२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

खट्कने कुरा

म कान्तिपुरजस्ता पत्रिकामा अनुजा र रसेन्द्रबारे छापिएजस्ता सामग्री नदोहोरिऊन् भन्ने चाहन्छु । कसैलाई अनुचित लाभ/हानि पुर्‍याउने झूटा समाचारचाहिँ छापिनु हँुदै हुँदैन भन्ने पक्षमा म छु ।
मोहन मैनाली

काठमाडौँ — कान्तिपुर २५ वर्षमा लाग्नु भनेको कान्तिपुरको पाठकका रूपमा म पनि २५ वर्षमा लाग्नु हो । यस लेखमा कान्तिपुरको नियमित भन्न मिल्ने पाठकका हैसियतमा मलाई खट्किएका केही गल्ती र कान्तिपुरसँग मेरा चाहना लेख्ने कोसिस गरेको छु । 

खट्कने कुरा

२०६८ साल वैशाख ७ गते कान्तिपुर दैनिकमा पहिलो पेजमा ‘धन्य अनुजा : जसले भेट्टिएको ९१ लाख रुपैयाँ फिर्ता दिइन्’ शीर्षकमा एउटा समाचार छापियो । धरान बस्ने अनुजा बानियाँले आफूले फेला पारेको ९१ लाख रुपैयाँ र हीराको हार त्यसका धनीलाई फिर्ता गरिन् भनी त्यस समाचारमा भनिएको थियो ।

एक/दुई दिनसम्म यो समाचार र अनुजाको प्रशंसा भयो । त्यसपछि त्यस समाचारमा लेखिएका कुरामा शंका गर्न थालियो । वैशाख १० गते कान्तिपुरमै अनुजाबारे अन्योल भएको भनी अर्काे समाचार छापियो । वैशाख १२ गते कान्तिपुरले उक्त समाचार झूटा भएको भनी क्षमा माग्यो ।

यस समाचारलाई लिएर धेरैले कान्तिपुरको कडा आलोचना गरे । मेरा विचारमा यस समाचारमा गल्ती भएको थियो तर त्यो कडा आलोचनाको भागी भने थिएन । मैले यसो भन्नुका केही कारण छन् । पहिलो, यस रिपोर्टिङमार्फत रिपोर्टर तथा सम्पादकले पाठकलाई जानकारी दिनुबाहेक आफ्नो कुनै पनि खालको स्वार्थ पूरा गर्ने उद्देश्य राखेका थिएनन् । दोस्रो, यसले अनुजालाई केही दिनका लागि प्रशंसा अर्थात् अनुचित लाभ त जुटाइदिएको थियो तर यसले अरू कसैलाई अनुचित हानि/क्षति पुर्‍याएको थिएन । तेस्रो, म रिपोर्टर/सम्पादक भएको भए पनि यो समाचार लेख्थो होला/छाप्थो होला । यो समाचार छापिएको भोलिपल्ट धेरै पत्रिकाका सम्पादक यो समाचार आफ्नो पत्रिकामा छाप्न नपाएकामा चुकचुकाएका थिए ।

यसअघि २०६० कात्तिकमा ‘पाँच डलरबाट खर्बपति नेपाली’ शीर्षकमा रसेन्द्र भट्टराईसम्बन्धी एउटा सामग्री कान्तिपुरमा छापियो । यो सामग्री पनि पूर्ण रूपमा रसेन्द्रले गरेको दाबीमा आधारित थियो जुन चाँडै झूटा ठहरियो । यस मामलामा पनि कान्तिपुर आफूले पाएको जानकारी रुजु गर्ने मामलामा चुक्यो ।

म कान्तिपुरजस्ता पत्रिकामा अनुजा र रसेन्द्रबारे छापिएजस्ता सामग्री नदोहोरिऊन् भन्ने चाहन्छु । कसैलाई अनुचित लाभ/हानि पुर्‍याउने झूटा समाचारचाहिँ छापिनु हँुदै हुँदैन भन्ने पक्षमा म छु । यस्तो समाचार कस्तो होला ? यस्तो एउटा समाचार २०५१ साल कात्तिक २८ गते कान्तिपुर दैनिकको पहिलो पेजमा छापिएको थियो । ‘काभ्रेका उम्मेदवारको हत्या भएको आशंका’ शीर्षकको त्यस समाचारको सार थियो— काभ्रेमा नेकपा (एमाले) र संयुक्त जनमोर्चा नेपालका कार्यकर्ताबीच भिडन्त भएको र त्यसमा जनमोर्चाका उम्मेदवार कमानसिंह लामाको हत्या भएको आशंका गरिएको छ ।

