नारी दिवस विशेष: फुङलिङबाट एउटा टिकट

देवेन्द्र भट्टराई

काठमाडौँ — ललितपुरको सानेपावासी पूर्णकला लिम्बूकी ३ वर्षीया छोरी भर्खरै प्लेग्रुपमा भर्ना भएकी छन् । पूर्णकला यतिखेर दोस्रो सन्तान जन्माउने तरखरमा छिन् ।

नारी दिवस विशेष: फुङलिङबाट एउटा टिकट

हुलाक सेवा विभागमा प्राविधिक कर्मचारी भएकाले टिकट डिजाइनदेखि ग्राफिक्सका कामहरू पनि टेबलमा उत्तिकै थाँती छन् । तैपनि घर, अफिस, बजार, आफन्त, चाडवाड सबैतिरको भागबण्डामाझ पूर्णकला कुदिरहेकै छन् ।

सुदूरपूर्वी पहाडी जिल्ला ताप्लेजुङको चाँगेमा जन्मिएकी पूर्णकला लिम्बूको बाल्यकाल कुदाकुदमै बित्यो । ब्रिटिस लाहुरे परिवारमा जेठी छोरी भएपछि बाबुआमाको काखमा चेपिएर कहिले हङकङ, कहिले धरान, कहिले ब्रुनाई त कहिले फुङलिङ, चाँगे आउजाउ गरेरै उनको बाल्यकाल बित्यो । साथीभाइ, रमाइलो, लुकीछिपी गर्ने फुर्सदै पाइनन् उनले । काठमाडौंको बागमती बोर्डिङ स्कुलबाट २०५१ मा एसएलसी गरेपछि भने पूर्णकला पढाइ र बसाइमा केही स्थिर बनिन्, अघि बाल्यकालजस्तो ठाउँ न ठहर कुदिरहनु परेन ।

लिम्बू खलकमा कहींकतै नभएको सोख पूर्णकलामा थियो– पाखाबारी, पहाड, हिमाल, पाथीभरा, तमोर खोला, बाआमा अथवा सामुमा जे भेटिन्छ त्यसैको चित्र कोरिरहने गजबको स्वभाव । त्यसैलाई समातेर उनले क्याम्पस पढ्ने बेलामा आफ्नै रुचिमा कला क्याम्पसमा भर्ना भइन् ।

बीचमा देश–देशावर घुम्दै र नियमित नभएरै पनि फाइन आर्टमा स्नातक गरिन् । ‘आफ्नो कुलवंशमैं नपढेको (आर्ट) पढाइ र नगरेको कामको यो बाटो गलत थियो भन्नेहरू पनि थिए तर म लहडी बनेर कलाजगत्मै होमिएँ,’ पूर्णकला सम्झिन्छिन्, ‘मसँग अर्को सोख पनि थियो— ‘कपडा बुन्ने, ढाका/पस्मिना बुन्ने । बीचमा ढाका बुन्ने कामको प्रशिक्षक भएर काम गरेकी थिएँ । अझै पनि भित्री इच्छा भने कपडा डिजाइनिङमै छ ।’ पूर्णकलाका आमाबाबुले त एसएलसी फस्ट डिभिजनमा पास भएकी छोरीले साइन्स पढेर डाक्टर भइदिए हुन्थ्यो भनेर हत्ते हालेका थिए । तर, स्वभावमा मनमौजी छोरीका अगाडि बाआमाको केही जोड चलेन ।

‘कलाकला’ भन्दै एकरसको जिन्दगी बिताइरहेका बेला पूर्णकलाले एकजना कालिकोटे (सानेपावासी) आर्टिस्ट साथी भेटिन्, सन्तोष विष्ट । फाइन आर्टमा दुवैको रुचि मिल्यो । यही कारण मन पनि मिल्यो । फाइन आर्ट पढेर अरू साथीभाइजस्तै कतै ग्यालरी खोलेर अर्कै दुनियाँमा हराउने कि प्रदर्शनी गर्दै नामकाम देखाइरहने ? जीवनमा अन्योलता थियो नै ।

टेक्सटाइल डिजाइनिङमा एकदमै सोख थियो उनको । सपना पनि यस्तै कपडा/ढाकाको लघु उद्यमी बन्ने थियो । तर, उनै आर्टिस्ट साथी सन्तोषले दिएको सुझावमा पूर्णकलाले लोक सेवा पढ्ने र सरकारी जागिरे बन्ने सपना देख्न थालेकी थिइन् ।

‘लोक सेवा कुन चरीको नाम हो, मलाई थाहा थिएन,’ पूर्णकला सम्झिन्छिन्, ‘सन्तोषले दिएको सुझाव र ‘सरकारी कर्मचारी’ बन्ने सपनामा म लोक सेवाको दुनियाँमा लागिहालेँ ।’

पहिलो प्रयासमै पूर्णकला सरकारी जागिरे बनिन्, हुलाक सेवा विभागमा । २०६७ मंसिरदेखि कला अधिकृतका रूपमा हुलाकमा प्रवेश गरेकी पूर्णकलाले पाँच वर्षयता हुलाकबाट निस्कने सबै टिकटको डिजाइनिङ गर्दै आएकी छन् । यस बीचमा २ सयभन्दा बढी टिकटमा पूर्णकलाको नामकाम जोडिएको छ ।

‘सुन्दैमा ‘सरकारी’ भन्ने विशेषता हुन्छ, स्थायित्व पनि हुन्छ भनेर यतातिर लागेकी हुँ,’ पूर्णकला भन्छिन्, ