कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

रिपोर्टिङ स्कुल

कान्तिपुर मेरा लागि विश्वविद्यालय जस्तो ज्ञान र दक्षता हासिल गर्ने थलो बन्यो ।
रमा पराजुली

काठमाडौँ — सुदूरपश्चिममा कमैया मुक्ति आन्दोलन चलिरहेको थियो । त्यतिबेला कान्तिपुरलगायतका पत्रपत्रिकामा कमैयाका विषयमा समाचार त आउँथे तर बँधुवा मजदुरका रूपमा रहेका कमैयाको पक्षबाट नभई जमिनदारको पक्षमा हुन्थे । त्यसैले मलाई स्थलगत रिपोर्टिङ गर्न मन लाग्यो ।

रिपोर्टिङ स्कुल

म त्यति बेला काठमाडौंमा आधारित रिपोर्टर थिएँ । रिपोर्टिङका लागि बाहिर कतै गएकी पनि थिइनँ । सम्पादकले सहमति दिएपछि धनगढी गएँ । कैलाली र कञ्चनपुरका गाउँगाउँ पुगें । कमैया भेटें । जमिनदारका कुरा सुनें । विभिन्न एङ्गलमा समाचार पठाएँ । ती समाचार बँधुवा मजदुरले पाएका दु:ख–कष्ट र अमानवीय व्यवहारमा केन्द्रित थिए ।

कमैया प्रथा उन्मूलनको अभियान चलाउनेहरूमध्ये अधिकांश कि त आफैं कमैया थिए या त पूर्वकमैया । म धनगढीमा हुँदै उनीहरू आन्दोलन काठमाडौं केन्द्रित गर्न भन्दै राजधानी हिँडे । म पनि फर्कें । उनीहरूले काठमाडौंमा गरेका प्रदर्शन तथा विभिन्न शक्ति केन्द्रसँग गरेका लबिइङको रिपोर्टिङ गरें । अन्तत: सरकार कमैया प्रथा अन्त्यको घोषणा गर्न बाध्य भयो । समाजमा कलंकका रूपमा रहेको एउटा प्रथा उखेल्ने काममा कान्तिपुरको भूमिका सराहनीय थियो । यो कान्तिपुरको इतिहासमा सकारात्मक पाटोका रूपमा रहनेछ ।

***

२०४८ सालको निर्वाचनपछि बनेको सरकारले कालो धूवाँ फाल्ने डिजेलले चल्ने टेम्पो काठमाडौंमा चलाउन निषेध गर्ने निर्णय गरेको थियो । यो निर्णय प्रशंसनीय थियो । तर निर्णय कार्यान्वयन नहुँदै सत्तारूढ कांग्रेसको अन्तरकलहका कारण बहुमतको सरकार भंग भयो । मध्यावधि निर्वाचन घोषणापछि कामचलाउ सरकारका एक मन्त्रीले प्रदूषक टेम्पो विस्थापन गर्ने निर्णय रद्द गरिदिए । त्यो निर्णयको प्रतिलिपि मेरो हातमा आइपुग्यो । आम जनताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने गरी निर्णय गरिएको भन्ने समाचार कान्तिपुरको अग्रपृष्ठमा छापियो । त्यसपछि अरूले पनि त्यसलाई समाचार बनाए । सरकारमाथि तीव्र दबाब उत्पन्न भयो । अन्तत: मन्त्रीको निर्णय उल्टियो । प्रदूषक टेम्पो काठमाडौंबाट हटे ।

मैले कान्तिपुरमा कमैया प्रथा र टेम्पो विस्थापनका विषयमा गरेको रिपोर्ट प्रतिनिधिमूलक हुन् जसले खोजी र फिल्डमा आधारित रिपोर्टले नीति निर्माणमै प्रभाव पार्न सक्छ भन्ने पुष्टि गर्छन् ।

कान्तिपुरमा दस वर्ष मुख्यत: रिपोर्टिङ गरेर बिताएँ । विज्ञान पढेको भएर सुरुमा खानेपानी, स्वास्थ्य, वातावरणजस्ता विषयमा मलाई रिपोर्टिङ गर्न लगाइएको थियो । तर समयसँगै रुचि परिवर्तन हँ‘दै गयो । शिक्षा क्षेत्र हेर्न थालें । त्यसपछि विदेश मामिलामा रिपोर्टिङ गरें । राजनीतिक समाचारहरू पनि लेखें । खेलकुदबारे रिपोर्टिङ नगरे पनि कैयौंपटक खेलकुदका विषयमा सम्पादकीय लेख्ने मौका पाएँ । सन्त नेता कृष्णप्रसाद भट्टराईको अन्तर्वार्ता गर्नुका साथै भुटानी शरणार्थी, संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणलगायतका थुप्रै घटनाक्रममा रिपोर्टिङ गरें ।

मैले रसायनशास्त्रमा स्नातकोत्तर गरेकी थिएँ तर रिपोर्टिङका विषय थिए, सामाजिक–राजनीतिक । विज्ञान पढ्दा बसेको मिहिनेत गर्ने बानी पत्रकारितामा काम लाग्यो । विषयलाई गुदीसम्मै खोतल्ने बानी बस्यो । कान्तिपुर मेरा लागि विश्वविद्यालय जस्तो ज्ञान र दक्षता हासिल गर्ने थलो बन्यो ।

त्यसबेला कान्तिपुरको रिपोर्टिङ युनिटको वातावरण निकै जीवन्त थियो । साथीहरू प्राय: उस्तै उमेरका थिए । सबै पत्रकारिताको बाटो कोर्न खोजिरहेका थिए । अहिले नेपालको पत्रकारितादेखि विकासे क्षेत्रमा कान्तिपुरकर्मी देख्दा लाग्छ, मेरा लागि मात्र होइन, धेरैका लागि विश्वविद्यालय जस्तै प्लेटफर्म सावित भएको छ कान्तिपुर ।