समाचार पढ्दै जाँदा थाहा भयो— त्यो आशंका जाँच्न कान्तिपुर प्रतिनिधिले तीन जनासँग कुराकानी गर्ने प्रयास गरेका थिए, जसमध्ये एकजनासँग सम्पर्कै भएन । कान्तिपुर प्रतिनिधिले कुराकानी गरेका जनमोर्चा नेपालका नेता लीलामणि पोखरेलले लामा मारिएको हल्ला फैलिएको कुराको मात्र पुष्टि गरेका थिए । काभ्रेका प्रमुख जिल्ला अधिकारीले एमाले र जनमोर्चाका कार्यकर्ताबीच भएको भनिएको ‘झडप’ को समाचारलाई नै अपुष्ट भनेका थिए । हत्याबारे उनले केही बोलेका थिएनन् ।

शीर्षक र पेटबोली दुवैमा ‘आशंका’ मात्र गरिएको हल्ला समाचार नबन्नुपर्ने हो । तर सम्पादकले यसलाई महत्त्वपूर्ण ठाने र पाठकले पढ्न छुटाउलान् कि भनेर बक्समा राखिदिए ।

त्यस्ता समाचार त्यसरी किन छापिन्छन् भन्ने व्याख्या पत्रकारिताका किताबमा पाइँदैन । त्यो थाहा पाउन चुनावका दाउपेच बुझ्नुपर्छ ।

त्यो समाचार छापिएको भोलिपल्ट नेपालमा आमनिर्वाचन हुँदै थियो र त्यस निर्वाचनमा चितवन जिल्लामा एमाले र जनमोर्चाबीच तालमेल भएको थियो । मौन अवधि सुरु भएकाले एमाले र जनमोर्चाले सभासम्मेलन गरेर त्यो समाचार झूटा हो भन्नै पाउँदैनथे । अहिले जसरी छिनछिनमा समाचार भन्ने रेडियो खुलेकै थिएनन् । अनलाइनको कल्पना पनि थिएन । त्यसैले, यो झूटो समाचारबाट बिच्किएर चितवनका जनमोर्चाका कार्यकर्ता तथा समर्थकले एमालेलाई भोट नदिन सक्थे । त्यसको फाइदा नेपाली कांग्रेसलाई पुग्न सक्थ्यो ।

समाचार छापिएको भोलिपल्ट ‘कमानसिंह लामा सकुशल’ शीर्षकमा कान्तिपुरमै समाचार छापियो । उक्त समाचारमा गृह मन्त्रालयका प्रवक्ताले अघिल्लो दिनको समाचारलाई ‘आधारहीन’ बताएका थिए । एमालेका माधवकुमार नेपाल र प्रदीप नेपालले वक्तव्य प्रकाशित गरी समाचारलाई ‘गलत’ र ‘झूटो’ भएको बताए । जनमोर्चाकी नेता शशी श्रेष्ठले त्यो समाचार छापिएपछि लामा सकुशल रहेको बताइन् । अघिल्लो दिनको समाचारमा उल्लेख भएको झडप एमाले र जनमोर्चाबीच नभई राप्रपा र जनमोर्चाबीच भएको भनी ‘एमालेसँग सम्बद्ध एक सूत्र’ लाई उद्धृत गरिएको थियो ।

