१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

काँचुली फेर्ने ताकमा ऐतिहासिक सिंजा

गणेश राई, एलपी देवकोटा

जुम्ला — खस भाषाको उद्गम थलो सिंजा गाउँपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेपछि स्थानीयवासीमा नयाँ आशा जागेको छ । स्थानीय सरकार मातहतमा विद्यालय तहको सम्पूर्ण व्यवस्था जिम्मेवारी आएसँगै जनप्रतिनिधिले सिंजाको सामुदायिक विद्यालयहरुको प्रवर्द्धन नीति लिएकाले नयाँ आधार मिलेको हो ।

काँचुली फेर्ने ताकमा ऐतिहासिक सिंजा

‘हामी फरक फरक पार्टीबाट जनप्रतिनिधि बनेका छौं,’ सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावल भन्छन्, ‘मप्रति सबै जनप्रतिनिधिहरु विश्वस्त हुनुहुन्छ र म पनि उहाँहरुप्रति विश्वस्त छु । एकतावद्ध भएर सिंजाको शिक्षाका निम्ति नीति, योजना निर्माण गरेका छौं ।’ अध्यक्ष रावल कांग्रेस, उपाध्यक्ष जन्मकन्या खत्री एमाले तथा ६ वडाध्यक्षहरु एमाले, नेपाल मजदुर किसान पार्टी, कांग्रेस र माओवादी केन्द्रबाट निर्वाचित छन् ।


‘हामीले सर्वसाधारण जनताको शिक्षालाई पहिलो प्राथमिकतामा राखेका छौं,’ समस्याको चाङ धेरै ठूलो रहेको उल्लेख गर्दै गाउँपालिका अध्यक्ष रावल भन्छन्, ‘खस नेपाली भाषाको उद्गम स्थल यस ऐतिहासिक सिंजा गाउँपालिका क्षेत्रका विद्यालयहरुमा स्थानीय खस भाषामा अध्ययन अध्यापन गर्नेतर्फ आवश्यक पहल गर्नेछौं ।’


गाउँपालिकाले चालू आर्थिक वर्षमा छुट्टिएर आएको नियमित बजेटमा थप १ करोड ९७ लाख रुपैयाँ रकम विनियोजन गरेको छ । यस गाउँपालिकामा २२ वटा सामुदायिक विद्यालय र दुई वटा बोर्डिङ स्कुल छन् । गाउँपालिकाले सबैको पहुँच पुर्‍याउने उद्देश्यसहित सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकास तथा शैक्षिक गुणस्तर सुधारमा जोड दिएको छ । यस पटक विद्यार्थी भर्ना बोर्डिङ छाडेर सामुदायिकमा भर्ना हुन आएका भैरव मावि नराकोट सिंजाका शिक्षक देवराज धितालले बताए ।

गाउँपालिकाले सिंजामा विद्यालय शिक्षासम्बन्धी कार्यक्रम गरी १७ बुँदे ‘विद्यालय शान्ति क्षेत्रका लागि अपिल तथा प्रतिवद्धता’ जारी गरेको छ । जुम्लाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद गजेन्द्रबहादुर महतको उपस्थितिमा सम्पन्न कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि तथा सामाजिक कार्यकर्ताले संयुक्त रुपमा हस्ताक्षर गरी प्रतिबद्धता जारी गरेका हुन् ।


‘विद्यालय शान्ति क्षेत्रको भावनालाई पालना गर्दै यस सिंजा गाउँपालिकाका सम्पूर्ण विद्यालयलाई सशस्त्र गतिविधि, विभिन्न हिंसा, दलगत राजनीतिक हस्तक्षेप, भेदभाव, दुव्र्यवहार, बेवास्ता र शोषणबाट मुक्त राख्दै,’ संयुक्त हस्ताक्षर गरी सार्वजनिक गरिएको पत्रमा छ, ‘बालअधिकारको संरक्षण तथा बालबालिकाको गुणस्तरीय शिक्षा प्राप्तिको अधिकार सुनिश्चित गर्न यो अपील तथा प्रतिबद्धता जारी गरेका छौं । र, सम्पूर्ण जनप्रतिनिधिहरु स्थानीय तहको शैक्षिक विकासका गतिविधिमा पूर्ण रुपमा जवाफदेही हुनेछौं ।’


विद्यालयमा कुनै पनि किसिमको भेद्‌भाव नगर्न, नगराउन आह्वान गरिएको छ । ‘हामीले यसरी हस्ताक्षर गरेर सार्वजनिक गरे पनि समाजमा छुवाछुत कायमै छ,’ कार्यक्रममा सहभागी एक दलित सदस्यले भने, ‘विद्यालयमा मात्र होइन अब समाजमा पनि छुवाछुत मुक्त गर्न जरुरी छ ।’


त्यसैगरी निर्वाचन तथा अन्य प्रजातान्त्रिक प्रक्रियाबारे जानकारी तथा सुसूचित हुन पाउने बालबालिकाको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ । ‘राजनीतिक प्रयोजनका निम्ति राजनीतिक दल वा उम्मेदवारले शिक्षकलाई प्रयोग र परिचालन नगरौं,’ विद्यालय शान्ति क्षेत्रका निम्ति कानुन बनाई कार्यान्वयन गर्ने उल्लेख गर्दै अपिलपत्रमा छ, ‘सम्पूर्ण शिक्षकलाई विद्यालय समयमा राजनीतिक गतिविधिमा संलग्न नराऔं । विद्यार्थीलाई दिइने शारीरिक तथा मानसिक दण्ड र सजायलाई पूर्ण निषेध गरौं ।’ साथै विद्यालयलाई बाल, अपांग तथा छात्रामैत्री रुपमा विकास गर्ने, प्राकृतिक वातावरणमैत्री र हरित क्षेत्रको विकास गर्नेसमेत उल्लेख छ ।

