कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

कान्तिपुर रजत यात्रा : डाक्टर केसीको झोला

उनी हरेक पटक हाम्रो मुलुकको चिकित्सा क्षेत्रमा सकारात्मक परिवर्तनका लागि स्वच्छ मनले आम नेपालीको खुसीको कामना गर्दै अनशनमा आफ्नो ज्यानको बाजी थाप्छन् । यसैले होला, जति पटक उनी सत्याग्रहमा बस्छन्, त्यति पटक जनताको जित हुन्छ ।
अतुल मिश्र

काठमाडौँ — गत असोज ९ गते सोमबार प्रा.डा. गोविन्द केसीले आफ्नो सम्भावित १२ औं अनशनबारे जानकारी दिन पत्रकार सम्मेलन डाकेका थिए । त्रिवि शिक्षण अस्पतालमा बिहान साढे ११ बजे उनी प्रहरीद्वारा समातिएका सहकर्मीहरू छुटेर आएपछि पत्रकार सम्मेलन सुरु गर्ने भनी पत्रकारहरूसँगै कुरिबसेका थिए । 

कान्तिपुर रजत यात्रा : डाक्टर केसीको झोला

म उनका निरन्तरको अनशन र मागहरूबारे विस्तृत रूपमा लेखेर खाली समयको उपयोग गर्दै थिएँ । किनभने उनले अनशन घोषणा गर्नासाथ म कान्तिपुर अनलाइनमा तुरुन्त पठाउन सक्थें ।

पत्रकारहरूमाझ कानेखुसी पनि जारी थियो । धेरेजसो साथी मलाई सोधिरहेका थिए, ‘दाइ, बूढा आज फेरि अनशन बस्छन् ?’ म औंला चलाउँदै भन्दै पनि थिएँ, ‘अवश्य ।’ ‘होइन दाइ, अहिले बस्यो भने सफल हुन्न । समय उपयुक्त छैन । हरेक कुरा प्रतिकूल छ । बूढालाई यो कुरा राम्ररी थाहा छ । मरिकाटे अनशन बस्दैनन् ।’ म साथीहरूलाई हामी दुईमध्ये को सही हौंला, पर्खौं भनेर फेरि आफ्नो काममा लागेँ ।

डा. केसी अनशन बस्छन् भन्नेमा म शतप्रतिशत विश्वस्त हुनुका पछाडि कारक थियो— पत्रकार सम्मेलनमा उनीछेउको कुर्सीमा राखिएको उनको झोला । यसअघिका अनशन घोषणा सम्मेलनहरूमा उनले साथमा झोला नभएका बेला सरकारलाई पुन: केही समय दिएर अनशन टार्ने गरेको मैले ख्याल गर्दै आएको थिएँ । झोला साथमा भएका बेला उनको अनुहारमा बेग्लै ओज, दृढता देखिन्छ । बडी ल्याङ्वेज नै अर्को हुन्छ ।

पछिल्लो पत्रकार सम्मेलनमा उनीसँगै बसिरहेको मैले झोलातिर संकेत गर्दै मुस्काउँदै भनेँ पनि, ‘आज झोलासहित आउनुभयो ।’ उनले अलिकति हाँस्दै भने, ‘हो ।’ यसो भनिरहँदा उनको अनुहार प्रदीप्त भएको थियो । त्यसभन्दा केहीअघि पनि मैले उनलाई खुसुक्क सोधेको थिएँ, ‘डाक्टर सा’ब, यो झोलामा के बोक्नुहुन्छ ?’

