कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

ओपेडमा सात वर्ष

सम्पादकीय धारणाविपरीतको मत राख्ने लेखकलाई निषेध गर्ने प्रवृत्ति छ नेपाली पत्रकारितामा । तर हामीले विपरीत विचारलाई पनि स्थान दिएर बहस गराउने अभ्यासलाई प्राथमिकतामा राख्यौं । 
राजाराम गौतम

काठमाडौँ — हालै कान्तिपुर दैनिका प्रधान सम्पादक सुधीर शर्माले ‘पब्लिकेसन्स २५ वर्ष पुगेकोमा प्रकाशन हँ‘दै गरेको विशेष अंकमा केही अनुभूति लेख्न’ आग्रह गरेपछि के लेख्ने, के नलेख्ने निकै द्विविधाग्रस्त भएँ म । कान्तिपुरमा १५ वर्ष बिताउँदा ‘करिअर’ सँग जोडिएका सुखद/दु:खद दुवैखाले अनुभूति छन्, मेरा । 

ओपेडमा सात वर्ष

प्रतिकूलतालाई अनुकूल बनाउन सकिएको एउटा सन्दर्भ सधैं सम्झन्छु । कान्तिपुर दैनिकमा करिअर बढ्दै गर्दा मेरा लागि संकटको घडी थियो, त्यो बखत । भर्खर सम्पादक भएका शर्माले ‘न्युजरुम’ मा नयाँ जिम्मेवारी बाँडफाँट गर्दै थिए । त्यही क्रममा म ब्युरो संयोजक (राजनीति) तोकिएँ । तर, एक महिनामै जिम्मेवारी हेरफेर भयो ।

हामी पत्रकारहरू राजनीतिमा चरम गुटबन्दी विकास भयो, अस्वस्थ प्रतिस्पर्धा भयो भनेर लेखेरै थाक्दैनौं । यद्यपि ‘न्युजरुम’ हरू आफंै त्यस्तो प्रवृत्तिबाट मुक्त छैनन्, जसको प्रतिबिम्ब बेलाबखत देखिन्छ । ब्युरो तोकिएको एक महिनामै त्यसलाई खारेज गर्ने निर्णय त्यस्तै प्रवृत्तिको एउटा उपज थियो ।

यतिखेर त्यो सन्दर्भ सम्झिएर सहकर्मीहरूलाई दोषारोपण गर्ने मेरो मनसाय होइन । मात्रै त्यो निर्णयले आफ्नो करिअरमा आएको बद्लाव बाँड्न चाहेको हुँ । त्यो बेला मेरासामु ठूलो नैतिक प्रश्न थियो, जिम्मेवारी दिइएको ब्युरो नै खारेज भएपछि काम गर्ने कि राजीनामा दिने ? राजीनामा दिने निधोमा पुगें तर सम्पादक शर्माले अस्वीकृत गर्दै सम्पादकीय/विचार पृष्ठ (ओपेड) मा काम गर्न अर्को प्रस्ताव गरे, जसलाई मैले स्विकारें ।

कान्तिपुरको ‘न्युजरुम’ मा त्यसबेला ओपेडमा काम गर्नेहरूको ‘पत्रकार’ का रूपमा गणनै हुँ‘दैनथ्यो । चिया पसलमा कुरा काटिन्थ्यो, ‘कसैलाई थन्काउनुपर्दा ओपेडमा लगिन्छ ।’ पुराना नजिर पनि त्यस्तै रहेछन्, जसले गर्दा मैले ओपेडमा काम थाल्दा कतिपय सहकर्मीले ‘अब सिद्धियो’ भनेर हँसिमजाक पनि गरे । तर, त्यसलाई मैले नयाँ अभ्यासको प्रारम्भका रूपमा लिएँ ।


उसो त मुलुकमै नयाँ अभ्यासको थालनी भएको थियो । पहिलो संविधानसभाको चुनाव सकिएको थियो । २०६२/६३ को जनआन्दोलनको सफलतापछि मुलुक नयाँ राजनीतिक मार्गमा बढ्दै गर्दा समाजले नयाँखाले ‘डिस्कोर्स’ खोजेको थियो । त्यस्तो समय ओपेडमा काम गर्न पाउनु अवसर र चुनौती दुवै थियो ।

भौगोलिक रूपमा सानै भए पनि राजनीतिक इतिहासका दृष्टिले हामी समृद्ध छौं । पटक–पटक राजनीतिक स्वतन्त्रताको गौरवपूर्ण इतिहास नेपाली जनताले रचेका छन् । २०६२/६३ मा भएको अर्को ऐतिहासिक जनआन्दोलनमा जसरी लाखांै जनता सडकमा ओर्लिएर सफल पारे, त्यसको प्रस्ट ‘म्यान्डेट’ थियो, शान्ति स्थापना, सुशासन, गणतन्त्रसहितको नयाँ संविधान अर्थात् ‘नयाँ नेपाल’ ।

