कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

जहाँ लेखक जन्मिए

विप्लव ढकाल

काठमाडौँ — आजको पुस्तक बजारमा पत्रकारका पुस्तकहरूको हस्तक्षेप बढिरहेको छ । पुस्तक प्रकाशन र प्रचारको होडबाजी छ । केही पुस्तक चर्चित र लोकप्रिय बनेका छन् भने केही पुस्तक जतिसुकै होहल्ला गरे पनि पानीको फोकाजस्तै बनेका छन् ।

जहाँ लेखक जन्मिए

के पत्रकारहरू गम्भीर लेखनमा सफल छन् ? कि सूचनाको शक्ति र मिडियाको पहुँच मात्रै तिनका पुस्तकहरूको बजारीकरणको आधार हो ? पाठकहरूप्रति उनीहरू कत्तिको जिम्मेवार छन् र प्रायोजित विज्ञापनको असर कस्तो छ ? यसको बहसका लागि विभिन्न समयमा कान्तिपुर राष्ट्रिय दैनिकसँग सम्बन्धित पत्रकार र उनीहरू कार्यरत रहेको अवधिभित्र लेखिएका उपलब्ध पुस्तकहरूलाई नै नमुना सर्वेक्षणको आधार माने कसो होला ?

कान्तिपुरका तत्कालीन सम्पादक नारायण वाग्ले ‘पल्पसा क्याफे’ उपन्यास लिएर अचानक आए । उनको आगमनसँगै साहित्यको बजारमा विज्ञापनको ढोल बज्यो । आफ्नै पत्रिका मार्फत पुस्तकको व्यापक विज्ञापनले आमपाठक ब्युँझिए । पुस्तकको बजार जुर्मुरायो । विमोचनका खुद्रा समाचार र फाटफुटे समीक्षा नै पुस्तक प्रचारको झिनो आधार रहेको समाजमा विज्ञापनको हल्लीखल्लीले उज्याला–अँध्यारा दुवै सम्भावनाको ढोका खोल्यो ।

विज्ञापनको यो शैलीले साहित्यिक पुस्तकको व्यावसायिकता र बजारीकरणमा नयाँ आशा पलायो । खासगरी आख्यानको पठनसंस्कृतिलाई बढाउन र नयाँ पुस्ताका पाठकलाई प्रभावमा पार्न यो उपन्यास सफल रहयो । साहित्यिक पुस्तकको प्रकाशन व्यवसायमा नयाँ मोड आयो । आज विभिन्न प्रकाशकहरूले पछयाएको बजारीकरणको शैली यसैको अनुकरण हो । यसले थुप्रै लेखकलाई लेखेरै बाँच्न सकिन्छ भन्ने आत्मविश्वास जगायो र फुलटाइम लेखनतर्फ प्रेरित गर्‍यो । केही लेखकलाई आफ्नो नियमित विधाबाट पलायन भएर आख्यानतर्फ हामफाल्न मनोवैज्ञानिक ऊर्जा दियो । द्वन्द्वकालीन नेपाली समाजका जडता र संवेदनालाई बुझ्न यो एउटा शक्तिशाली उपन्यास हो ।

तर द्वन्द्वकै परिदृश्य र प्रभावलाई केन्द्रमा राखेर लेखिएको र पहिलोपल्ट होडिङ बोर्डसहित बहुप्रचारित वाग्लेको अर्को उपन्यास ‘मयुर टाइम्स’ ले किन अपेक्षित सफलता प्राप्त गर्न सकेन ? यद्यपि यो त्यति कमजोर उपन्यास होइन, तर पहिलो उपन्यासले ब्युँझिएका पाठकको मनोविज्ञान र अपेक्षालाई पूरा गर्न नसक्नु यसको विफलताको मूल कारक थियो । यो आफ्नै छाया र आफ्नै भुमरीमा पर्‍यो, जसले अर्को उपन्यासका लागि सिकाएको सबक वाग्ले र अन्य लेखकहरूका लागि पनि नयाँ अवसर र चुनौती हो । कान्तिपुरका वर्तमान प्रधानसम्पादक सुुधीर शर्माको ‘प्रयोगशाला’ पछिल्लो समयका बहुपठित पुस्तकमध्ये एक हो । सूक्ष्म तथ्य र गोप्य सूचनाहरूको असामान्य पहुँचबाट नेपालको राजनीतिक इतिहासमा पछिल्लो सङ्क्रमणलाई बुझ्न यो एउटा आधिकारिक दस्ताबेज हो । आजको जटिल र तरल युगसन्धिको सन्दर्भमा यसले ऐतिहासिक महत्त्वका अनेकौं सूचना सुरक्षित गरेको छ । आगामी दिनमा मुलुकलाई प्रयोगशाला बन्नबाट बचाउन बौद्धिक विमर्शको आमन्त्रण पनि गरेको छ । त्यसैले जनयुद्ध, दरबार हत्याकाण्ड, गणतन्त्र, मधेसविद्रोह, संविधानसभा, सङ्घीयता र धर्मनिरपेक्षतासँग सम्बन्धित समकालीन राजनीतिक परिघटनाहरूलाई बुझ्न र विश्लेषण गर्न यो पुस्तक एउटा राम्रै आधार बनेको छ ।

