कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

कान्तिपुर रजत यात्रा : सगरमाथा चुम्दा

आङछिरिङ शेर्पा

काठमाडौँ — २००३ को मे २२ तारिखका दिन म सगरमाथा टाकुरामा पुग्न सफल भएँ । लगत्तै काठमाडौंमा कान्तिपुर कार्यालयमा फोन गरेर नारायण दाइलाई यो अलौकिक खुसी साझा गरें । न्युजरुममा साथीहरू रमाएको आवाज मेरा कानसम्म पनि आयो ।

कान्तिपुर रजत यात्रा : सगरमाथा चुम्दा

एक दशक मूलधारको पत्रकारिता गर्ने क्रममा धेरै चर्चित आरोहीसँग मेरो भेट भयो । स्वदेशी तथा विदेशी तिनै आरोहीहरूसँग लिएको आरोहण अनुभव पाठकहरूका निम्ति निकै रुचिको विषय बनेको थियो । नेपालको पर्वतीय पर्यटनको समाचार लेख्ने क्रममा आरोहीहरूबाट धेरै पटक सुन्दै आएका एभरेस्ट बेसक्याम्प र खुम्बु आइसफल अरूलाई जस्तै मेरा लागि पनि निकै चासोका स्थान बनेका थिए । त्यहाँसम्म पुगेर रिपोर्टिङ गर्न पाए हुन्थ्यो भन्ने बेलाबेला लागिरहन्थ्यो ।


एभरेस्ट बेसक्याम्प, सर्वोच्च शिखर सगरमाथाको पहिलो खुड्किलो, जसलाई विश्वका विभिन्न उत्कृष्ट गन्तव्यमध्ये मानिन्छ । ५ हजार ६ सय मिटरको उचाइमा रहेको त्यो भूभागमा पहिलो पटक पुग्दा हाई अल्टिच्युडका कारण सुरुसुरुमा जोकसैलाई निकै सकस पर्ने गर्छ । यस्तो थाहा पाएर पनि त्यहाँ पुग्ने मेरो रहर मुर्झाउनुको सट्टा झन्झन् अकासिँदै गयो । जहाँ इच्छा तहाँ उपाय ! पर्वतारोहीहरूसँगको सम्पर्कमा रहिरहेका कारण दुईदुई पटक त्यहाँ पुगेर समाचार संकलन गर्ने सुनौलो अवसर पाएँ । साहसिक पत्रकारिताको स्वाद मिल्यो । सोचेभन्दा फरक वातावरण, पर्वतारोहीहरूको चहलपहल !


समाचार संकलनका क्रममा बेसक्याम्पसम्म पुगेर फर्कंदा सगरमाथा आरोहणका बारेमा धेरै कुरा जान्नसुन्न पनि पाएँ । आरोहणसम्बन्धी उत्साह दुई गुना भयो । अब हिमालमै गएर समाचार लेख्ने अनुभव लिन पाए हुन्थ्यो भन्ने हुटहुटी लाग्न थाल्यो । यही उमंगमा पर्वतारोहणसम्बन्धी एकमहिने आधारभूत तालिम पनि लिएँ । त्यसपछि दुई साना हिमशिखर आरोहण गरें । त्यतिन्जेल म कान्तिपुरमा आबद्ध भएको आठ वर्ष पूरा भइसकेको थियो ।


उच्च क्षेत्रमा पुगेर रिपोर्टिङ गरेसँगै र पर्वतारोहणको तालिम लिइसकेसँगै एक वर्षको माघमा कान्तिपुरका समाचार सम्पादक नारायण वाग्लेलाई भनें, ‘दाइ, यो वसन्त याममा समाचार संकलन गर्दै सगरमाथाको चुचुरोमा पुग्न मन लाग्यो ।’


पर्वतीय पर्यटन र साहसिक रिपोर्टिङमा आफैं पनि रुचि राख्दै र अरूलाई पनि सहयोग गर्दै आएका नारायण दाइले मेरोभन्दा बढी उत्साहसाथ भने, ‘गुड आङछिरिङ † साँच्चिकै तिमी सगरमाथा आरोहण गर्ने हो ? राम्रो कुरा हो ।’


