कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

द्वन्द्वको क्लिक

नरेन्द्र श्रेष्ठ

काठमाडौँ — सशस्त्र द्वन्द्वको प्राय: रिपोर्टिङ टेलिफोनबाट हुन्थ्यो । घटनास्थलमा कमै पुगिन्थ्यो । ०५७ असोज ८ मा डोल्पाको दुनै माओवादीले कब्जा गर्‍यो । माओवादी युद्ध देखाउन पनि प्रत्यक्ष रिपोर्टिङ कभरेज गर्नैपर्ने थियो । जिल्ला संवाददाता स्थलगत रिपोर्टिङ गर्न सक्ने अवस्थामा थिएनन् ।

द्वन्द्वको क्लिक

सम्पादक युवराज घिमिरे, नारायण वाग्ले र काठमाडौं पोस्टबाट सुमन प्रधान रिपोर्टिङ जाँदै थिए । मलाई पनि जानू भन्दै कार्यालयबाट फोन आयो । हतारिएर पुग्दा उहाँहरू एयरपोर्ट पुगेर कुरिरहनुभएको रहेछ । म एक्साइटेड पनि थिएँ । मसँग निकोनको एफएमटू क्यामेरा मात्रै थियो । हेलिकप्टरबाट रिपोर्टिङमा जाने कान्तिपुरको मात्रै नभई मेरो पनि पहिलो अनुभव थियो । त्यही वर्ष कान्तिपुरमा जुनियर फोटोग्राफरमा नियुक्त भएको थिएँ । नेपाल म्यागजिनमा काम गर्थें ।

सम्पादकसँगै रिपोर्टिङमा जान पाएर खुसी थिएँ । एयरपोर्टबाट उडेदेखि नै फोटो खिच्दै गएँ । सवा एक घण्टामा दुनै पुग्यौं । दुनै पुग्नु आधा घण्टाअघिको नमीठो याद अझै सम्झन्छु । यसबाट मैले ठूलो पाठ सिकें । मसँग एउटा मात्रै क्यामेरा थियो । हेलिकप्टरबाट देखिने दृश्य खिच्दाखिच्दै क्यामेरा लक भयो । क्लिकै नहुने भयो । मसँग अर्को क्यामेरा पनि थिएन । अब के गर्ने ? सँगैको सिटमा बस्नुभएका नारायण वाग्लेलाई ‘दाइ मेरो क्यामेरा बिग्रियो’ भनेर सुनाएँ । ‘जोक नगर न यार’ भन्दै अर्कोतिर फर्कनुभयो । त्यसपछि त झन् तनाव भयो । पसिनाले जीउ भिज्यो । अगाडि सिटमा बस्नुभएका सुमन प्रधानले ‘अब दुनै पुग्नै लागियो’ भन्दा मेरो छटपटी झनै बढयो । रुन र चिच्याउन मात्रै बाँकी थियो । हतारहतार क्यामेराको ब्याट्री निकालेर अर्को ब्याट्री हालें । ठोकठाक गरें । पशुपतिनाथ पुकारे । अनि आँखा चिम्म गरेर क्यामेराको बटन अन गरें । भाग्यले साथ दियो, क्यामेरा अन भयो । त्यसपछि खुसीको सीमा रहेन । क्यामेरा बनेपछि माथिबाट एक सट पनि खिचिनँ । दुनैको जेलनजिकै हेलिकप्टर ल्यान्ड भयो । त्यहाँ रातभरि भिडन्त गरेर थकित भएका र घाइते प्रहरी हेलिकप्टर कुरिरहेका रहेछन् । नारायण वाग्ले र सुमन प्रधानले उनीहरूसँग कुरा गर्नुभयो । पहिलो फोटो त्यही खिचेँ । माओवादीले जेलमा आक्रमण गरेर कैदीसमेत भगाएको रहेछ । जेलको भग्नावशेष खिचें । ६ घण्टा दोहोरो फायरिङबाट कम्तीमा १४ प्रहरीको ज्यान गएको थियो, ४० जना घाइते थिए । हामी पुग्दा मृतकको शव हेलिकप्टरबाट लगिसकेको थियो । आक्रमणमा मारिएकाको शव अन्तिम संस्कारका लागि र ३६ जना घाइतेलाई उपचार गर्न लैजान त्यो दिन सेना र निजी हेलिकप्टर दिनभर उडाइएको थियो ।

माओवादीले जिल्ला कारागार ध्वस्त पारेर सबै कैदीलाई मुक्त गराएका थिए । सबै सुरक्षाकर्मीलाई अपहरण गरेका थिए । माओवादीले नेपाल बैंकको शाखा कार्यालयको ६ करोड रुपैयाँबराबरको नगद र जिन्सी लुटेका थिए । प्रमुख जिल्ला अधिकारी परशुराम अधिकारी र एसपी रोमेन्द्र देउजा भने बाँच्न सफल भएका थिए । उनीहरूको निवास ध्वस्त थियो । प्रजिअका ५ जना सुरक्षाकर्मीमध्ये बडिगार्डसहित तीन जना मारिएका थिए । जिल्ला प्रहरी र प्रशासन वरिपरिका सबै घरमा गोलीका छर्रा लागेको थियो । त्यसअघि यो जिल्लामा यति ठूलो घटना भएको थिएन । सदरमुकाम नै कब्जा गर्ने यो पहिलो आक्रमण थियो । यसको पूर्वसंकेत पाएपछि त्यही दिन ४८ जना दंगा प्रहरी दुनै पुर्‍याइएको रहेछ । थप प्रहरी पुगेको आठ घण्टामै दुनै आक्रमण भएको थियो । हामी त्यही हुँदा एआईजी प्रदीपशमसेर राणा पनि पुग्नुभएको थियो । दुनैको साना गल्ली र दुवैतिरका ढुंगाका घरभित्र स्थानीयवासी रातभर आतंकका बीच बसेका रहेछन् । बिहान उज्यालो भएपछि माओवादी नफर्केसम्म स्थानीयले ढोकासमेत खोलेका थिएनन् । स्थानीयले राति फायरिङ गरेको सुनेछन् । उनीहरूले चाहिं अघिल्लो दिन आएका प्रहरीले अभ्यास गरेका होलान् भन्ने ठाने । आफू सुतेको कोठामा ढोकै छेडेर गोलीको छर्रा आएपछि लुकेका स्थानीयको अनुभूति अहिले पनि याद आउँछ । हामी पुग्दा एसपी अर्काको दुईरंगे चप्पल लगाएर पोस्टभित्र पुरिएका आफ्ना सहकर्मी खोजिरहेका थिए । आक्रमण भएकै दिन तीन करोड रुपैयाँ ल्याएको रहेछ । बैंकले पैसा राखेको रित्तो लकरको फोटो खिचें ।

स्थिति हृदय विदारक थियो । काठमाडौं चाँडै फर्कनु थियो । हतार गरे पनि फर्केर काठमाडौं आउन सकेनौं । पोखरामै हेलिकप्टर ल्यान्ड गर्‍यौं । पोखरामै रिल धुलाएँ । डेक्समा धेरै फोटो पठाउन सक्ने अवस्था थिएन । सम्पादकले छानेका पाँचवटा जति साइबर क्याफेबाट फोटो पठाएँ । भोलिपल्ट काठमाडौं फर्केर बल्ल ११ वटा फोटोसहित फोटो फिचर छापियो ।


त्यो रिपोर्टिङ र तस्बिरले ‘काठमाडौं’ ले पनि घटना कति ठूलो रहेछ भन्ने थाहा पायो । दरबार, सेना र सरकारको आपसी बेमेलसमेत छरपस्ट गरिदियो । गृहमन्त्रीले आक्रमण हुँदै छ भनेर सेनालाई भनेका रहेछन् । तर सेना परिचालन भएको थिएन । गृहमन्त्री गोविन्दराज जोशीले सेनालाई लक्षित गरेर पहिलो पटक पत्रकार सम्मेलन नै गरे । प्रहरीलाई आधुनिक हतियार पनि दिइएको थिएन । हेलिकप्टर र तालिम थिएन भनेर उनले सेनाको ‘बदमासी’ एक्सपोज गरिदिए । मेरो करिअरमा यो घटनाबाट ठूलो पाठ सिकेँ । महत्त्वपूर्ण घटनाको रिपोर्टिङ गर्न जाँदा अचेल सधैं दुई क्यामेरा बोकेर जान्छु ।

कान्तिपुरका पूर्वफोटो सम्पादक श्रेष्ठ हाल युरोपियन प्रेस फोटो एजेन्सीमा आबद्ध छन् ।

प्रकाशित : फाल्गुन ७, २०७४ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?