१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

बल्झिरहेको बाँदरमुडे

खुमानसिं तामाङ

काठमाडौँ — यति ठूलो क्रूरता देखेर म आफैं पनि के गर्ने र नगर्ने भन्नेमा अन्योलग्रस्त थिएँ । बाहिर बम विस्फोट भएको थियो तर, मनभित्र प्रश्नैप्रश्न विस्फोट भइरहेका थिए । प्रश्नहरू सोध्ने हिम्मत गर्न सकेको थिइनँ, किनकि सबै भावविह्वल थिए । समाचारका लागि सूचना टिप्नुभन्दा पनि म आफैं पीडामा डुब्न थालेछु । 

बल्झिरहेको बाँदरमुडे

विगत सम्झिने कि बिर्सिने ? दार्शनिक फ्रेडरिक नित्सेको भनाइ मान्ने हो भने विगतलाई त्यो विन्दुमा रहेर उपयोग गर्नुपर्छ, जसले जीवनलाई स्वस्थ, बलियो र उत्पादनशील बनाउन सक्छ ।

तर, के विगत अस्वस्थ, निर्बल र उत्पादनहीन छ भन्दैमा त्यसै मेटिएर जान्छ ? अक्सर सामान्य प्रश्नका उत्तरहरूलाई नै समाधान ठानिन्छ । तर, जीवन भोगाइबाट उत्पन्न कति प्रश्नको उत्तर दिएर पुग्दैन । ती सबै प्रश्नहरू सामना गर्नुपर्छ, चाहे प्रिय हुन् वा अप्रिय । बाँदरमुडेका नागरिकले भोगिरहेका छन्, दसवर्षे हिंसात्मक द्वन्द्वलाई ।

उक्त अवधिको एउटा संगीन प्रश्न हो बाँदरमुढे । माडी क्षेत्रस्थित तत्कालीन अयोध्यापुरी गाविस–२, बाँदरमुडेमा माओवादीले एम्बुस विस्फोट गराउँदा बसमा यात्रारत ३८ सर्वसाधारणले ज्यान गुमाएको घटना एउटा यस्तो जटिल विगत हो, जसको दर्द लामो समयसम्म भोग्न समाज अभिशप्त छ । त्यस घटनालाई न्यायिक विन्दुमा लगेर टुंग्याउन नसक्नु दु:खद पाटो त छँदैछ, दु:खको पहाड अझै चुल्याउने दाउपेच चल्ने सम्भावना झनै बढी छ ।

२०६२ जेठ २३ गते त्यो दिनको घटनाले पीडितलाई मात्र होइन, यसका मुख्य कर्तालाई पिरोल्न छोडेको छैन । माओवादी द्वन्द्वकालको सबैभन्दा अमानवीय र अकल्पनीय त्यो घटनाको रिपोर्टिङ कान्तिपुर दैनिकमा संवाददाताको हैसियतमा मैले गरेको थिएँ । घटनाको प्रकृति र आयतनका कारण यसले राजनीतिक, सामाजिक, आर्थिक, मनोवैज्ञानिकलगायत मानव जीवनका सबै पक्षहरूमा गहिरो नकारात्मक असर पुर्‍याइरहेको छ । त्यसको न्यायिक समाधान अझै भएको छैन, बरु बेलाबेला सत्ता राजनीतिको खेल आफूअनुकूल बनाउन त्यसलाई ‘बार्गेनिङ’ को विषय बनाइएको छ । यसबाट सामाजिक रूपमा दण्डहीनताले ठाउँ पाएको छ । र, यी दुईको प्रभाव अन्य पक्षमा समेत प्रतिविम्बित हुने गरेको छ ।

राजाको प्रत्यक्ष शासन भएको त्यो बेला माओवादी द्वन्द्व उत्कर्षमा पुगेको थियो । आक्रमण, भिडन्त र विस्फोटका घटना नभएको दिन नै हुँदैनथ्यो । यसले मानिसको जीवनशैलीलाई नै प्रभाव पारिरहेको थियो । त्यो समाजको मनोविज्ञानले मलाई पनि छोएको थियो । घटनाको सूचना पाए पनि मलाई यसले छुन समय लाग्यो । घटनास्थल पुगेपछि मात्र त्यहाँको दृश्यले मेरो मस्तिष्कलाई शून्य बनायो । सेतो कपडाले बेरिएका यात्रुका शवहरू लस्करै राखिएका थिए । सैनिक र स्थानीय बासिन्दाहरू घाइते ओसारिरहेका थिए । पीडितका आफन्तजन र गाउँलेहरूको रुवाबासी थियो । कोही आफन्त गुमेको सूचना पाएर बेहोस भएका थिए ।

