कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

ती तीन घटना...

चन्द्रशेखर कार्की

काठमाडौँ — तस्बिर खिच्न न्युरोड पुगेका बेला पीपलबोटको चिया पसलमा योगेश उपाध्याय दाइले जम्काभेटमा भन्नुभयो, ‘भोलि प्रसूति गृह नजिकै पहिले औषधि व्यवस्था विभाग बसेको घरमा एकपटक भेट्न आइज । एउटा अंग्रेजी दैनिक पत्रिका काठमान्डु पोस्ट निकाल्दै छौं, कुरा गरौं ।’

ती तीन घटना...

भोलिपल्ट म पुगेको केहीछिनमा प्रतीक प्रधान आइपुगे र चिनजान भयो । केहीछिनपछि उनी निस्किए । मलाई एकछिन बसेर प्रकाशक भेटेर जान योगेश दाइले भन्नुभयो । केहीबेरमा प्रकाशक श्याम गोयन्का आइपुग्नु भो । उहाँसँग ५५०० रुपैयाँमा फोटो पत्रकारको जागिर खाने मौखिक सहमति गरेर हिँडें । यहींबाट मैले कान्तिपुरमा काम गर्न सुरु गरें । कान्तिपुरमा १७ वर्ष काम गर्दा तीतामीठा धेरै अनुभव र भोगाइ सँगालें । यिनैमध्येका तीन वटा सायदै बिर्सन सकिएला ।

दासढुंगा

कान्तिपुर प्रकाशन सुरु भएको तीन महिना पुग्नै लाग्दा एमालेका महासचिव मदन भण्डारीको दासढुंगा दुर्घटना हुन गयो । साँझ काम सकेर घर जानै लाग्दा दुर्घटनाको अपुष्ट समाचारहरू आउन थाले । अहिलेको जस्तो सञ्चार सुविधा नभएकाले यकिन गर्दा लगभग ८ बज्यो । मैले नै जोडबल गरेपछि प्रकाशक श्याम गोयन्काले ५०० रुपैयाँ दिँदै राति कर्मचारी पुर्‍याउने मोटर लिएर जान भने । यो दुर्घटनाको तस्बिर र समाचार सम्प्रेषण कान्तिपुरका लागि कोसेढुंगा नै भयो ।

नौमुले

दैलेखको नौमुलेमा माओवादीले आक्रमण गरेको खबर आयो । ३२ जना प्रहरीले ज्यान गुमाएका थिए । घटनामा कति चिच्याहट होला ? परिवारका सदस्यलाई भेट्न पाए हुन्थ्यो भन्ने लागेको थियो । यतिकैमा सम्पादक र व्यवस्थापन टिमबीच हेलिकप्टरबाट रिपोर्टिङ जाने निधो भएछ । मलाई पनि तयार हुनु भन्ने खबर आयो । म, नारायण वाग्ले, गुणराज लुइँटेल र सुमन प्रधानसहितको टोली नौमुले गयौं । ७२ जना कार्यरत चौकीमा ३२ मृतक प्रहरीको शव संकलन गरेर एकै ठाउँमा राखिएको थियो । १२ जना घाइते प्रहरीलाई काठमाडौं र नेपालगन्ज ल्याइरहेको थियो । दैलेखको सदरमुकाम दुल्लुबाट पश्चिमतर्फ साढे पाँच घण्टाको पैदल यात्रापछि पुगिने तेली गाविसको उक्त इलाका प्रहरी चौकीका इन्चार्ज ०५७ चैत २४ को साढे ११ बजे पहिलो निसाना बनेका रहेछन् । बम प्रहारबाट पूरै चौकी ध्वस्त भएको थियो । सँगै जोडिएका दुई वटा घरसमेत बाँकी थिएनन् । प्रहरी जवान महेश ढकालको नजिकैको घरमा पनि बम हानिएको थियो । गोली लागेपछि ‘आमा बचाउ’ भन्दै २५ वर्षीय छोरा आमा नजिकै पुगेर ज्यान गुमाएका रहेछन् । ६२ वर्षीया आमा रत्नकलाले सुनाएको पीडा अझै झलझली याद आउँछ । ‘आमा अब म मरें’ भन्दै गर्दा माओवादी घरमै पुगेर आमा र बुबालाई लछारपसार पारेछन् । अन्न, पैसा मात्र नभई घरमा बाँधेको एउटा खसीसमेत लगेका रहेछन् । महेशलाई मारेपछि उनकी आमा रत्नकला आँगनको मन्दिरमा बेहोस थिइन् । महेशकी श्रीमती रोइरहेकी थिइन् । ०५३ सालमा स्थापित चौकी वरिपरिको धन्सार, मसार, बालुवाटार, जैसीडाँडा, नौगाउँ, गुराँसे बासिन्दा त्रसित थिए । शवको बिस्कुन सुकाए जस्तो देखें । हेलिकप्टरबाट झरेर घटनास्थलमा जाँदा बेकार फोटो पत्रकारिता गरेछु जस्तो लाग्यो । केहीबेर फोटो खिच्न सकिनँ । त्यसबेला कान्तिपुर व्यवस्थापनले हेलिकप्टर चार्टर नगरेको भए नेपालमा भएको सशस्त्र द्वन्द्वको जीवन्त तस्बिर र समाचार पाठकका बीच पुग्न सक्ने थिएन ।

बामतीको पहिरो

रामेछापको बामती भण्डार नजिकै पहिरोमा ४५ भन्दा बढीको ज्यान गएको थियो । तस्बिर खिच्न गृह मन्त्रालयमार्फत सेनाको हेलिकप्टरबाट जाँदै गर्दा थाहा भयो जोमसोमबाट आएको एउटा जहाज पोखरा नजिकै दुर्घटना भएर दर्जनभन्दा बढी विदेशीको मृत्यु भयो । जहिले पनि हवाई दुर्घटनाका तस्बिर र समाचारले प्राथमिकता पाइरहने पत्रकारिताको दुनियाँमा मलाई लाग्यो, यो पहिरोको समाचार पनि ओझेलमा पर्नेछ ।

यस्तै सोच्दै तस्बिर खिचेर आएँ । भोलिपल्ट कान्तिपुरमा पहिरोको तस्बिर र समाचारलाई भन्दा हवाई दुर्घटनालाई बढी महत्त्व र स्थान दिएर छापिए पनि पाठकले पहिरोको तस्बिरलाई नै धेरै महत्त्व दिएको प्रतिक्रिया आयो । पहिरोको बीचमा बग्नबाट बचेको घरको तस्बिरले धेरै पाठकको ध्यान तानेको थियो । सायद नेपाली पत्रकारितामा यो एउटा यस्तो उदाहरण भयो कि हवाई दुर्घटनालाई पहिरोको तस्बिर र समाचारले ओझेलमा पारिदियो ।

कान्तिपुरका पहिलो फोटो पत्रकार कार्की हाल सदृश्य डट कमका फोटो सम्पादक हुन् ।

प्रकाशित : फाल्गुन ७, २०७४ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?