कान्तिपुर रजत यात्रा : जेल–यात्रा

कान्तिपुरले त्यो लेख त्यस बेला नछापेको भए सम्भवत: भट्टराईका फेरिएका विविध रूप आज जनसमक्ष आउने थिएनन् । किनकि उनीबारेका विविध शंका र प्रश्न त्यो लेखसँग जोडिन पुगेका छन् ।
युवराज घिमिरे

काठमाडौँ — मेरो पत्रकारिता भारतमा सुरु भयो र अगाडि बढ्यो । नेपालमा प्रजातान्त्रिक व्यवस्था र संविधानमा अभिव्यक्ति तथा प्रकाशनको स्वतन्त्रताले संविधान (२०४७) मा मौलिक अधिकारको हैसियत हासिल गरेपछि व्यावसायिक पत्रकारिताले अनुकूल अवसर पाउने देखिन थालेको थियो ।

र, त्यसमा समर्पितहरूका लागि संघर्षको अवसरपनि थियो । तर, नेपालमा आएर केही गर्न या त पर्याप्त पुँजीको आवश्यकता थियो, या कसैले जिम्मेवारी लिन बोलाउनुपर्ने अवस्था थियो, नेपाल आउन । अन्तत: सन् २००० को अप्रिलतिर त्यो वातावरण बन्न थाल्यो । मबीबीसी (लन्डन) नेपाली कार्यक्रममा कार्यरत छँदाझन्डै सात वर्ष दुई फरकफरक व्यवस्थापनअन्तर्गत अस्तित्वमा रहेको कान्तिपुर प्रकाशनका प्रबन्ध निर्देशक कैलाश सिरोहियासँग फोनवार्ता भयो । साधारण सर्त थिए मेरा : म नेपालको परिस्थितिलाई स्वीकार गरेर आउँछु,तर नेपालीमै काम गर्छु । अर्को, मैले धेरै संघर्ष गरेर नेपालबाहिर एउटा पत्रकारको पहिचान बनाएको छु र त्यो पहिचानको सम्मान भएसम्म म तपाईंहरूसँग काम गर्छु । यही सहमतिमा सुरु भएको मेरो कान्तिपुरसँगको सहयात्रा करिब साढे ३ वर्ष जारी रह्यो । अन्तिम वर्ष ‘द काठमान्डु पोस्ट’ को सम्पादकका रूपमा समेत ।

Yamaha

पत्रकार र सम्पादकका रूपमा मेरो भूमिकाको लेखाजोखाको जिम्मा पाठकहरूको हो । तर, त्यस बेलाका केही महत्त्वपूर्ण घटना तथा ‘कभरेज’ ले नेपाली पत्रकारितामा दूरगामी प्रभाव छोडेका छन् ।

जुन ६, २००१ मा प्रकाशित डा. बाबुराम भट्टराईको लेख ‘नयाँ कोतपर्वलाई मान्यता दिनु हुँदैन’ लाई तीमध्ये एउटा उदाहरणका रूपमा लिन सकिन्छ । माओवादीलाई त्यस बेला नेपाल भारत र अमेरिकी सरकारले ‘आतंकवादी’ सूचीमा राखेको थियो । बेलायत सरकारको भूमिका दोहोरो थियो, माओवादीलाई हेर्ने । दरबार हत्याकाण्डको चौथो दिन कान्तिपुरमा माओवादी ‘च्यानल’ बाट आएको लेखमा तीन/चारवटा महत्त्वपूर्ण अभिव्यक्तिहरू थिए :

पहिलो : दरबार हत्याकाण्ड ‘साम्राज्यवादी’ अमेरिका र ‘विस्तारवादी’ भारतका बाहय जासुसी संस्था ‘सीआईए’ र ‘रअ’ ले संयुक्त रूपमा रचेकोषड्यन्त्रमा राजा ज्ञानेन्द्र र गिरिजाप्रसाद कोइराला सामेल रहेको र भारतद्वारा नेपाललाई भुटानीकरणमार्फत सिक्किमीकरणतिर लैजाने अभियानअन्तर्गत योषड्यन्त्र रचिएको उनको दाबी थियो ।

