१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कान्तिपुरको कथा

२०४९ को असार महिनातिर थापाथलीमा प्रसूतिगृहअगाडि घर भाडामा लिएपछि बिस्तारै काम अगाडि बढ्न थाल्यो । केही समयसम्म त मैले त्यस घरमा एक्लै बसेर गृहकार्य गरें । 
योगेश उपाध्याय

काठमाडौँ — गोयन्का ठूलो कलेवरमा अंग्रेजी दैनिक निकाल्न इच्छुक हुनुहँुदो रहेछ । त्यसै सन्दर्भमा मेरा मित्रले उहाँलाई मेरो नाम सुझाएका रहेछन् । यो भेटघाट नै कान्तिपुर र द काठमान्डु पोस्टको आरम्भको थालनी हुन पुग्यो । पटक–पटकको भेटघाट र छलफलपछि अन्तत: अंग्रेजी दैनिकको नाम द काठमान्डु पोस्ट राख्ने निधो भयो । 

कान्तिपुरको कथा

२०४८ साल कात्तिक महिनाको अन्त्यतिर झन्डै तीन महिना लामो युरोप र इजिप्ट प्रवासपछि काठमाडौं फर्कंदा मेरा एक मित्रले मलाई खोजिरहेका रहेछन् । उनले मलाई श्याम गोयन्कासँग भेटाए । उहाँसँग मेरो सामान्य परिचय मात्र थियो ।

जनकपुरका एक व्यापारी परिवारका श्याम गोयन्का त्यतिखेर त्रिपुरेश्वरमा एउटा फर्निचरर सायद एउटा ‘लोरिङ फर्निसिङ’ को पसल साझेदारीमा चलाउनुहुन्थ्यो । थानकोटमा एउटा बदाम प्याकिङ गर्ने कारखानामा पनि साझेदारी रहेको उहाँले मलाई बताउनुभएको थियो ।

त्यतिखेर म भारतीय अंग्रेजी दैनिक द हिन्दुको काठमाडौं संवाददाता हुनुका साथै स्थानीय पत्रकारितामा पनि संलग्न थिएँ । युरोपतिर लाग्नुअघि किशोर सिलवालद्वारा प्रकाशित एवं अग्रज पत्रकार मुकुन्द पराजुली प्रधानसम्पादक रहनुभएको जनमञ्च साप्ताहिकमा सम्पादक थिए ।

गोयन्का ठूलो कलेवरमा अंग्रेजी दैनिक निकाल्न इच्छुक हुनुहुँदो रहेछ । त्यसै सन्दर्भमा मेरा मित्रले उहाँलाई मेरो नाम सुझाएका रहेछन् । यो भेटघाट नै कान्तिपुर र द काठमान्डु पोस्टको आरम्भको थालनी हुन पुग्यो । पटक–पटकको भेटघाट र छलफलपछि अन्तत: अंग्रेजी दैनिकको नाम द काठमान्डु पोस्ट राख्ने निधो भयो । २०४८ फागुनमा मेरो सम्पादकत्वमा पत्रिका दर्ता भयो । कान्तिपुर अझै भविष्यको गर्भमै थियो । मेरो प्रयास जारी थियो ।

***

राष्ट्रिय दैनिकको नाममा सरकारी प्रकाशन गोरखापत्र र द राइजिङ नेपालको मात्र वर्चस्वको बेला थियो त्यो । निजी क्षेत्रमा नाम चलेका केही साप्ताहिकहरू थिए जसले हरेक दिन पालैपालो दैनिकको अवश्यकता पूरा गर्थे । तर त्यो पर्याप्त थिएन । बहुदलीय प्रजातन्त्रको पुन:स्थापना भएको त्यस समयमा निजी क्षेत्रमा प्रजातान्त्रिक रुझानको संस्थागत निर्भीक र निष्पक्ष व्यावसायिक पत्रकारिता मजासँग फस्टाउने कुरामा म विश्वस्त थिएँ ।

२०४९ को असार महिनातिर थापाथलीमा प्रसूतिगृह अगाडि घर भाडामा लिएपछि बिस्तारै काम अगाडि बढ्न थाल्यो । केही समयसम्म त मैले त्यस घरमा एक्लै बसेर गृहकार्य गरें । यसबीच गोयन्काले दैनिक होइन, साप्ताहिक पत्रिका निकाल्ने हो कि भनेर पनि कुरा उठाउनुभयो । म सहमत थिइनँ । उहाँको कुरा सुन्नेहरूलाई पनि सम्झाउन लगाएँ ।

कानुनी सल्लाहकारको आवश्यकता देखेर रामकृष्ण निरालालाई अनुरोध गरियो । उहाँले मान्नुभयो । त्यसपछि काठमान्डु पोस्टका लागि केही पदहरू पूर्ति गरियो । अलिअलि काम सुरु भयो । यसरी सुरुमै आउनेमध्ये रमेश सुवाल, साप्ताहिक जनमञ्चका सहकर्मी नारायण वाग्ले, अनि गोरखापत्र संस्थान छोडेर आएका सुशील शर्मा, विजय अर्याल, विनोद भट्टराई पनि थिए । यो नियुक्तिसँगै नेपालको निजी क्षेत्रको पत्रकारिता व्यवसायमा नियुक्तिपत्र दिने प्रक्रिया पहिलो पटक सुरु भयो ।

