आफू ललितपुरको लगनखेलस्थित एक भारतीय आर्युवेदिक वैद्य कहाँ पुगेको बताउँदै भने, ‘घुडा त सन्चो भयो, तर औषधिले किड्नीलाई हानेछ ।’

छोरी अमेरिका भएकै कारण, विगत एक दशकदेखि यता आतजाते गर्दै आएका ६२ वर्षीय विष्ट, स्वास्थ्य बिमा भएकै कारण अमेरिकामा अडिएका छन् । तर अन्य खर्चहरु थेग्न भने उनलाई हम्मेहम्मे परिरहेको छ । केही चिकित्सकीय परिक्षणपछि अन्य केही अमेरिकी राज्यमा पनि मृगौलाको लागि आवेदन दिने योजनामा छन् । उसो त यसअघि नै उनको नाम मृगौला प्रत्यारोपणको सूचिमा परिसकेको छ ।

अब उनका सामु दुई विकल्प छन्– अमेरिकामा मृगौला प्रत्यरोपणका लागि पर्खनु वा अन्य देशमा जानु ।

मृगौला प्रत्यारोपणका लागि उनी बसिरहेको न्यूयोर्कको अल्बानी क्षेत्रमा सरदर ६ वर्षसम्म कुर्नुपर्ने स्थिती देखिन्छ । ‘यो अवस्थामा, यो पखाईलाई निरन्तरता दिन, त्यति सहज छैन,’ केहिबेर सुस्ताएपछि उत्साहित हुँदै उनले थपे ‘खुशीको कुरा मेरिल्याण्ड, फ्लोरिडा लगायत अन्य पाँच राज्यमा पनि मृगौलाका लागि आवेदन दिन सकिने चिकित्सकले बताएका छन् ।’

मृगौला प्रत्योरोपणका लागि चीन वा भारत पुग्ने सम्भावना पनि छ । त्यसका लागि पचासौं लाख खर्च लाग्नेछ । रकमको जोहो, अर्काे चुनौती हो । यस्तो स्थितीमा यात्रा गर्दाको जोखिमबारे चिकित्सकले बिष्टलाई सचेत गराउँदै आएका छन् ।

उनका देश, विदेशमा रहेका शुभचिन्तकहरुको प्रयासमा अहिलेसम्म १९ लाख रकम संकलित भएको छ ।

‘कसैसँग मैले पैसा मागेको होईन । हात फैलाएको पनि छैन । सबैले म प्रति माया दर्शाएका हुन्,’ उनले भने ।

सरकारले सहयोग गरेन त भन्ने प्रश्नको उत्तर दिँदा उनको गला अवरुद्ध भयो । ‘म राजनेता त परेन नी,’ उनले भने ।

स्वास्थ्य समस्या देखिएपछि तत्कालीन स्वास्थ्यमन्त्री गगन थापा र अर्का मन्त्री दिपक बोहरालाई उनले धेरैपटक फोन गरेर आग्रह गरे । तर सुनवाई भएन ।

यसमा खासै चित्त दुखाई छैन उनलाई । चित्त दुखाई छ केवल, संगीत र चलचित्र क्षेत्रका साथीहरु प्रति । ‘दुई चारजना साथी बाहेक गीत संगीत र चलचित्र क्षेत्रका समकालीन लगायतका कसैले पनि स्वास्थ्य लाभको दुई शब्दको शुभकामना दिन कन्जुस्याई गरेको देख्दा, मन विक्षिप्त भएको छ,’ यसो भन्दा उनको गह भरिएको थियो ।

प्रकाशित : माघ ५, २०७४ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?