कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

तीन सम्पादक र म

खगेन्द्र संग्रौला

काठमाडौँ — दुई कुराले कान्तिपुरतर्फ म आकृष्ट भएको थिएँ । तिनताक अल्पायुमै मर्न अभिशप्त र पाठकको वृत्त सीमित भएका घरी यो र घरी त्यो वाम साप्ताहिकमा म लेख्थें । कान्तिपुरको आयु अपेक्षाकृत लामो हुने निश्चित थियो र त्यसको पाठकवृत्त थियो कता हो कता व्यापक । 

तीन सम्पादक र म

कान्तिपुर मेरो लेखनीको अस्थायी डेरा हो । द्वन्द्वरत विचारहरूबीचको नित्य घर्षणका कारण आज छ, भोलि छैन टाइपको । कान्तिपुरको सम्झना भयो कि मेरो अन्तरमनको ऐनामा तीनवटा अनुहार लहरै देखिन्छन् । मेरो सम्झनामा बराबर आइरहने र सायद धेरै दिनसम्म नबिर्सिइने तीन पुलिंगी अनुहार । यी अनुहारका स्वामी हुन्— युवराज घिमिरे, नारायण वाग्ले र सुधीर शर्मा । कान्तिपुरका समय, समयका मेरो तीन सम्पादक । हुनलाई कान्तिपुर यी त्रिमूर्तिको पनि अस्थायी डेरा नै हो । र, म हुँ यी डेरावालको पनि डेरावाल । हाम्रा घरबेटी महाजनको कान्तिपुरको नेपथ्यमा स्वामित्वसहितको स्थायी बास छ ।

कान्तिपुरका प्रथम सम्पादक योगेश उपाध्याय मेरा लागि बिष्टबराजुसरह भइदिए । र, तिनका दृष्टिमा म भएँ एक पानी अचल दलितसरह । तिनका पालामा कान्तिपुरको द्वार मेरालागि सदैव बन्द रहयो । मैले पटकपटक लेख पठाएँ, प्रकाशनको प्रकाश देख्नै नपाई अन्धकारमा ती विलीन भए । दुई कुराले कान्तिपुरतर्फ म आकृष्ट भएको थिएँ । तिनताक अल्पायुमै मर्न अभिशप्त र पाठकको वृत्त सीमित भएका घरी यो र घरी त्यो वाम साप्ताहिकमा म लेख्थेँ । कान्तिपुरको आयु अपेक्षाकृत लामो हुने निश्चित थियो र त्यसको पाठकवृत्त थियो कता हो कता व्यापक । वाम लेखकले वाम अखबारबाट ज्यालाको आस गर्नु त्यागैत्याग गर्नुपर्ने निष्काम वाम धर्मविपरीत हुन्थ्यो । कुनै उदार वाम अखबारले चुनदाम दिइहाले पनि त्यो हात्तीको मुखमा जिरा हुन्थ्यो । तर कान्तिपुरले चल्तीको दररेट हेरी ज्याला राम्रै दिन्थ्यो । वृत्ति आर्जनको मेरो नियमित स्रोत थिएन । म गोराहरूलाई भाषा दान गर्ने काममा थाकेर पेट पाल्न पटयारलाग्दा विकासे स्रेस्ताहरू अनुवाद गर्थेँ । कान्तिपुरमा लेखेर यो पटयारबाट आंशिक रूपमै भए पनि चैनको सास फेर्ने मेरो रहर थियो । तर म ताक्छु मुढो, बिष्ट योगशबाबु ताक्छन् म दलितका ससाना आकांक्षाहरूको निम्छरो घुँडो भइदियो ।

