कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

न्युज–ग्राउन्ड

श्रीश भण्डारी

काठमाडौँ — करिब ९ हजार मृत्यु र २२ हजार घाइते गराएको ७.८ म्याग्निच्युडको कम्पनले कान्तिपुरको तीनकुनेस्थित मुख्य कार्यालयसँगै सहकर्मीलाई पनि छिन्नभिन्न पारेको थियो । अति प्रभावित १४ जिल्लाका सबैजसो सहकर्मी नराम्ररी पीडित थिए । 

न्युज–ग्राउन्ड

२०७२ वैशाख १२ गते ११:५६ बजे

-कान्तिपुरको तीनकुनेस्थित भवनको चौथो तलामा थिए– बलराम बानियाँ, अब्दुल्लाह मियाँ, जगदीश्वर पाण्डे र बसन्त बस्नेत । भूकम्पले जब साढे ६ तले भवन हल्लाउन थाल्यो मियाँ, पाण्डे र बस्नेत टेबुलमुनि पसे । बानियाँचाहिँ हतारहतार भर्‍याङको सिँढीबाट तल ओर्लिन थाले । ओर्लिंदा ओर्लिंदै भित्ताका कुना यसरी चिरिन थाले कि उनलाई लाग्यो– ती चिराहरू मलाई नै पछयाउँदै आइरहेका छन् । तल्लो तलामा सुरक्षित होइएला कि भनेर पसे । यसो माथितिर हेर्दा त्यहाँ पनि पिल्लर र बिम छुट्टिइसकेका थिए । जसोतसो उनी भुइँतलामा पुगे । फोटो पत्रकार सुरविन्द्रकुमार पुन बेतोडले बाहिर निस्किन खोज्दा सिसाको ढोकामा नराम्ररी बजारिए । ‘मैले उनलाई च्याप्पै समातेँ र ढोका बाहिर हुत्याइदिएँ,’ बानियाँ सम्झन्छन्, ‘त्यसपछि कता गए पत्तो भएन । मचाहिँ कुदेर सडकमा पुगेँ । एक घण्टा जतिमा सम्पादक सुधीर शर्मा आइपुग्नुभयो । जसरी भए पनि पत्रिका निकाल्ने सल्लाह भयो ।’

-संवादाताहरू अतुल मिश्र र घनश्याम खड्का योगगुरू रामदेवको अन्तर्वार्ता लिन मोटरसाइकलमा गोल्फुटारतर्फ जाँदै थिए । मानिस रुँदै कराँउँदै सडकमा दगुर्न थाले । खड्कालाई लाग्यो– कुनै गोलीकाण्ड चलेछ क्यारे ∕ उनले बाइकमा पछाडि बसेका मिश्रलाई टाउको निहुराउन भने । तर एकैछिनमा मोटरसाइकल असन्तुलित भएर लड्यो । अनि पो थाहा पाए– भूकम्प आएको रहेछ ∕ ‘लगत्तै घरमा फोन गरेको सम्पर्क हुन सकेन,’ खड्का भन्छन्, ‘बल्ल तल्ल सम्पादकजीलाई फोन लाग्यो । उहाँले अब त्यतैबाट जेजे देखिन्छ हेर्दै आउनुस्, जसरी भए पनि पत्रिका निकाल्नुपर्छ भन्नुभयो । हाम्रो असाइन्मेन्ट बीचैमा चेन्ज भयो । हामी त्रिवि शिक्षण अस्पताल, सुन्धारा हुँदै ठाउँठाउँ घुमेर पेप्सीकोलास्थित कान्तिपुर छापाखानामा पुग्यौं ।’


