१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

बन्दुकको चेपमा 

सुरज कुँवर

काठमाडौँ — अछाम जिविसमा एउटा टेलिफोन थियो । पाँच बजेपछि त्यसमा फ्क्यास मेसिन जोडिन्थ्यो । शुल्क थियो— प्रतिपाना सय रुपैयाँ । एलडीओले समाचार सेन्सर गर्थे । समाचार धेरै पाना भए केरमेट गरिदिन्थे ।

बन्दुकको चेपमा 

माओवादीले एकैसाथ गरेको भीषण हमलापछि साँफेबगर र मंगलसेनमा सीडीओ मोहनसिंह खत्रीसहित सैनिक, प्रहरी, सर्वसाधारण गरी १ सय ४९ जना मारिए । २०५८ फागुन ४ को राति भएको त्यो नरसंहारमा विद्रोहीतर्फ २४ जना मरे । यो घटनापछि भग्नावशेषमा परिणत अछामलाई छाड्दै भारततिर सर्वसाधारणको ताँती लाग्यो ।

गाउँहरू पुरुषविहीन बने । रमिता, गीत/संगीत, सामाजिक गतिविधि मासिँदै गए । साँफेबगरको टुइनअटर उड्ने विमानस्थल बन्दै भयो । अछामको अर्थतन्त्र ओरालो लाग्यो । विकासे संस्थाहरू ‘अछाम ५० वर्षपछि धकेलियो’ भन्न थाले । राजधानी काठमाडौं, धनगढी, नेपालगन्जसँगका आर्थिक/सामाजिक सम्बन्ध एकपछि अर्को गर्दै टुट्न थाले । गाउँका चौकीका हवल्दार, गाविस सचिव, जेटी/जेटीए स्कुलकलेजका शिक्षकलाई गाउँमै छाडेर सदरमुकाम भागे । प्रहरी, प्रशासन, सरकारी कार्यालय सदरमुकाममै खुम्चिए ।

गोरख दल गुल्मका क्याप्टेन रमेश बोहोरासहित ५३ जनाको जंगी पल्टन एकै चिहान भएको जिल्ला सदरमुकाममा सरकारले कर्णेलको कमान्डमा गण खटायो । साँफेबगरमा सशस्त्रका डीएसपीको कमान्डमा अस्थायी बेसक्याम्प खडा भयो । सुरक्षाकर्मी थपिए पनि अछाम झन् उराठलाग्दो बन्यो । गाउँबस्तीमा सरकारका कार्यक्रम सुक्दै गए भने माओवादी गतिविधि दिन दुई गुना रात चौगुनाका दरले खुल्लमखुला बढ्न थाले । जनपथ, सशस्त्र र सेना मिसाई बनाइएको युनिफाइड कमान्डले पनि माओवादीलाई सघाएको, खाना खुवाएको, चन्दा दिएको आरोपमा सर्वसाधारणलाई दिउसै सार्वजनिक स्थलमा बुट र बन्दुकले कुट्न थाल्यो ।

नेपाल साप्ताहिक, २०६१ साउन

सशस्त्र द्वन्द्वका कारण दुई पक्षबाटै मानवअधिकार हननका अत्यधिक घटना भइरहेका बेला २०६० पुस २८ गते कान्तिपुर पब्लिकेसन्सले मलाई कान्तिपुर दैनिक, कान्तिपुर एफएम र कान्तिपुर टेलिभिजनको अछाम संवाददाताका रूपमा साँफेबगर पठायो । सदरमुकाममा वेदप्रकाश तिमिल्सैना खटाइएका थिए ।

