१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

द्वन्द्व र पीडा देख्दा

इच्छाले मात्र होइन, बाध्यात्मक परिस्थितिले पनि अनेक युवा हिंसामा धकेलिँदै थिए । उम्कनेहरूको ताँती सीमा क्षेत्रमा प्रशस्त देखिन्थ्यो । 
दिलभूषण पाठक

काठमाडौँ — ०५४ भदौ २६ गते हुनुपर्छ । गोंगबु बसपार्कका भरियालाई सय पचास रुपैयाँ तिरेर नेपालगन्ज जाने बागेश्वरी रात्रिबसको छानामा रातो रंगको हिरो होन्डा ‘लोड’ गरेपछि मेरो पत्रकारिताको वास्तविक यात्रा सुरु हुन्छ । पत्रकारितामा त्यति खारिन नपाउँदै म मध्य तथा सुदूरपश्चिमाञ्चललाई समेटेरे नेपालगन्जमा भर्खरै खोलिएको कान्तिपुर पब्लिकेसन्सको क्षेत्रीय कार्यालय जाँदै थिएँ, सरुवा भएर । 

द्वन्द्व र पीडा देख्दा

कान्तिपुर दैनिकमा आबद्ध भएको पाँच वर्ष पुगिसकेको थियो । मेरो मुख्य काम दोस्रो पृष्ठ काठमाडौं उपत्यकाका समाचारले भर्नुपर्ने थियो । तर अवस्था हेरीहेरी काम लगाउँथे सम्पादक योगेश उपाध्याय । कहिले जिल्ला पृष्ठ भर्नुपथ्र्यो त कहिले अन्तर्राष्ट्रिय । कहिले खेलकुद पृष्ठ त कहिले रात्रि डेस्कमा ‘स्टोन’ । सीमित जनशक्ति भएको त्यतिबेला सायद म पनि ‘ज्याक अफ अल, मास्टर्स अफ नन’ जस्तै थिएँ । अह्राएको मान्ने, जे लगाए पनि गर्ने ।

पत्रकारिता पढ्न झापाबाट माई खोला तरेर काठमाडौं भासिएको म आफ्नो रोजाइकै पेसा गर्न नेपालगन्ज लाग्दै थिएँ । भोलिपल्ट बिहान झिसमिसेमा नेपालगन्ज नपुगुन्जेलसम्म न आँखा झिमिक्क भए न मन नै शान्त भयो । राजधानीको सुविधासम्पन्न बसाइँ छाडेर म त्यस्तो क्षेत्रतर्फ हान्निदै थिएँ, जहाँ द्वन्द्व चर्कंदै थियो । माथिका पहाडी तथा हिमाली जिल्लामा जहिल्यै भोकमरी पर्छ । गरिबी सोचिनसक्नु छ । रोकव्याधिले बर्सेनि सयौंको ज्यान लिन्छ । अधिकांश जिल्लामा यातायात सुविधा छैन । विकट गाउँहरूमा त स्वास्थ्य, शिक्षा मात्र होइन, समग्र जीवन नै टिठलाग्दो छ ।

समाचारहरूमा वा प्रहरी र सेनाका औपचारिक वक्तव्यहरूमा द्वन्द्वको बढी प्रभाव रुकुम, रोल्पा, सल्यान र जाजरकोटमा मात्र देखिए पनि पूर्वपश्चिम राजमार्गभन्दा तलका नेपालगन्जजस्ता सहरहरूमा समेत यसको असर पर्न थालिसकेको थियो ।

***

नेपालगन्ज मेरा लागि ठूलो कौतूहलको विषय बन्यो । गुलजार तर अजिब पनि । नेपालका अरू सहरभन्दा धेरै भिन्न र अनुपम । म पुग्दै गर्दा मुस्लिमहरूको बाहुल्य रहेको बाँके जिल्लामा शिवसेनाको जगजगी थियो । बिहान उज्यालो हुन नपाउँदै गुन्जिने शिवसेनाको चर्को माइकको ‘ओम शान्ति’ वा साँझ मस्जिदहरूबाट आउने ‘अल्लाह अकबर’ को आवाजले झन् त्रासदी थप्थ्यो । अझ धम्बोजी चोकमा शिवसेनाले झुन्डयाएको माइक त सय मिटर मात्र दूरीमा रहेको मस्जिदतर्फ फर्काइएको थियो । र, सकेको चर्को पारेर भजन बजाइन्थ्यो ।

