१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

प्रश्न गर्न सिकाउने पेसा

उनले हामीमा यसरी ऊर्जा भरिदिन्थे कि, कहिलेकाहीं त लाग्थ्यो— म पत्रकार बन्नै यो संसारमा जन्मिएको हुँ !
अखिलेश उपाध्याय

काठमाडौँ — नेपाली पत्रकारितामा विगत २५ वर्षको प्रमुख उपलब्धि के रहयो भनेर कसैले मलाई प्रश्न गर्‍यो भने एक पत्रकार र एक नेपालीको रूपमा मेरो एउटै उत्तर हुन्छ— २५ वर्षअघि पत्रकारसँग गफ गर्न हुन्छ, छलफल गर्न हुन्छ, उसलाई समाचार बनाउन मद्दत गर्नुपर्छ भन्ने कुरा नै अत्यन्त नौलो मानिन्थ्यो ।

प्रश्न गर्न सिकाउने पेसा

अहिले त यो कुरा सामान्य भएको छ नै, अझ बौद्धिक वर्ग, नागरिक समाज, राजनीतिक दललगायत समाजका हरेक तप्काका मानिस सञ्चार माध्यमलाई आफ्नो कुरा सुनाउन र आफ्नो विचार बुझाउन आतुर हुन्छन् ।

खुला समाजमा पत्रकारिता मौलाउँछ र पत्रकारिताले खुला समाजलाई अझ नयाँ ढंगबाट सोच्ने सोच र सामग्री उपलब्ध गराउँछ । कान्तिपुर पब्लिकेसन्सको संस्थापक सम्पादकीय मण्डलमा रहेको नाताले तुलना गर्दा २५ वर्षयता हाम्रा न्युजरुममा कुनै पनि विषयलाई बौद्धिक र वैज्ञानिक हिसाबले हेर्ने संस्कृतिको विकास भएको छ । युवा पत्रकारहरू ‘कुरा’ लाई भन्दा ‘दस्ताबेज’ लाई बढी महत्त्व दिन्छन् । ‘फलानोले यो भन्यो, ढिस्कानोले त्यो भन्यो’ भन्दा गहिरिएर पृष्ठभूमि केलाउने र तथ्य–तथ्यांक प्रस्तुत गर्ने उन्नत पत्रकारिताको विकास भएको छ । र, पछिल्लो समय खोज पत्रकारिता अत्यन्त सशक्त विधाका रूपमा अगाडि आएको छ ।

३० वर्षभरि रहेको जहानियाँ पञ्चायती शासनमा पत्रकारितालाई सरकारी प्रयोजनका लागि सूचना सम्प्रेषण गर्ने माध्यम मात्र मानिन्थ्यो, खासगरी शासकीय वृत्तमा । अधिनायकवादी शासनमा समाजको ‘पपुलर न्यारेटिभ’ लाई सामान्यत: राज्यले नियन्त्रण गरेको हुन्छ र त्यो न्यारेटिभसँग अमिल्दो समाचार, विचार र विश्लेषणलाई अत्यन्त असहिष्णु दृष्टि राखेर हेरिन्छ ।

कान्तिपुर सुरु गर्दा पञ्चायत भर्खरै ढलेको थियो, तर ‘बन्द समाज’ को धङधङी मेटिएको थिएन । मलाई अहिले पनि सम्झनामा आउँछ, स्वतन्त्र पत्रकारिताको अभ्यास गर्न थाल्दा भोग्नुपरेका दुई प्रतिनिधि घटनाहरू । तीमध्ये एउटा घटनाले त्यसबेला हाम्रा अधिकारीहरू कति बन्द मनस्थितिबाट चल्थे भन्ने कुरा देखाउँछ भने अर्कोले पत्रकार आफैंले पत्रकारितालाई कसरी हेर्थे भन्ने झल्काउँछ ।