जब युवराज घिमिरे बीबीसीको नामी र दामी जागिर छाडेर कान्तिपुरमा डेरा सरे, छोइछिटोबाट म मुक्त भएँ । मेरा चाबेलिया तरुण मित्र विमल फुयाँल त्यो बेला ब्रिटेनमा विद्या आर्जन गर्दै थिए । युवराजले मित्र विमललाई सोधेछन्— नेपालमा सार्थक लेख्ने र पढिने लेखक को–को हुन् ? मित्रको भलाइको मनसायले विमलले त्यस्ता लेखकहरूको सानो सूचीमा मेरो नाम घुसाइदिएछन् । र, मलाई चकित र हर्षित तुल्याउँदै युवराज मेरो घरपिँडीमा टुप्लुक्क आइपुगे । मलाई लाग्छ, लेखक खोज्न मजस्ता ससाना नाम भएका लेखकका घरदैलामा पाउकष्ट गर्ने प्रतिष्ठित अखबारका प्रथम विनयशील सम्पादक सायद युवराज नै हुन् ।

तीन राजनीतिक घर्षणकालमा तीन सम्पादकसँग सहकार्य गर्ने संयोग मलाई प्राप्त भयो । यी त्यस्ता तीन घटना थिए, जसमा इतिहासले यी तीन सम्पादकको सम्पाकीय सामथ्र्य र नैतिक निष्ठाको परीक्षा लियो । परीक्षामा कसको प्रवृत्ति र हैसियत कस्तो देखियो, त्यसको नतिजा इतिहास भएको छ ।

भन्दै थिएँ, आङ्लभूमिबाट युवराज आए र कान्तिपुरमा मेरा हातको पानी चलाइदिए । म लेख्न थालेँ । लेखनको विषय, लेखनशैली र लेखकीय दृष्टिमा मलाई पूूरापूरा छुट थियो । सुरुको मेरो ज्यालादर एउटा पुन्टे लेखको सात सय रुपैयाँ थियो । त्यो कान्तिपुरको उच्च दररेट थियो क्यार । युवराजसँग उनको डेरा र कान्तिपुर अड्डा दुवै ठाउँमा मेरो भेट हुन थाल्यो । उनी बडो प्रेमी थिए— हौसलाकारी, सहयोगी र उदार । सम्पादकीय कक्षमा एकाध पटक मैले युवराजलाई भेटेँ । उनी हर्दम क्रियाशील रहन्थे र हर्दम व्यस्त । कुरा गर्दागर्दै वाक्यको बीचैमा उनी कम्प्युटरमा एक वाक्य लेख्न भ्याइहाल्थे । मेरो व्यर्थको उपस्थितिले उनको एकाग्रता बिथोलिएला भन्ने भयले म आफ्नो बाटो लागिहाल्थेँ ।

दरबार हत्याकाण्ड घटित भयो । कान्तिपुरको अभिमत पृष्ठको उपल्लो भागमा राजनीतिका ठूला मानिस बाबुरामको ठूलो लेख छापियो । र, उनको लेखमुनि साहित्यको म सानो मानिसको सानो लेख छापियो । उनको लेखको शीर्षक थियो ‘नयाँ कोतपर्व...’ । उनको र मेरो लेखको अभिप्राय लगभग मिल्थ्यो । उनका लेखले मुखर चर्चा पायो, मेरो लेख मौन चर्चामा विलीन भयो ।

प्रधानमन्त्री गिरिजाबाबु थिए । तिनले युवराजलाई पक्राउ गरे । जनयुद्धकारी बाबुराम भूमिगत थिए । ती लालयोद्धा पक्राउ पर्ने कुरै भएन । युवराजको छुट्कारा माग्दै म प्लेकार्ड बोकेर सडक अभियानमा सामेल भएँ । त्यो पक्राउ र त्यो प्रतिकार युवराज र मलाई भावनात्मक रूपले झनै निकट तुल्याउने चुम्बकीय आकर्षण बन्यो । युवराज छुटे । गिरिजाबाबु हिस्स परे ।