करिब सय जनाभन्दा बढी यात्रु बोकेको दोहोरो ढोका भएको बस बम विस्फोटले ‘कंकाल’ मा परिणत भएको थियो । यात्रुले खचाखच बसको बीच भागमा पारेर विस्फोट गराइएको थियो । बीचमा रहेकाहरूको मृत्यु भएको थियो । बसभित्र र छतमा रहेका अन्य यात्रुहरू घाइते भएका थिए । मृत्यु हुनेमा तीन जना बालबालिका र आधाजसो महिला थिए । विस्फोट भएको ठाउँसम्म जमिनमुनि खनेर तार विछयाएको प्रस्ट देखिन्थ्यो । नजिकै स्थानीय स्वास्थ्य चौकीमा घाइतेहरूको उपचार भइरहेको थियो । थप उपचारका लागि घाइतेलाई भरतपुर अस्पताल र काठमाडौंसम्म सेनाले ओसारिरहेको थियो । मानिसहरू कोही बोल्न सकेका थिएनन् । प्रतिक्रियाविहीन थिए । स्तब्ध थिए उनीहरू ।

यति ठूलो क्रूरता देखेर म आफैं पनि के गर्ने र नगर्ने भन्नेमा अन्योलग्रस्त थिएँ । बाहिर बम विस्फोट भएको थियो तर, मनभित्र प्रश्नैप्रश्न विस्फोट भइरहेको थियो । प्रश्नहरू सोध्ने हिम्मत गर्न सकेको थिइनँ, सबै भावविह्वल थिए । समाचारका लागि सूचना टिप्नुभन्दा पनि म आफैं पीडामा डुब्न थालेछु । यसरी भावनामा डुब्दाडुब्दै समाचार पठाउन फर्किनुपर्ने बेला भइसकेको थियो । पीडाभाव बोकेर घटनास्थलबाट फर्केपछि के लेख्ने भन्ने चिन्ता थपियो । शब्दमा व्यक्त गर्न नसकिने त्यो क्षणलाई समाचारमा कसरी उतार्ने ? जेनतेन समाचार त लेखें, पीडितका भावना समेट्न सकिएको थिएन । न्युज डेस्कबाट टेलिफोन आइरहयो, थप सूचना केहीे छ भनेर । विदेशी पत्रकारहरू र मानवअधिकारवादीहरूले घटना बुझ्न टेलिफोन गरिरहेका थिए ।

फलोअप समाचारमा पीडितका भावना समेट्न र घटनाबारे थप खोतल्न भोलिपल्ट फेरि घटनास्थल पुगेँ । पहिलो दिनभन्दा माहोल अलि फेरिएको थियो । मानिसहरू अलि खुलेर बोल्न सक्ने भएका थिए । उनीहरूले आफूमा भएको आक्रोश सहज रूपमा पोखे । पसल र घरघरमा जम्मा भएर गाउँलेहरू त्यही घटनाबारे कुराकानी गरिरहेका थिए । आफ्नो पीडालाई पत्रिकाले लेखिदेओस् भन्ने भाव उनीहरूमा प्रस्ट देखिन्थ्यो । आफूहरूले न्याय पाउनुपर्ने उनीहरूको भनाइ थियो ।

दक्षिणतिर चुरे पहाड र अन्य तीनतिर चितवन राष्टिय निकुञ्जले घेरिएको शान्त र सुन्दर माडी उपत्यकामा पहिलो पटक यति ठूलो शोक छाएको थियो । निशस्त्र र निर्दोष सर्वसाधारणको मृत्युको पीडा गाउँलेहरूको अनुहारमा स्पष्ट पढ्न सकिन्थ्यो । भोलिपल्ट साँझपखसम्म गाउँलेहरूले मृतकको अन्तिम संस्कार गरिसकेका थिए । अस्ताउँदो सूर्यसँगै उनीहरू अन्तिम संस्कार गरेर लस्करै फर्किंदै थिए । बाँदरमुडे खोलामा आधा सल्किएका चिताका दाउरा बगिरहेका थिए । चिता पखालेको खरानीले खोला जति धमिलिएको थियो, त्यति नै सन्तप्त थियो मलामीहरूको अनुहार ।

मलाई भने फलोअप समाचार पठाउने चिन्ता थियो । मैले नोट बुकमै गाउँलेको पीडाबोधलाई समाचारको स्वरूपमा लेखेर टेलिफोनबाट टिपाएँ । फयाक्सको सुविधा त्यहाँ थिएन । साँझ पनि गाउँलेसँग कुराकानी जारी राखेँ । यति ठूलो घटनाका जिम्मेवारहरू कहाँका हुन्, किन यस्तो काम गरे ? पहिले केही संकेतहरू पाएका थिए कि ? यी प्रश्नहरूको कुनै जवाफ पाउन सकिएको थिएन । प्रश्न आफैंसँग बोकेर भोलिपल्ट बिहानै त्यहाँबाट फर्किएँ ।