म सर्वत्र हिंसाको त्रास देख्थें । दुवैथरीले एक–अर्कालाई गिज्याउन गरेको कर्मझंै लाग्थ्यो उनीहरूको ‘धर्म’ । यति ठूला टुप्पी पाल्ने र यति मोटा जनै लगाउने मान्छे मैले त्यहीँ देखें । मुसलमान र हिन्दु अनि शिखसमेतको उपस्थितिले बाँकेलाई जति विविध र सुन्दर बनाएको थियो, त्यही अनुकूल धार्मिक मेलमिलापचाहिँ महसुस हुँदैनथ्यो । यतिसम्म कि भारत र पाकिस्तानको कुनै क्रिकेट म्याच मध्यरातमा सकियो भने भारतका पक्षमा उभिने हिन्दुहरू वा पाकिस्तानको पक्षमा उभिने मुसलमानहरू घरको छतमा गएर हुटिङ गर्थे । कसैलाई गिज्याएर आफू खुसी हुन ।

द्वन्द्वको समय छ । मध्य तथा सुदूरपश्चिमका पहाडी जिल्लाहरू हुम्ला, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, अछाम कहीँ कतै त्यसबेलाको शाही नेपाल वायु सेवा निगमको ट्विनअटरमा बाहेकको यातायातको विकल्प थिएन । जाजरकोट, रुकुम, सल्यान, दैलेखसमेत पुग्न गतिला बाटा थिएनन् । तर खेतीपाती लगाइसकेपछि वा उठाइसकेपछिका सिजनमा हप्तौं हिँडेर कालापहाड झर्नेहरूको लर्को नौला थिएनन् ।

हरेक कुराले मध्य र सुदूरपश्चिमाञ्चल यो समयसम्म ओझेलमै थियो । केही जिल्लामा सीमित सञ्चार संस्थाका स्थानीय प्रतिनिधिहरू थिए । तर पनि यहाँका समाचारहरूले प्राथमिकता पाउन सकेका थिएनन् । केन्द्रले यहाँका समाचारलाई त्यति महत्त्व दिँदैनथ्यो । पत्रकारिता अहिलेको जस्तो फराकिलो कहाँ थियो र ∕ माओवादी विद्रोहका धेरै जसो समाचार आइरहेका थिएनन् । कर्णालीमा हुने भोकमरी र महामारीका समाचारले खासै महत्त्व पाउँदैनथे । यस भेगका अनगिन्ती सामाजिक तथा आर्थिक मुद्दाले खासै महत्त्व पाइरहेको अवस्था थिएन । न त यहाँको सामथ्र्यकै चर्चा हुन्थ्यो । नेपालगन्जतिर नेपाली पत्रपत्रिका देख्न मुस्किल पथ्र्यो । बरु भारतीय पत्रपत्रिका आउँथे नेपालगन्ज, धनगढी वा कञ्चनपुरसम्म ।

कुनै एक दिन म नेपालगन्जसँगैको होलिया र राप्ती नदी क्षेत्र पुग्छु । कसैले सुनाएको आधारमा । राप्तीपारिका नेपाली गाउँमा भारतीय पैसा धेरै चल्छ । रेडियो पारिकै बज्छ । सबैको घडीमा भारतीय समय घुम्छ, पन्ध्र मिनेट ढिलो । म त्यस क्षेत्रका एक चल्तापुर्जा गाविस अध्यक्षको घरमा पुग्छु । ती गाविस अध्यक्षलाई पनि सबैले भारतकै झंै सरपञ्च भन्दा रहेछन्् । सेतो कमिज र सेतै धोती लगाएको एक २६–२७ वर्षको युवालाई सबैले घेरेका छन्् । र, ती युवा ठाँटसँग गफ दिइरहेका छन् घरको आँगनमा बसेर । दृश्य साह्रै आकर्षक छ । म पनि मिसिन्छु । परिचय हुन्छ । उनी आफू सरपञ्चको भएको परिचय दिन्छन् । कुराकानीका बीच कुनै एक गाउँलेको सिफारिस वा कुनै कागजमा हस्ताक्षर गर्नुपर्ने हुन्छ र उनी घरभित्र मात्रै सीमित श्रीमतीकोमा लगेर औंठाछाप लगाउन आफ्नो छेउमै बसेका सहायकलाई अह्राउँछन् ।