दिन बित्दै गए र कान्तिपुर गोरखापत्र हुँदै गयो । कान्तिपुरमा अध्योपान्त एकै भाका, एकै रङ्गमा एउटै कुरा छापिन थाल्यो । दरबार हत्याकाण्डको अपराधी युवराज दीपेन्द्र हो, मात्र दीपेन्द्र । सबै निजामती र जङ्गी ख्वामितले यही बोलीमा लोली मिलाए । अंग्रेजी र संस्कृतका पण्डितहरूले यही लोलीमा बोली मिसाए । विकासे नागरिक समाज यही बोलीको भेलमा लतारियो । मूलधारे सञ्चार आँखा चिम्लेर यही हावामा बग्यो । एकल दीपेन्द्रले होला र ? जिज्ञासा, प्रश्न र सन्देह कहीँ कतै मुखर भएन । असन्तुष्ट र किञ्चित आक्रोशित भावमा मैले ‘भतिज दीपेन्द्र, मलाई माफ गर’ लेखेँ । त्यो भावुक भाकामा एक अकिञ्चनको जिज्ञासा, प्रश्न र सन्देहको अभिव्यक्ति थियो । मानौँ छाप्न मन नलाग्दा नलाग्दै कान्तिपुरमा त्यो छापियो । त्यो जहाँ र जसरी छापियो, त्यसमा सम्पादकीय टेबुलको नग्न उपेक्षा ध्वनित भयो । त्यो विविधा पृष्ठको पुछारमा, सीमान्त कुनामा छापियो । सिरानमा लेखको अर्थको अनर्थ हुने गरी कम्ब्याट ड्रेस लगाएका क्रुद्ध दीपेन्द्रको फोटो छापियो । त्यो मेरो जिज्ञासा, प्रश्न र सन्देह लोकदृष्टिमा पर्नुअघि नै गरिएको अधीर, असहिष्णु र धृष्ट प्रतिवादको द्योतक थियो ।

अनौठो भयो ! दरबार हत्याकाण्डको भ्रान्तिकारी प्रचारबाजीमाझ कान्तिपुरले आफ्नो स्वतन्त्र चेतनाको कान्ति गुमायो ।

केही समयपछि म कान्तिपुरको स्तम्भकार भएँ । कुन्साङ काकाको बेलाको बोलीले मेरो लेखकीय पहिचान र पाठक वृत्तलाई जादूगरी पाराले विस्तार गरिदियो । मैले उत्पीडक वृत्तको मुखर निन्दा र उत्पीडित वृत्तको मौन प्रशंसाको यथेष्ट धन आर्जन गरेँ । खोजीखोजी कान्तिपुरमा ठाउँ र भाउ दिएर मलाई यो धन आर्जन गर्ने अवसर प्रदान गर्ने मित्र युवराज धन्य हुन् ।

युवराजले कान्तिपुर छाडे । कालक्रममा राजतन्त्र ढल्यो । शंकर लामिछानेद्वारा परिभाषित जीवनको प्याजको एउटा पत्र उक्कियो । मैले चिनेका युवराज गायब भए र युवराजभित्रबाट अर्कै युवराज प्रकट भयो । नरेशप्रेमी, हिन्दुत्वका पक्षधर, लोकदृष्टिमा पश्चगामी । युवराज भूपू नरेश ज्ञानेन्द्रको जन्म दिनमा, श्रीमान् कमल थापाको समीपमा, निर्मल निवासमा जब उदाए, म चकित, विस्मित र दु:खित भएँ । हेर्दाहेर्दै, मेरा आँखैअगाडि मानौँ पुलतीभित्रबाट झुसिल्किरो फुत्त बाहिर निस्कियो । पछि युवराज अन्नपूर्णको सम्पादक बने । र, अन्नपूर्ण राप्रपा (थापा) को मुखपत्रजस्तो भयो, जसको द्वार, कसैले भन्यो— मेरालागि बन्द छ । जब हिजोका युवराज रहेनन्, म उनको पूर्वऔतारको मित्रका लागि अन्नपूर्णको द्वार आखिर ंकिन पो खुला रहोस् र ?