सांसद महतले समाज विकासका निम्ति ठूलाभन्दा सामान्य र सानो विषयको सुधार हुन जरुरी रहेको बताए । ‘विविधता र विभेद अन्यका निम्ति संघीयता आएको हो,’ शिक्षा नै सबै थोक भएकोले उल्लेख गर्दै उनले भने, ‘अब सबै जिम्मेवारी र समस्या गाउँपालिकामा आएको छ । कानुनी आधार यहीं छ । अब वडा–वडा बीच प्रतिस्पर्धा हुनेछ । त्यसैले शिक्षामा कन्जुस्याइँ गर्नु हुँदैन ।’


कार्यक्रममा सहभागी भैरव माध्यमिक विद्यालय नराकोट सिंजा कक्षा १० का लक्ष्मी नेपाली र उर्मिला उपाध्यायले छात्राका निम्ति छुट्टै शौचालय नहुँदा समस्या परेको बताए । ‘कक्षा कोठा साँगुरा छन्, एउटै कोठामा १ सय ७ जना बसेर पढ्नु परेको छ,’ नयाँ पुस्तक अझै नपाएको उल्लेख गर्दै आफ्नो समस्याबारे छात्रा लक्ष्मीले भनिन्, ‘खानेपानीको अभाव छ, केटा र केटीको एउटै सौचालय छ, दृष्टिविहीन साथीहरू पनि छन् ।’

शिक्षिका भगवती रावलका अनुसार समाजमा अभिभावकले छोरा र छोरीबीच भेद्‌भाव गर्ने, छोरीलाई पढाउन हिच्किचाउने, बालविवाह, छाउपडी (महिनावारी)को बेला छोरीहरू विद्यालय नपठाउने, छाउगोठमा बसाउनेलगायतका समस्या रहेको बताइन् । जिल्ला शिक्षा अधिकारी नारायण श्रेष्ठका अनुसार जुम्लामा १ सय ६९ सामुदायिक र २२ वटा निजी विद्यालय छन् ।


फागुनबाटै नयाँ सत्र, विद्यार्थीले पाठ्यपुस्तक पाएनन्

जुम्ला, हुम्ला, कालिकोट र डोल्पा जिल्लामा यही फागुनबाट नयाँ शैक्षिक सत्र सुरु भएको छ । त्यसनिम्ति भर्ना अभियान जारी छ । सामुदायिक विद्यालयमा अझै पनि पाठ्यपुस्तक पुगेको छैन । कक्षा १ देखि ५ सम्म निजी छापाखानाले पुस्तक छपाईको जिम्मेवारी दिइँदै आएको छ । त्यसैगरी कक्षा ६ देखि १० सम्म जनक शिक्षा सामग्री केन्द्रले छाप्ने वितरण गर्दै आएको छ । कक्षा १० सम्मका सबै विद्यार्थीले पाठ्यपुस्तक नि:शुल्क पाउँछन् । विद्यालयले पालिकाबाट प्राप्त बजेटबाट पुस्तक खरिद गरेर विद्यार्थीलाई उपलब्ध गराउनु पर्ने हुन्छ ।

‘फागुनबाट सुरु हुने शैक्षिक सत्रका लागि सबै विषयका पाठ्यपुस्तक पठाइसकेका छौं,’ नेपालगन्जस्थित जनक शिक्षा सामग्री केन्द्रका प्रमुख रवीन्द्रकुमार शर्माले कान्तिपुरसित भने, ‘एजेन्टले सदरमुकाम र अन्य क्षेत्रमा पुर्‍याइसकेको जनाएका छन् । सम्बन्धित विद्यालयले यथासम्भव चाँडो सम्पर्क राखेर पुस्तक लिनु पर्छ ।’


जुम्लाका शिक्षा अधिकारी नारायण श्रेष्ठले सदरमुकाममा पाठ्यपुस्तक ल्याइसकेको जानकारी प्राप्त गरेको बताए । ‘यो पटकबाट कक्षा ५ सम्मका विद्यार्थीले सबै पुस्तक रंगीन पाउने छन्,’ उनले भने, ‘विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई चाँडो पुस्तक लिन भनेका छौं ।’


प्रदेश नं.५ र ६ को स्थलगत अनुगमनमा खटिएका शिक्षा विभागका निर्देशक दीपक शर्माले नयाँ सत्र सुरु भएका जिल्लामा फागुन मसान्तसम्ममा विद्यार्थीको हातमा पुस्तक पुगिसक्ने बताए । ‘यो वर्ष ५ कक्षासम्म सबै पुस्तक रंगिन हुने भएकाले कुनै विद्यालयले पुरानो पुस्तक प्रयोग गराउन पाउने छैनन्,’ अभिभावक र विद्यार्थी सचेत हुनुपर्ने उल्लेख गर्दै सहसचिव शर्माले भने, ‘कक्षा १० सम्मका विद्यार्थीले पनि पूरै पुस्तक सेटमै पाएको हुनुपर्छ ।’

सरकारले नि:शुल्क उपलब्ध गराइने पाठ्यपुस्तकको मूल्य पूरै विषय (सेट)को कक्षा ५ सम्म एकमुष्ठ १ हजार ४ सय ६३ र कक्षा १० सम्मको २ हजार ३ सय ७९ रुपैयाँ रहेको छ । उक्त रकम विद्यालयले लिएर पुस्तक खरिद गरी विद्यार्थीलाई उपलब्ध गराउनु पर्नेछ ।


प्रकाशित : फाल्गुन १७, २०७४ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?