साथै, राजा पृथ्वीनारायण शाहदेखि राजा वीरेन्द्रको राजकीय भूमिकाको उच्च मूल्यांकन माओवादीले गरेको र साम्राज्यवादी तथा विस्तारवादी शक्तिसँग राजा वीरेन्द्रले टक्कर लिएकाले उनीविरुद्ध ती शक्तिहरूले षड्यन्त्र गरेको दाबी या प्रोपागान्डा पनि भट्टराईको थियो ।
तेस्रो, त्यस्तो ‘षड्यन्त्र’ पछि राजा बनेका ज्ञानेन्द्र शाहलाई मान्यता नदिन पनि उनले उक्त लेखमार्फत शाही नेपाली सेनालाई आग्रह गरेका थिए ।

पक्कै पनि उक्त लेखमा अनेकौं आपत्तिजनक र सिद्ध नगरिएका आरोप थिए र अभिव्यक्ति स्वतन्त्रतालाई भट्टराईले ‘प्रोपोगान्डा’ का औजारका रूपमा अपनाएका थिए । तर, एउटा पत्रकार या सम्पादकका लागि त्यो ‘प्रोपोगान्डा’ निषेध गर्न पनि त्यत्तिकै असहज हुने गर्छ । खासगरी पत्रकार र सम्पादकका रूपमा ‘निषेध’ को राजनीति र ‘पत्रकारिता’ को म विरोधी रहिआएको छु । अर्को, भट्टराईलाई उनका अभिव्यक्तिप्रति जिम्मेवार या जवाफदेही बनाउन पनि त्यसको प्रकाशन जरुरी थियो । उनकै भाषामा साम्राज्यवादी र विस्तारवादी शक्तिसँग टक्कर लिएका राजा वीरेन्द्रलाई हटाउने राजनीतिमा भट्टराई किन लागेका थिए त ? कुनै बाहय शक्तिले उनलाई बोकेको थियो कि थिएन ? त्यससँगै नेपालको इतिहासको एउटा अत्यन्त दु:खद घटना वा दरबार हत्याकाण्डबारे एउटा सशक्त र सशस्त्र विद्रोहका नायकको भनाइलाई स्थान नदिँदा पत्रकारितामाथि प्रश्न उठ्ने नै थियो । यी सबै कारणले र जे परे पनि त्यसका परिणाम सामना गर्ने अठोटका साथ त्यो लेख छाप्ने निधो गरें र भोलिपल्ट (६ जुन) मा त्यो छापियो ।

सामान्यत: ११ बजेसम्म अफिस पुगी बिहानको पत्रकारहरूको बैठक सकेर सम्पादकीय लेख्ने अनि विचार र विविध पृष्ठका लेखहरूबारे निर्णय लिने गथ्र्यौं त्यस बेला । सम्पादकीय लेख्दालेख्दै ‘इन्टरकम’ मा कैलाशजीको फोन आयो ‘आज छापिएको लेखका लागि हामीलाई गिरफ्टार गरिँदै छ । एकचोटि माथि आऊ न ।’

कान्तिपुरको तीनकुनेस्थित भवनको चौथो तलाबाट छैटौं तला (कर्पोरेट अफिस) उक्लें । डीएसपी यादव खनाललाई मौखिक आदेश दिइएको थियो, प्रकाशनका अध्यक्ष हेमराज ज्ञवाली, प्रबन्ध निर्देशक कैलाश सिरोहिया, निर्देशक विनोद ज्ञवाली र सम्पादक मलाई गिरफ्तार गरी ल्याउन ।
कर्पोरेट अफिसलाई त्यसै बिहान मात्र थाहा भएको थियो, लेख र त्यसका ‘कन्टेन्ट’ बारे । हेमराजजी बाहिर हुनुहुन्थ्यो । त्यसैले हामी तीनजना सरकारको मौखिक आदेश या मौखिक वारेन्टकै आधारमा हनुमानढोकातर्फ लाग्यौं, हिरासतमा कान्तिपुर प्रकाशन प्रांगणबाटै ।

मुलुकभित्र त्यसले विवाद जन्मायो, सम्पादकीय निर्णयको पक्ष र विपक्षमा । नारा र प्रदर्शन भए गिरफ्तार हामीहरूको रिहाइका लागि, नेपाल, भारत र अन्यत्र पनि । अमेरिकी विदेश मन्त्रालयले पनि रिहाइको माग गर्‍यो ।