यो समाचार अघिल्लो दिन यसै विषयसँग सम्बन्धित समाचार छापिएकै ठाउँमा, अघिल्लो दिनको भन्दा दोब्बर कोलममा बक्समै दिइएको थियो । तर यसो गर्दा अघिल्लो दिनको समाचारले चितवनका मतदातामा जेजस्तो अनुचित प्रभाव पारेको थियो, त्यो सच्चिँदैनथ्यो किनभने त्यतिबेला कान्तिपुर काठमाडौंबाट मात्र छापिन्थ्यो । काठमाडौंमा छापिएको कान्तिपुर चितवनका मतदातासम्म पुग्नुभन्दा अगावै, उनीहरूले अघिल्लो दिनको समाचार झूटा भएको खबर पढ्नुभन्दा पहिल्यै मतदान सुरु भइसकेको हुन्थ्यो ।

यसअघि २०५० साल माघमा काठमाडौंको क्षेत्र नम्बर १ मा भएको उपनिर्वाचनमा पनि नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईले जित्छन् भनी कान्तिपुरमा एकपछि अर्काे गरेर समाचार विश्लेषण, मत सर्वेक्षण, मत सर्वेक्षणको विश्लेषण छापिएका थिए । भट्टराईलाई हराउन प्रतिद्वन्द्वी एमाले मात्र होइन नेपाली कांग्रेस र नेपाली कांग्रेसका संसदीय दलका नेता तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासमेत लागेका हुनाले भट्टराईको अवस्था कमजोर हुन सक्छ भन्ने यथार्थ ती सामग्रीमा लुकाइएको थियो (त्यस निर्वाचनमा भट्टराई हारे) ।

यस्ता समाचार कसैलाई अनुचित लाभ/हानि पुर्‍याउने खालका हुन् । यस्ता समाचार कुनै पनि समाचारपत्रमा, कुनै पनि अवस्थामा छापिनु हुँदैन । कुनै समाचार छाप्ने वा नछाप्ने निर्णय सम्पादकीय विवेकको विषय हुनुपर्छ । प्रकाशन गृहको आर्थिक विषयले सम्पादकीय स्वतन्त्रतामा दखल पार्नु हुँदैन । तर २०६७ सालको मिस नेपालसम्बन्धी समाचार छाप्ने वा नछाप्ने भन्ने निर्णयमा कान्तिपुरको सम्पादकीय नेतृत्वमाथि विज्ञापन हाबी भएजस्तो देखिन्छ । अरू वर्ष कान्तिपुरमा सामान्यत: मिस नेपालसम्बन्धी एकपछि अर्का समाचार छापिन्थे । तर त्यस वर्ष कान्तिपुरमा मिस नेपालसम्बन्धी समाचार छापिएन । त्यसै वर्ष कान्तिपुरमा मिस नेपालका प्रायोजकको विज्ञापन पनि कान्तिपुर छापिएको थिएन । मिस नेपालका प्रायोजकको विज्ञापन र समाचार नछापिनु संयोग मात्र नहुनुपर्छ । यस मामलामा सम्पादकीय स्वतन्त्रतालाई विज्ञापनले कुण्ठित गरेजस्तो लाग्छ ।

यस मामलालाई म सैद्धान्तिक रूपमा ठीक ठान्दिनँ तर पनि यसले धेरै बिगार गर्‍यो भन्ने लाग्दैन किनभने मिस नेपालको समाचार पाठकले पढ्न नपाउँदा उत्रो बिगार भयो/हुन्छ जस्तो लाग्दैन । यस्ता खालका समाचारले केही पाठकको खसखस त मेट्छन् तर ती पाठकलाई नभई नहुने होइनन् । विज्ञापनले सम्पादकीय स्वतन्त्रता कुण्ठित गरेर पाठकले थाहा नपाई नहुने जानकारी पाएनन् वा तोडमोड भएका जानकारी पढ्नुपर्‍यो भने चाहिँ त्यो अति गम्भीर कुरा हो ।


कान्तिपुरका केही लेख रचनामा छापिने केही गल्ती पाठकलाई खड्कने खालका छन् । यसका केही उदाहरण :

