त्रासदी भोग्दै, समाचार खोज्दै

खान नपाएको गुनासो गर्नेहरू उत्तिकै थिए । मान्छे मात्र होइन, पहिरोबाट बचेका याकका पेटसमेत केही खान नपाएर सुकेका देखिन्थे । 
प्रतिमा बाँस्कोटा

काठमाडौँ — तीनकुनेस्थित कान्तिपुर कार्यालय जाँदै थिएँ, थापागाउँको उकालोमा मान्छेहरू किन भागम्–भाग गर्दै छन् भनेर ठम्याउन नपाउँदै स्कुटरसँगै म पनि लडें । गति कम भएका कारण चोटचाहिँ लागेन । हतारहतार स्कुटरको साँचो थुतेर अरू मान्छे भागेतिरै म पनि भागें । कम्पन घट्न थालेपछि बल्ल स्कुटर उठाएर तीनकुनेतिर गएँ ।

त्रासदी भोग्दै, समाचार खोज्दै

सडकभरि मान्छे देख्दा ‘भूकम्प रोकिइसक्यो, तैपनि बाटोमा किन उभिएका होलान्’ भन्दै कान्तिपुर भवनतिर जाँदै थिएँ, चिफ रिर्पोटर बलराम बानियाँले कराउँदै भित्र जानबाट रोके । कान्तिपुरको मुख्य भवन त चर्किसकेको रहेछ । एकैछिनमा धरहरादेखि थुप्रै मन्दिर र घरहरू ढलेका खबर आउन थाले ।


कान्तिपुर टीभीले सडकमै तार तानेर प्रत्यक्ष प्रसारण थालिसकेको थियो । कान्तिपुर अनलाइनका साथीहरू पनि सडकबाटै समाचार ‘अपडेट’ गर्दै थिए । हामी भने के गर्ने भन्दै अल्मलिएर बसेका थियौं । पेप्सीकोलास्थित कान्तिपुरको प्रेस परिसरबाट काम गर्ने तय भयो । त्यो बेलासम्म मानिस हताहत भएका सूचना आउन थालिसकेका थिए । भूकम्प प्रभावका कारण मोबाइल सेवा उति भरपर्दो थिएन । प्रधान सम्पादक सुधीर शर्माले मलाई प्रहरीबाट क्षतिको विवरण लिन अह्राए । रानीपोखरीस्थित महानगरीय प्रहरी आयुक्तको कार्यालयमा पुग्दा प्रहरीहरू आफ्नै मातहतका कार्यालय, त्यहाँ रहेका प्रहरी र थुनुवाहरूबारे सूचना लिँदै थिए । त्यहाँबाट म नक्सालस्थित प्रहरी मुख्यालय पुगें । भूकम्प प्रभावित जिल्लाबाट जनधन क्षतिको विवरण आउन सुरु भएको थियो । प्रहरीले खाली चौरमा टेन्ट टाँगेर ‘कमान्ड डेस्क’ बनाएको थियो । हरेक १५ देखि ३० मिनेटमा म पेप्सीकोलामा रहेका सहकर्मीलाई मृतकको संख्या टिपाउन थालें । मृतकहरूको संख्या भयाभह थियो । हराउने पनि उत्तिकै । भौतिक क्षतिको त कुरै नगरौं ।


समाचारको धुनमा राति आफू बस्ने व्यवस्थातर्फ सोच्दै सोचिएनछ । भूकम्पको धक्का आउने–जाने क्रम जारी थियो । घरमा बस्नु सुरक्षित थिएन । सारा सहर खाली चौर र मैदान खोज्दै बाहिर निस्केको थियो । प्रहरी मुख्यालयको खाली चौर ज्यान जोगाउन आएका सर्वसाधारणको भीडले भरिएको थियो । राती ९ बज्नै थाल्दा भोकले पेट बटारिन थाल्यो । कान्तिपुरले प्रेसमा कर्मचारीका लागि बेलुकाको खानाको व्यवस्था गरिदिएको थियो । तर राति खाना खोज्दै त्यति टाढा जान मन लागेन । या भनौं, भूकम्पका डरले गइनँ । प्रहरी मुख्यालयबाहिर निस्किएर एउटा चाउचाउ पानीसँग खाएर फेरि भित्रै छिरें । राती साढे १२ बजे पत्रिकाको लागि समाचार त पठाएँ, त्यसपछि चिन्ता सुरु भो– सुत्न कहाँ जाने ?