कान्तिपुरका अर्का लेखक हरिबहादुर थापाले सामाजिक, आर्थिक र राजनीतिक सरोकारका जल्दाबल्दा विषयमा विभिन्न पुस्तक लेखेका छन् । उनका ‘भ्रष्टाचारको शल्यक्रिया’ (एनाटोमी अफ करप्सन) तथा ‘रजगज’ जस्ता पुस्तकले नेपालमा आर्थिक अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरणका काला परिच्छेदहरूलाई हिम्मतसाथ उधिनेका छन् । उनका ‘विदेशी सहायताका विसङ्गति’, ‘राजनीतिक दाउपेचभित्र कर्मचारीतन्त्र’ तथा ‘दलीय द्वन्द्व’ ले नेपालको राजनीतिक र प्रशासनिक क्षेत्रका विसङ्गति एवं शक्तिको दुरुपयोग र दण्डहीनताबाट उत्पन्न अराजकताको पर्दाफास गरेका छन् ।

अर्का पत्रकार अखण्ड भण्डारीका ‘समाचारको भाषा’ तथा ‘मलाया एक्सप्रेस’ पुस्तकहरू प्रकाशित छन् । यीमध्ये पहिलो पुस्तक समाचार लेखनमा प्रयोग गरिने भाषाको व्यावहारिक एवं प्रायोगिक पक्षमाथि आधारित भएकाले यसको पेसागत उपयोगिता त्यत्तिकै रहेको छ ।


दोस्रो पुस्तक वैदेशिक रोजगारीमा संलग्न युवाहरूका आत्मसङ्घर्ष, सपना र दुर्दशाहरूमा आधारित उपन्यास हो । अँध्यारो समाजभित्र सम्भावनाहरूको उज्यालो खोज्ने प्रचेष्टासहित लेखिएको यो पुस्तक रक्तपातपूर्ण द्वन्द्वपछिको सङ्क्रमणकालीन समाजका त्रासदीहरूले भरिएको छ ।

देवेन्द्रराज भट्टराईको ‘स्रष्टा र समय’ मा नेपाली वाङ्मयका विभिन्न लेखकहरूको जीवनकथा र विचारलाई प्रस्तुत गरिएको छ । दोस्रो पुस्तक ‘रेगिस्तान डायरी’ मा खाडी मुलुकतिर श्रम बेच्न गएका दुखिया नेपालीका आँसु र पसिनाले भिजेका खण्डित सपनाहरूको विम्ब उतारिएको छ । स्थलगत अध्ययनका आधारमा लेखिएको यस पुस्तकमा देवेन्द्रले चयन गरेका पात्रको कहालीलाग्दो जीवनकथाभित्र एउटा–एउटा उपन्यासको बीउ भेटिन्छ । उनी अर्कै पेसामा थिए भने सायद यी पुस्तकको जन्म सम्भव थिएन ।

नेपालका विभिन्न क्षेत्रका भुइँमहिलाहरूको आत्मसङ्घर्षको आवाजलाई समेटेर यज्ञशले हाल सालै आफ्नो कथाकृति ‘भुइयाँ’ बजारमा ल्याएका छन् र यसको चर्चाको धङधङी कायमै छ । विभिन्न सामाजिक आन्दोलनका अभियन्ताहरूको सपना र सङ्घर्षमा आधारित यो पुस्तक बदलिँदो समाजशास्त्रलाई नजिकबाट चियाउने ऐना पनि हो । यज्ञशले ‘मोहनदास’ र ‘नेलकटर’ जस्ता पुस्तकहरूको अनुवादबाट आफूलाई अनुवादकका रूपमा पनि स्थापित गरेका छन् ।