साँफेबगरमा सशस्त्र प्रहरीको सुरक्षा निगरानीमा एउटा भिस्याट फोन भएको पीसीओ स्थापना भयो । साफे आसपासका दुई दर्जन गाविसको एक्लो त्यो पीसीओबाट खबर लेखेर होइन, फोन गरेर काठमाडौंमा टिपाउनुपथ्र्यो । जिल्लाको एक मात्र कैलाश खोला साना जलविद्युत् आयोजना माओवादीले बम पड्काएर बन्द गराइदिएको थियो । पीसीओ सोलारबाट चलाइन्थ्यो । भिस्याट फोनबाट डायल गर्नेबित्तिकै अर्कोतिर टिपिहाल्दैनथे । आकाशमा बादल मडारियो कि भिस्याट फोनले काम गर्न छाड्थ्यो । अझ हिउँदका दिन सोलारमा पर्याप्त ऊर्जा नपर्ने भएकाले र फोन बन्द हुने भएकाले एउटा समाचार टिपाउन पनि निकै दिन पर्खिनुपथ्र्यो ।

भिस्याट फोन प्रयोग गर्नेमा धेरैजसो सुरक्षाकर्मी नै हुन्थे । उनीहरू प्राय: परिवारजनलाई आफूहरू सकुशल रहेको खबर मात्रै गर्थे । साफेको पीसीओको स्वामित्व लिएका उपेन्द्र काकालाई फोन गर्नका निम्ति नाम टिपाउनुपथ्र्यो । भनेको बेला पालो पाइँदैनथ्यो । अझ सशस्त्र प्रहरीका डीएसपी, इन्स्पेक्टर पीसीओमा फोन गर्न आएका बेला फोन मालिकलाई समेत बाहिर निकालेर लामै कुरा गर्थे ।

तिनका बडिगार्डले ‘सुरक्षा र गोपनीयताको कारण’ कसैलाई पनि भित्र छिर्न दिँदैनथे । फोन गर्नेहरूको चाप र महँगो शुल्कका कारण लामो वार्तालाप गर्न सकिने अवस्था थिएन । त्यसैले फोनबाट टिपाइएका घटना छोटकरी समाचारका रूपमा छापिन्थे । बाहिरबाट पनि कल आउने भएकाले सर्वसाधारणले फोन निकै बेर व्यस्त राख्न पाइन्नथ्यो । त्यहाँबाट सुरक्षाकर्मी मरेका, सुरक्षाकर्मीले माओवादीको आरोपमा पक्राउ गरेका व्यक्तिबारे खबर टिपाउन निषेध थियो । लामा समाचारचाहिँ हुलाकबाट वा काठमाडौं जाने कुनै व्यक्तिसँग पठाउनुपथ्र्यो ।

त्यसै बेला साँफेका किसानको कोदो र धान पाक्ने सयौँ रोपनी पाखो खेतबारी मासेर बनाइएको सशस्त्र प्रहरीको बेसक्याम्पबारे एउटा समाचार छापियो । गरिब किसानलाई मुआब्जा नदिइएका विषयमा समाचार केन्द्रित थियो । म एक दिन बन्द विमानस्थलमा सशस्त्र प्रहरीले बनाएको भलिबल कोर्टको तस्बिर खिच्न गएको थिएँ, सशस्त्रका सिंह थरका इन्स्पेक्टरले आमाचकारी गाली गर्दै हप्काए, ‘मुआब्जाको समाचार लेख्ने तैँ हैनस् ? हाम्रोबारेमा समाचार लेख्ने ? तँलाई यहीँ गोली हानेर खाल्डोमा गाडिदिन्छु, अनि लेख्लास् ?’