राष्ट्रिय योजना आयोगका एक सदस्य थिए २०४६ पछि कांग्रेस सरकारका समयमा– डा. विनायक भद्रा । उनी शालीन र बौद्धिक विज्ञ मानिन्थे । मैले जलविद्युत्सम्बन्धी रिपोर्टिङ गर्ने सिलसिलामा उनीसँग धेरै पटक समय मागें । ल्यान्डलाइन टेलिफोनको जमाना– योजना आयोगजस्तो अड्डामा फोन लाग्नु नै आफैंमा ठूलो कुरा हुन्थ्यो । तर बल्ल–बल्ल फोन लाग्दा उताबाट सधैं एउटै उत्तर आउँथ्यो, ‘डाक्टर साब अहिले बिजी हुनुहुन्छ, पछि गरौं न ।’ ‘कल ब्याक गराइपाउन’ भनेर छाडेको खबरको कहिल्यै उत्तर नआउने । धैर्यको बाँध फुटयो । राष्ट्रिय योजना आयोग रहेको सिंहदरबारतिर हान्निएँ, शान्तिनगरको अफिसबाट मोटरसाइकलमा । डाक्टर साब अफिसमै रहेछन् । लामो समयको पर्खाइपछि पनि बोलावट आएन । बाहिरका कर्मचारीले रोक्दारोक्दै पनि हुर्रिएर भित्र पसें ।

डा.भद्रा एक भद्र मान्छे, स्तब्ध देखिन्थे । मेरो प्रस्तुति अलि आक्रामक थियो सायद । प्रश्न

सोध्ने क्रममा प्राय: आवेशमै थिएँ क्यार, मैले के सोधें र उनले के जवाफ दिए खासै सम्झन्नँ ।

सायद डा.भद्रालाई पनि त्यो कुराको स्मरण छैन होला । तर मलाई के राम्ररी सम्झना छ भने त्यसबेला म नेपालको नयाँ प्रजातान्त्रिक संविधान–२०४७ सधैं ब्यागमा बोकेर हिँड्न मन पराउँथें । मलाई एक सार्वभौम मुलुकको नागरिकका रूपमा पत्रकारिता गर्दै छु भन्ने लाग्थ्यो र त्यो अभूतपूर्व अधिकार प्रदान गर्ने दस्ताबेजले एक प्रकारको ऊर्जा नै दिन्थ्यो ।

डा.भद्रासँग बिदा हुने क्रममा त्यसबेलाको युवा जोससहित मैले उनलाई नयाँ संविधानको, खास गरेर छापाखाना र पत्रपत्रिकासम्बन्धी हक भएको धारा १३ राम्ररी नै जिब्रो फड्काएर सुनाएँ । उनी केही भन्न चाहिराखेका थिए । तर मलाई त्यसको सरोकारै थिएन, मैले एउटा पत्रकारका रूपमा संविधानप्रदत्त अधिकारको वकालत गर्दै रहें । सायद डा.भद्राको पनि आशय गलत थिएन होला तर मेरो युवा जोसले अलि बढी नै प्रतिक्रिया उत्पन्न गरायो उसबेला ।

पत्रकारिता सजिलो थिएन त्यो समय । तर, त्यसका बाबजुद हामीमा ठूलो उत्सुकता र उमंग थियो । आफूले गर्ने हरेक काम महत्त्वपूर्ण, अझ ‘ऐतिहासिक’ नै भएझैं लाग्थ्यो । पत्रकारिताको विशाल सम्भावनाबोध हँ‘दा आङ नै जिरिङ्ग हुन्थ्यो । धेरै मान्छे कुनै विवादास्पद कुरामा टिप्पणी गर्ने या सामान्य पृष्ठभूमि ‘सेयर’ गर्न पनि डराउँथे । समाज र सरकारी संयन्त्रहरू अझै पूर्ण रूपमा खुला भइसकेका थिएनन् ।

त्यो नयाँ युगको पत्रकारितामा आफ्नो जिम्मेवारी र कर्तव्यबोधलाई लिएर मलाई सबभन्दा प्रभाव पार्ने व्यक्ति थिए प्रोफेसर एन्डरसन– जाँगरिला, सधैं हँसिला, अरूलाई प्रोत्साहित गर्न मन पराउने तर पत्रकारिताका ‘इथिकल’ मान्यतामा भीष्म पितामहझैं अडिग । उनी आफ्ना विद्यार्थीहरूलाई ठट्टाको शैलीमा तर निकै हेक्का राखेर एउटा कुरा सुनाउने गर्थे, ‘कुनै वरिष्ठ राजनीतिज्ञ या मन्त्रीले या अझ देशकै प्रधानमन्त्रीले तिमीले गरेको पत्रकारिता राम्रो छ भनेर घरिघरि भन्ने गरे भने सम्झनु कि तिमी राम्रो पत्रकारिता गर्दै छैनौं ।’ तिनको प्रशंसाभित्र स्वार्थ लुकेको हुन्छ । ‘शक्तिकेन्द्रसँग