अरूका फरक अनुभव होलान् । मेरो अनुभवमा भने कान्तिपुरमा काम गर्दा यो लेख्न पाइन्न कि अथवा त्यो भन्न पाइन्न कि भन्ने थिएन । मेरो काम सामाजिक मुद्दामा केन्द्रित भएर पनि त्यस्तो हुन सक्छ ।

म कान्तिपुरमा प्रवेश गर्दा समाचार हातले लेखिन्थ्यो । पहिलो अनुच्छेद लेख्दा दाँतबाट पसिना निस्कन्थ्यो । लेख्यो, काट्यो । फेरि लेख्यो फेरि काट्यो । समाचार तयार पारेर दियो, आफूभन्दा अनुभवी समाचारकर्मीले कहिले बीचको लाइन त कहिले तलको लाइन अन्डरलाइन गरेर भन्थे, ‘यो पो हो त समाचार ।’ फेरि त्यो लाइनलाई सुरुवाती हरफ बनाएर समाचार पूरै पुनर्लेखन गर्न‘पथ्र्याे ।

मैले काम थाल्दा कान्तिपुरमा डेस्क प्रमुख जीवेन्द्र सिम्खडा हुनुहुन्थ्यो । उहाँप्रति सारा रिपोर्टिङ युनिटको विशेष सम्मान थियो । हामीले कोरेर छाडेका समाचार भोलिपल्ट चोटिलो बनेर छापिएका हुन्थे । उहाँ हामीलाई सधैं भन्ने गर्न‘हुन्थ्यो, ‘अरूतिर हेर्नैपर्दैन, नारायण वाग्लेको सिको गर । उसले जस्तै छ पटक सोचेर मात्र हरेक वाक्य लेख्नू ।’ कृष्णमुरारी भण्डारी, नारायण वाग्ले, हरिबहादुर थापा र बलराम बानियाँबाट बेलाबखत प्राप्त हुने फिडब्याकले मेरो रिपोर्टिङमा प्रभाव पारेको थियो । काठमान्डु पोस्टबाट अखिलेश उपाध्याय र सुमन प्रधानले फिडब्याक दिनुुहुन्थ्यो ।

बीबीसीमा काम गर्न थालेपछि अर्को अनुभव मिल्यो । रिपोर्ट प्रसारणमा जानुअघि नै दोस्रो आँखाबाट जँचाउने । त्यसो गर्दा आफ्नो रिपोर्टका कतिपय शब्द परिवर्तन हुन्छन् । कुनै तथ्यमा शंका लागे जाँच्न सकिन्छ र मुख्य कुरा श्रोता, पाठककहाँ जानुअघि आफ्नै सहकर्मी श्रोता बनिदिन्छन् र त्रुटि भएका कुरा सच्याउन पाइन्छ । ती सबैको फाइदा रिपोर्टरलाई त हुन्छ नै, त्यसले समाचार संस्थाको विश्वसनीयता र प्रभावकारिता बलियो बनाउँछ ।

बिहान उठ्नेबित्तिकै आज के भनेर सोच्न मैले कान्तिपुरबाटै सिकेकी हुँ । अखिलेश उपाध्याय कुनै बेला कान्तिपुर र काठमाडौं पोस्ट दुवैको समाचार शाखा प्रमुख हुनुहुन्थ्यो । उहाँ सधैं सोध्नुहुन्थ्यो, ‘आज के ?’ समाचार संकलन गरेर आएपछि उहाँले सोध्नुहुन्थ्यो, ‘के रैछ कुरो ?’ लटरपटर भूमिका बाँध्न थालेपछि उहाँ भन्नुहुन्थ्यो, ‘लिड लाइन के हो ?’ बीबीसीमा त्यसलाई टपलाइन भनिँदोरहेछ । कुरा गरेर नयाँ सूचना के हो र त्यसका आधारमा टपलाइन के हो भन्ने ठम्याएपछि समाचार लेख्न अति सजिलो हुने रहेछ । माला बुनेजसरी सररर गइहाल्छ । कान्तिपुरमा समाचार लेख्दा महत्त्वपूर्ण कुरा अघिल्ला चार लाइन हुन्थे । बीबीसीमा अन्तिम पञ्च लाइन पनि महत्त्वपूर्ण हुन्छ । त्यसैले दिन्छ, समाचारको सन्देश अर्थात् टेकहोम म्यासेज ।

समाचार लेखन के हो भन्ने नबुझिकनै कान्तिपुरको रिपोर्टर बन्न पुगेकी मैले त्यहीँको कार्यशैली र साथीहरूका कामबाट समाचार लेख्न सिकें । फिडब्याकलाई सकारात्मक रूपमा लिएँ । चेभनिङ स्कलरसिपमा बेलायतको सिटी युनिभर्सिटीमा पत्रकारिता पढ्न जाँदा थाहा पाएँ, कान्तिपुरमै मैले प्रभावकारी पत्रकारिता कसरी गर्ने भन्ने सिकिसकेकी रहेछु । अहिले पनि पत्रकारिता कसरी गर्ने र कहाँ पढ्ने भनेर सोध्नेहरूलाई भन्ने गर्छ‘, मैले त कान्तिपुरको न्युजरुममा सीधा प्रवेश गरेर कामका सिलसिलामा सहकर्मीबाटै धेरै सिकें ।

कान्तिपुरकी पूर्वसंवाददाता पराजुली हाल बीबीसी नेपाली सेवामा कार्यरत छिन् ।

प्रकाशित : फाल्गुन ७, २०७४ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?