मैले भनें, ‘हो दाइ, एभरेस्ट बेसक्याम्पसम्म दुईपटक पुगिसकें । पर्वतारोहण तालिमका कारण पनि ममा सगरमाथा शिखर चुम्ने आत्मविश्वास बढेको छ ।’


‘यदि तिमीमा आत्मविश्वास छ भने एकचोटि युवराज दाइ, कैलाश सर र विनोद सरसँग पनि सल्लाह गर्नुपर्छ ।’

नारायण दाइले त्यसो भनेको केही दिनको फरकमा सम्पादक युवराज घिमिरे र व्यवस्थापकहरू कैलाश सिरोहिया र विनोद ज्ञवालीलाई भेटेर आफ्नो दुस्साहसिक योजना सुनाएँ । युवराज दाइले पनि सकारात्मक सुझाव र हौसला दिए । कैलास सर र विनोद सरलाई मेरो कुरामा सुरुमा विश्वास भएन ।


कान्तिपुरका अग्रजहरूको हौसला, थामसेर्कु ट्ेरेकिङ र यती एयरलाइन्सको सहयोग प्रतिबद्धता पाएपछि म आफ्नो अठोट पूरा गर्न कस्सिएँ । ‘पहिलो नेपाली पत्रकार सगरमाथा अभियान’ सुरु भयो । त्यो वर्ष एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सर्वोच्च शिखर चुमेको ५० औं वार्षिकोत्सव थियो भने कान्तिपुर पब्लिकेसन्सले पनि १० औं वार्षिकोत्सव मनाउन लागेको थियो । कान्तिपुर पहिलो नेपाली पत्रकारको सगरमाथा अभियानको आयोजक बन्यो भने थामसेर्कु ट्ेरेकिङ सहआयोजक । टोपी, ज्याकेट र रुकस्याकमा कान्तिपुरको १० औं वार्षिकोत्सवको लोगो र झन्डा बनाइयो । राजधानीमा पत्रकार सम्मेलन गरेर म कान्तिपुर, नेपाल पत्रकार महासंघ र बुद्धको झन्डा बोकेर लुक्लातिर प्रस्थान गरें ।


लुक्ला हुँदै दुई दिनपछि तेङबोचे गुम्बा पुगें र त्यहाँका रिम्पोचेबाट आशीर्वाद र शिखरमा राख्न विश्व शान्तिको कलश लिएर बेसक्याम्पतर्फ लागें । त्यहाँ पुगेपछि बेसक्याम्पसम्मको समाचार काठमाडौंमा पठाएँ । त्यसपछि बेसक्याम्पका दैनिक गतिविधिहरू स्याटेलाइट फोनमार्फत हरेक दिन कान्तिपुर एफएमलाई प्रत्यक्ष समाचारका रूपमा दिने गरें । आफूले पठाएको समाचार साँझ ७ बजे कान्तिपुर एफएममा आउन लाग्दा सबै आरोही एकै ठाउँ जुम्मिएर सुन्थे, जसबाट मलाई निकै आनन्द लाग्थ्यो । भाषा नबुझे पनि विदेशी आरोहीहरूसमेत समाचार आएको भनेपछि अनुहार खुसी पोत्दै कान ठाडा पार्थे । आरोहण गर्न जतिको कठिन थियो, समाचार पठाउन पनि उस्तै सकस थियो । कहिलेकाहीँ चिसोले फोनको ब्याट्री सकिएर समाचार पठाउनै सकिन्नथ्यो । बेसक्याम्पमा केही दिन बसेर शरीर त्यहाँको हावापानीमा अनुकूल बनाएपछि सफलताको कामना गर्दै पूजा गरेर म मास्तिर उक्लें ।


