१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

भीडले विवेक गुमाउँदा...

रमण घिमिरे

काठमाडौँ — झन्डैझन्डै कौरव–पाण्डवको शैलीमा करिब दुई घण्टासम्म निरन्तर आक्रमण भइरहयो । अहिले पनि मलाई के कुरामा आशंका लाग्छ भने डेढ–दुई सय मिटर नजिकको प्रहरी कार्यालयमा नलगी किन कान्तिपुरमै ल्याइए ती राहदानी भरिएका बोराहरू ? यो कतै कान्तिपुरमाथिको नियोजित षड्यन्त्र त थिएन ? आशंका गर्ने प्रशस्त ठाउँ छन् । 

भीडले विवेक गुमाउँदा...

इराकमा १२ जना नेपालीको नृशंस हत्या भएको समाचार सम्प्रेषण भएको थियो । काठमाडौं बिहानैदेखि स्तब्ध र शोकाकुल मानसिकतामा थियो । सवारी साधन पनि फाट्टफुट्ट मात्र चलेका थिए । मूल सडक, गल्ली, कुनाकाप्चा जताततैबाट धूवाँको मुस्लो उडेको देखिन्थ्यो । राजधानीको आकाशमा बाक्लो कालो धूवाँले छपक्कै ढाकेको थियो । किनभने आक्रोशित जनसमूहले हरेकजसो म्यानपावरको मुकाम खोजीखोजी डढेलो सल्काइरहेका थिए । हिजोसम्म म्यानपावरबाट कुस्त भाडा–रकम असुल्दै आएका घरधनीहरू आफ्नो घर जोगाउन धमाधम म्यानपावरका नामपाटीहरू उक्काउँदै फ्याल्दै थिए । समय र परिस्थिति यति छिटो प्रतिकूल भएको थियो कि हेर्दाहेर्दै आफ्ना मान्छे र पराई मान्छेबीचको सीमारेखा मेटिँदै थियो ।

१६ भदौ २०६१ को घटना हो ।

यस अवस्था र परिस्थितिको अवलोकन गर्दै म ओमकारेश्वरबाट भीमसेनगोला, अनामनगरको एक फन्को लगाएर पुरानो बानेश्वरको मूल सडक हुँदै कान्तिपु्रको कार्यालय, सुविधानगर पुग्दा अन्दाजी दस बजेको थियो । सबैतिर शान्ति छाएको थियो, एक गहिरो सन्नाटा । भन्छन् नि आँधी आउनुअघि समुद्र शान्त देखिन्छ । हो, त्यस्तै थियो कान्तिपुर अगाडिको मूल सडक, छेउछाउका गल्लीको अवस्था । सर्वत्र शान्ति थियो । सडकमा मानिस चेतशून्यजस्तो मानसिकतामा हिँडिरहेका थिए । कार्यालय आउने बेलै भएको थिएन ।

त्यतिबेला कान्तिपुर कार्यालयमा टेलिभिजन र पब्लिकेसन्सका गरी यस्तै २०–२५ जना सहकर्मीहरू थियौं कि † यत्तिकैमा दुई–चार जना ठिटाहरू बोरा बोकेर कान्तिपुरभित्र छिरे । बाहिर भवनहरू जलिरहेछन्, हामी मात्र बाँसुरी बजाएर बस्न सक्ने अवस्था पटक्कै थिएन । त्यसैले हामी पनि प्राङ्गणमा झर्‍यौं । बोरामा के छ भन्ने अनुसन्धान गरियो । विदेशमा काम गर्न जानेहरूले म्यानपावरमा जम्मा गरेका राहदानी रहेछन् । तिनलाई कान्तिपुरले सुरक्षित राखिदियोस् भनेर ल्याइएको रहेछ । तिनलाई नष्ट भएको रमिता हेरेर ती सयौं नेपाली कामदारहरूको भविष्यमा पनि आगो लाग्न दिनु त निश्चय नै न्यायोचित थिएन । अनि कान्तिपुरका कुनै अधिकारीले जनताको सम्पत्ति जनताको सद्भावबाट चलेको पब्लिकेसन्सले जिम्मा लिनु मनासिव ठाने र मूलद्वारको छेउमा राखिदिनु भन्ने निर्देशन दिए ।

यतिबेलासम्म कान्तिपुर वरिपरि रहेका दुई–चारवटा जति म्यानपावरका कार्यालयहरू थिए, तिनमा पनि कालो धूवाँको मुस्लो हुर्रहुराउन थालिसकेको थियो । तर हामी निश्चिन्त थियौं ।

कान्तिपुरजस्तो जनआस्था र विश्वासमा चलेको संस्थामा कसले कुभलो चिताउला र ? जनताको पक्षमा सधैं वकालत गर्दै आएका हाम्रा प्रकाशनहरूमाथि कसैको कुदृष्टि पर्ला भन्ने सोच्नुसम्म पनि विकृत मानसिकताजस्तो हुन्थ्यो ।

सुधीर शर्मा, मुकुल हुमागार्इं, म र एकजना साउद थरका सहायकलगायत पाँच–छ जना मात्र थियौं नेपालको कार्यालयमा । हामी झ्यालबाट सडक र छेउछाउमा भइरहेका क्रियाकलापहरूको अवलोकन गरिरहेका थियौं । अचानक यस्तै २५–२६ वर्षका एक जमात युवाहरू कान्तिपुर परिसरभित्र छिरे । त्यतिबेला कान्तिपुरको मूलद्वार पनि खासै गतिलो थिएन । यसअघि कसैको मगजमा कान्तिपुरभित्र यस्तो ताण्डव मच्चिएला भन्ने कल्पनासम्म थिएन । त्यसैले अहिलेजस्तो बलियो गेट बनाउनुपर्छ भन्ने विचारै थिएन । बाहिरको मूल सडकदेखि कान्तिपुर छेउसम्म मानिसको घुइँचो लागेको थियो । मानिसहरू भित्रबाहिर ओहोरदोहोर गरिरहेका थिए । त्यसैले त्यो जमात छिरेपछि पनि हामीले अन्यथा अर्थमा लिएनौं । रमितेहरू रमिता हेर्न भित्र पसे भन्ने अड्कल लगायौं । तर हाम्रो अनुमान फेल खायो । त्यसमध्येको एउटा, जसले रातोरातो रङको ज्याकेट लगाएको थियो– त्यो अचानक कान्तिपुरका विरुद्ध प्रलाप गर्न थाल्यो । ऊसँगै आएकाहरू पनि उसको आक्रोशमा आफ्नो आक्रोश मिसाउँदै कुर्लिन थाले । कान्तिपुरले के कसुर गरेको थियो र ? जनताको सम्पत्ति सुरक्षित राखिदिन जनताले नै आग्रह गरेकाले परिस्थिति साम्य नहुञ्जेलसम्मका लागि दुई–तीन बोरा राहदानी राखिदिएको थियो । बस्, कसुर यति थियो ।

तर यहाँ त अनर्थ हुन थाल्यो । रातो कपडा लगाउने युवाले एउटा गाडीमा आगो झोसिहाल्यो । उसका मतियारहरू पनि सक्रिय हुन थाले । छेउछाउमा राखेका बाइकहरूमा आगो झोस्न उत्तेजित देखिए ।

आगो झोस्दै एउटाले कान्तिपुर मूल भवनको दोस्रो तलाको झ्यालमा ताकेर इँटा प्रहार गर्‍यो । झ्यालको सिसा चकनाचुर भएर झ्यालमै टाँसियो । प्लास्टिक कोडेट भएकाले छन्द्र्याङछुन्द्रुङ भुइँमा खसेन । त्यसैमध्येको एउटाले बन्द सटरमा कस्सेर लात्ती बजार्‍यो र भवनभित्र छिर्ने प्रयन्त गर्‍यो । तर यसमा ऊ सफल भएन । अनि ऊ आफ्ना दस्ताका दुई हमलाकारीलाई बटुलेर पश्चिमपट्टिको क्यान्टिनछेउ पुग्यो । त्यहाँबाट तिनीहरू टेलिभिजनको स्टुडियोमा उक्लिने प्रयत्न गर्दै थिए । एउटाले माथि जाने सानो भर्‍याङको बन्द ढोकामा जुत्ता बजार्‍यो । तर हाम्रा सुरक्षाकर्मीहरूले तिनीहरूको प्रयासलाई असफल पारे र भगाए । बढो कोलाहलपूर्ण वातावरण थियो । कतैबाट कुनै सुरक्षाको अपेक्षा गर्न सकिने अवस्था थिएन । त्रास र आतङ्कले वातावरण यति हदसम्म कब्जा गरेको थियो– एक जना टेलिभिजनका समाचारवाचक झ्यालबाहिरको कोलाहलपूर्ण दृश्य देखेर किंकर्तव्यविमूढ अवस्थामा समाचार पढ्दापढ्दै बीचैमा छाडेर एक तलामुनिको पर्खालबाट हामफालेर बल्लतल्ल ज्यान जोगाउन सफल भए ।