घनश्याम खड्काले ‘निर्वाण’ उपन्यासका माध्यमबाट दर्शन र मनोविज्ञानलाई आधारभूमि बनाएर मान्छेका मनोवैज्ञानिक जटिलता र दु:खका कारणहरूको खोजी गरेका छन् । आफ्नो आत्माको उज्यालोलाई बिर्सेर अन्धकारको एक्लो यात्री बनिरहेको आजको मान्छेका जटिल मनोवैज्ञानिक समस्या र जीवनमूल्यको व्यवस्थापनका लागि यस उपन्यासले पाठकलाई आत्मिक र आध्यात्मिक संसारतिर फर्किन प्रेरित गरेको छ । जनकराज सापकोटाको ‘कहर’ ले श्रमका लागि बिदेसिएका लाखौं युवाहरूको पीडा र करुणाको साझा कथालाई समेटेर समकालीन नेपालको त्रासद विम्ब प्रस्तुत गरेको छ । यसले आजको सामाजिक इतिहासका अनेकौं कारुणिक पाटाहरू र समाजमा लामो समयसम्म पुर्‍याएको मनोवैज्ञानिक क्षतिलाई गम्भीर र संवेदनशील रूपमा उद्घाटित गरेको छ । यो पुस्तक रिपोर्टिङकै सिलसिलामा तयार भएको हो ।

फूलमान वलले ‘महाभारतकी मैच्याङ’ कविताकृति र ‘काजोल खातुन’ कथाकृतिमा सीमान्तीकृत तथा आवाजविहीन मान्छेहरूको आवाजलाई प्रस्तुत गरेका छन् । कवितामा उनले बहुसङ्ख्यक पात्र आफैंले भोगेको सांस्कृतिक पर्यावरण र आफ्नै प्रजातिको कोखबाट टिपेका छन् । त्यसैले उनका कविताहरू सङ्क्रमणशील नेपाली समाजका जिउँदा प्रतिविम्ब हुन् ।

ध्रुव सिम्खडाको ‘मुलुकको मुहार’ नेपालको संसद्, सरकार र प्रमुख पार्टीहरूको सङ्गठनमा जातीय, क्षेत्रीय एवं लैङ्गिक समावेशीकरणको रूपरेखालाई तथ्याङ्कसहित प्रस्तुत गरिएको अनुसन्धानमूलक ग्रन्थ हो । यसमा नेपालजस्तो जातीय, धार्मिक, सांस्कृतिक, भाषिक एवं भौगोलिक विविधतायुक्त मुलुकको राज्यसंयन्त्रमा सबै पक्षको सहभागिता र सीमान्तीकृत समुदायको न्यायोचित समावेशीकरणबाट नै समाजलाई विभाजित हुनबाट जोगाउन र मुलुकको मुहार फेर्न सकिन्छ भन्ने निष्कर्ष प्रस्तुत गरिएको छ ।

श्रीश भण्डारीको ‘एडभान्स्ड जर्नालिज्म’ पत्रकारिताको सैद्धान्तिक एवं प्रायोगिक पक्षका लागि उपयोगी पाठयग्रन्थ हो । यसमा उनले मासमिडिया, प्रेस स्वतन्त्रता र आधुनिक पत्रकारिताका विविध चुनौतीहरूका बारेमा प्रकाश पारेका छन् । कान्तिपुरका अन्य लेखक–पत्रकारमध्ये गङ्गा बीसीको ‘जुँगे दाइको जुक्ति’ बालसाहित्यको पुस्तक हो । जगदीश्वर पाण्डेको ‘क्रिकेटका सारथिहरू’ नेपाली क्रिकेट क्षेत्रका चर्चित खेलाडीहरूको विवरण र उनीहरूको सङ्घर्षपूर्ण खेलयात्राका विभिन्न पक्षमाथि प्रकाश पारिएको पुस्तक हो ।

दामोदर न्यौपानेको ‘एम्बुसमा ६ वर्ष’ मा नेपालको सशस्त्र द्वन्द्वकालमा राज्य र विद्रोही दुवै पक्षका क्रूरतासँग सम्बन्धित अनुभव र सूचनाहरूलाई समेटिएको छ । उनले ‘कर्म’ ‘स्वर्णिम समय’, ‘टयालेन्ट सो’ लगायत पुस्तक लेखेका छन् ।

यसरी कान्तिपुरको २५ वर्षे इतिहासमा थुप्रै पत्रकारहरू पुस्तक लेखनकार्यमा सक्रिय रहेका देखिन्छन् । उनीहरूले मूलत: सामाजिक, आर्थिक तथा राजनीतिक विश्लेषणमा आधारित पुस्तकहरूका अतिरिक्त साहित्यका आख्यान, निबन्ध र कविता विधामा कलम चलाएका छन् । कुनै समय यस पत्रिकाको जिम्मेवार तहमा रहेका किशोर नेपाल, युवराज घिमिरे, विजयकुमार पाण्डेजस्ता लेखकका पनि पछि विभिन्न पुस्तक प्रकाशित छन् ।

नेपाली पुस्तक बजारमा कतिपय पत्रकारका पुस्तक चर्चित र लोकप्रिय बनेका छन् । केही पुस्तक उच्च जिम्मेवारीसाथ लेखिएका छन् भने केही चाहिँ रहरको सस्तो उपज मात्र बनेका छन् । कतिपय पत्रकारले पेसागत कर्मसँगै प्राप्त गरेका अनुभव, सूचना र तथ्यहरूलाई आफ्नो लेखनको आधार बनाएका छन् । तिनले शासकीय शक्तिको दुरुपयोगबाट सिर्जित राज्यका विसङ्गति र कुरूपताप्रति खबरदारी गरेका छन् । त्यसैले तिनका पुस्तकहरू मुलुकलाई सामाजिक विचलन, आन्तरिक कलह र विखण्डनबाट बचाउँदै सद्भावको अभिवृद्धि गर्न आमनागरिक र नीति निर्माताका लागि उपयोगी र मार्गदर्शक बनेका छन् । तिनले समाजशास्त्रीय एवं सौन्दर्यमूल्यलाई पनि वरण गरेका छन् । तर यो मात्रै उनीहरूका पुस्तकको बजारीकरणको मूल आधर होइन ।

पाठक समुदायमा चर्चा चल्ने गर्छ— कति पत्रकारहरूले मिडियाको शक्ति र सुविधालाई दुरुपयोग गरेर आफ्नो कमजोर पुस्तकलाई पनि रातारात चर्चित बनाएका छन् र पछि ती गुमनाम वा आलोचित बनेका छन् । मिडियाको पहुँचकै कारणले चामल कुहिने र पीठो बिक्ने प्रवृत्ति आजको पुस्तक बजारमा जलकुम्भीझैं मौलाएको टिप्पणी पनि सुनिन्छ । मिडियालाई हतपती चिढयाउन नचाहने र यसको सम्बन्धको अनुचित लाभ लिन खोज्ने मनोवृत्तिले गर्दा थुप्रै लेखक र पुस्तक व्यवसायी पत्रकारको पुच्छर समातेर वैतरणी तर्ने धन्दामा लागेका पनि पाइन्छन् । समीक्षक तथा बुद्धिजीवीहरू कि मौन छन् कि सस्तो प्रशंसामा उत्रिएका छन् । मिडियामा पनि सिन्डिकेट छ । प्रायोजित पुस्तक समीक्षाको क्रेन चलाएर कसैलाई उचाल्ने र कसैलाई पछार्नेको भीड छ । पद, पैसा र प्रतिष्ठाको प्रभाव छ । मिडियाकै बैसाखी टेकेर रातारात सेलिब्रेटी बन्ने मनोरोगले आज थुप्रै लेखक चोर बाटो हिँडेर अगाडि पुग्ने दाउमा छन् । यसका लागि मिडियाकर्मीहरू जिम्मेवार छन् कि छैनन् ? कान्तिपुरभित्र यो रोग छ कि छैन ? स्वस्थ बहस जरुरी छ । समाचार लेख्नेहरूको समाचारभित्र केही उज्यालो केही अँध्यारो पक्कै छ ।

ढकाल साहित्य लेखनमा सक्रिय छन् ।

प्रकाशित : फाल्गुन ७, २०७४ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?