अब म जिराफ औतारी बोस नारायण वाग्लेतिर फर्किन्छु । कान्तिपुरको सम्पादकबाट दुई दिनका पाहुना युवराज बिदा भए, र सट्टाभर्ना भए दुई दिनका पाहुना नारायण वाग्ले । स्वभाव र कार्यशैलीमा युवराज र नारायण ठयाक्कै उल्टा ध्रुवजस्ता । मसँगको उठबसमा युवराज सदैव गम्भीर, नारायण सदैव ठट्टयाइला, रमाइला । युवराज योजनाबद्ध, संरचनाबद्ध र स्थितप्रज्ञ, नारायण अरे चलेगावाला, मगनमस्त र चञ्चल । रूपवादी कफीगफ नारायणको चिन्तन, स्वभाव र शैलीको विछट्टको प्रतिविम्बन । यदाकदा म कान्तिपुर जाँदा युवराज सधैँ आफ्नो सम्पादकीय टेबुलसामु काममा घोटिँदै हुन्थे, नारायण सधैँ क्यान्टिनमा गफ दिँदै र गफ लिँदै हुन्थे । मैले नारायणले अड्डाको गाडी चढेर ठाँटबाँट प्रदर्शन गरेको कहिल्यै देखिनँ । मेरा आँखा छलेर अवश्य गर्दा हुन् । ती जिराफ औतारी मानव सडकको पेटीको भीडमा दुई–चार सय मिटर परैबाट देखिन्थे । बसउठ र हिमचिम बढ्दै जाँदा नारायण र मेरोबीचका औपचारिकताका सबै पर्दाहरू च्यातिए । म विनोदी भावमा तिनलाई ‘बोस’ भनेर सम्बोधन गर्न थालेँ, ती ठट्टैठट्टैमा मलाई ‘कुल्ली’ भन्न थाले । तीसँगका विविध र बहुरङ्गी भेटघाट कफीगफदेखि दारुदबासम्म विस्तारित भए । जिन र टनिक तिनलाई जति मन पर्ने, मलाई त्योभन्दा कतिकति बढी मन पर्ने । सार्वजनिक भेलास्थलमा मैले हाकाहाकी प्रेममय उपहास वा कटाक्ष गर्न सक्ने मेरा एक मात्र सार्वजनिक व्यक्तित्वयुक्त मित्र नारायण हुन् । कुन्नि, म पनि उनको त्यस्तो एकल मित्र पो हुँ कि ।

नारायण वाग्लेबारे निजात्मक निबन्ध लेख्न खोजेजस्तो भयो । मैले लेखिरहेको त कान्तिपुरका सम्पादक नारायणबारे पो हो । आफ्नो कमान्डको पत्रिका, त्यसको गुणवत्ता, भविष्य वा नियतिबारे नारायणले खासै चिन्ता गरेको मलाई सम्झना छैन । युवराजले कष्टसाध्य यत्नद्वारा कान्तिपुरको ढाँचा तयार पारेका थिए । त्यही ढाँचामा कान्तिपुर लुखुरलुखुर हिँडिरहयो । नारायण गजक्क परेर झुसे जुँगामा ताउ लगाउँदै सम्पादक भइरहे ।

यदाकदा फाँटवाला बन्धु मेरो स्तम्भमा कैँची चलाएर सम्पादनको नाममा अनर्थ गर्थे । क्रोधयुक्त स्वरमा म सोध्थेँ— नारान्, यो त बाँदरे ताल भो नि । आखिर बाँदरले त बिगार्न मात्र न जान्दछ । नारायण विस्मय प्रकट गर्थे— ए हो र खगेन्दाइ ? मानौँ उनी कान्तिपुरका सम्पादक होइन, दूरस्थ रमिते हुन् । नारायणको कृत्रिमतारहित विनयशीलता र सन्देहरहित निश्छलता मेरा कानमा जब ध्जनित हुन्थ्यो, मेरो आधा झोँक शून्यमा बिलाइहाल्थ्यो ।