तर पहिलो संविधानसभा हुनुअघि नै उठेको मधेस आन्दोलन, संविधानसभा चुनाव, शान्तिप्रक्रियालाई तार्किक ढंगले अवतरण गर्ने विषय, पहिलो शान्तिप्रक्रिया टुंग्याउने कि संविधान निर्माण गर्ने, घरेलु राजनीतिमा बाह्य शक्तिको बढ्दो प्रभाव, बढ्दो सामरिक चासो आदि अनेक कारणले ‘नयाँ नेपाल’ निर्माणको चरण जटिल बन्दै थियो । यस्तो बेला यी यावत् विषयमाथि जनधारणा निर्माणमा मिडियाको अहम् भूमिका हुन्थ्यो । त्यसमाथि पनि ओपेडसँग त्यसको सोझो सरोकार थियो । राजनीतिक उपलब्धि प्राप्तिसँगै अन्योल र निराशा बढिरहँदा सत्तामुखी राजनीति, प्रतिष्ठाको लडाइँमा लिप्त र बाह्य शक्तिकेन्द्रको प्रभावमा पर्न सक्ने नेतृत्वलाई खबरदारी गर्ने दायित्व पनि हाम्रै काँधमा थियो ।

व्यावसायिक पत्रकारिता हाम्रो मूल ध्येय थियो/हो । यद्यपि मुलुकमा विद्यमान राजनीतिक संक्रमण सकिएर स्थिरता कायम भएपछि व्यावसायिक पत्रकारिता गर्न अझ सहज वातावरण बन्न सक्छ । त्यही बुझाइका आधारमा हामीले त्यो कालखण्डमा नयाँ राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै स्थिरता र समृद्धिको बाटोमा बढ्नुपर्ने विषयलाई ओपेडमा अधिक प्राथमिकतामा राख्यौं । मधेस आन्दोलन, मधेसका मुद्दा, राज्यको पुन:संरचनाका मुद्दा, नयाँ संविधान निर्माणसँग जोडिएका सबैखाले विषय, नेपाल बन्न नसक्नुको कारण आदि बौद्धिक विमर्श बढायौं ।

यसको अर्थ यो होइन कि, ओपेडमा राजनीतिले मात्रै स्थान पाउँथ्यो । ओपेडलाई विविधीकरण गर्नुपर्छ भनेर नै समाज, अर्थतन्त्र, स्वास्थ्य, जीवनशैली, जनताका सरोकारका अरू थुप्रै विषय समावेश गर्दै लग्यौं । खासगरी समावेशी नेपालको मुद्दा घनिभूत हुँदै गएका बेला ओपेडमा त्यसको झल्को दिने अभ्यासको थालनी भयो । उपलब्ध भएसम्म एक जना लेखक महिलालाई स्थान दिन थालियो । मधेसी, दलित, अपांगलगायत सीमान्तकृत जमातका दृष्टिकोणलाई प्राथमिकतामा राखियो । ओपेडमा विकास भएको यो प्रवृत्तिले केही सीमित लेखकहरूको एकाधिकार तोड्दै नयाँ नाम र अनुहारलाई स्थापित गराउन सक्यो ।

मुलुक संघीय संरचनामा गइसक्दा पनि ठूला मिडिया काठमाडौंकेन्द्रित भएको आरोप लाग्ने गर्छ । हामीले त्यही समय मोफसलका स्तम्भकारहरूलाई प्राथमिकतामा राखेर स्थानीय मुद्दालाई राष्ट्रिय विमर्शको विषय बनायौं । अहिले चलेका कतिपय लेखकहरू त्यही बेलाका उत्पादन हुन् । त्यसो त लेखकीय क्षमता भएकाहरू नै राम्रा लेखकका रूपमा स्थापित हुन्छन् । सम्बन्धित लेखककै मिहिनेत र योग्यताको यहाँनेर बढी अर्थ हुन्छ । तर, नयाँ विचार प्रवाह गर्न प्रोत्साहित गर्दै त्यस्तो माध्यम उपलब्ध गराउँदा त्यस्ता प्रतिभा प्रस्फुटनमा सहयोग पुग्ने रहेछ । सात वर्ष ओपेडमा काम गर्दा धेरै नयाँ लेखकहरू जन्मिए, त्यो सम्झिँदा खुसी लाग्छ । ओपेड टिमको नेतृत्व गर्दा नवीन विचार दिन सक्ने लेखकहरूको खोजी हमेसा गरिन्थ्यो । केही ‘प्रोफाइल’ भएका ‘नामचीन’ लेखक निश्चय पनि प्राथमिकतामा पर्थे, तर नवोदित लेखकलाई स्थान दिनुपर्छ भन्ने हाम्रो सम्पादकीय नीति नै थियो ।

ओपेड अर्थात् ‘अपोजिट एडिटोरियल’ । सम्पादकीय धारणाविपरीतको मत राख्ने लेखकलाई निषेध गर्ने प्रवृत्ति छ, नेपाली पत्रकारितामा । तर हामीले त्यसलाई चिर्दै विपरीत विचारलाई पनि स्थान दिएर बहसका रूपमा बढाउने अभ्यासलाई उच्च प्राथमिकतामा राख्यौं । दुनियाँमा राजनीतिसहित त्यस्ता धेरै विषयवस्तु छन्, जसलाई ‘लेफ्ट’ र ‘राइट’ अवधारणामा आधारित भएर तर्क–वितर्क, बहस–विश्लेषण गरिन्छन्, हामीले सबैखाले धारणालाई ‘स्पेस’ दिनुपर्छ र रचनात्मक विमर्श गरिनुपर्छ भन्ने धारणाको कार्यान्वयन राम्रोसँग गर्‍यौं ।

