कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

कान्तिपुर रजत यात्रा : कान्तिपुरको ‘तिमी’ 

अखण्ड भण्डारी

काठमाडौँ — समाचारमा ठूलालाई ‘तपाईं’ र सानालाई ‘तिमी’ छापिन्थ्यो । यस्तो विभेद हटाउने अहिले पहिल्यै टुंगोमा पुगे पनि राजालाई ‘बक्स्यो’ लेख्नैपर्ने अवस्था थियो । अनि, लोकतन्त्र आएकै दिन साइत जुराइयो राजादेखि सर्वसाधारणसम्मलाई एउटै आदर ‘तिमी’ लेख्न । 

कान्तिपुर रजत यात्रा : कान्तिपुरको ‘तिमी’ 

गत साउन १४ गते एमाले अध्यक्ष केपी ओलीसँग अन्तर्वार्ता लिनु थियो । कुराकानी सकेर छुट्ने बेला केहीबेर मिडियाबारे गफगाफ चल्यो । प्रसंग कान्तिपुरको भाषामा ठोक्कियो ।

‘एउटा कुरा मलाई फिटिक्कै चित्त बुझेको छैन,’ ओलीले गुनासो गरे, ‘राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र अन्य विशिष्ट व्यक्तिहरूलाई ‘तिमी’ भन्ने अधिकार कान्तिपुरलाई कसले दियो ? कान्तिपुरले चाहिँ अरूलाई आदर गर्नु पर्दैन ? सबैभन्दा ठूलो हो कान्तिपुर ?’

बालकृष्ण बस्नेतले मतिर देखाउँदै भने, ‘उहाँ नै हो कान्तिपुरको भाषाशैली हेर्ने ।’

ओलीको औंलो मतिर सोझियो । उनले उत्तर नदिई ढिम्किनै दिएनन्, ‘लु भन्नुहोस्, देशको सबैभन्दा ठूलो मिडियाले भाषामार्फत कसैलाई अपमान गर्न पाउँछ ? कान्तिपुरले जे लेख्यो, सबैले त्यसैलाई ठीक ठान्छन् । उसैले आदर बिगार्ने छुट कहाँबाट पायो ?’

साहित्यकार दधिराज सुवेदीको चित्तदुखाइ त्यसमै थियो । ‘हामी बुवाआमालाई तपाईं भन्छौं । श्रीमतीलाई तिमी भन्छौं । छोराछोरीलाई तँ भनेर बोलाउँछौं । हाम्रा दर्जाअनुसार तीनथरी आदरार्थी छन्,’ माघ ५ गते विराटनगरमा आयोजित कान्तिपुरको अन्तरक्रियामा उनले भने, ‘कान्तिपुरले सबैलाई तिमी के आधारमा भनिरहेको छ ? भाषाकोशबाटै दुईथरी आदरार्थी गायब गराएर सम्मान गर्नुपर्ने व्यक्तिहरूलाई हेप्न पाइन्छ ?’ प्राज्ञ सुवेदीले यति कडा आपत्ति जनाए कि, पछि अनौपचारिक कुराकानीमा कडै कुरा गरे, ‘अदालत कोही गयो भने यसमा त मुद्दासमेत लाग्न सक्छ ।’

***


२०५७ जेठ– म कान्तिपुरभित्र जागिर खाने अन्तर्वार्तामा घेरिएको थिएँ । व्यवस्थापन र सम्पादनको जम्बो टोलीले प्रश्न सोध्यो, ‘तपाईं के गर्न सक्नुहुन्छ ?’ ‘राम्ररी सम्पादन गर्न,’ मैले भनें ।


मेरो आवेदनको फाइल फरर पल्टाएपछि उताबाट प्रश्न आयो, ‘हामीले कसरी पत्याउनु ?’