जनविद्रोहको धक्काले राजतन्त्रको सिंहासन ढल्यो । लोभ, क्रोध र अहंकारका कीर्तिमानी स्वामी अपुताली राजा ज्ञानेन्द्र कुम्लाकुटुरा बोकाएर वनबास हिँडे । बिदा हुनुअघि ‘आफ्ना पौरखी पुर्खाले छाडिगएको अमूल्य नासोरूपी श्रीपेच’ सुम्पिन ज्ञानेन्द्रले पत्रकार सम्मेलनको नाटक रचे । नाटकले विद्रूप प्रहसनको रूप लियो । सम्मेलनाा पत्रकारहरूको उन्मादी होहल्ला छायो । पत्रकारका मुक्काले टेबुल चर्किए, कुर्सी तोडिए । र, कोलाहलको बीचमा, उपहासमय वातावरणमा स्वर उकास्दै बोलीटोपलेर ज्ञानेन्द्रले पत्रकार सम्मेलन तुरे ।

दम्भ र दर्प,ं दमन र शोषण एवं अन्धविश्वास र रूढिको किल्लारूपी दरबारमा आयोजित विरल र विफल पत्रकार सम्मेलनबारे मैले आफ्नो स्तम्भको नयाँ किस्ता लेखेँ । कान्तिपुरमा त्यो छापिएन । त्यो किन बदर भयो, कृपा गरी मलाई भनिएन । कान्तिपुरमा दरबारी पत्रकार सम्मेलनमा पत्रकारहरूद्वारा प्रदर्शित आचरणको घोर निन्दा गरियो । यसमा कान्तिपुरको र मेरो दृष्टिकोण बाझयो । पत्रकारहरूले आफ्ना पेसागत धर्मविपरीत आचरण गरे । र, तिनले भद्रतासाथ सिंहासनबाट बिदा हुन लागेका राजाको अपमान गरे । सम्भ्रान्त वृत्तको मत यस्तो थियो । त्यही मतमा कान्तिपुरले ल्याप्चे सही धस्कायो । मेरो तर्क फरक थियो । मेरो स्तम्भमा पत्रकारहरूको आचरणको न प्रशंसा थियो न निन्दा । मैले त केवल पीडादायी ऐतिहासिक अनुभवका सन्दर्भमा सानो टिप्पणी गरेको थिएँ । मेरो तर्क थियो— पत्रकारहरूको त्यो आचरण सामन्ती राजतन्त्रद्वारा दमित र अपमानित प्रजाहरूका आहत हृदयमा सञ्चित क्रोध, आक्रोश र पीडाको स्वाभाविक अभिव्यक्ति हो । त्यो त वास्तवमा अपमानबोधको असहय पीडाले पीडकसामु मौकामा चौका हानेको पो हो । र, त्यो पीडित आत्माहरूको पीडा विरेचन अर्थात् पीडा पोखेर मन चङ्गा पार्ने स्वत:स्फूर्त जुक्ति हो ।

मलाई लाग्यो— मेरो स्तम्भको किस्ताको खारेजी सायद कान्तिपुरबाट मेरो स्तम्भको बिदाइको परोक्ष आदेश हो । आदेशको पालना गर्दै स्तम्भबाट म हटेँ । तँ किन हटिस् भनेर बोसले कुल्लीलाई सोधेनन्, यतियति कारणले म हटेँ भनेर कुल्लीले बोसलाई बोध गराएन । नारायण सम्पादक रहिरहे, लेखनीको अस्थायी डेरा त्यागेर म चुपचाप घरतिर हिँडेँ । नारायण मेरा बोस रहेनन्, म नारायणको कुल्ली रहिनँ । तर हाम्रो विरल आत्मीयता भने रहिरहयो ।