उनले जवाफ फर्काएका थिए, ‘के हुनु ∕ अनशन बसेका बेलाका कागजपत्र, सरकारसँग गरिएका सम्झौता ।’ त्यो झोलामा उनका आइपड र ल्यापटपसमेत हुन्छन् । टुथ ब्रस, पेस्ट, जाडोको मौसममा टोपीसमेत हुन्छन् । अनशन बस्ने बेला मोबाइलको चार्जर राख्न बिर्सिंदैनन् । झोलामा केही पठनीय पुस्तकसमेत बोक्ने गर्छन् । यो झोलामा उनको पहिलो सत्याग्रहदेखिका सबै कथाव्यथाको सँगालो छ ।

२०६९ असार २१ देखि २४ सम्मको चारदिने पहिलो अनशनपछि यो शृंखला १४ औंमा पुगेको छ । यो यात्रा कहाँसम्म जान्छ, कसैले भन्न सक्ने स्थिति छैन । पहिलो अनशनताका राजनीतिक आस्था नभई वरिष्ठताका आधारमा चिकित्साशास्त्र अध्ययन संस्थानमा डिन नियुक्त हुनुपर्नेलगायतका माग राख्दा सरकारले प्रा.डा. कुमुदकुमार काफ्लेलाई नियुक्त गरेको थियो ।

गुणस्तरीय चिकित्सा शिक्षा र सेवाको भरपर्दो र सहज प्रवाहको कुरा आउँदा नै सबैको मनमस्तिष्कमा सामान्य प्यान्ट–सर्ट लगाएका, तालु खुइलिएका, दार्शनिकजस्ता लाग्ने डा. केसीको तस्बिर आउँछ । उनलाई आम नेपालीले चिकित्सा शिक्षा र सेवा क्षेत्रका विकृति, विसंगतिविरुद्घको ब्रान्ड एम्बासडरका रूपमा हेर्न थालेका छन् ।

आफ्ना माग पूरा गर्न चक्काजाम, जनप्रदर्शन, बन्द, हडतालमा अभ्यस्त भएका आम नेपालीले डा. केसीले गान्धीवादी बाटो समाउँदा त्यस्तो भर गरेका थिएनन् । उनको विरोध गर्नेहरू भन्ने गर्थे, ‘खाना नखाई सुतेर सत्तालाई गलाउन सकिँदैन । सत्तालाइ घुँडा टेकाउन शक्तिको शीर्षमा बस्नेको कुर्सी हल्लाउनुपर्छ ।’

पहिलो अनशनलाई त्यसताका समाजका सशक्त केही व्यक्ति, समूह, नेताले ‘नौटंकी’ भन्दै हाँसोमा उडाएका थिए । तर मैले अनशन सुरुआत गर्दादेखि पछिल्लो समयसम्म डा. केसीको हाउभाउमा त्यस्तो फरक देखेको छैन । अनशनताका मैले धेरै पटक उनलाई आँखा बन्द गरेर ध्यानमग्न अवस्थामा देख्ने गरेको छु । छेउमा पुरानो मोबाइलमा गीतालगायतका संस्कृत ग्रन्थका श्लोकहरू मधुरो बजिरहेका हुन्छन् । अनशनले १० दिन कटेर आफू अर्धचेत अवस्थामा पुगे पनि उनको मोबाइलमा त्यस्ता श्लोक बजिरहेकै हुन्छन् ।

धेरै दिनको अनशनले गर्दा बोल्न अप्ठयारो हुने, लरबराउने, बोल्दा रक्तचाप बढ्ने, चक्कर आउने, एक्कासि अनेक परिवर्तन देखिने डा. केसीको बोलीमा गीता श्रवणपछि पुन: एउटा दृढता, शक्ति, आउने गरेको छ । यस्तो लाग्छ, जतिजति अनशनको दिन बढ्छ त्यतित्यति नै उनमा शक्ति थपिन्छ हो । इच्छा शक्तिका धनी डा. केसीले निरन्तर जारी अनशनले मुटुको चाल बिग्रँदा ‘तुरुन्त अनशन तोड्नुस नत्र हामी तपाईंलाई गुमाउनसमेत सक्छौं’ भन्ने चिकित्सकीय चेतावनीलाई समेत सहज रूपमा लिएको मैले देखेको छु । ‘हेर्नोस् अतुलजी, म एक्लै छु । मलाई ज्यानको परवाह छैन । मजस्ता एक सामान्य व्यक्तिको ज्यानले यदि बहुसंख्यक आम नेपालीको गुणस्तरीय, सहज स्वास्थ्य शिक्षा र सेवामा पहुँच स्थापित गर्छ र मुलुकलाई भ्रष्टाचाररहित सुशासनको बाटोमा डोर्‍याउँछ भने म हजार पटक आफ्नो ज्यान देशका लागि दिन तयार छु ।’ डा. केसीले आफ्नो पछिल्लो अनशनमा प्रहरीको नियन्त्रणमा पर्नुभन्दा केही समयअघि भनेका थिए ।