-फोटो पत्रकार नरेन्द्र श्रेष्ठ ठमेलस्थित आफ्नै घरको पाँचौं तलामा थिए । भूकम्प नरोकिएसम्म उनी छोरीलाई च्यापेर कौसीमा बसे । ५६ सेकेन्डभित्र काठमाडौं पूरै धुलाम्य भइसकेको थियो । उनलाई लाग्यो, ‘यो त इतिहासकै भयानक घटना भयो । यसलाई मैले फोटोमा उतार्नै पर्छ ।’ त्यसपछि उनी सानी छोरी र श्रीमतीलाई घरमै छाडी क्यामेरा लिएर निस्किए । नजिकै नयाँ घर बनाउन लागेका कामदार पुरानो घर भत्किएर पुरिएका थिए । टाउको मात्रै देखिएका एक जनाको उद्धार प्रयास भइरहेको थियो । उनले त्यो दृश्य कैद गरे । लगत्तै सुन्धारा पुगे । त्यहाँ २०३ फिट अग्लो राजधानीको प्रमुख पहिचान धूलिसात भएको थियो । त्यसपछि पनि उनी अरू ठाउँको फोटो खिच्दै हिँडे । ‘फोटो खिच्दै जाँदा रोइरहेकी एक बालिकालाई देखेपछि पो म झसंग भएँ,’ श्रेष्ठ सम्झन्छन्, ‘ओहो ∕ म त सानी छोरी र श्रीमतीलाई ५ तलामाथि छोडेर पो आएको छु त ∕ दौडिएर घर पुग्दा उनीहरू त्यहाँ थिएनन् । सरस्वती क्याम्पसको खुला चौरमा पुगेछन् ।’ पछि थाहा भयो, धरहरा ढल्दा त्यहाँ करिब ५ दर्जन व्यक्ति पुरिएछन् । भोलिपल्टको कान्तिपुरको मुख्य तस्बिरमध्ये एउटा त्यही थियो ।

-सिन्धुपाल्चोक संवाददाता ऋषिराम पौड्याल रिपोर्टिङका सिलसिलामा चौताराबाट अरनिको राजमार्ग हुँदै लामोसाँघुतर्फ जाँदै थिए । एक्कासि डाँडाबाट सडकमा ढुंगा खस्न थाल्यो । ढुंगा खस्दाखस्दै चालकले गाडी कुदाएर वनदेउडाँडामा पुर्‍याए । उनले तत्काल घरगाउँमा फोन गरे, तर लागेन । भूकम्पले तारन्तार धक्का दिने क्रम जारी थियो । चारैतिर धूलो देखिन थाल्यो । पारि गाउँबाट मानिस कराएको आवाज आयो । उनले आफ्नै गाउँको डाँडाबाट पनि धूलो आइरहेको देखे । ‘राजधानीमा रहेका श्रीमती र छोराछोरी अब के हुन्छ भन्दै फोनमा रून थाले,’ उनले सुनाए, ‘आमा, दाइ र भाउजूको अवस्था थाहा पाउन सकिएन । केहीबेरमै घरले किचेर बेहोस एक बच्चालाई डोलीमा राखेर हामी भएतिर ल्याए । मैले हत्तपत्त क्यामेरा झिकेर फोटो खिचेँ । त्यसपछि त हरेक गाउँबाट घर भत्केका र मृत्यु भएका खबर आउन थाले । समाचार टिप्दाटिप्दै गाउँको आफ्नो घर पनि भत्केछ भन्ने साँझ मात्रै थाहा भयो ।’


-पिङ मच्चिएझै घर हल्लिन थालेपछि दोलखा संवाददाता राजेन्द्र मानन्धर र उनकी श्रीमतीले नुहाउँदै गरेका छोराछोरीलाई रुमालमा बेरेर बाहिर ल्याए । उनीहरूलाई बचाउन मात्रै जोगिए जस्तो गरी केही बेरमै ५ तल्ले घर जगैदेखि गल्र्याम्मगुर्लुम्म भयो । तर घर ढल्नेमा उनी एक्लो थिएनन् । ‘सिंगो बस्ती ध्वस्त भएको देखेपछि त्यहीँ बसिरहन मनले मानेन,’ मानन्धर भन्छन्, ‘अनि म डरले काँपिरहेका बच्चा र श्रीमतीलाई बारीको पाटामा छाडेर रिर्पोटिङ गर्न निस्किएँ ।’