निकट रहेका मानिसहरूको प्रशंसालाई कहिल्यै आफ्नो पत्रकारिताको कसी नमान्नु, तिनले तिमीलाई फुर्काएर भुत्ते धार नलाग्ने चक्कु बनाइदिनेछन्, जुन तिमी आफैंलाई थाहा हुँदैन,’ उनी भन्थे ।

लगभग डा.भद्रासँग तातो बहस चलेकै बखत, म नेपाल प्रेस इन्स्टिच्युटको विद्यार्थी छँदा अमेरिकी प्रोफेसर ल्वेयर्ड बी एन्डरसन त्यहाँ प्रशिक्षकका रूपमा आएका थिए । अमेरिकी सेनामा काम गरेका, वासिङ्टनको नामी अमेरिकन युनिभर्सिटीका पत्रकारिताका प्राध्यापक एन्डरसन हामी करिब ४० विद्यार्थीहरूलाई नयाँ खालको ‘स्टोरी’ लेख्न सधैं प्रोत्साहन गर्ने गर्थे । उनले हामीमा यसरी ऊर्जा भरिदिन्थे कि, कहिलेकाहीं त लाग्थ्यो— म पत्रकार बन्नै यो संसारमा जन्मिएको हुँ ।

उनलाई काठमान्डु पोस्टमा प्रकाशित एउटा स्टोरी निकै मन परेछ, जो सरकारले प्रदूषण कम गर्न एउटा कानुन निर्माण गर्दै गरेको बारेमा थियो । संयोगले त्यो स्टोरी मेरै थियो । प्रोफेसर एन्डरसनले यसरी सार्वजनिक नभइसकेको विषयलाई पाठकमाझ ल्याउनु र त्यसमा बहस गराउन सक्नु पत्रकारिताको मूलधर्म हो भन्दै मलाई सबैको अगाडि कक्षामा उभिन लगाएर ताली बजाई अभिवादन गरे ।

हाम्रा क्लासका एक विद्यार्थीलाई भने प्रोफेसर एन्डरसनको भनाइ कत्ति पनि मन परेन । रेडियो नेपालका पत्रकार तथा समाचारवाचक ध्रुव थापाले मैले लेखेको कुरा समाचार नै होइन भनेर जिकिर गरे । उनको भनाइ थियो— यो कानुन संसद्बाट पारित भइसकेकै छैन, त्यसकारण हुँदै नभएको कुराको बारेमा टिप्पणी गरेर समाचार बनाउनु पत्रकारिताको अनुशासन र धर्मबाहिर हुन्छ ।

एन्डरसनले उनको कुरा राम्ररी सुने र भने, ‘फ्री प्रेस भनेकै यही हो । सरकार या राज्यले रोक्न खोजेको सूचनालाई कुनै पत्रकारले कुनै विश्वसनीय स्रोतबाट पाएको छ भने त्यसलाई जनसमक्ष लैजानु उसको अधिकार र दायित्व दुवै हो । अखिलेश, म तिमीलाई यो खोजमूलक समाचारको निम्ति बधाई दिन्छु ।’

२४–२५ वर्षपछि आज ती अमेरिकी प्राध्यापकको भनाइ पत्रकारजन र कुनै पनि शिक्षित नेपालीलाई सामान्य लाग्न सक्छ तर त्यतिबेलाको हाम्रो पत्रकारिता र भर्खरै खुलापनको उपभोग गर्दै आएको समाजका लागि कदाचित सामान्य थिएन । अझ अगाडि बढेर प्रोफेसर एन्डरसनले भने— कुनै पनि स्तम्भकार र पत्रकारले कतिपय विषयमा सम्भावित परिदृश्यहरूबारे पनि आँकलन गरेर लेख्न सक्नुपर्छ ।

‘कतिपय अति राम्रा स्टोरीहरू रिपोर्टरको कन्सेप्चुअल इमेजिनेसनबाट पनि सुरु हुन्छ,’ वासिङ्टनको प्रेस क्लबका सदस्य रहेका एन्डरसन वासिङ्टन पोस्टका रिपोर्टिङबारे बरोबर कुरा गर्न मन पराउँथे, ‘दुई जना युवा रिपोर्टरले राष्ट्रपति निक्सनले भनेको कुरा नसुनीकन उनले भोट चोरेको हुन सक्ने आशंका आफ्नो स्रोतबाट पहिले सुने र आफ्नै अनुुसन्धान र एकोहोरो रिपोर्टिङबाट स्थापित गरेरै छाडेका थिए ।’