उनी आफ्नो अभियानमा को आउँछ, को आउँदैन, को पन्छिन्छ, कतिखेर सत्याग्रह गर्दा अनुकूल हुन्छ, कति खेर प्रतिकूल, आफ्नो स्वास्थ्य ठीक छ वा छैन, बहावको विपरीत दिशामा बग्ने प्रयास गरौं वा नगरौं आदि कुनै जोडघटाउ, गुणा, भाग गर्दैनन् । धेरैजसो बाहिरी व्यक्ति मात्र नभएर उनको निकटवर्तीले समेत अहिले अनशन गर्नै नहुने भन्ने समयमा समेत उनी अन्न त्याग गर्छन् । सबैले यति बेला अनशन सुरु गर्दा त कसैले केसीको ज्यान जोगाउन सक्दैन भन्दासमेत उनी सत्याग्रहको प्रयास जारी राख्छन् । उनलाई नजिकबाट हेर्नेहरूले उनमा एउटा जिद्दीपना भएको समेत बताउँछन् । तर यसमा सकारात्मक पक्ष के छ भने त्यो जिद्दीपना पछि गएर सही प्रमाणित हुन्छ ।

मात्र कर्ममा विश्वास गर्ने फलको आस नराख्ने भएकाले नै उनी डा.केसी हुन् । जसलाई आफ्नो जित, हार, मान सम्मान, गाली, बेइज्जत, रणनीति, मृत्यु, कसले के भन्ला आदि–आदिसँग कुनै मतलब हुन्न । उनलाई एउटै कुराको माया हुन्छ, सामान्य नेपाली जनताले कसरी सुखपूर्वक, बिरामी मुक्त भएर, आफ्नो क्षमताअनुसारको काम गरेर, सम्मानपूर्वक भ्रष्टाचारमुक्त नेपालमा जीवनयापन गर्लान् । रणनीति नबनाउने, एन्टी करेन्ट हिँड्न सक्ने, आम नेपालीको हृदयको आवाज सुन्ने र मृत्युलाई स्वीकार गरेकाले नै उनी डा.केसी हुन् । सामान्य व्यक्तिभन्दा पृथक् छैनन् केसी, उनमा आम नेपालीजस्तै दया, माया, करुणा, रिस, आँसुु, हाँसोसमेत मैले देखेको छु । उनी पृथक् छैनन् ।


कोक, मोफिन डा. केसी औधि रुचाउँछन् । अनशन शस्नुभन्दा केही समयअघि धेरै पटक उनलाई कोक खाइरहेको समेत देखेको छु । शिक्षण अस्पतालको सानो क्यान्टिनको बेन्चमा बसेर उनीसँग कति पटक मैले नै चिया र डुनोट खाएको छु । डा. केसी आफ्ना लागि अति थोरै खर्च गर्छन् । उनले १०–१२ हजार रुपैयाँमा महिना टार्छन् । उनको केही नजिकका र माया गर्ने चेलाहरूकै शब्दमा भन्ने हो भने, ‘सर आफूमा पैसो खर्च गर्न अति कन्जुस्याइँ गर्नुहुन्छ ।’

यो कन्जुसी आफ्ना लागि मात्र हो । सप्तरीको कञ्चनरूप जानुपर्दा हवाईजहाजमा धेरै खर्च लाग्ने भएकाले उनले एक हजार रुपैयाँमै पाइने माइक्रोको टिकट लिन जिद्दी गरेका थिए । तर स्वास्थ्यको जटिलताले गर्दा उनलाई हवाइजहाजमा जान बाध्य पारिएको समेत मलाई सम्झना छ । अझ कञ्चनरूपमा उनले स्वास्थ्य शिविरमा आउनेहरूका लागि केही लुगाफाटा किन्दा चाहिँ उनको स्वभाव नै परिवर्तित थियो । यहाँ कन्जुसी देखिएन । ‘होइन, अलि बलिया, राम्रा लुगाफाटा देखाउनुस् न,’ उनी पसलेलाई भन्दै थिए । अनशनमा रहेका बेला कुरा गर्दागर्दै ‘ठूला नेताको चाला’ देखेर उनी भक्कानिएको मैले देखेको छु । अर्कातिर, कञ्चनरूपको स्वास्थ्य शिविरमा बाढीपीडित बालबालिकासँग जिस्किँदै हाँस्दै तिनको उपचार गरिरहेको समेत देखेको छु ।

डा. केसीले आफ्नो ११ औं अनशनलाई २३ औं दिनमा स्थगन गरेका थिए, बाढीपहिरोले मुलुकवासीलाई सताउन थालेपछि । त्यसको नवौं दिन त उनी स्वयं बाढी प्रभावित सप्तरीको कञ्चनरूप पुगिसकेका थिए र दलित बस्तीलाई लक्ष्य गरेर आफ्नै खर्चमा स्वास्थ्य शिविर चलाएका थिए । अनशन तोडेलगत्तै, हातमा क्यानुला लगाई राखिएकै अवस्थामा, टिनले छाएको सानो कोठामा, अत्यधिक गर्मीका कारण अनुहारबाट अविरल बगिरहेको पसिना पुछ्दै सहज भावले सर्वसाधारणको उपचार गरिरहेका डा. केसीलाई हेर्दा उनी कुनै तापक्रम नियन्त्रित कोठामा सुविधासम्पन्न स्थितिमा बसेर बिरामी जाँचिरहेको भान हुन्थ्यो । गर्मीका कारण उनको शरीरमा प्रभाव अर्थात् अत्यधिक पसिना देखिए पनि अनुहारको निश्छलतालाई त्यसले छुन सकेको थिएन ।

उनी आचार–व्यवहारमा सामान्य व्यक्तिभन्दा छन् र यो बाल्यकालदेखि नै अंकुराउन थालेको थियो । उनले एक चोटि आफ्नो बाल्यकाल सम्भँmदै सुनाएका थिए, ‘भोगटेको रूखमा गुँड बनाएको फिस्टे चरा पातमा बसेर चारैतिर हेर्दै थियो । मैले गुलेलीले निसाना लगाएँ । चरो भुइँमा खसेर ठहरै मर्‍यो । मलाई निकै दिनसम्म पश्चात्ताप भयो । अहिले पनि आठ वर्षको हुँदा गरेको त्यो बिझाइँ सम्भिँmदा आङ सिरिंग हुन्छ । त्यसपछि म कहिल्यै गुलेली छोइनँ, चराचुरुंगी मार्नु त परको कुरा ।’ उनमा अहिंसाप्रति विश्वास त्यही बेलादेखि हुन थालेको हो । त्यही विन्दुबाट अन्तत: उनी सत्याग्रहको सहारामा देशमा क्रान्ति गर्ने अभियानमा लागेका हुन् । बाटो बन्द, धर्ना, शक्ति प्रदर्शन आदि लट्ठीको बलले संघर्ष गर्दा मात्र सत्ताले सुन्ने बानी परेको मुलुकमा उनले अहिंसा, सत्याग्रह, अनशनका माध्यमले समेत परिवर्तन हुन सक्छ भन्ने विश्वास स्थापित गरेका छन् ।