-भूकम्पका बेला काठमाडौंमा रहेका कृष्ण थापा नुवाकोटस्थित आफ्नो घर चिराचिरा परेर बस्न नहुने भएको खबर थाहा पाए पनि रिपोर्टिंङका लागि रसुवा लागे भने संवाददाता मकर श्रेष्ठलाई रुँदैरुँदै पछ्याइरहेकी छोरी र श्रीमतीलाई छाडेर काममा गयो भन्दै छिमेकी र आफन्तले गाली गरे । वैशाख २९ मा अर्को शक्तिशाली भूकम्प गएपछि पनि त्यस्तै भयो । श्रेष्ठ भन्छन्, ‘बारम्बार भूकम्प र पहिरो आइरहेका बेला रिपोर्टिङ गर्न दोलखा जाने निधो गरेपछि उनीहरूले झनै असहज महसुस गरे ।’


करिब ९ हजार मृत्यु र २२ हजार घाइते गराएको ७.८ म्याग्निच्युडको उक्त कम्पनले कान्तिपुरको तीनकुनेस्थित मुख्य कार्यालयसँगै सहकर्मीलाई पनि छिन्नभिन्न पारेको थियो । अति प्रभावित १४ जिल्लाका सबैजसो सहकर्मी नराम्ररी पीडित थिए ।

कतिको घर पूरै लडेको थियो भने कति परिवारजनबाट सम्पर्कविहीन अवस्थामा थिए । समाचार सम्पादक हरिबहादुर थापाको काभ्रेस्थित घर भत्किएको थियो । संवाददाताहरू राजेन्द्र मानन्धर, नगेन्द्र अधिकारी, मकर श्रेष्ठ, ऋषिराम पौड्याल र कृष्ण थापाका पनि घर भत्किए । त्रिपालभित्रको बसाइ र सीमित उपभोग्य वस्तुको भरमा गुजारा गर्नुपरेका दिन आफैंमा अत्यन्तै कष्टकर थिए । तर ती सबै प्रतिकूलतामा पनि भूकम्प प्रभावित क्षेत्रका समाचार र तस्बिरहरू दिनहुँ कभरेज गर्न साथीहरूले ठूलो हिम्मत र उत्साह देखाए । त्यसलाई सम्पादन, संयोजन र प्रकाशन गर्नमा डेस्क र डिजाइनिङका साथीहरूको उत्तिकै भूमिका थियो ।

भूकम्पलगत्तै इन्टरनेटर सम्पर्क टुटेको थियो । फोन पनि बेलाबेलामा मात्रै लाग्थ्यो । तीनकुनेस्थित कार्यालयमा बसेर काम गर्न त परै, भित्र पस्न पनि सकिने अवस्था थिएन । तर त्यस्तो असहज परिस्थितिमा पनि सम्पादकीय र व्यवस्थापकीय नेतृत्वले पत्रिकाको प्रकाशन नरोक्ने निर्णय केही घण्टाभित्रै लिइसकेको थियो । छापाखानाकै टहरामा गएर काम अघि बढाउने टुंगो भयो ।


टुंगो त भयो तर त्यहाँ समाचार लेख्न अनि सम्पादन र डिजाइनिङ गर्न पर्याप्त कम्प्युटर थिएनन् । सम्भव भए जति ल्यापटप जुटाइयो । कम्प्युटर विभागका ब्राइडेन सुब्बा, मनोज कर्माचार्य, सुवास मजगाईं र सुरक्षागार्डहरूले डिजाइनिङका कम्प्युटर निकाल्न ठूलो साहस देखाए । त्यो दिन मुस्किलले २/३ वटा मात्र निकाल्न सकियो । जसोतसो काम चलाइयो । इन्टरनेट त थिएन नै कम्प्युटरहरूबीचको नेटवर्क पनि भएन । प्रत्येक समाचार र तस्बिरका फाइल रिपोर्टरबाट लिन, सम्पादनका लागि अर्को कम्प्युटरमा दिन र डिजाइनिङमा पठाउन हरेकपल्ट पेन ड्राइभमा राख्दै झिक्दै गर्नुपथ्र्यो । प्रविधिको सहजतामा अभ्यस्त हुँदै गइरहेका हामीलाई अलिकति मात्रै पछाडि फर्कनुपर्दा पनि कत्रो झन्झट आइलाग्दो रहेछ भन्ने त्यति बेला राम्ररी महसुस भयो ।