त्यो वाटरगेट काण्डबारे वासिङ्टन पोस्टको शृंखलाबद्ध खोजमूलक समाचारले अन्तत: राष्ट्रपति निक्सनको राजनीतिक जीवनकै अवसान गराइछाडयो । र, ‘वाटरगेट’ शृंखलाले बव उडवर्ड र कार्ल बर्नस्टाइनलाई अमेरिकामा र बाहिर पनि धेरैतिर सबैले चिन्ने बनाइदियो । ती दुई रिपोर्टरका साथै वासिङ्टन पोस्टका तत्कालीन सम्पादक वेन व्राड्ली र प्रकाशक इलिजाबेथ ग्राहम पनि अत्यन्त साहसी व्यक्तित्वका रूपमा स्थापित भए । सायद पत्रकारितामा ‘वाटरगेट’ जस्तो ख्याति कुनै अर्को घटनाक्रमले विरलै पाएको होला ।

पत्रकारिताको इतिहासको मानव सभ्यताको इतिहाससँग अनोन्याश्रित सम्बन्ध छ । परापूर्वकालमा पनि यो कुनै न कुनै रूपमा हामीमाझ रहेको थियो । विसं ५९ देखि एडी २२२ मा मानिसले पहिलोचोटि सूचना जम्मा गरेर वितरण गरेको रेकर्ड छ । रोमन साम्राज्यको समयमा हातले लेखिएका ती समाचारमा सिनेट र अन्य घटनाक्रमलाई तात्कालिक रिपोर्टरहरू, जसलाई अक्चुआरी भनिन्थ्यो, ले प्रेषित गर्ने गर्दथे । तर पत्रिका प्रकाशनको श्रेय भने जोहान गुटेनवर्गलाई नै जान्छ । प्रिन्टिङ प्रेसको आविष्कारले ज्ञान र सूचनालाई प्रभावशाली वर्गको पहँ‘चबाट बाहिर लगेर आम नागरिकसम्म पुर्‍याइदियो । पाठय सामग्री सस्तो र सुलभ हुनाले कुनै पनि कौतूहल बोकेको व्यक्ति अब ज्ञानी हुन सक्ने भए । यसले सम्पूर्ण युरोपमा प्राचीन ग्रीकका लोप हुन लागेको साहित्य र संस्कारलाई पुनर्जीवन दियो ।

नेपालको विगत २५ वर्षको स्वतन्त्र प्रेसको इतिहास पनि विभिन्न पाटोमा जिज्ञासु पश्चिमी युरोप, खोजमूलक अमेरिकी पत्रकारिताभन्दा फरक देखिए पनि अन्तत: एउटै आधारभूत मान्यतामा उभिएको छ— राज्यले प्रस्तुत गरेको ‘न्यारेटिभ’ लाई सधैं प्रश्न गर र प्रश्न गरी नै राख । राज्यलाई र राजनेताले ताली बजाउने काम कमसेकम पत्रकारको होइन । अन्धभक्तिवादले पत्रकारिता, प्रजातन्त्र र समाजलाई नै ओरालोतिर लान्छ, कदाचित माथि लैजाँदैन । अधिनायकवादी सत्तामा मात्र एकल ‘न्यारेटिभ’ हावी हुन्छ । हाम्रो २५ वर्षको स्वतन्त्र पत्रकारिताको उपलब्धि भनेकै बहुलता र विचारहरूको विविधीकरण हो । त्यसैको जगमा राज्यका कदममाथि प्रश्न उठाउने दायित्व नेपाली पत्रकारिताले मूलत: निर्वाह गर्दै आएको छ । धमिजा, लाउडा, चेज एयर, चाइना साउथवेस्ट, पजेरो, एलसी, चिनी, मल, सुडान, क्यान्टोनमेन्ट, लोकमानसिंह, एनसेललगायत सरकार या राज्यले स्विकार्न नचाहेको तर मिडियाको एकोहोरो प्रश्नबाट स्थापित भएका विभिन्न कालखण्डका मुद्दाहरू यसका उदाहरण हुन् ।

अन्त्यमा म फेरि, पत्रकारिता जगत्का सहकर्मीहरूलाई २५ वर्षअघि मलाई प्रोफेसर एन्डरसनले भनेका कुरा दोहोर्‍याउन चाहन्छु, ‘कुनै मन्त्री, सचिव वा शक्तिकेन्द्रका नजिकका मान्छेले म तपाईंसँग सहमत छैन भन्छन् भने यो सोच्नुस् कि सायद तपाईं राम्रै पत्रकारिता गर्दै हुनुहुन्छ । उनीहरूले तपाईंले भनेका हरेक कुरामा ताली बजाउन थाले भने बरु आफैंलाई यो प्रश्न गर्नुहोला— के म साँच्चै पत्रकारिता त गर्दै छु ?’