म मोफसलमा पत्रकारिता गरेर सोझै काठमाडौं आएको व्यक्ति । सबैभन्दा ठूलो दैनिक पत्रिकाको सम्पादन गर्ने, त्यो पनि ‘राम्ररी’, सायद विश्वास लागेन । मैले भने त्यही दिन छापिएको कान्तिपुरको प्रथम पृष्ठ सम्पादन गरेर झोलामा बोकेको थिएँ । रातो मसीले दर्जनौं ठाउँमा त्रुटि र राम्रो गर्न सकिने कुरा औंल्याएको थिएँ । झिकेर त्यही अघि सारिदिएँ । पत्रिका राउन्ड टेबलमा फनफन घुम्यो । केही मिनेट सन्नाटा छायो । मेरो मनमा डर बढयो, ‘बुद्धि बिगारेर आउन लागेको जागिर उम्काएँजस्तो छ ।’

परिणाम ठीक उल्टो आयो । मलाई विशेष खाले समाचार विशेषै ढंगले सम्पादन गर्न ‘कपी एडिटिङ’ शाखा स्थापना गरेर त्यसको प्रमुख बनाइयो । र, भाषा र सम्पादनमा मैले निर्धक्क प्रयोगहरू गर्न थालें । यसले अवसर र चुनौती दुवै दियो । ‘नारायण वाग्ले स्कुलिङ’ सरल, सरस र मितव्ययी भाषाकेन्द्रित थियो । हाम्रो टिमले त्यसमा होस्टे–हैंसे गथ्र्यो ।

मैले त्यहाँबाट रात्रि डेस्क हुँदै सिंगै समाचार डेस्कको जब नेतृत्व गरें, भाषाको मूल अभिभारा मेरै काँधमा आइलाग्यो । डयुटी सम्हाल्दै त्रुटिहरू बटुलेर म ‘समाचारको भाषा’ नामक पुस्तकका पाना एकातिर थपिरहेको थिएँ, अर्कातिर ती खोज कान्तिपुरमा उपयोग गरिरहेको थिएँ ।

२०६१/६२ तिरको कुरा हो । कान्तिपुरमा छापिएको एउटा समाचारले मन कुँडियो । एक पौरखी दलितले आफ्नै खर्चमा बाटो बनाएका थिए । मन्त्री उद्घाटन गर्न पुगेका थिए । कान्तिपुरमा छापियो... ‘मन्त्रीले उद्घाटन गर्नुभयो’, ‘बाटो फलानाले बनाएका हुन् ।’

मेरो ब्रह्मले भन्यो, यो भेदभावको पराकाष्ठा हो । मैले सम्पादन समूहमा उदाहरणसहित प्रसंग उठाएँ । हामीले अन्य समाचारमा पनि हेर्‍यौं । वास्तवमा नजानी–नजानी हामीभित्रको ‘वर्ग–विभेद’ आदरार्थी भेदभावमार्फत पत्रिकामा छापिँदो रहेछ ।


पदीय एवं प्रतिष्ठीय औकात भएकालाई ‘तपाईं’ सर्वसाधारणलाई ‘तिमी’ अनौपचारिक र फिचर लेखनमा ‘तिमी’ मिडियाका नजरमा सबै समान हुनुपर्ने होइन र ? किन हामी मान्छे हेरी आदरका प्रकार छुटयाइरहेका छौं ? छलफल विभिन्न कोणबाट भए । अन्य भाषाका इतिहास र प्रयोग कोटयाइए ।


प्राचीन अंग्रेजीमा पनि दर्जाअनुसारका आदर थिए । औपचारिक र अनौपचारिक आदरार्थी सम्बोधन थिए । सेक्सपियरका सोनेटहरूमा दाउ (thou), दी (thee), दाई (thy), दाइन (thine), ये (ye) जस्ता शब्द पढ्न पाइन्छन् । यी आदरार्थी र तिनका वचनजन्य विविधता झल्काउने शब्द हुन् । अहिले अंग्रेजहरूले एउटै शब्द यु (you) प्रयोगमा ल्याउँछन् । राष्ट्रपतिदेखि सडकमा बस्नेसम्मलाई ।