डिजाइनिङ विभागका विश्वेश्वर श्रेष्ठ पेजहरू फाइनल गरेर राति ११:३० तिर घर पुगे । घर भन्नु के थियो, उनको पनि टहराकै बसाइ थियो । ‘भूकम्पका धक्काहरूबीच राति ३ बजेतिर यसो निदाउन लागेको मात्रै के थिएँ, प्रेसबाट ब्राइडेनजीको फोन आयो,’ उनी भन्छन्, ‘प्रेसमा पठाउन तयार पारिएका केही पेज करप्ट भएछ । उहाँले जसरी पनि आउनुपर्ने भयो, नत्र भोलि पत्रिका निस्कँदैन भन्नुभयो । अनि म त्यति नै बेला फेरि मोटरसाइकल लिएर पुगेँ ।’

भोलिपल्ट पनि परकम्प आइरहेकै थिए । जसरी भए पनि कम्प्युटर निकाल्नै पर्ने थियो । सुब्बा सम्झन्छन्, ‘म, मनोज, सुवास र केही सुरक्षागार्ड कम्प्युटर निकाल्न तेस्रो र चौथो तल्लामा गयौं । त्यति नै बेला घरबाट श्रीमतीको फोन आयो । उनले साढे ३ बजे फेरि ठूलो भूकम्प जाँदै छ रे भित्र नपस्नू भनिन् । मैले ल ल हुन्छ भनें । तर हामी धमाधम कम्प्युटरका तार थुतिरहेका थियौं । कम्प्युटर निकाल्दा निकाल्दै पनि भूकम्पले नराम्ररी झट्का दियो ।’ १३ गतेदेखि छापाखानाका टहरामा नेटवर्क जोडेर काम गर्न थालियो । ठाउँ साँघुरो थियो । सुरुका दिनमा भूकम्पका कारण सबै सहकर्मी आउन नसकेकाले खासै भीडभाड भएन । तर जब सबै आउन थाले समाचार लेख्न बस्ने ठाउँसमेत भएन । टहराबाहिर पाल टाँगेर टेबुल कुर्सी राखियो । वर्षायाम सुरु हुनै लागेकाले घरीघरी पानी पथ्र्यो । पालबाट पानी चुहिँदा लेख्दालेख्दैको ठाउँ छोडेर अन्तै हिँड्नुपथ्र्यो । घाम लागेका बेला भने प्राय: साथी टहरा अघिल्तिर खुला चौरमा दुबोमाथि बसेर काम गर्थे । न्युज मिटिङ पनि हामी त्यही चौरमा गथ्र्यौं ।

हामी न्युज–रुमबाट न्युज–ग्राउन्डमा पुगेका थियों । विमानस्थल नजिकै भएकाले जहाज उड्न र बस्न लागेका बेला चर्को आवाज आउँथ्यो । एकैछिन कुरेर आवाज मधुरो भएपछि फेरि मिटिङ अगाडि बढाउँथ्यौं । कुनै फरक प्रकृतिका कार्गो जहाज आएको देखियो भने कुन मुलुकबाट के राहत आयो भन्ने सोधिखोजी हुन्थ्यो । मिटिङ सकेर उठेपछि मात्र पछाडि चिसो भइसकेको हेक्का हुन्थ्यो ।