त्रस्त हुँदै सुनिरहनुबाहेक मसँग अर्को उपाय थिएन । त्यही बेला उनका बडिगार्डले वाकीटकी थमाएकाले उनी त्यतै अलमलिए । त्यही मौकामा मेरा आफन्त पर्ने एक हवल्दारले मलाई आफूतिर आउने इसारा गरे र म लुसुक्क निस्किएँ । भीम चौधरी नामका इन्स्पेक्टरले केही दिनअघि स्थानीय राजन कुँवरलाई बीचबजारमा बिनाकारण निर्घात कुटेको घटना मेरो मनमा खेलिरहेको थियो । बुढीगंगा तरेर घर फर्कें ।

मलाई अछाम पठाउँदा कान्तिपुरका जिल्ला ब्युरो प्रमुख रघुनाथ लामिछानेले सम्झाएका थिए, ‘मित्र, पहिला ज्यान अनि पत्रकारिता ।’ त्यसपछिका दिन म साँफेतर्फ जाँदै गइनँ । प्रहरी ब्यारेकमा रहेको मेरा समाचार स्रोतले पनि मलाई ती इन्स्पेक्टरको अगाडि नपर्न सुझाएका थिए ।

त्यसताका प्राय: सशस्त्र प्रहरीले गाउँमा सर्च अभियान चलाउँथ्यो । हरेक पटक कसै न कसैलाई पक्राउ गथ्र्यो । कहिलेकाहीं अदालती थुनाका लागि जिल्ला पठाउँथ्यो । तर, धेरैलाई ब्यारेक छेवैको बुढीगंगा नदीमा खोल्डो खनेर पुरिदिन्थ्यो । यस्तो खबर मलाई भोलिपल्ट कुनै न कुनै समाचार स्रोतले सुनाइहाल्थे । तर, म विस्तृत समाचार लेख्न सक्ने अवस्थामा हुन्नथेँ । डीएसपी सम्पर्कमै आउँदैनथे । अहिलेजस्तो प्रवक्ता हुँदैनथे ।

त्यसपछि म काठमाडौँ कार्यालयको सुझावबमोजिम साँफेबाट सदरमुकाम मंगलसेन सरेँ । त्यहाँ वेदप्रकाश छँदै थिए । जिविसमा एउटा टेलिफोन थियो । पाँच बजेपछि त्यसमा फयाक्स मेसिन जोडिन्थ्यो । शुल्क थियो— प्रतिपाना सय रुपैयाँ । एलडीओले समाचार सेन्सर गर्थे । समाचार धेरै पाना भए केरमेट गरिदिन्थे । यही निहुँमा एक पटक एउटा एलडीओ र वेदको हात हालाहाल नै भयो । जिल्लाभरिको त्यो एउटा फयाक्स मेसिनबाट सरकारी र गैरसरकारी कार्यालयका फयाक्स ५ बजेपछि धमाधम केन्द्र र मन्त्रालयतिर पठाइन्थे । त्यसै लाइनमा हामी समाचार पठाउँथ्यौं । त्यो पठाउनुअघि नै एनजीओ/आईएनजीओ, जासुस प्रहरी र सैनिकले हामीले के लेख्यौं त्यहीँ पढिसक्थे । वेदजी र मैले अछाममा रहँदा माओवादीले गाई काटेर खाएको समाचार सार्वजनिक गर्‍यौं । त्यो विषय अहिलेसम्म चर्चित छ । त्यसै बेला हो हामीले कक्षाकोठाबाटै हूलका हूल विद्यार्थीलाई कैयौं दिन अभियानमा लैजाने माओवादीको निर्णयलाई ‘अपहरण’ लेख्यौं ।