गिरफ्तारीलाई उचित मान्दै गृह मन्त्रालयको कार्यभार समालेका उपप्रधानमन्त्री रामचन्द्र पौडेलले बीबीसीलाई अन्तर्वार्ता दिए । पूरा प्रक्रिया पुर्‍याएर तथा ‘वारेन्ट अफ अरेस्ट’ बुझाएर हामीलाई गिरफ्तार गरेको दाबी पनि थियो उनको । हिरासतमा हामीसँग फोन थिएन । तर, सरकारको प्रतिवाद गर्नु एउटा पत्रकार, सम्पादक र सचेत नागरिकका रूपमा मेरो जिम्मेवारी थियो । त्यसका केही दुष्परिणाम हुन सक्नेबारे छलफल गर्‍यौं । ज्ञवालीजीले त्यसो नगर्न आग्रहसमेत गर्नुभयो । तर, सत्य सार्वजनिक गर्ने उद्देश्यले समाचार सम्पादक नारायण वाग्ले बेलुका हामीलाई भेट्न आएको बेला बीबीसी (लन्डन) नेपाली सेवासँगको पूर्वसहमतिअनुसार मैले अन्तर्वार्ता दिएँ । भोलिपल्टदेखि मलाई सिरोहिया र ज्ञवालीबाट अलग गरी तर कैदसजाय पाइरहेका अपराधीसँग राखियो । केही प्रहरी ‘हाकिमहरू’ क्रुद्ध थिए, गृहमन्त्रीको खप्की खाएपछि ।

उता नेपाल सरकारका जिम्मेवार व्यक्तिहरू ‘माथिको आदेश’ भन्दै पन्छिन थाले । त्यसको संकेत राजदरबारतर्फ औंलिन थालेपछि संवाद सचिवालयले खण्डन गर्‍यो, यो गिरफ्तारीमा दरबारको कुनै हात नभएको स्पष्टीकरणका साथ । त्यस बेला नेपाल पाक्षिकका सम्पादक विजयकुमार पाण्डेले सम्भवत: प्रमुख सचिव पशुपतिभक्त महर्जनसँग यसबारे सोधेपछि संवाद सचिवालयको वक्तव्य आएको थियो ।

उता प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्ना एक विशेष दूतमार्फत सिरोहिया र ज्ञवालीसमक्ष सन्देश पठाएको र सम्पादक हटाएमा उहाँहरूविरुद्ध मुद्दा अघि नबढाउने आश्वासन दिएको मलाई धेरैपछि मात्र थाहा भयो । त्यो थाहा पाएपछि प्रबन्धक अर्थात् सिरोहिया र ज्ञवालीजीप्रति मेरो सम्मान निकै बढ्यो । प्रबन्धक र सम्पादकबीच मतभेद अस्वाभाविक हुँदैन तर सम्पादकको बचाउमा त्यस बेला उहाँहरूले हिरासतमा बस्न र प्रधानमन्त्रीसँग ‘डिल’ गर्न अस्वीकार गर्नुभएको मेरो साढे तीन वर्षको कान्तिपुर समूहको नेतृत्वको सबभन्दा ठूलो गौरवशाली क्षण मान्छु म त्यसलाई ।

अदालतमा पेस हुनुपूर्व हाम्रो बयान र पछि अदालतसमक्ष मैले दैनिक रूपमा पत्रिकाका ‘कन्टेट’ बारे योजनादेखि प्रकाशनपूर्वका सामग्रीबारे अन्तिम निर्णय सम्पादकले नै गर्ने हुनाले म त्यसको सम्पूर्ण नैतिक र कानुनी जवाफदेही लिन्छु भनेको थिएँ । तर, हिरासतदेखि अदालतसम्म प्रबन्धकको पूर्ण साथ रहयो । विशेष अदालतले सम्पादकलाई दुई हजार रुपैयाँ र सिरोहिया तथा ज्ञवालीलाई व्यक्तिगत जमानीमा छोड्यो, मुद्दा विचाराधीन छँदाको अवस्थामा । तर, उता बाहिर हाम्रो गिरफ्तारीको विरोध भइरहँदा यता सरकारको नेतृत्व परिवर्तन भयो । प्रधानमन्त्रीका रूपमा कोइरालालाई शेरबहादुर देउवाले विस्थापित गरेको केही सातामै हामीविरुद्धको राज्यद्रोहको मुद्दा फिर्ता लियो सरकारले ।