कैयौं पटक डिजाइनिङ सकिएर पेजहरू छापिनै लाग्दा ठूला झट्का जान्थे । तिनलाई पनि हामी सकेसम्म अपडेट गथ्र्यौं । दिनभरिमा कतिपल्ट परकम्प गयो भनेर अपडेट लिने एउटा नियमित कामजस्तै हुन्थ्यो । छापाखानाका लागि निर्मित टहरामा कान्तिपुर, काठमाडौं पोस्ट, नेपाल, साप्ताहिक, नारी र केहीपछि कान्तिपुर टेलिभिजनसमेत अटाएर काम गर्नुपर्दा एकदमै साँघुरो भएको थियो । वर्षायाममा रातिका बेला लामखुट्टेले समेत सताउन थालेको थियो ।

सुरुवाती दिनका खाजा चिउरा, दालमोठ र पानी मात्रै भए पनि व्यवस्थापनले बेलुकीका लागि राम्रो खानाको प्रबन्ध गरिदिएको थियो । सहकर्मीको हौसला बढाउन र काम गर्ने वातावरण सहज बनाउन व्यवस्थापनले सक्दो प्रयास गरेको थियो । सम्पादकीय विभागका साथै कम्प्युटर, मुद्रण, वितरण र अन्य सबै विभागका सहकर्मीको सहकार्यको परिणामस्वरूप भवन भत्किएर कार्यालय नै विस्थापित भएका बेलासमेत हामीले कान्तिपुर दैनिकको प्रकाशनलाई कुनै दिन पनि १६ पृष्ठमा नघटाई निरन्तरता दिन सफल भयौं ।

भूकम्प गएको दिनदेखि करिब एक सातासम्म हामीले प्रभावित जिल्लामा भएका क्षति, घर भत्किएका र आफन्त गुमाएकाका पीडा, सम्पदाहरूमा पुगेको क्षति, भत्किएको घरमा च्यापिएकाको जीवितै उद्धार गर्ने सुरक्षाकर्मी र सर्वसाधाणका कथाव्यथालाई प्राथमिकताका साथ प्रस्तुत गर्‍यौं । त्यसपछि पनि राहतमा हुन थालेका घोटालादेखि लिएर जनसाधारणका सरोकारहरूप्रति निरन्तर खबरदारी गर्दै रहयौं । यो सिलसिला पुनर्निर्माणमा देखिएको लापरबाही र उदासीनताप्रति अहिलेसम्मै जारी छ ।

भूकम्पमा परी करिब ५ लाख घर पूरै भत्किए भने ३ लाख क्षतिग्रस्त भए । भूकम्पीय जोखिमका दृष्टिले विश्वमै ११ औं स्थानमा रहेको हाम्रो मुलुकमा यस्ता विपत्तिबाट बच्ने उपाय र मानवीय चेतना भने असाध्यै न्यून छ । राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रका बेइमानी केलाउने हो भने त भूगोलभन्दा पनि यहाँको राज्यसंयन्त्र झनै डरलाग्दो छ ।

आमसरोकारका विषय निरन्तर उठाइरहने केही सहकर्मीको हालत अहिले पनि नाजुक नै छ । आँखै अघिल्तिर आफ्नो घर ढलेको प्रत्यक्ष देखेका राजेन्द्र मानन्धरका श्रीमती र छोराछोरी अझै पनि तर्सिरहन्छन् । घर बनाएको ऋण जस्ताको तस्तै छ । सहुलियतका लागि जति नै धाए पनि बैंकलाई घाटा नपर्ने गरी सावाँ–ब्याज बुझाउनै पर्ने दायित्व छँदै छ । यसबीचमा टहराको चिसोले निमोनिया लागेकैले नगेन्द्र अधिकारीकी हजुरआमाको निधन भएको छ भने उनको परिबार टहरामै छ । तर यति हुँदाहुँदै पनि आ–आफ्नो जिम्मेवारीबाट कोही पछि हटेको छैन । समाज र राष्ट्रप्रतिको यही दायित्वबोधले नै आफ्नो २५ वर्षे इतिहासमा कान्तिपुर सदैव अग्रणी रहन सफल भएको छ ।


भण्डारी कान्तिपुरका समाचार डेस्क संयोजक हुन् ।

प्रकाशित : फाल्गुन ७, २०७४ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?