हामी निचोडमा पुग्यौं— हाम्रो सम्बोधनमा पनि अब भेदभाव हटाउनैपर्छ । एक मित्रले प्रस्ताव राखे, ‘उसो भए सबैलाई तपाईं लेखौं ।’ त्यसो गर्दा फलानाले ‘चोर्नुभयो’, बलात्कारको अभियोगमा फलाना ‘पक्राउ पर्नुभयो’ जस्ता वाक्यगठन बन्ने भए । त्यो पनि अस्वीकृत भयो । ‘तिमी’ ले जुन मिठास र अनौपचारिकता प्रदान गथ्र्यो, ‘तपाईं’ मा त्यो तागत पाइएन । त्यसैले सबैलाई ‘तिमी’ वाचक सम्बोधन गर्ने निचोडमा पुगियो । तर, गाँठो भेटियो– राजामा । राजालाई ‘बक्सियो’ लेख्नुपथ्र्यो । ‘तिमी’ मा झार्ने हिम्मत कसको हुनु ? अनि, राजालाई छाडेर अरूलाई ‘समान’ ठान्नु झन् न्यायसंगत मानिएन । प्रस्ताव विचाराधीन अवस्थामा स्थगन गरियो । फेरि ‘तपाईं’ र ‘तिमी’ छयासमिस चलिरहयो ।

२०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले शासनको सम्पूर्ण बागडोर जनतामा सुम्पिए । त्यस दिनदेखि उनी पनि ‘जनता’ सरह भए । त्यो ऐतिहासिक दिनका सामग्रीलाई ऐतिहासिकै र पृथक् ढंगले प्रस्तुत गर्दै आकर्षक पत्रिका तयार पार्न हाम्रो बैठक बस्यो । मास्टहेड (पत्रिकाको नाम) भन्दा माथि ‘जनताको जित’ रातो अक्षरमा लेख्ने निर्णय भयो । त्यही क्रममा अचानक पुरानो प्रस्तावको याद आयो ।

‘अब त ज्ञानेन्द्रलाई पनि तिमी भन्न पाइनुपर्ने हो, आजै सुरु गर्ने कि ?’ मैले कुरो उप्काएँ । तुरुन्तै सर्वसम्मत पारित भयो । हामीले निर्णय गर्दा सम्पादक नारायण वाग्ले उपस्थित थिए कि थिएनन्, मैले भुलें । तर, यतिचाहिँ हो— अत्यन्त छिटो, छोटो र सानो समूहको छलफलमा हामी निचोडमा पुग्यौं ।

र, २ सय ४० वर्षे इतिहासको राजतन्त्र पतनसँगै कान्तिपुरबाट ‘बक्सियो’ पतन भयो । त्यससँगै पद र प्रतिष्ठाका नाममा भाषामा भएको भेदभाव समाप्त भयो । सबैलाई एउटै शब्द ‘तिमी’ लेख्न थालियो ।

ज्ञानेन्द्र शाहको सम्बोधनको समाचारबाट ।

त्यसैले, लोकतन्त्रको देन, लोकतान्त्रिक आदरार्थी हो— ‘तिमी ।’

भाषिक भेदभावविरुद्ध कदम, समानताको साइनो हो— ‘तिमी ।’

मैले यो आलेख तयारीका क्रममा कान्तिपुरका उसबेलाका अंक पल्टाएँ । अभ्यस्त नभएकाले त्यसमा केही चिप्लिएका छन् । कसैलाई ‘बताए’, कसैलाई ‘बताउनुभयो’ परिरहेकै रहेछ । हामीलाई ‘तिमी’ शैलीमा पूरापूर ढाल्न एक महिनाभन्दा बढी लागेको, फर्किएर हेर्दा देखियो । केही समय कुनैमा ‘तिमी’, कुनैमा ‘तपाईं’ मिसमास पाइयो ।

अब कान्तिपुरको शैली— सबैलाई ‘तिमी’ तर कसैको प्रत्यक्ष उद्धरणमा जसरी बोलेको छ, उसरी नै । उदाहरणका लागि— देउवाले भने, ‘प्रचण्डजी मसँग सम्पर्कमै हुनुहुन्छ । उहाँसँग अप्रत्यक्ष वार्ता भइरहेको छ ।’

***

‘तर, सबैले पदको सम्मान गर्नुपर्छ,’ एमाले अध्यक्ष ओली र प्राज्ञ सुवेदी दुवैले जिकिर गरे, ‘राज्यले मान्यता दिएका व्यक्तित्वलाई सर्वसाधारणकै हाराहारी राख्नु हुँदैन । सम्मान त उसको पद र औकातले पाउने हो ।’