व्यक्तिगत रूपमा यसले मलाई हर्षित बनाएन । न्यायपालिकाको त्यस बेलाको छवि, विवेक, निष्पक्षता र न्यायाधीशप्रतिको आमनिष्ठा उपल्लो कोटिको थियो । संसदीय समिति सुनवाइको प्रक्रियामार्फत दल र दातृ निकायका प्रिय पात्रहरूलाई न्यायाधीश बनाइएला भन्ने कुरा अकल्पनीय थियो । हिरासतकै बीच हामीलाई अदालतमा पेस गरिँदा घरेलु तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुरा गर्ने जिम्मेवारी मलाई दिइएको थियो । मैले बारबार भन्ने गरेको थिएँ, ‘न्यायालयप्रति हाम्रो विश्वास पूर्ण छ, नि:सर्त छ र उसको निर्णय हाम्रा लागि मान्य हुनेछ ।’

त्यो आस्थाको अभिव्यक्ति थियो । तर, कान्तिपुर प्रकाशनका तर्फबाट मुद्दा लड्नुभएका वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाको रोहबरमा मैले सिरोहिया र ज्ञवालीजीलाई पटकपटक भनेको थिएँ– यो मुद्दा हामीले सर्वोच्चमा पनि लड्नुपर्ने हुन सक्छ र त्यो खर्चिलो पनि हुन सक्छ । सर्वोच्चले ‘प्रेस स्वतन्त्रता’ को सीमा तोक्ने अवस्थासमेत आउन सक्छ । यदि त्यहाँसम्म पुग्न गाह्रो लाग्छ भने मलाई सम्पादका रूपमा अहिले नै मुक्त गर्नु उचित हुनेछ । तर, सिरोहिया र ज्ञवालीसमेत ढुंगानाजीले सम्पादक हटाउने विकल्पमा अहिले जानै नहुने भनेपछि त्यो मुद्दा सेलाए पनि सर्वोच्चसम्म जानुपर्ने स्थिति आउँदै आएन, देउवा सरकारले मुद्दा फिर्ता लिएपछि ।

तर, योसँगै अर्को समानान्तर तरंग देखा पर्‍यो मुलुकमा । माओवादीले कान्तिपुरलाई उसकै मुखपत्रका रूपमा र सम्पादकलाई ‘मित्र’ का रूपमा प्रस्तुत गर्‍यो, रणनीतिक रूपमा । कुनै विचारलाई निषेध नगर्ने त्यस बेलाको सम्पादकीय नीतिबाट उनीहरूलाई तत्काल राजनीतिक फाइदा दिएको हुन सक्छ । तर, दीर्घकालीन रूपमा त्यसले भट्टराईलाई जिम्मेवार र प्रश्नको घेरामा ल्याई नै रहनेछ । के भारत र अमेरिकालाई दरबार हत्याकाण्डको दोषी मान्छन् उनी अहिले पनि ? उसो भए भारतले किन बोकिराख्यो उनलाई ? के १२ बुँदे र पछि डा. करण सिंह तथा श्याम शरण भ्रमणमा सात दल र राजाबीचको सहमतिलाई अर्थहीन बनाउन उनको प्रयोग भएन ? अझ जनसरकार प्रमुखको रूपमा हजारौंको हत्या, हिंसा र अरबौंको राष्ट्रिय सम्पत्तिको विध्वंसमा उनी आफूलाई कति जिम्मेवार मान्छन् ? अझ, आफैंले नेपाललाई भुटानीकरणमार्फत सिक्किमीकरणमा प्रयोग भएका ‘ल्हेन्डुप दोर्जे’ को उपमा दिएका गिरिजाप्रसाद कोइरालालाई महान् नेताका रूपमा कसरी स्विकारे ? भट्टराई साँच्चैका नेता थिए या अर्काले जिम्मा लगाएको तालाको चाबी बोकेका एक छद्म क्रान्तिकारी ?