लामो प्रयासपछि श्यामका भिनाजुमध्ये एक विनोद (अन्तिम नाम अहिले सम्झन सकिन) लाई मैले नेपाली दैनिक अपरिहार्य भएको कुरामा आश्वस्त गरें । उनले आश्वस्त गराएपछि गोयन्का सहमत हुनुभयो । नाम मैले पहिले नै सोचिसकेको थिएँ, कान्तिपुर, काष्ठमण्डपको लोगोसहित । त्यसमा पनि सहमति भयो । काठमाडौं त काष्ठमण्डप शब्दको अपभ्रंश भएर बनेको नाम हो ।

विश्वका कतिपय सहरहरू आफ्नो पुरानै नाममा फर्केका छन् । हामीले पनि काठमाडौंलाई यसको पुरानै नाम कान्तिपुर फर्काउने हो कि ? सरकारले पनि सोचोस्, औपचारिक रूपमा नाम फेरोस् ।

२०४९ को असोजको मध्यतिर दसैंअघि पत्रिका दर्ता भयो । कान्तिपुर र काठमान्डु पोस्ट दुवै सुरुमा आठ–आठ पेजको हुने निधो भयो । र, दुवै पत्रिकाको शुभारम्भको मिति निश्चित गरियो, २०४९ फागुन ७ ।

***

दसैंपछि दुवै पत्रिकाका लागि पत्रकार, कम्प्युटर अपरेटर, प्रुफरिडर आदि नियुक्त गर्ने र तिनलाई ठूलो कलेवरको अखबार सुहाउँदो तालिम दिई अभ्यास गराउने कार्य युद्धस्तरमा सुरु भयो ।

ठूलो कलेवरको पत्रिकाको अनुभव भएका व्यक्ति अत्यन्त कम थियौं । पेजहरूको नामकरण गर्ने र तिनमा हाल्ने सामग्री निश्चित गर्ने, संवाददाताहरूलाई बिट तोकी समाचार संकलन गर्न पठाउने, समाचार सम्पादन गर्ने/गराउने अभ्यास मात्र होइन, सानो आकारमा भए पनि तयार भएका पृष्ठहरू कम्प्युटरबाट निकाल्ने अभ्यास पनि थालियो । कान्तिपुरका पृष्ठहरूको प्रारम्भिक संयोजन, उपसम्पादकहरूको तालिम र अभ्यास आदि कार्यमा चर्चित निबन्धकार र पत्रकार दिनेश सत्याल (सौरभ) को सहयोग अविस्मरणीय छ ।

त्यतिखेर कान्तिपुर प्रवेश गर्ने उल्लेख्य नामहरूमा थिए, अनिरुद्ध गौतम, जनमञ्चका मेरा सहकर्मीहरू तारानाथ दाहाल, जिवेन्द्र सिम्खडा, फोटोग्राफर चन्द्रशेखर कार्की, अनि मैले साप्ताहिक देशान्तरको विदेश पृष्ठ संयोजन गर्ने गरेको बेलादेखिका परिचित हरिबहादुर थापा ।

चार महिनाभन्दा पनि कमको लगातार अभ्यास र दुईवटा नमुना अंकपछि बजारमा ढिलो पुगे पनि अन्तत: २०४९ फागुन ७ गते कान्तिपुर र द काठमान्डु पोस्टको प्रकाशन आरम्भ भयो ।

प्रकाशन त आरम्भ भयो तर त्यसलाई निरन्तरता दिने काममा कम्तीमा पनि तीन वर्षको खर्च उठाउने स्रोत, आँट र धैर्य आवश्यक थियो । स्रोतको कमी टड्कारो भइसकेको थियो । यस पृष्ठभूमिमा २०४९ फागुन अन्त्यमा कैलाश सिरोहिया र विनोदराज ज्ञवाली प्रकाशन समूहमा भित्रनुभयो । कार्पेट निर्यात व्यवसायमा उहाँहरूले राम्रो ख्याति कमाउनुभएको थियो ।

केही महिनापछि गोयन्काले आफ्नो सेयर पनि उहाँहरूलाई बेची संस्थाबाट बाहिरिनुभयो । विनोदका पिता हेमराज ज्ञवाली संस्थाको अध्यक्ष हुनुभयो । संस्थाले बलियो काँध पाएको आभास भयो । प्रकाशनको पहिलो वर्ष नानाथरीका कठिनाइको वर्ष पनि थियो । बाढीपहिरोका कारण अखबार छाप्ने कागज आइनपुगेको कारण कृष्णाष्टमीको उपलक्ष्यमा एक दिन अखबार निकालिएन । दुई–तीन पटक सहयोगी प्रेसमा अखबार छाप्न लगियो । र, प्रेस बिग्रेर दुई–तीन पटक समाचारपत्रका पुष्करलाल श्रेष्ठको सहयोग पनि लिएका थियौं ।

सम्पादकका रूपमा मैले के गरें वा गरिनँ, त्यसको चर्चा गर्न चाहन्नँ । आफ्नो कार्यकालमा सम्पादकका रूपमा म सफल–असफल के रहें, त्यसको मूल्यांकन समयले गर्ला । सुरुमा म एक्लैले काम थालेको संस्थाले आज २५ वर्ष पूरा गरेको मात्र हैन, नेपालको अग्रणी सञ्चार संस्थामा रूपान्तरित भएकामा म गौरवान्वित छु । यस उपलक्ष्यमा कान्तिपुर समूहका प्रकाशक, सम्पादक, अन्य सहकर्मी, पाठक, विज्ञापनदाता र शुभचिन्तक सबैलाई हार्दिक बधाई । र, म आफैंलाई पनि हार्दिक बधाई ।

उपाध्याय कान्तिपुर र द काठमान्डु पोस्टका संस्थापक सम्पादक हुन् ।

प्रकाशित : फाल्गुन ७, २०७४ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?