सुवेदीको तर्क नाजायज होइन । तर, कान्तिपुरको निचोड हो—

मिडियाका नजरमा कोही बुवा होइनन्

कोही श्रीमती होइनन्

बालबच्चा पनि कोही होइनन्

सबै समान हुन् । ठूला–साना पदले होइन, कामले बन्ने हुन् । त्यसमा शब्दको ‘आदर’ होइन, समाचारको प्राथमिकताले न्याय गर्ने हो ।

त्यसैले भाषामा मात्र होइन, समाचारमा

पनि कान्तिपुरले पदलाई प्राथमिकता दिने परम्परा क्रमश: तोडयो ।

***

न कुनै कानुन, न कुनै नियम— पहिल्यैदेखि राजाका सानातिना क्रियाकलाप पनि पत्रिकाको माथिल्लो बायाँ कुनामा छापिन्थे । अनिवार्य । कुनै विदेशी राजदूतको ओहोदाको प्रमाणपत्र बुझेको होस् वा कसैको जन्मदिनमा पुगेको नै किन नहोस्— ठाउँ त्यहीं पाउँथे ।

सम्पादक युवराज घिमिरे थिए । म रात्रि डेस्कमा काम गर्थें । एक दिन हाम्रो टिममा जिकिर गरें, ‘राजाको आजको समाचार खासै गतिलो होइन, अलि तल छापौं ।’ मित्रहरूले ‘मिल्दैन’ भने । सम्पादकलाई फोन गरेर सोध्ने निचोडमा पुगियो ।

‘ठीक छ,’ युवराज दाइको उत्तर आयो, ‘गरौं–गरौं ।’

अर्कोपल्ट (केही दिनमै) भित्री पृष्ठमा धकेलियो । कतैबाट कुनै सिकायत आएन । अघोषित ढंगले चलिरहेको मिडियाको ‘सम्मान पालना’ क्रमश: समानतातिर अघि बढयो ।

त्यही प्रयोगकै क्रममा बोक्सीको आरोपमा मलमूत्र खुवाइएकी महोत्तरीकी मरनीदेवी प्रथम पृष्ठमा मुख्य समाचार बनिन् ।

भाषा पनि त्यसरी नै बन्दै गएको हो ।

***

कान्तिपुरले भाषामा धेरै प्रयोग गरेको छ ।

प्राय:ले लेख्छन्— सानी आएकी छिन् ।

हामी लेख्छौं— सानी आएकी छन् ।

प्राय:ले लेख्छन्— आकाशमा हजारौं ताराहरू रहेका छन् ।

हामी लेख्छौं— आकाशमा हजारौं तारा छन् ।

प्राय:ले लेख्छन्— विगत पाँच वर्षदेखि हुँदै आइरहेको छ ।

हामी लेख्छौं— पाँच वर्षदेखि हुँदै आएको छ ।

केही वर्षअघि नेपाली भाषाको खासगरी आगन्तुक शब्द प्रयोगमा दुईखाले विवाद चर्कियो । एउटा अति अग्रगामी, अर्को अति पश्चगामी । कान्तिपुरले दुवै लहडलाई साथ दिएन ।

यद्यपि नयाँ जे–जे गरिन्छन्, गुनासा र जिज्ञासा सुनिएकै हुन्छन् । तर, सबैभन्दा धेरै गरिने प्रश्न उही हो, ‘कान्तिपुरले किन सबैलाई तिमी भन्छ ?’

उक्त प्रश्न गर्नेमा कहिल्यै–कहीं ‘सर्वसाधारण’ भने भेटिएका छैनन् । किनकि, अरूलाई ‘तपाईं’ भनेर तिनलाई प्राय:ले ‘तिमी’ भन्दै आएका छन् ।

कान्तिपुरले त्यसो गर्न छोडिदिएको मात्रै हो ।

भण्डारी कान्तिपुरका सिर्जनशील संयोजक हुन् ।

प्रकाशित : फाल्गुन ७, २०७४ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?