पदमपुर नारायणगढभन्दा पश्चिममा पर्छ ।

नेपालमा सरकारी बजेट प्रकाशन गर्ने काम २०१३ सालदेखि भएको हो ।

आधा शताब्दी पहिलेसम्म पनि महिलाले भोट हाल्ने अधिकार पाएका थिएनन् ।

पदमपुर नारायणगढभन्दा पूर्वमा पर्छ । नेपालमा बजेट २००८ सालमै प्रकाशन हुन थालेको हो । माथिको सबैभन्दा पछिल्लो उदाहरणमा कुन ठाउँको कुरा गरिएको हो भनी यकिन गरिएको छैन । तर लेख नेपालका सन्दर्भमा भएकाले नेपालकै कुरा हो भन्ने अर्थ लाग्छ, जुन गलत हो ।

यस्ता गल्ती हुन नदिने मूल दायित्व लेखकको हो । तर यसो भनेर आफ्ना पत्रिकामा छापिएका गल्तीबाट कान्तिपुर (र, अरू कुनै पनि पत्रिका) उम्कन पाउँदैन । अलिकति सम्पादकीय सतर्कता अपनाउने हो भने यस्ता गल्ती कम हुन्छन्जस्तो लाग्छ ।


मैले र अरू केही लेखकले गरेका गल्तीका आधारमा यसो भनेको हुँ । माथिको पहिलो उदाहरण मैले आफ्नै लेखबाट लिएको हुँ । सो लेख लेख्न चाहिने जानकारी संकलन गर्दा म नारायणगढमा बास बसेर त्यहाँबाट पूर्व लागरेर पदमपुर पुगेको थिएँ । त्यसैले मैले त्यसो नलेख्नुपथ्र्याे । कुनै पनि कुरा लेखिसकेपछि ‘मैले के लेख्न खोजेको थिएँ र के लेखेँ’ भनी एक पटक हेर्नुपर्छ भनेर मलाई अरूले सिकाएका थिए । मैले पनि धेरै जनालाई यो कुरा भनेको छु । यसका आधारमा पनि मैले त्यसो नलेख्नु पथ्र्याे । तर पनि मैले एक थोक लेख्न खोज्दा अर्काे थोक लेख्न पुगेँ ।


दोस्रो गल्ती त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र पढाउने व्यक्तिले लेखेका हुन् । मलाई के विश्वास छ भने, ती लेखकलाई नेपालमा सरकारी बजेट कहिलेदेखि सार्वजनिक हुन थालेको हो भनेर सोध्यो भने २००८ साल भन्छन् । तर उनले नेपालमा पञ्चवर्षीय योजना सुरु भएको साललाई बजेट सार्वजनिक हुन थालेको साल भनी गल्ती गरे ।

लेखकले आफ्ना लेखमा राखेका तथ्य जाँच गर्न सम्पादकीय टोली— त्यसमाथि हाम्रो देशको जस्तो सानो सम्पादकीय टोलीलाई सम्भव हुँदैन । यसका लागि विदेशमा तथ्य जाँचकी राखिएका हुन्छन् । नेपालका सञ्चारमाध्यममा तत्कालै यस्तो दरबन्दी सिर्जना होला भन्ने आशा मलाई छैन । अहिलेका लागि लेखकले उपयोग गरेका तथ्यमा चिह्न लगाएर यी सबै तथ्य रुजु गरिएका हुन् भनी लेखकलाई नै प्रश्न सोध्ने व्यवस्था त गर्न सक्नैपर्छ । यसो गरेका खण्डमा लेखक अझ बढी सचेत हुन्छ ।

यसो नगरेका खण्डमा तथ्य पाउनुपर्ने ठाउँमा पाठकले हावादारी गफ पाउँछन् । यसको एउटा उदाहरण, २०७४ साल असोज १२ गते कान्तिपुरमा छ । नयराज पन्तका बारेमा त्यस दिन प्रकाशित एउटा लेखमा भनिएको छ, ‘‘धेरै विद्वान्ले भनेका छन्— ‘नेपालमा इतिहासको क्षेत्रमा यदि कसैलाई विश्वास गर्नुपर्छ भने इतिहास संशोधन मण्डललाई गर्नुपर्छ ।... सिल्भा लेवी, लियो ई रोज, पेट्रिकले यस्तै धारणा प्रस्तुत गरेका छन् ।”