कान्तिपुरले त्यो लेख त्यस बेला नछापेको भए सम्भवत: भट्टराईका फेरिएका विविध रूप आज जनसमक्ष आउने थिएनन् । किनकि उनीबारेका विविध शंका र प्रश्न त्यो लेखसँग जोडिन पुगेका छन् ।

भट्टराई माओवादी पार्टी र त्योसँगको अतीतबाट अलग हुने प्रयासमा छन् अझै पनि । तर, उनको वर्तमान र भावी राजनीतिक जीवनलाई उनको अतीत र त्यो लेखले छाया जसरी पछयाइरहनेछ । यो यथार्थ हो । तर, भट्टराईलाई यो परिस्थितिमा पुर्‍याउने उद्देश्यले त्यो लेख छापिएको थिएन । त्यसको एउटै कारण थियो, हामीले विशुद्ध पत्रकारिता गर्नुपर्छ भन्ने मान्यता थियो हाम्रो ।

अर्को, द्वन्द्वको सैन्य समाधान हुन सक्तैन र वार्ताका लागि द्वन्द्वरत पक्षको विचार एकअर्काले बुझ्नुपर्छ भन्ने धारणामा सम्पादकीय नीति हामीले अपनाएका थियौं । दरबार हत्याकाण्ड या त्यसको सेरोफेरोमा आएको डा. भट्टराईको लेख या कुनै विशेष मुद्दामा सीमित थिएन, त्यो धारणाबाट निर्देशित हाम्रो व्यावसायिक निर्णय या व्यवहार ।

अन्तमा, एउटा रमाइलो प्रसंगको उल्लेख सान्दर्भिक हुन सक्छ यहाँ । कान्तिपुर दैनिकमा ‘सम्पादक’ को जिम्मेवारी दिइएको मलाई लन्डनबाट आएपछि मात्र थाहा भयो । म ‘रिपोर्टिङ’ पृष्ठभूमिबाट आएको व्यक्ति हुनाले मेरो प्राथमिकता त्यतैतिर थियो । मैले यसलाई कान्तिपुर ज्वाइन गर्ने सर्तका रूपमा पेस पनि गरेको थिइनँ । तर, त्यसलाई मैले प्रबन्धकको मप्रतिको विश्वासभन्दा बढी अपेक्षाका रूपमा लिएको थिएँ ।

आइसकेपछि उपयुक्त घर (डेरा) कै खोजीका क्रममा थिएँ, एकाबिहानै अध्यक्ष हेमराज ज्ञवालीजीको फोन आयो । विचार पृष्ठमा मुख्य लेखको पहिलो भाग (माओवादी नेता सुरेश आलेमगरद्वारा लिखित) मा संस्कृत भाषाको विरोध र त्यसलाई स्कुल पाठयक्रममा राख्न नहुने तर्क थिए । ‘म संस्कृत भाषाको विद्यार्थी र संरक्षक पनि हुँ । अध्यक्ष रहेकै प्रकाशनमा संस्कृतविरोधी लेखले प्राथमिकता पाउँदा कस्तो सन्देश जाला ?’

अध्यक्षको अप्रसन्नता र नीतिगत असहमति भएमा राजीनामा गर्नुपर्छ भन्ने मेरा मान्यता आफ्ना ठाउँमा थिए । तर पत्रकारितालाई सम्मान र त्यसबाट आफू पनि सम्मानित हुनुपर्छ भन्ने मेरो मान्यता त्यत्तिकै प्रबल थियो ।

मैले उहाँसँग भनेँ– ‘म नेपालको पत्रकारिता र कान्तिपुर प्रकाशनमा भर्खरै आएको छु । मैले नीतिगत विषयमा यहाँबाट सिक्न र जानकारी लिन बाँकी नै छ । तर विचार पृष्ठमा के कुरा छाप्ने या नछाप्ने भन्नेबारे छिट्टै नै स्पष्ट हुन चाहन्छु । हामीले आफू सहमत भएको विचारलाई मात्र स्थान दिने ? या असहमतिका विचारहरूलाई पनि ?’

उहाँले अत्यन्त विनम्रता साथ भन्नुभयो, ‘तपाईंसँग धेरै ठाउँ र देशमा पत्रकारताको अनुभव छ । के गर्नु राम्रो होला ?’ मैले भने, ‘असहमतिका विचारलाई स्थान नदिँदा पत्रिका पर्चा बन्छ भन्ने मलाई सिकाइएको छ ।’ ज्ञवालीजीले भन्नुभयो, ‘तपाईंको त्यो विचार र मान्यता कार्यान्वयनकै लागि हामीले तपाईंलाई सम्पादक बनाएका हौं । त्यो मेरो लागि विश्वास र प्रेरणाको ठूलो पुँजी बनिरहयो मेरो कार्याकालभरि ।’