विद्यालयमा बंकर खन्ने समाचार पनि अछामबाटै कान्तिपुर मार्फत सार्वजनिक भयो । हलियालाई माओवादीले मुसलले पेलेको भिडियोसहितको समाचार लिन महेन्द्रनगरबाट क्यामराम्यान तेजसिंह मुस्कानसहित अछामको चाल्सा पुगेका थियौं । माओवादीले सेनाको ज्यालादल ब्यारेकमा दही र दाउरा बिक्री गर्ने जनालीबन्डालीकी पद्मा भण्डारी, माता र काली दमाईलाई चिर्पटले निर्ममतापूर्वक कुटेर कपाल मुण्डन गरिदियो ।मानसिक सन्तुलन गुमाउन पुगेका उनीहरूबारे समाचार आएपछि माओवादीले हामीलाई ‘सेनाको एजेन्ट’ भन्दै कारबाही गर्ने सूचना निकाल्यो । आफ्नो जनवादी रेडियोबाट वेदलाई सफाया गर्ने निर्णय भएको बेहोरो प्रसारण गर्‍यो । ज्यान बचाउन वेद एक वर्ष काठमाडौंमा र दुई वर्ष नेपालगन्जमा विस्थापित भए । काठमाडौंमा कान्तिपुरको पहिलेको तीनकुने कार्यालयमा विस्थापित पत्रकारहरू बस्ने एउटा कोठा थियो । साप्ताहिक पत्रिकाको कार्यकक्षमाथि रहेको उक्त कोठालाई पछि सबै कान्तिपुरकर्मीले ‘वेदाश्रम’ भन्न थालेका थिए । द्वन्द्वका कारण त्यहाँ आश्रय लिने वेद पहिलो जिल्ला संवाददाता थिए । उक्त कोठामा बेलाबेला जिल्लाबाट विस्थापित भएका पत्रकारहरूको बास हुन्थ्यो ।

माओवादी धम्कीपछि वेद काठमाडौं गएकाले म कञ्चनपुर पुगेँ । त्यहाँ थिए सुदूरपश्चिम ब्युरो संयोजक चित्रांग थापा । अछाममा माओवादीले जनवादी रेडियोबाटै कारबाही गर्ने पार्टीको निर्णय बारम्बार फुक्न थालेपछि थापाले त्यसताका कैलालीमा रहेका अधिकारकर्मी रमेश बस्नेतलाई गुहारे । उनले सेती महाकाली क्षेत्रका केही माओवादी नेतासमक्ष हामीलाई गोप्य स्थानमा भेटाइदिने भए । यो कुरा हामीले सुरक्षाकर्मीलाई भनेनौँ । कुन ठाउँ, कोसँग भेट्ने भनेर बस्नेतले पनि खोलेनन् । एक बिहान हामी सानो गाडी रिजर्भ गरेर उनीसँगै महेन्द्र राजमार्गको बाटो समाती अत्तरियाबाट पूर्वतिर लाग्यौँ । त्यस बेला उनले हरि चौधरी र अखण्ड नाम गरेका माओवादी नेतालाई जोशीपुरको कुनै सानो बजारको छाप्रोमा भेट गराए । मैले र संयोजक थापाले मानवअधिकारकर्मीको रोहवरमा माओवादीलाई यथार्थ बताएपछि ती दुई नेताले अछामका पार्टी इन्चार्ज शरद भण्डारीलाई खबर गरिदिने वाचा गरे । हाइवेमा एम्बुसमा परिने त्रासले पुगेका हामी झमक्क रात नपर्दै धनगढी फर्कियौं । केही दिनपछि म फेरि मंगलसेन फर्कें ।


सैनिकहरूको सामूहिक बलात्कारबाट मंगलसेनको जनालीबन्डालीकी ३४ वर्षीया सुशीला जैसीको मृत्यु भएको थियो । फर्किनासाथ मैले यसैलाई समाचार बनाएर पठाएँ । सैनिकहरूको बलात्कारपछि बसेको गर्भ तुहाउन खोज्दा उनले ज्यान गुमाउनुपरेको थियो । सुडेनीको सल्लाहअनुसार, झीरले गर्भ निकाल्ने खोज्दा उनको मृत्यु भएको थियो । उनका पति भारतमा विस्थापित थिए र यता दुई सन्तान टुहुरा बने । यो विषयमा पत्रकार दिलभूषण पाठकले ‘न्युजरुमबाहिर’ नामको डकुमेन्ट्री नै बनाए । यो समाचारले दक्षिण एसियाली पत्रकारहरूको संगठन (आईएफजे) को ‘साउथ एसियन टोलरेन्स अवार्ड, २००५’ पनि पायो ।