रोजले त त्यस्तो धारणा प्रस्तुत गरे होलान् तर पेट्रिक (कर्कपेट्रिक भन्न खोजेका होलान् लेखकले †) ले यसो नगर्नु पर्ने † किनभने कर्कपेट्रिक पन्त जन्मनुभन्दा १०१ वर्ष पहिले नै बितिसकेका थिए । लेवी बाँचेका बेलामा पन्तले त्यो काम थालेकै थिएनन् जुन कामका लागि लेवीले उनको प्रशंसा गरे भनिएको छ ।

इतिहासका प्रोफेसर र डाक्टरले तथ्य जाँच गरेर इतिहास संशोधन गर्ने मानिसबारे लेखिएको लेखमा यस्ता कोरा कल्पना हुँदा पाठकलाई नमज्जा लाग्छ । सम्पादकलाई पनि नरमाइलो लागेको हुनुपर्छ ।

संसारभरका पत्रिकाका सम्पादकले लेखक र स्तम्भकारलाई आफ्ना रिपोर्टरलाई भन्दा अलि बढी विश्वास गरेर पुलपुल्याउने गरेका छन् तर नेपालमा हामी लेखक भइखाएकाहरू अलि बढी नै पुलपुलिएका छौँ । हाम्रो यो पुलपुल घटाएर जायज मात्रामा झार्न सम्पादकले लेखकलाई सतर्क गराउनै पर्ने भएको छ । अर्थात्, कुनै लेख छाप्न पठाउनुभन्दा पहिले कान्तिपुरका सम्पादकले पाठकलाई मनमनै यस्तो भन्न सक्नुपर्छ— यहाँ लेखिएका कुरा आँखा चिम्लेर पत्याउनुस् किनभने यो कान्तिपुरमा छापिएको हो ।

यति गर्दा पनि गल्ती छापिँदै नछापिने हुँदैन । माथि भनिएझैं लाख कोसिस गर्दा पनि गल्ती छापियो भने त्यो कुरा थाहा पाउनेबित्तिकै सच्याउने परिपाटि अखबारमा हुनैपर्ने हो जुन कान्तिपुरलगायतका पत्रिकामा छैन । पाठकका रूपमा म कान्तिपुरमा आक्कलझुक्कल भूलसुधार स्तम्भ पढ्न चाहन्छु । यसो गर्दा कान्तिपुरका लागि सामग्री तयार गर्ने मानिस बढी सतर्क हुने र पाठकले कान्तिपुरका सामग्रीलाई अझ बढी विश्वास गर्ने वातावरण तयार हुन्छ । इन्टरनेट संस्करणमा सुरुमा के गल्ती भएको थियो भन्ने प्रस्ट देखिने गरी भूलसुधार गर्न प्राविधिक रूपले सजिलै छ ।

मानिसको जीवनमा निश्चित उमेरमा निश्चित काम गरिसक्ने चलन छ । पत्रिकाको जीवनमा पनि यस्तै हुन्छ/हुनुपर्छ कि ? त्यसो हो भने कान्तिपुरले अहिलेसम्म नगरेको एउटा काम गर्ने बेला भइसकेको हुनुपर्छ । त्यो हो— पाठकको सम्पादक (आन्तरिक अम्बुड्सपर्सन) नियुक्त गर्ने । यस्तो सम्पादकले आफ्नै प्रकाशनको समीक्षा गर्ने र पाठकसँग प्रकाशनको सम्बन्ध मजबुत बनाउने काम गर्छ । यस्तो सम्पादकको व्यवस्थाले प्रकाशित सामग्रीको शुद्धता बढाउन अनि तथ्य रुजु गर्ने चलन कठोरतापूर्वक पालना गराउन सहयोग गर्छ ।

मैले माथि भनेका सबै कामले कान्तिपुरको गुणस्तर अझ बढाउनेछन्, कान्तिपुरप्रति मजस्ता पाठकको विश्वास अझ बढाउनेछन् । आफ्ना पाठकले आफूलाई बढी विश्वास गर्ने वातावरण बनाउनु कान्तिपुर र हामी पाठक दुवैथरीका लागि फलदायी हुन सक्छ ।

स्वतन्त्र लेखक मैनाली साउथ एसिया चेकका सम्पादक हुन् ।

प्रकाशित : फाल्गुन ७, २०७४ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?