बाँदरमुडे घटनाको अनुगमन गर्ने क्रममा राष्ट्रसंघीय उच्चायुक्तको नेपालस्थित कार्यालयका एक अधिकारीले मसँग सोधेकी थिइन्, घटनामा संलग्न माओवादी कार्यकर्ताहरू कहाँका हुन् ? मेरो जवाफ थियो, यहाँको जिल्ला इन्चार्ज घटना भएको गाउँकै हुन् । अरू कहाँका हुन् भन्ने केही खुलेको छैन । उनले आश्चर्य प्रकट गर्दै भनिन्, ‘म धेरैवटा द्वन्द्वरत देशमा पुगेको छु, आफ्नै दाजुभाइको मृत्यु हुनेगरी घटना गराएको देखेको छैन ।’ ‘कान्तिपुर’ मा करिब एक दशक पत्रकारिता गर्दाको सबैभन्दा बिर्सिनै नसक्ने घटना हो यो । अहिले पनि यसबारे विभिन्न मिडियामा आउने समाचार र लेख पढ्न मैले कमै छुटाउने गरेको छु । अनि घटना सम्झिनेबित्तिकै एउटा प्रश्न उब्जिन्छ, मानवताविरुद्धको यस्तो अपराध गराउन सक्ने नेतृत्वले नेपाली युवालाई मुलुकको शान्ति र समृद्धिमा लगाउन सकेको भए देश कुन उचाइमा पुग्थ्यो होला ? घटना भएको १२ वर्ष बितिसक्दा मुलुकको अवस्था र व्यवस्थामा परिवर्तन आएको छ, नेतृत्वको सोच र मनस्थिति भने उस्तै छ । पीडित पक्षले आर्थिक रूपमा केही सहयोग पाइरहेका छन् । बाँदरमुडे स्मारक बनाइएको छ, जहाँ बर्सेनि घटनालाई सम्झिने गरिएको छ । मुख्य कुरा पीडितको फाटेको मनको उपचार हुन सकेको छैन । न्यायिक उपचार पाउन नसकेको गुनासो उनीहरूले गरिरहेका छन् । घटनाका जिम्मेवारलाई कारबाही नभएको कारण पीडा मनभित्र गढेर बसेको छ । बाँदरमुडे घटनामा एक घाइते अहिले पनि भन्छन्— लोकतान्त्रिकका मूल्य मान्यताहरू स्थापित हुने गरी न्याय पाउनुपर्छ ।

राजनीतिक रूपमा घटनाका जिम्मेवार पार्टीका प्रमुख पुष्पकमल दाहाल र उक्त पार्टीका सम्पूर्ण कार्यकर्तालाई समेत पिरोल्ने गरेको मिडिया रिपोर्टहरूमा आउने गरेको छ । माओवादी अध्यक्ष दाहालकै गृहजिल्ला हो, चितवन । उनले घटनास्थलमा पुगेर भन्ने गरेका छन्, घटना दु:खद हो, राष्ट्रिय र अन्तर्राष्ट्रिय तत्त्वले बल्झाइराख्दा झन् पीडा भएको छ । हुन पनि नेपालमा सरकार गठन र विघटनमा ठूलो भूमिका यही घटनाको रहने गरेका दृष्टान्तहरू छन् । आफूअनुकूलका सत्ता समीकरण बन्दा घटनाको न्यायिक निरुपण बिर्सिइने र प्रतिकूल समीकरण बन्न थाल्दा घटनासँग जोडेर अन्तर्राष्ट्रिय अदालतमा उभ्याइदिने धम्की आएको जस्केलाबाट सुनिन्छ ।

यो एउटा यस्तो विगत भइसकेको छ, जसको समाधान भनेको अन्तर्राष्ट्रिय कानुनसमेतलाई ध्यानमा राखेर न्यायिक निरुपण खोजिनु हो । दार्शनिक नित्से भन्छन्, विगतको उपयोग त्यति सहज छैन, दृढ इच्छाशक्ति आवश्यक हुन्छ । आज पनि बाँदरमुडेलाई सत्ता राजनीतिको मुद्दामा प्रयोग होइन, यसको न्यायिक गन्तव्य र सुखद बैठान खोजिनु आवश्यक छ ।

कान्तिपुरका पूर्वसंवाददाता तामाङ हाल परराष्ट्र मन्त्रालयमा शाखा अधिकृत छन् ।

प्रकाशित : फाल्गुन ७, २०७४ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?