यो समाचारपछि सेनाले मंगलसेनमा मलाई मनोवैज्ञानिक त्रास दिन थाल्यो । सार्वजनिक कार्यक्रममै सैनिकहरूले धम्क्याउन थाले । सेनाको धम्की सुनाउने ठाउँ थिएन । सरकारी निकायबाट उल्लंघन भएका मानवअधिकारका दर्जनौं विषय हामीले मंगलसेनबाट उठाउँदा त्यहाँ अरू कुनै पनि राष्ट्रिय सञ्चारगृहका प्रतिनिधि थिएनन् । नागरिक समाज थिएन । दलका ठूला नेता जिल्लाबाहिर थिए । त्यसताका एमालेका भरत साउद, शेरबहादुर कुँवर, भैरे कामी, मना अधिकारी, पदम बोहोरा, यज्ञ बोगटी तथा कांग्रेसका पुष्प शाही, नमबहादुर शाही सदरमुकाममा थिए । साँफेमा कांग्रेसका ध्वजबहादुर कुँवर, टीकाराम खनाल र टेकबहादुर कुँवर मात्रै थिए ।

जब माघ १९ मा राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिए, त्यसपछि मंगलसेनमा बस्न झन् गाह्रो भयो । सेनाको ज्वालादल गणका कर्णेल शशि ठकुरी, सीडीओ सूर्यप्रसाद श्रेष्ठ, डीएसपी प्रेम चन्द र अनुसन्धानका जिल्ला प्रमुखले निजी सञ्चारगृहको एक्लो प्रतिनिधिका रूपमा मलाई र रेडियो नेपालका संवाददाता विनोद थापा, स्थानीय सञ्चारकर्मी राजेन्द्र कुँवरलाई जिप्रकामा बोलाए । उनीहरूले त्यसपछिका दिन समाचार सेन्सर गर्नुपर्ने, छाप्नुअघि देखाउनुपर्ने, सुरक्षा निकायबारे केही नलेख्ने निर्देशन दिए ।

मेरो डेरा महासिंह बोगटीको होटलमा थियो । त्यहीँ खानपिन, त्यहीं बास हुन्थ्यो । सीमामा आधिकारिक कागजपत्र देखाउनुपर्नाले भारत पस्न नागरिकता बनाउन आउनेहरू त्यतै भेटिन्थे । गाउँका खबर उनीहरूले सुनाउँथे । तिनैले कुरा समाचारका विषय हुन्थे । दिउँसै सुनसान हुने मंगलसेनको बीचबजारमा एउटा धारा थियो । माघ १९ पछिको एक साँझ म त्यहीँ मोजा धुँदै थिएँ, छेवैमा सैनिक गस्ती आइपुग्यो । एउटा सैनिकले चिनिहालेछ, भन्यो, ‘हाम्रो साथीले बलात्कार गरेको देखेको थिइस् हैन ? पख्, तँलाई सिध्याइदिन्छु !’

माघ १९ पछिका साँझ मलाई शान्त वातावरणमा पनि कुनै बन्दुकधारीले पछयाइरहेजस्तो लाग्थ्यो । सार्वजनिक कार्यक्रममा त जान पनि मन लाग्थेन । बन्दुक बोकेका सैनिक वा प्रहरी देख्यो कि टाढिन खोजिहाल्थें । अति भएपछि मैले राजाले कदम चालेको १० औं दिन निधो गरें— अब अछाम बस्दिनँ । जिल्ला ब्युरोको सल्लाहमा काठमाडौँतिरै लागेँ । त्यहाँ ‘वेदाश्रम’ मै मेरो पनि बास भयो, दिव्य दुई वर्षसम्म ।

कुँवर कान्तिपुर संवाददाता हुन् ।

प्रकाशित : फाल्गुन ७, २०७४ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?