खगेन्द्र संग्रौलालगायत केही अघोषित ‘क्ल्याक लिस्ट’ मा परेकाहरूमाथिको निषेध त्यसपछि नै समाप्त भएको हो । ‘निषेध’ लाई असहिष्णु वैचारिक कित्ताबाट ‘जायज’ मान्न सकिएला, त्यस अर्थमा लेखक संग्रौलाको ‘अप्रोच’ सँग व्यावसायिक सम्पादकको मेल खान सक्तैन । संग्रौला र दीर्घराज प्रसार्इं दुवैका विचारलाई स्थान दिनु अथवा निषेध नगर्नु एउटा सम्पादकको कर्तव्य बन्छ भने दुवैको गाली खानु उसको नियति । कान्तिपुर छोडेको यति वर्षपछि पनि त्यो नियति र निरन्तरको संघर्षले मलाई ऊर्जा दिइरहेको छ ।

कान्तिपुरका पूर्वसम्पादक घिमिरे हाल देशसञ्चारमल्टी मिडियाका सम्पादक हुन् ।

प्रकाशित : फाल्गुन ७, २०७४ ०९:२२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कान्तिपुरको कथा

२०४९ को असार महिनातिर थापाथलीमा प्रसूतिगृहअगाडि घर भाडामा लिएपछि बिस्तारै काम अगाडि बढ्न थाल्यो । केही समयसम्म त मैले त्यस घरमा एक्लै बसेर गृहकार्य गरें । 
योगेश उपाध्याय

काठमाडौँ — गोयन्का ठूलो कलेवरमा अंग्रेजी दैनिक निकाल्न इच्छुक हुनुहँुदो रहेछ । त्यसै सन्दर्भमा मेरा मित्रले उहाँलाई मेरो नाम सुझाएका रहेछन् । यो भेटघाट नै कान्तिपुर र द काठमान्डु पोस्टको आरम्भको थालनी हुन पुग्यो । पटक–पटकको भेटघाट र छलफलपछि अन्तत: अंग्रेजी दैनिकको नाम द काठमान्डु पोस्ट राख्ने निधो भयो । 

कान्तिपुर पब्लिकेसन्सको व्यवस्थापन परिवर्तन भएपछि वार्षिकोत्सव समारोहमा तत्कालीन प्रबन्ध निर्देशक कैलाश सिरोहिया (बायाँ) संस्थापक प्रबन्ध सम्पादक श्याम गोयन्का (दायाँबाट दोस्रो) लाई स्वागत गर्दै । साथमा तत्कालीन सम्पादक योगेश उपाध्याय (बायाँबाट दोस्रो) । 

२०४८ साल कात्तिक महिनाको अन्त्यतिर झन्डै तीन महिना लामो युरोप र इजिप्ट प्रवासपछि काठमाडौं फर्कंदा मेरा एक मित्रले मलाई खोजिरहेका रहेछन् । उनले मलाई श्याम गोयन्कासँग भेटाए । उहाँसँग मेरो सामान्य परिचय मात्र थियो ।

जनकपुरका एक व्यापारी परिवारका श्याम गोयन्का त्यतिखेर त्रिपुरेश्वरमा एउटा फर्निचरर सायद एउटा ‘लोरिङ फर्निसिङ’ को पसल साझेदारीमा चलाउनुहुन्थ्यो । थानकोटमा एउटा बदाम प्याकिङ गर्ने कारखानामा पनि साझेदारी रहेको उहाँले मलाई बताउनुभएको थियो ।
त्यतिखेर म भारतीय अंग्रेजी दैनिक द हिन्दुको काठमाडौं संवाददाता हुनुका साथै स्थानीय पत्रकारितामा पनि संलग्न थिएँ । युरोपतिर लाग्नुअघि किशोर सिलवालद्वारा प्रकाशित एवं अग्रज पत्रकार मुकुन्द पराजुली प्रधानसम्पादक रहनुभएको जनमञ्च साप्ताहिकमा सम्पादक थिए ।