म पाँचथरमा ९ कक्षा पढ्दै गर्दादेखि चिनजानमा रहेका एसएसपी कमल जिटीले ‘छोरी बस्ने व्यवस्था गरेऊ’ भन्दै सोधे । मैले ‘छैन अंकल, भर्खर न्युज पठाएँ, अब खोज्छु’ भनें । उनले आन्टी (उनकी श्रीमती), छोरी र अन्य नातेदार वसुन्धराको सार्वजनिक स्थलमा बसेको बताए । म पनि त्यतै लागें । धर्मशालाजस्तो देखिने त्यो ठाउँ खचाखच थियो । पूरै शरीर तन्काएर सुत्ने ठाउँ थिएन । जसोतसो रात कटाइयो । भोलिपल्ट (भूकम्पको दोस्रो दिन) गैह्रीधारामा रहेको डेरामा पुगें । घरबेटी अंकल घर चर्कियो भन्दै थिए । हतारहतार माथिल्लो तलाको कोठामा गएर एकजोर लुगा, दाँत माँझ्ने ब्रस र पेस्ट बोकेर तल झरें । दिनभरि यताउता दौडिने, अनलाइनलाई समाचार टिपाउने काम चलिरह्यो ।


त्यो भूकम्प मेरो लागि मात्र होइन, मेरो समयकालका धेरैका लागि नौलो थियो । कतिपय साथीहरू परिवारलाई बस्ने ठाउँ नभएको भन्दै कहीं–कतैबाट त्रिपाल खोजिदिन अनुरोध गर्थे । लगातार आइरहेका परकम्पले सबैलाई तर्साएको थियो । घरमा कोही व्यक्ति बसेका थिएनन् । आधा रातसम्म मृतक र क्षतिको विवरणसहित समाचार लेखेर पठाएपछि चार–पाँच रात मैले महिला प्रहरीको ब्यारेकमा सुतेर बिताएँ । एक रात घरमा सुत्न गएकी थिएँ, राति तीनपटक कम्पन आएछ, म डरले पाँचपटक भागेछु ।


भूकम्पका धक्का कम हुन थालेपछि काठमाडौंबाहिर बढी प्रभावित जिल्लामा समाचार खोज्न जानुपर्ने थियो । सबै साथीहरूले आ–आफ्नो तहबाट जिल्लातिर गएर समाचार ल्याउन कोसिस गर्दै थिए । म पनि त्यही दौडमा थिएँ ।


रसुवाको लाङटाङमा भूकम्पले ल्याएको हिमपहिरोमा परेर चार सयभन्दा बढी स्वदेशी–विदेशी पुरिएका थिए । त्रिभुवन विमानस्थलमा दुई दिन ढुकेपछि जसोतसो सेनाको एउटा हेलिकप्टर चढेर जाने मौका मिल्यो । लाङटाङ पुग्दा आठ–दसजना सर्वसाधारण भेटिए । सबैका आँखा रसिला । हिमपहिरोले आफन्त र घरबार सबै गुमाएपछि त्यही हिउँको थुप्रोतिर हेरेर बसिरहेका थिए । ७० वर्षजत्तिको देखिने एक वृद्ध श्रीमती, छोराछोरी, घर सबै पहिरोमा परे भन्दै भक्कानो छाडेर रुन थाले । पहिरो आएको दिन उनी त्यहाँबाट अलि पर हिउँ मापन गर्ने केन्द्रमा काम गर्न गएका रहेछन् । फर्केर आउँदा पहिरोले सबै सोत्तर बनाएको थियो ।


खान नपाएको गुनासो गर्नेहरू उत्तिकै थिए । मान्छे मात्र होइन, पहिरोबाट बचेका याकका पेटसमेत केही खान नपाएर सुकेका देखिन्थे । सुरक्षाकर्मीको टोली पहिरोमा पुरिएका लास उत्खनन्का लागि आउँदै छ भन्ने थाहा पाएपछि पल्लो गाउँ क्यान्जिङबाट धपेडी गर्दै आफन्तहरूको लामो लस्कर आइरहेको थियो । उनीहरू हिउँले पुरिएका आफन्त फेला पारेर राम्रोसँग अन्तिम संस्कार गर्न चाहन्थे । उनीहरूलाई त्यहाँ पुरिएका आफन्तका बारेमा सोध्नु उनीहरूको घाउ अझै ताजा बनाइदिनुजस्तो हुन्थ्यो । कोही बोल्दाबोल्दै डाँको छाड्थे । कोही दौडिएर पहिरोले बगर बनाएको ठाउँतिर जान्थे । यस्ता धेरै अवस्था आए, जहाँ प्रश्न सोध्न पनि कठिन लाग्थ्यो ।