कान्तिपुर पब्लिकेसन्सको संस्थापक सम्पादकीय मण्डलमा काम गरेका उपाध्याय हाल द काठमान्डु पोस्टका प्रधान सम्पादक हुन् ।


कान्तिपुरका ती दिन

कान्तिपुरको सुरुका दिनहरू थापाथलीको प्रसूति गृहअगाडिको भवनमा हामी काठमान्डु पोस्ट र कान्तिपुरका साथीहरू सा–साना चारवटा कोठामा अटाउँथ्यौं । दुवै पत्रिकाका सम्पादक योगेश उपाध्यायको कोठा भने बेग्लै थियो र संयुक्त बैठक गर्नुपर्‍यो भने अटाउन गाह्रै हुन्थ्यो ।

पोस्टको न्युजरुमभित्र ठूलो डाइनिङ टेबलमा डेस्कको सम्पूर्ण काम हुन्थ्यो । कोठाको एउटा कुनाको सानो टेबलमा ओपेड डेस्क र हल्का ठूलो टेबलमा प्रुफको काम हुन्थ्यो । हामी २०–२२ जना सहकर्मी एउटै कोठाभित्र काम गथ्र्याैं । कान्तिपुरका लागि छुट्टै कोठा थियो । समाचार हस्तलिखित हुने गथ्र्याे र सायद मसहित एक–दुई साथीले मात्रै टाइपराइटरको प्रयोग गथ्र्यौं । इन्टरनेटभन्दा अघिको समय भएकाले सम्पूर्ण अन्तर्राष्ट्रिय समाचारहरू टेलिप्रिन्टरबाट आउने गर्थे— चौबीसै घण्टा एपी, एएफपी, पीटीआई, सिन्ह्वाका आ–आफ्ना मेसिन एकोहोरो ३–४ वटा टाइपराइटर चलेजस्तो चलिरहन्थे । बेलुका डेस्कको काम सुरु गर्दा टेलिप्रिन्टरमा छापिएका कागजको गोला रोलमा आफूलाई चाहिने समाचार खोजेर च्यात्ने गरिन्थ्यो । ती अन्तर्राष्ट्रिय समाचार र हाम्रा हातले या टाइपराइटरमा लेखिएका समाचारलाई पुन: कम्प्युटरका सहकर्मीले उतार्थे । त्यसलाई प्रिन्ट गर्‍यो, प्रुफ हेर्‍यो र बल्ल ले–आउटमा पठायो । यही क्रम चल्थ्यो । डेस्कमा ले–आउटकर्मी साथीले कागजको ‘डमी’ मा हरेक पृष्ठको ‘डिजाइन’ गर्थे । त्यसपछि समाचारलाई डमीअनुसार शीर्षक दिने गरिन्थ्यो । अन्त्यमा त्यसको फिल्म बनाइन्थ्यो, प्रेसका लागि पठाइन्थ्यो ।

बेलुका ८–१० बजे सुरु हुने यो काम रातभरि नै चल्थ्यो । डेस्कको काम राति ८–१० बजे सुरु गरेर ‘फाइनल पेज’ को ‘कट–पेस्ट’ सक्दा कति पटक बिहान मात्र घर गएको म सम्झन्छु । प्रि–प्रेसको काम अति नै मिहिनेत र समय पर्ने खालको हुन्थ्यो । अहिले सम्पूर्ण न्युजरुममा सबै रिपोर्टरहरूले कम्प्युटरमा समाचार लेख्ने, अन्तर्राष्ट्रिय समाचार अनलाइनमै पाइने र ले–आउटको सफ्टवेयर पनि सहज भएकाले यी घण्टौं लाग्ने काम आज एक घण्टाजतिमै सकिने हुन्छ ।

प्रकाशित : फाल्गुन ७, २०७४ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?