अवस्था र वातावरणले विस्तारै एकतर्फी युद्धको भूमिका बाँध्दै थियो । हाम्रा साथीहरू जो कार्यालय आउन हिँडेका थिए, मानिसको भीड छिचोलेर भित्र आउन सक्ने अवस्था थिएन । तिनीहरू केही गर्न नसकेकामा चुकचुकाउँदै बाहिरै छटपटाइरहेका थिए । हामी भित्र छटपटाउँदै थियौं । ठीक यति नै बेला टेलिभिजनको माथिल्लो तलाबाट हडबडाउँदै झरे कैलाश सर । उनीसँगै थिए तीर्थ कोइराला पनि । हामीसँगै उभिएर कैलाश सरले पनि घटनाको जानकारी लिए । के गर्ने ? छेवैको प्रहरी परिसर चकमन्न निदाएको छ । मानौं, केही भएकै छैन । कैलाश सर भन्दै थिए– ‘प्रहरीलाई खबर गरेको र सहायता मागेको तर प्रहरीको कतै उपस्थिति देखिँदैनथ्यो ।’ तल त्यो जमात रणभूमि बनाउन उद्यत देखिन्थ्यो । कान्तिपुरमाथि हमला गर्न खोज्नेहरू धेरै थिएनन्, भीडका अधिकांश मानिस कान्तिपुरप्रति आस्थावान् थिए । हामीले यस्तै अनुमान गरेका थियौं ।

वास्तवमा हामीले कान्तिपुरमाथि यस्तो हमला हुन्छ भनेर सोचेकै थिएनौं । केही युवा जो तल वितण्डा मच्चाइरहेका थिए, तिनीहरूले नबुझेर यसो गरिरहेछन् भन्ने हामीलाई लागेको थियो । तर होइन रहेछ । नबुझ्नेले यति धेरै भौतिक सम्पत्तिको क्षति हुने क्रियाकलाप गर्न सक्तैनथ्यो ।

यत्तिकैमा कान्तिपुर पब्लिकेसन्सको मूल भवन (जुन भूकम्पले क्षति पुर्‍याएपछि ढालियो) तिर पनि विध्वंश गर्न त्यो जत्था अघि बढ्यो । तर सबै सटर बन्द गरिसकिएकाले त्यो जत्था त्यहाँभित्र पस्न भने सकेन । तर टेलिभिजनको भुइँतलाको ‘रिसेप्सन’ कक्षमा पसेर टेलिभिजन, झ्यालका सिसालगायत जेजे भेटे तिनको अस्तित्व एक झिमिकमा नामेट पारिदिए ।


अनि भने कैलाश सर तातिए । उनीसँगै हामी पनि तातियौं । हामी सबै एक तलामाथि गएर आत्मरक्षाका लागि केही लाठीमुङ्ग्रा पाइन्छन् कि भनेर खोज्यौं । समाचार बनाउने अफिसभित्र त्यस्ता सामग्री कहाँ पाउनु ? अनि कैलाश सरले क्यामेरा ठढ्याउने फलामको एउटा लाठो समाते । कैलाश सर, सुधीर शर्मा, तीर्थ कोइराला, मुकुल हुमागाईं र म, हामी यति थियौं । आगजनीको क्रम रोकिएको छैन । जेजे भेटिन्छ, त्यसैले पुल्ठो झोस्दै विनाशको मुखमा लग्दैछ हाम्रो भौतिक संरचनालाई ।

कैलाश सरले कान्तिपुर टेलिभिजन भवनको मूलद्वारमा पूर्वपट्टि फर्किएर भने– ‘कान्तिपुर जनताको स्वामित्व हो, तपाईंहरूको सम्पत्ति हो । हामी तपाईंहरूकै हितमा, तपाईंहरूकै अभिव्यक्ति पोख्तै आइरेहका छौं । तपाईंहरूकै न्यायका लागि र शोषणविरुद्ध आवाज उठाइरहेछौं । अनि किन यसरी आफ्नै घरभित्र धावा बोल्नु हुन्छ ?’ उनको कुरा सुनेर विस्तारै भीडको स्वभाव परिवर्तित भयो । विस्तारै भीड हट्यो ।

अहिले पनि मलाई के कुरामा आशंका लाग्छ भने डेढ–दुई सय मिटर नजिकको प्रहरी कार्यालयमा नलगी किन कान्तिपुरमै ल्याइए ती राहदानी भरिएका बोराहरू ? जीउधनको सुरक्षाका लागि बारम्बार सुरक्षाका उच्च अधिकारीहरूलाई गुहार गर्दा पनि किन कुनै व्यवस्था गरिएन र छेवैमा रहेको प्रहरी परिसरका प्रहरीहरू पनि किन मूकदर्शक भएर बसे ? यो कतै कान्तिपुरमाथिको नियोजित षड्यन्त्र त थिएन ?

यो एकतर्फी युद्ध थामिएको दुई घण्टापछि आए सेना र प्रहरीका केही मानिस । अपराहनको ४ बजेको हुनुपर्छ । र, हामी सुरक्षाको जिम्मेवारी लिन्छौं, नआत्तिनुस् भने । तर आगो निभाइसकेपछि तिनीहरू सहानुभूतिको खाली बाल्टी बोकेर आउनुको कुनै प्रयोजन थिएन ।


घिमिरे नेपाल साप्ताहिकका कला संयोजक हुन् ।

प्रकाशित : फाल्गुन ७, २०७४ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?