अब आए प्रसंगमा सुधीर शर्मा— समयक्रम र उमेर दुवै दृष्टिले कान्तिपुरका कनिष्ट सम्पादक । भूपू सम्पादकको प्रशंसा गर्नुमा कुनै खतरा हुँदैन, कारण ऊ कृपा प्रदान गरी लेखकलाई भुत्ते वा पङ्गु बनाउने हैसियतमा हुँदैन । वागी लेखक जब कृपा ग्रहण गरेर भुत्ते र पंगु बन्छ, उसको कर्तव्य बन्छ भनेको मान्नु र उसको ध्याउन्ना हुन्छ दिएको खानु । नीति वचन ठीकै भन्छ— मृदङ्गो मुख लेपेन करोति मधुर ध्वनिम् । माने के भने मुखमा चट्ट लेप लगाइँदा मादलको अन्तर्यबाट मधुर ध्वनि गुन्जिन्छ । मादलका लागि यो लेप अत्यावश्यक हुन्छ र शोभनीय पनि । तर लेखकका ओठमा जब मधुमय लेप लगाइन्छ, लेखकका रूपमा लेखक सकिन्छ । त्यसैले बहालवाला सम्पादक सुधीर शर्माको प्रशंसा नगर्न म सचेत छु । तर सम्पादक सुधीरबारे पनि आखिर केही त भन्नैपर्‍यो ।


सुन्दर मुखाकृति, मुस्कानमय ओठ, अनारदाने फटिक दाँत, शोभादायी परिधान— सुधीर प्राय: चिटिक्क परेर हिँड्छन् । जब सुधीर सम्पादक बनाइए, मेरो मनमा हत्तेरी, अल्लारे केटो पो सम्पादक बन्यो लौ भन्ने भाव पैदा भएको थियो । त्यो भाव वास्तवमा वृद्धको तरुणलाई अज्ञानी र अपरिपक्व देख्ने अहंकारी मनोविज्ञानको उपज थियो । सुधीर सम्पादक भए, र कान्तिपुर पूर्ववत् सुचारु रहयो । न पुरानो केही घटयो न नयाँ केही थपियो ।

हप्ते तारेखतुल्य स्तम्भबाट निवृत्त भएपछि अलि दिन म चुपचाप बसेँ । त्यो प्रयास र थकानपछिको विश्राम थियो । मलाई विचार सञ्चार गर्न माध्यम चाहियो, गोजेरो भर्न चारो चाहियो । र, म पुन: कान्तिपुर फर्केँ । पहिले स्तम्भधारी डेरावालको औतारमा थिएँ, अब म फाटफुट लेख्ने शरणार्थी भएँ । मेरो पुनरागमबाट सुधीर प्रसन्न भए । यसबीच मैले सुधीरका दुईवटा औतार देखेँ । ‘प्रयोगशाला’ अघिको सरल औतार, ‘प्रयोगशाला’ पछिको षड्यन्त्रको सिद्धान्तधारी जटिल औतार । अघिल्लो निकट र अन्तरङ्ग, पछिल्लो दूरस्थ र औपचारिक । अघिल्लो सहज र सुखकर, पछिल्लो कसोकसो असहज र किञ्चित पीडादायी ।

जब ‘प्रयोगशाला’ पढेँ, मेरो मथिङ्गल हल्लियो । म क्रुद्ध, खिन्न र उद्विग्न भएँ । लाग्यो, विद्रोहको आँधी उठाउने कर्ताहरू साँच्चि नै पूर्णरूपले परचक्रीद्वारा नियन्त्रित, निर्देशित र सञ्चालित हुन् भने सारा नेपालीले सामूहिक आत्महत्या गरे हुन्छ । जो केवल अर्काको इसारामा चल्ने आत्महीन, निजत्वहीन र स्वाभिमानविहीन गोटी हो, यो नरलोकमा उसको अस्तित्व रहनुको औचित्य के ?