अनि मात्र थाहा हुन्छ । गाविस अध्यक्ष अथवा सरपञ्च उनी नभएर उनकी श्रीमती रहिछन् । अघिल्लो कार्यकाल उनै अध्यक्ष रहेछन् । तर पछिल्लो निर्वाचनमा आफ्नो उम्मेदवारी प्राविधिक कारणले रद्द भएपछि उनले श्रीमतीलाई जिताएका रहेछन् । अनि सबै काम आफैं गर्दारहेछन् । श्रीमतीको काम बस् औंठाछाप लगाउने रहेछ । भोलिपल्ट कान्तिपुरको प्रथम पृष्ठमा आकर्षक शीर्षकमा समाचार छापियो, ‘बाँकेको गाउँमा लालु र राबडी’ । यो बीस वर्षको अन्तरमा म अहिले पनि हाम्रो चुनाव जित्ने र शासन गर्ने शैलीमा तात्त्विक अन्तर देख्दिनँ ।

***

त्यसबेलाको मध्य र सुदूरपश्चिमाञ्चल अर्थात् अहिलेका प्रदेश ५, ६ र ७ माथिको विभेदबारे मैले त्यतिबेला मात्र अनुभव गरें जब म नेपालगन्जलाई मुकाम बनाएर विकट जिल्लाहरू चहार्न थालें । दु:ख र पीडामा अल्झिएका मानिसहरू देखें । उफ्, कहिले त्यस्ता झन्झटबाट निस्कने, अनि कहिले प्रगति गर्ने ? न जिल्ला जोड्न पर्याप्त सडक थिए । न अन्य पूर्वाधार । सामाजिक तथा सांस्कृतिक मान्यताहरू, संस्थाहरू पनि द्वन्द्वले नासिँदै थिए । औषधि नपाएर वा डाक्टर नदेखेरै मर्थे बिरामी ।

उत्पादन फिटिक्कै थिएन/छैन । कर्णालीका जिल्लामा त मुस्किलले तीन महिना मात्र खान पुग्ने । पहिले कर्णालीलगायतका विकट जिल्लाका फाँटहरूमा फल्ने अन्नहरू भोटमा पुर्‍याएर नुनसँग साटिन्थ्यो । तर पछि सरकारले खाद्यान्न र आयोडिनयुक्त नुन पुर्‍याउन थालेपछि कसले गरोस् उत्पादन । उवा, गहँ‘, जौ वा आलु होइन, तलबाट महँगो हवाई भाडामा पुर्‍याइने गुलियो चामलमा बानी पर्‍यो ।

स्वास्थ्य, शिक्षासम्बन्धी चेतना आजभन्दा २० वर्षअघि स्वाभाविक रूपमा अरू कम थियो । गरिबीले त्योभन्दा थिच्ने ठाउँ छैन । त्यसमाथि द्वन्द्वले गाँज्दै थियो । इच्छाले मात्र होइन, बाध्यात्मक परिस्थितिले पनि अनेक युवा हिंसामा थकेलिँदै थिए । उम्कनेहरूको ताँती सीमा क्षेत्रमा प्रशस्त देखिन्थ्यो । धेरथोर पूर्वको विकास र राजधानी देखेको म अचम्मित नहुने कुरै थिएन । प्रजातन्त्रको दुहाई दिँदै राजधानी बसेर शासन गर्नेहरूप्रति मेरो दृष्टिकोण बदल्न मद्दत पुर्‍याए यी दृश्यहरूले । नेपालगन्ज कतिन्जेल टिकौंला र म भनेर दुई चार जोर लुगा लिएर गएको मैले अब जताततै समाचार देख्न थालें । मानवीय जीवनसँग प्रत्यक्ष सरोकार राख्ने कठोर समाचार म जति धेरै लेख्दै जान्थें, साथीहरू उति नै कान्तिपुरमा प्राथमिकता दिँदै जान्थे ।