गोयन्का ठूलो कलेवरमा अंग्रेजी दैनिक निकाल्न इच्छुक हुनुहुँदो रहेछ । त्यसै सन्दर्भमा मेरा मित्रले उहाँलाई मेरो नाम सुझाएका रहेछन् । यो भेटघाट नै कान्तिपुर र द काठमान्डु पोस्टको आरम्भको थालनी हुन पुग्यो । पटक–पटकको भेटघाट र छलफलपछि अन्तत: अंग्रेजी दैनिकको नाम द काठमान्डु पोस्ट राख्ने निधो भयो । २०४८ फागुनमा मेरो सम्पादकत्वमा पत्रिका दर्ता भयो । कान्तिपुर अझै भविष्यको गर्भमै थियो । मेरो प्रयास जारी थियो ।

***

राष्ट्रिय दैनिकको नाममा सरकारी प्रकाशन गोरखापत्र र द राइजिङ नेपालको मात्र वर्चस्वको बेला थियो त्यो । निजी क्षेत्रमा नाम चलेका केही साप्ताहिकहरू थिए जसले हरेक दिन पालैपालो दैनिकको अवश्यकता पूरा गर्थे । तर त्यो पर्याप्त थिएन । बहुदलीय प्रजातन्त्रको पुन:स्थापना भएको त्यस समयमा निजी क्षेत्रमा प्रजातान्त्रिक रुझानको संस्थागत निर्भीक र निष्पक्ष व्यावसायिक पत्रकारिता मजासँग फस्टाउने कुरामा म विश्वस्त थिएँ ।

२०४९ को असार महिनातिर थापाथलीमा प्रसूतिगृह अगाडि घर भाडामा लिएपछि बिस्तारै काम अगाडिबढ्न थाल्यो । केही समयसम्म त मैले त्यस घरमा एक्लैबसेर गृहकार्य गरें । यसबीच गोयन्काले दैनिक होइन, साप्ताहिक पत्रिका निकाल्ने हो कि भनेर पनि कुरा उठाउनुभयो । म सहमत थिइनँ । उहाँको कुरा सुन्नेहरूलाई पनि सम्झाउन लगाएँ ।

कानुनी सल्लाहकारको आवश्यकता देखेर रामकृष्ण निरालालाई अनुरोध गरियो । उहाँले मान्नुभयो । त्यसपछि काठमान्डु पोस्टका लागि केही पदहरू पूर्ति गरियो । अलिअलि काम सुरु भयो । यसरी सुरुमै आउनेमध्ये रमेश सुवाल, साप्ताहिक जनमञ्चका सहकर्मी नारायण वाग्ले, अनि गोरखापत्र संस्थान छोडेर आएका सुशील शर्मा, विजय अर्याल, विनोद भट्टराई पनि थिए । यो नियुक्तिसँगै नेपालको निजी क्षेत्रको पत्रकारिता व्यवसायमा नियुक्तिपत्र दिने प्रक्रिया पहिलो पटक सुरु भयो ।

लामो प्रयासपछि श्यामका भिनाजुमध्ये एकविनोद (अन्तिम नाम अहिले सम्झन सकिन) लाई मैलेनेपाली दैनिक अपरिहार्य भएको कुरामा आश्वस्त गरें । उनले आश्वस्त गराएपछि गोयन्का सहमत हुनुभयो । नाम मैले पहिले नै सोचिसकेको थिएँ, कान्तिपुर, काष्ठमण्डपको लोगोसहित । त्यसमा पनि सहमति भयो । काठमाडौं त काष्ठमण्डप शब्दको अपभ्रंश भएर बनेको नाम हो ।

विश्वका कतिपय सहरहरू आफ्नो पुरानै नाममाफर्केका छन् । हामीले पनि काठमाडौंलाई यसको पुरानै नाम कान्तिपुर फर्काउने हो कि ? सरकारले पनि सोचोस्, औपचारिक रूपमा नाम फेरोस् ।
२०४९ को असोजको मध्यतिर दसैंअघि पत्रिका दर्ता भयो । कान्तिपुर र काठमान्डु पोस्ट दुवै सुरुमा आठ–आठ पेजको हुने निधो भयो । र, दुवै पत्रिकाको शुभारम्भको मिति निश्चित गरियो, २०४९ फागुन ७ ।