यदाकदाका भेटमा मेरा सम्पादक, ‘प्रयोगशाला’ का स्रष्टा, सुधीरसँग जब कुराकानी सुरु हुन्छ, म अकमकिन्छु । के भन्ने के नभन्ने ? सुधीर मेरा वचनको निहितार्थमा कतै षड्यन्त्रको सिद्धान्त पो खोजिबस्लान् कि ? कसोकसो सुधीर र मेरो कुराकानीको बीचमा एक अदृश्य, अभेद्य पर्खाल खडा भएझैँ लाग्छ । र लाग्छ, पर्खालवारिको कुरा पारि सुनिँदैन, पर्खालपारिको कुरा वारि सम्प्रेषण हुँदैन । मेरा यी वचन पढेर हास्य मुद्रामा सुधीर भन्लान्— यो बूढो जटिल छ † वास्तवमा जटिल म होइन, सुधीरको षड्यन्त्रको सिद्धान्त हो ।

ऐतिहासिक दमन र अपमानको अथाह पीडाले चीत्कार गर्दै जब मधेसी र थारू समुदाय समान हक र प्रतिष्ठाको आन्दोलनमा डटे, कान्तिपुर एक रेखीय, एक रङ्गी र एक आयामिक औतारमा प्रकट भयो । मधेसी र थारूको आन्दोलनमा जे भयो, त्यो देखिएन र लेखिएन । जे देखियो र लेखियो, त्यसमा षड्यन्त्रको कल्पित सिद्धान्तको कुरूप रूप प्रकट भयो । आन्दोलनमा एक जना पहाडी मारिँदा, कान्तिपुरका पन्नामा आँसुका धारा बगे, पाँच जना मधेसी वा थारू मरिँदा बगाउनलाई एक थोपो आँसु बाँकी रहेन । जीवनको सबै मूल्य पहाडीलाई प्रदान गरियो, मधेसी र थारूलाई प्रदान गर्न एक पित्को मूल्य बाँकी रहेन । कान्तिपुरका पन्नामा आन्दोलनकारी मधेसी र थारू नेपालका नेपाली देखिएनन् । ती त परचक्रीको इसारामा चल्ने परचक्री पो देखिए । ती आफ्नो मौलिकता र निजत्वसहित अस्तित्ववान् देखिएनन्, ती फगत कतैका प्रभुका प्यादा देखिए । पहाडीको मृत्यु अथाह शोकको विषय बन्यो । विडम्बनावश, मधेसी र थारूको मृत्युमा खुसी मनाइयो ।

आमसञ्चारको कर्म र धर्म वाणीविहीनको वाणी बन्नु हो । र, सीमान्त, वञ्चित र परित्यक्त जनहरूका सपनाका संवाहक बन्नु हो । तर मधेसी र थारू आन्दोलनमा आमसञ्चार सनातनी शासक र सम्भ्रान्तगणको संकीर्ण स्वार्थको खेलौना बन्यो । दुर्भाग्यवश, यसमा कान्तिपुर अपवाद रहेन  ।अनौठो भयो † मधेसी र थारू आन्दोलनमा नश्लीय प्रतिशोधको हुंकारसामु कान्तिपुरले आफ्नो स्वतन्त्र चेतनाको कान्ति गुमायो ।

बस्, यति नै । जब सुधीर भेट हुन्छन्, तिनले मलाई लेख्न आग्रह गर्न बिर्सँदैनन् । अहिले नयाँ औतारका युवराज घिमिरे कान्तिपुरमा छैनन् । धन्न सुधीर छन् र नै मित्र अखण्ड भण्डारीले यो रङ्ग र रसहीन खेस्रा लेख्न मलाई घरीघरी घचघच्याए ।

संग्रौला स्वतन्त्र लेखक हुन् ।

प्रकाशित : फाल्गुन ७, २०७४ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?