***

त्यतिबेलाको डायरी ‘र्‍यान्डम्ली’ पल्टाउँछु : २०५५ मंसिर, पुसमा मा म स्थानीय निर्वाचनको समाचार लेख्न जाजरकोट, रुकुम, रोल्पा पुगेको रहेछु । अनि लगत्तै माघमा दाङ, देउखुरीतिर लागेछु कमैयाहरूको रिपोर्टिङ गर्न । फागुन नलाग्दै माओवादीले सुरु गरेको ‘जनयुद्ध’ को तेस्रो वर्षगाँठका अवसरमा आयोजित कार्यक्रम हेर्न दिल्लीको फिरोजशाह कोटाला मैदान पुगेछु । त्यही महिना जुम्ला र कालिकोटमा फैलिएको महामारीले गाउँ नै सोत्तर हुन थालेपछि फेरि त्यता हानिएछु । अनि वैशाख लाग्नासाथ फेरि २०५६ को आम निर्वाचनको समाचार संकलन गर्न रुकुम, रोल्पा, जाजरकोट खटिएछु । यी कति जिल्लामा पैदल हिँड्नुको विकल्प थिएन त्यतिबेला ।

एउटा माघे संक्रान्तिमा म सुर्खेतको मेहेलकुना मेलामा पुग्छु । एउटा साठी जतिको वृद्ध गधा चढेर अघि–अघि बढिरहेका छन् । पछि–पछि बाह्र, पन्ध्र वर्षदेखि चालीस, पैंतालीससम्मका युवती तथा अधबैंसे महिला पैदल पछयाउँदै छन् । कसैले भन्यो, ‘यो बूढाको टिमले कमाउने भयो पैसा ।’ उनीहरू बादी पारिवार रहेछन । वेश्यावृत्तिबाट जीविका गुजारा गर्ने वादी समूहका ती वृद्धले आफ्ना छोरी, बहिनी, भान्जी, श्रीमती लिएर आएका रहेछन् । उनीहरू मेहेलकुनाको भेरी बगरमा मेलामा यौनप्यास मेट्न आउनेहरूको सेवामा बसे र केही दिनपछि थोरै खर्च जोहो गरेर फर्के । आज सम्झन्छु, २० वर्षको बीचमा त्यहाँका मानिसको जीवनमा के परिवर्तन आयो होला ? यो राज्यले तिनलाई कति न्याय गर्‍यो । वा त्यस क्षेत्रमा दस वर्ष युद्ध चलाएको माओवादी पार्टीले तिनको जीवन कति बुझ्यो ?

हुम्ला, जुम्ला र कालिकोटमा विभिन्न समयमा फैलिएका महामारीको स्थलगत रिपोर्टिङमा पुग्दा म कति पटक भक्कानिएको छु । एक पटक जुम्ला खलंगाबाट हिँडेर कालिकोटको नाग्मको सार्कीबाडा पुग्छु । सिङ्गो गाउँ बिरामी छ । न औषधि उपचारका लागि जाने ठाउँ छ न खान घरमा एक गेडो अन्न । न कसैको आङ ढाक्न पुग्ने न्यानो कपडा । अनकण्टार भीरको बीचमा गाउँ छ । उनीहरूका लागि के राज्य, के सरकार ?

माओवादी हिंसाका बेलामा त्यो भूभागको दु:ख–कष्ट देखेको मलाई हिजोआज त्यहाँ भएका केही परिवर्तन देख्दा खुसी लाग्छ । तर के यत्ति हो त ? यसबीच कालिकोट, जुम्लामा बाटो पुग्यो । डोल्पा र हुम्लामा पनि पुग्दै छ । एक दिन मुगु पनि पुग्छ । तर अझै पनि कर्णाली मूलधारमा समेटिन सकेको छैन । स्वास्थ्य सेवा विस्तार हुन बाँकी नै छ ।

उबेला माओवादीका भित्री सेल्टर क्याप्महरूमा पुगेर सुनेका भाषणहरू अझै मेरा कानमा गुन्जन्छन् । मुलुकमा यति ठूल्ठूला राजनीतिक परिवर्तनहरू भए । यति धेरै सरकार आए, गए । तर खोइ जनताले अनुभूत गर्ने सुशासन ? खोइ न्यायमूलक समाज ? खोइ विकास ?

पाठकले कान्तिपुरको नेपालगञ्ज ब्युरोमा रहेर द्वन्द्वग्रस्त क्षेत्रको रिपोर्टिङ गरेका थिए ।

प्रकाशित : फाल्गुन ७, २०७४ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?