***

दसैंपछि दुवै पत्रिकाका लागि पत्रकार, कम्प्युटर अपरेटर, प्रुफरिडर आदि नियुक्त गर्ने र तिनलाई ठूलो कलेवरको अखबार सुहाउँदो तालिम दिई अभ्यास गराउने कार्य युद्धस्तरमा सुरु भयो ।
ठूलो कलेवरको पत्रिकाको अनुभव भएका व्यक्ति अत्यन्त कम थियौं । पेजहरूको नामकरण गर्ने र तिनमा हाल्ने सामग्री निश्चित गर्ने, संवाददाताहरूलाई बिट तोकी समाचार संकलन गर्न पठाउने, समाचार सम्पादन गर्ने/गराउने अभ्यास मात्र होइन, सानो आकारमा भए पनि तयार भएका पृष्ठहरू कम्प्युटरबाट निकाल्ने अभ्यास पनि थालियो । कान्तिपुरका पृष्ठहरूको प्रारम्भिक संयोजन, उपसम्पादकहरूको तालिम र अभ्यास आदि कार्यमा चर्चित निबन्धकार र पत्रकार दिनेश सत्याल (सौरभ) को सहयोग अविस्मरणीय छ ।
त्यतिखेर कान्तिपुर प्रवेश गर्ने उल्लेख्य नामहरूमा थिए, अनिरुद्ध गौतम, जनमञ्चका मेरा सहकर्मीहरू तारानाथ दाहाल, जिवेन्द्र सिम्खडा, फोटोग्राफर चन्द्रशेखर कार्की, अनि मैले साप्ताहिक देशान्तरको विदेश पृष्ठ संयोजन गर्ने गरेको बेलादेखिका परिचित हरिबहादुर थापा ।

चार महिनाभन्दा पनि कमको लगातार अभ्यास र दुईवटा नमुना अंकपछि बजारमा ढिलो पुगे पनि अन्तत: २०४९ फागुन ७ गते कान्तिपुर र द काठमान्डु पोस्टको प्रकाशन आरम्भ भयो ।
प्रकाशन त आरम्भ भयो तर त्यसलाई निरन्तरता दिने काममा कम्तीमा पनि तीन वर्षको खर्च उठाउने स्रोत, आँट र धैर्य आवश्यक थियो । स्रोतको कमी टड्कारो भइसकेको थियो । यस पृष्ठभूमिमा २०४९ फागुन अन्त्यमा कैलाश सिरोहिया र विनोदराज ज्ञवाली प्रकाशन समूहमा भित्रनुभयो । कार्पेट निर्यात व्यवसायमा उहाँहरूले राम्रो ख्याति कमाउनुभएको थियो ।

केही महिनापछि गोयन्काले आफ्नो सेयर पनि उहाँहरूलाई बेची संस्थाबाट बाहिरिनुभयो । विनोदका पिता हेमराज ज्ञवाली संस्थाको अध्यक्ष हुनुभयो । संस्थाले बलियो काँध पाएको आभास भयो । प्रकाशनको पहिलो वर्ष नानाथरीका कठिनाइको वर्ष पनि थियो । बाढीपहिरोका कारण अखबार छाप्ने कागज आइनपुगेको कारण कृष्णाष्टमीको उपलक्ष्यमा एक दिन अखबार निकालिएन । दुई–तीन पटक सहयोगी प्रेसमा अखबार छाप्न लगियो । र, प्रेस बिग्रेर दुई–तीन पटक समाचारपत्रका पुष्करलाल श्रेष्ठको सहयोग पनि लिएका थियौं ।

सम्पादकका रूपमा मैले के गरें वा गरिनँ, त्यसको चर्चा गर्न चाहन्नँ । आफ्नो कार्यकालमा सम्पादकका रूपमा म सफल–असफल के रहें, त्यसको मूल्यांकन समयले गर्ला । सुरुमा म एक्लैले काम थालेको संस्थाले आज २५ वर्ष पूरा गरेको मात्र हैन, नेपालको अग्रणी सञ्चार संस्थामा रूपान्तरित भएकामा म गौरवान्वित छु । यस उपलक्ष्यमा कान्तिपुर समूहका प्रकाशक, सम्पादक, अन्य सहकर्मी, पाठक, विज्ञापनदाता र शुभचिन्तक सबैलाई हार्दिक बधाई । र, म आफैंलाई पनि हार्दिक बधाई ।

उपाध्याय कान्तिपुर र द काठमान्डु पोस्टकासंस्थापक सम्पादक हुन्।

प्रकाशित : फाल्गुन ७, २०७४ ०९:२०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT