१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

यस्ता छन् काठमाडौंको मुख्य सुरक्षा चुनौती  

जनकराज सापकोटा

काठमाडौँ — काठमाडौंका दैनिक कति अपराधजन्य घटनाहरु होलान? ती मध्ये कतिको उजुरी प्रहरी कहाँ पर्ला? प्रहरी परिसर काठमाडौंमा मात्रै पछिल्ला तीन महिनामा १३ सय ९६ उजुरी दर्ता भएका छन् ।

यस्ता छन् काठमाडौंको मुख्य सुरक्षा चुनौती  

तथ्यांकलाई केलाउँदा काठमाडौंमा दैनिक औसतमा १६ वटा उजुरी प्रहरी कहाँ दर्ता भएको देखिन्छ । जसमध्ये सार्वजनिक अपराध सम्बन्धी मुद्दाको संख्या सबैभन्दा उच्च रहेको छ ।


मंसिरमा मात्रै विभिन्न प्रकृतिका ३ सय ९७ मुद्दा काठमाडौं प्रहरी परिसरमा दर्ता भएका देखिन्छ । पुसमा ४ सय ५७ र माघमा ५ सय ४२ मुद्दा दर्ता भएका छन् । जसमध्ये मंसिरमा २ सय ३५, पुसमा २ सय ५६ र माघमा २ सय ८९ सार्वजनिक अपराध सम्बन्धी मुद्दा दर्ता भएका छन् । पछिल्ला तीन महिनामा बैंकिक कसुर सम्बन्धी मुद्दा दर्ताको संख्यामा उल्लेख्य बृद्धी भएको देखिन्छ ।


मंसिरमा बैंकिक कसुर सम्बन्धी ८ वटा मुद्दा दर्ता भएकोमा पुसमा यसको संख्या बढेर २२ पुगेको छ भने माघमा यो संख्या दोब्बर भन्दा धेरै भएर ४९ पुगेको छ । तीन महिनामा काठमाडौंमा ठगी सम्बन्धी ४४ वटा मुद्दा दर्ता भएका छन् भने १६ वटा विद्युतीय कारोवार सम्बन्धी मुद्दा दर्ता भएका छन् ।



पछिल्ला तीन महिनामा काठमाडौंमा लागु औषध र जवर्जस्ती करणी सम्बन्धी मुद्दाको संख्यामा उल्लेख्य मात्रामा वृद्धी भएको छ । प्रहरीका अनुसार मंसिर यताको तीन महिनामा मात्रै ७२ वटा लागु औषध सम्बन्धी मुद्दा दर्ता भएका छन् भने जर्बजस्ती करणीका ३९ मुद्दा दर्ता भएका छन् । मंसिरमा लागु औषध सम्बन्धी २६ वटा मुद्दा दर्ता भएका थिए भने यो संख्या माघमा २७ पुगेको छ । त्यस्तै जबर्जस्ती करणी सम्बन्धी ११ वटा मुद्दा मंसिरमा दर्ता भएका थिए भने यसको संख्या माघमा बढेर १९ पुगेको छ ।


प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोख्रेलले काठमाडौं जिल्लामा अपराधजन्य गतिविधि घटाउन प्रहरीले नगरवासीसँग समन्वयका साथ नयाँ सुरक्षा योजना लागु गरिने बताए । उनले प्रभावकारी सुचना संकलनको अभावमा अपराधका घटनाहरु बढेको भन्दै सुचना संकलनका निम्ति जनस्तरबाटै करिब दुई सय जनाको गोप्य दस्ता खडा गरिन लागेको बताए ।


एसएसपी पोख्रेलका अनुसार काठमाडौंका विभिन्न पेशा र व्यवसायमा संग्लन दुई सय नागरिकले आफुले देखेका घटनाबारे प्रहरीलाई गोप्य रुपमा जानकारी गराउनेछन् । उनले प्रहरीको व्यवहारका सम्बन्धमा भए गरेका गुनासोलाई तत्काल सम्बोधन गरिने र प्रहरीको आचरण सुधारमा कुनै कसुर बाँकी नराखिने पनि बताए ।


एसएसपी पोख्रेलले काठमाडौंमा प्रहरीको जनस्तरसँगको सम्बन्ध बलियो बनाउनका निम्ति सार्वजनिक सुनवाई कार्यक्रम सुरु गरिसकेका छन् । उनले तीन स्थानका जनतासँग त्यस्तो संवाद गरिसकेको बताउँदै थप ४० स्थानमा त्यसलाई निरन्तरता दिईने बताए ।

प्रकाशित : फाल्गुन १३, २०७४ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?