डा. केसीले बारम्बार भन्दै आएका छन्— नेपाली राजनीतिमा गैरजिम्मेवारी, अपराध, भ्रष्टाचार, दण्डहीनता संस्थागत भइसकेकाले र नेताहरूले ‘पावर हङ्ग्री’ भएर जनआवाज सुन्न छाडेकाले मुलुक यस्तो अवस्थामा पुगेको हो । उनी भन्छन्, ‘सरकार चलाउन नेता चाहिन्छन् नै, तर धेरैजसो कालाबजारी, मेडिकल माफिया र भ्रष्टहरूका सुरक्षाकवच बनेका छन् । अर्थलोलुपताले तिनलाई तीन करोड नेपालीको चिन्ता नलिने बनाएको छ । जनता मरुन् कि बाँचून्, तिनर्ला मतलब छैन, खालि उनीहरूको काम हुनुपर्‍यो । अन्य क्षेत्र जस्तै चिकित्सा क्षेत्र पनि यही भएर बिग्रिएको हो । नेताहरूलाई जुनसुकै सर्तमा कमाउनु छ ।’

सरकार गैरजिम्मेवार देखिए यसको ओखती पनि डा.केसीसँग छ, ‘नेपाली जनताले उनीहरू (सत्ता) लाई जनताको सेवाका लागि हो भन्ने बुझ्न बाध्य बनाउनुपर्छ । स्वस्थ भएर जिउन पाउनुपर्ने अधिकार जनताको हो । यस्तै अधिकार सुरक्षित गर्न सरकार बनेको हुन्छ । तर सरकारले नै आमजनताको बेवास्ता गर्न लागे तिनलाई सत्ताको भर्‍याङ चढाउने हामी जनता जाग्नुपर्छ । जनता जागे कसैको केही चल्दैन ।’ डा. केसीको निरन्तरको सत्याग्रहले मुलुकभरि ‘चिकित्सा शिक्षा’ मा अत्यधिक बेथिति रहेको जनचेतना जगाएको छ । मुलुकमा भएका निजी मेडिकल कलेज ‘मनी माइन्डेड’ छन् र उनीहरूलाई गुणस्तरसँग कुनै मतलब नरहेको अवस्था उनकै अभियनका कारण आमजनतामाझ छताछुल्ल भएको हो । निजी क्षेत्रका मेडिकल कलेजको गुणस्तरमा जुन मनमानी किसिमले ह्रास आउने सम्भावना देखिएको थियो, उनकै पहलले गर्दा त्यसमा धेरै कमी आइसकेको छ । मेडिकल शिक्षाको शुल्कसमेत केही हदसम्म एउटा दायरामा आउन पाएको छ । चिकित्सा शिक्षामा नि:शुल्क स्नातकोत्तरको अवस्था सिर्जना गर्दा यो वर्षदेखि करिब दुई सय विशेषज्ञ चिकित्सकलाई मुलुकको जुनसुकै ठाउँमा परिचालन गर्न सकिने अवस्था आएको छ ।

केसीको सत्याग्रहले जस्तोसुकै शक्तिशाली ठाउँमा भएको व्यक्तिले कुनै गलत काम गरेको भए पनि त्यसबारे आवाज उठाउनैपर्छ भन्ने चेतना जनतामा जगाएको छ । अख्तियारका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीविरुद्घको उनको सत्याग्रहलाई यसको उदाहरणका रूपमा लिन सकिन्छ । हाल अदालतमा भएका विकृति–विसंगतिविरुद्घ उनले लडाइँ सुरु गखेका छन् । अख्तियार, न्यायपालिका लगायत राज्यका संवैधानिक निकायहरूलाई जवाफदेही बनाउनुपर्ने अवस्था पनि उनकै सत्याग्रहले ल्याएको हो ।

उनी हरेक पटक मुलुकमा सकारात्मक परिवर्तनका लागि, स्वच्छ मनले आम नेपालीको खुसीको कामना गर्दै आफ्नो ज्यानको बाजी थाप्छन् । यसैले होला, उनी जति पटक सत्याग्रहमा बस्छन्, त्यति पटक जनताको जित हुन्छ ।

मिश्र कान्तिपुरका स्वास्थ्य संवाददाता हुन् ।

प्रकाशित : फाल्गुन ७, २०७४ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?