दैनिक पत्रिकामा ओपेड पृष्ठ मूलत: सम्पादककै मुख्य नेतृत्वमा हुन्छ । यद्यपि ओपेड ब्युरो संयोजकका रूपमा काम गर्दा त्यहाँ गरिने अभ्यास, जस–अपजसका कतिपय कुरा मैतिर आएर ठोकिन्थे । साथीभन्दा बढी ‘शत्रु’ कमाइने जिम्मेवारी हो, त्यो । आफ्ना लेख छापिँदा खुसी हुने र कमी–कमजोरी औंल्याएर नछाप्दा रुष्ट हुने र कुरा काट्नेहरू प्रशस्त भेटिन्छन्, ओपेडको जिम्मेवारीमा बस्दा ।

ओपेड एडिटरका सामु सधैं केही प्रश्न उठ्छ– कसरी छापिन्छ लेख ? छनोटका आधार के हुन् ? पत्रिकाको सम्पादकीय धार वा मुद्दाले लेख छाप्ने कुरा कति प्रभावित हुन्छ ? हिजो कान्तिपुरको ओपेडमा छँदा वा अहिले अन्नपूर्ण पोस्ट दैनिकको सम्पादक हुँदा सोधिने प्रश्न यिनै हुन् । ओपेडलाई समृद्ध बनाउन नवीन विचारसहितका लेख–रचना आवश्यक हुन्छ । पाठकसँगको जीवन्त अन्तक्र्रिया गर्न सक्ने, भाषा, शैली, प्रस्तुति हिसाबले खारिएका र नवीन विषयहरूमाथि लेखिएका लेख–रचना ओपेडका प्राथमिकता हुन् । आफू वा सम्पादकीय नीतिको इतर विचारलाई ठाउँ नै नदिने संकीर्णता त्यागेर विविध धारणा र विषयलाई समेट्नुले ओपेडको महत्त्व र पाठक दुवै बढाउँछ । कान्तिपुरको न्युजरुममा काम गर्दा होस् वा अन्नपूर्ण पोस्ट, जहाँ भए पनि म स्वस्थ र व्यावसायिक प्रतिस्पर्धा अनि सिर्जनात्मक पत्रकारितातर्फ अभिमुख हुनुपर्छ भन्ने मान्यता राख्छु ।


मैले कान्तिपुर पब्लिकेसन्समा १५ वर्ष काम गरें । त्यसमध्ये पछिल्ला सात वर्ष ओपेडमा रहेको थिएँ । कान्तिपुरकालीन दिन सम्झिँदा त्यस संस्थामा प्रवेश गर्दाको सन्दर्भ स्वाभाविक बनेर आउँछ । यतिखेर त्यो बखत सम्झँदै छु, जुन बेला नेपाल राष्ट्रिय पाक्षिकका संस्थापक सम्पादक विजयकुमार संवाददाताका लागि अन्तर्वार्ता लिँदै थिए । उनले सोधेका थिए, ‘पत्रकारितामै करिअर खोज्ने कि केही समय मात्रै गर्ने ?’ सोझो जवाफ दिएँ, ‘यो छनोटमा परे गर्छ‘, परिन भने सम्भवत: छोड्छु ।’ विजय सरको छनोटमा परेपछि पत्रकारिता नै छोड्ने द्विविधा सिद्धियो र पत्रकारिताको ‘करिअर’ बढ्यो । त्यसयता पत्रकारितामै व्यावसायिकता अभिवृद्धि मेरा निम्ति मुख्य प्राथमिकता बनेको छ ।

नेपाली पत्रकारिताको इतिहासमा कान्तिपुर पब्लिकेसन्सको स्थापना त्यो कोसेढुंगा हो, जसले नेपाली आमसञ्चारमा सरकारी मिडियाको एकाधिकार तोड्यो र व्यावसायिक पत्रकारिताको बीउ रोप्दै मिडियामा निजी लगानीको बाटो खोल्यो । व्यावसायिक पत्रकारिता विकासको पहिलो श्रेय कान्तिपुरलाई जान्छ । तर अहिले परिदृश्य फेरिएको छ । अरू मिडिया हाउस र आमसञ्चारका नयाँ आयामहरू थपिएका छन् । व्यावसायिकताको तीव्र होड चलेको छ । यसलाई स्वस्थ र रचनात्मक ढंगले अगाडि बढाउने दायित्व हाम्रै काँधमा छ ।

कान्तिपुरको विचार पृष्ठका पूर्वसंयोजक गौतम हाल अन्नपूर्ण पोस्टमा सम्पादक छन् ।

प्रकाशित : फाल्गुन ७, २०७४ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?