अर्कोपटक– सिन्धुपाल्चोकको पाङताङ गाउँमा राहत सामग्री बोकेको हेलिकप्टर ओर्लिदा गाउँलेहरू झुम्मिँदै आए । भुइँचालोले कुनै घर सग्लो राखेको थिएन । उनीहरूले बस्नका लागि त्रिपाल टाँगेर, रुखका स्याउलाले बारेर टहरो बनाएका थिए । मकै गोड्दै गरेकी एक महिला भूकम्पमा हराएको छोरो भेटियो भन्दै दंग थिइन् । उनको छल्किरहेको खुसी र हाँसो क्यामेरामा मात्र नभई मनमा पनि कैद भयो । गाडीमा खलासीको काम गर्ने उनको १४ वर्षे छोरो नौ दिनपछि जीवितै भेटिएको थियो । अर्की पाँच वर्षीया छोरी पनि घर भत्किएर पुरिएपछि ९ घण्टामा जीवितै उद्धार गरिएकी थिइन् ।


काभ्रेको धारेडाँडामा भेटिएका शेरबहादुर तामाङका बाबुआमा र नातिनातिनालाई भूकम्पले लगेको थियो । उनकी श्रीमती र बुहारी मात्र बाँचे । चार जनाको जुठो बारेका शेरबहादुर भत्किएको घरले पुरेका सामानहरू निकाल्ने कोसिस गर्दै थिए । उनकी २१ वर्षे बुहारी टोलाएर बसेकी थिइन् । उनले छ महिनाको छोरो र पाँचवर्षे छोरी त्यही घरमा गुमाइन् । विदेशमा रहेका श्रीमान्ले त छमहिने छोरोको अनुहारसमेत देख्न पाएनन् । पाँचखाल, तामाघाटबाट झन्डै डेढ घण्टा पैदल हिँड्दा धारेडाँडा पुगिन्छ । भुइँचालाले त्यो डाँडालाई अझै उराठलाग्दो बनाएको थियो । हामी सञ्चारकर्मी समाचार खोज्न पुग्दा त्यहाँ थुप्रैले हामीलाई सरसहयोग लिएर गएका सरकारी प्रतिनिधिजस्तो ठाने । उनीहरूसँग कुरा गर्न र दु:खका तस्बिर खिच्नबाहेक केही मद्दत गर्न नसक्दा मनमा कताकता हिनताबोध पनि भयो ।


भूकम्पमा परेर ज्यान गुमाउनेले त गुमाए, हराउनेको संख्या उत्तिकै थियो । विदेश जान हिँडेका, होटलमा ज्याला मजदुरी गरेका मान्छे निकै हराएका थिए । आफन्तहरूचाहिँ ती फर्केर आउने आशाको त्यान्द्रो समातेर बसेका थिए । दिनहुँ प्रहरी कार्यालय जाने र त्यहाँबाट मृतकहरूको भीडमा आफन्त खोज्न महाराजगन्जस्थित शिक्षण अस्पताल जानेहरूको ताँती नै थियो । शिक्षण अस्पतालको दृश्य भयावह थियो । यताउता सबैतिर बेवारिसे लासहरू राखिएका थिए । कसैको हात, कसैको खुट्टा त कसैको आधा शरीर नै थिएन । आफन्त पहिचान गर्ने आधार भनेकै अन्तिमपटक उनीहरूले लगाएको कपडा या बोकेको सामानका अवशेष हुन्थ्यो । लासको थुप्रोमा आफन्त त्यसैगरी खोजिँदै थियो ।


भूकम्पपछिका १२ दिन कतै खुसीका, कतै दु:खका समाचारहरू लेखेर बित्यो । यताउता हिँड्दा–भाग्दा कहिल्यै थाकेको महसुस भएन । बरु नयाँ समाचार खोजिरहन मन लाग्यो । त्यो समय नै यति शक्तिशाली थियो कि समाचार खोज्ने ‘जुनून’ कुनै दिन कम भएन ।


कान्तिपुरकी पूर्वसंवाददाता बाँस्कोटा हाल अमेरिकामा छिन् ।

प्रकाशित : फाल्गुन ७, २०७४ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?