पर्वतारोहणको इतिहासमा पहिलो पटक नेपाली पत्रकार शिखरतिर जान लागेकाले मलाई धेरैजसो आरोहीले सहयोग दिए । सबैको साथ र सहयोगकै कारण २००३ को मे २२ का तारिखका दिन म सगरमाथा टाकुरामा पुग्न सफल भएँ । लगत्तै काठमाडौंमा कान्तिपुर कार्यालयमा फोन गरेर नारायण दाइलाई यो अलौकिक खुसी साझा गरें । न्युजरुममा साथीहरू रमाएको आवाज मेरा कानसम्म पनि आयो । अनि कान्तिपुर एफएममा समाचार दिएँ । सर्वोच्च शिखर चुमेपछि मैले नेपाल पत्रकार महासंघ, कान्तिपुर, थामसेर्कु ट्ेरेकिङ र बुद्धका झन्डा फहराएँ । साथै विश्व शान्तिको कलश तेन्डिल ङेसिल पुम्बा पनि शिखरमा यसो हिउँ खोस्रेर गाडें ।


सर्वोच्च शिखर चुम्नुभन्दा सकुशल फर्कन सक्नुलाई झन् ठूलो चुनौती मानिन्छ । म पनि अपवाद भइनँ । तल झर्दा अक्सिजन सकिएकाले निकै कठिनाइ खेप्नुपर्‍यो । बल्लबल्ल साउथकोलमा झरेर तातो पानी खान पाएपछि अलिक सास आयो । बेसक्याम्पमा पुगेपछि चाहिँ आफू साँच्चै बाँचेको सुखद अनुभूति भयो । हाई अल्टिच्युडका कारण अपेक्षा र आवश्यकताअनुरूप खाना खान नसकेको, कुनै बेला मौसम बिग्रेका कारण तलमाथि गर्न नसकी बीचैमा अलपत्र परेको र शिखर पुगेर फर्कंदा अक्सिजन सकिएर साउथकोलको ओरालोमा लखतरान परेको क्षण जीवनकै अविस्मरणीय पल बनेको छ ।


सगरमाथा शिखरसम्म पहिलो नेपाली पत्रकारका पाइला पुर्‍याएर राजधानी फर्केपछि कान्तिपुर परिवारले गरेको न्यानो स्वागतले झन् धेरै खुसी तुल्यायो । त्यही अभियान पूरा भएपछि मेरो परिचयको दायरा फराकिलो भयो र मैले विभिन्न मुलुकमा आफ्नो सगरमाथा अनुभव सुनाउने मौका पाएँ ।


हाम्रो नेपाली समाजमा शेर्पा भन्नेबित्तिकै सगरमाथा सजिलै चढिहाल्छ नि भन्ने सोच्ने गरिन्छ तर यथार्थमा अलि भिन्नै छ । सोलुखुम्बुको उत्तरी खुम्बु भेग र दोलखाको रोल्वालिङ गाउँका शेर्पाहरूबाहेक अन्य जिल्लाका शेर्पाहरू पर्वतारोहणमा छैनन् भने पनि हुन्छ । त्यसो त म सोलुखुम्बुमै जन्मेको हुँ तापनि हाम्रो परिवारमा मात्र होइन, गाउँबस्तीमै मबाहेक कसैले सगरमाथा चढेको छैन । कान्तिपुरमा काम गरेकै कारण नेपालको पर्वतीय पर्यटनमा कलम चलाउँदाचलाउँदै नेपाली पत्रकारको प्रतिनिधित्व गर्दै सगरमाथा आरोहण गर्ने मौका मिल्यो । मेरो होस्टेमा नारायण दाइ, युवराज दाइ, कैलाश सर र विनोद सर, थामसेर्कु ट्रेकिङका अध्यक्ष सोनाम शेर्पा र यती एयरलाइन्सका आङछिरिङ शेर्पाको हैंसे नभएको भए मैले त्यस्तो अवसर सायदै पाउने थिएँ ।

कान्तिपुरका पूर्वसंवाददाता, सगरमाथा चढ्ने एसियाका पहिलो पत्रकार शेर्पा हाल अमेरिकास्थित एभरेस्ट टाइम पत्रिकाका प्रधान सम्पादक छन् ।

प्रकाशित : फाल्गुन ७, २०७४ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?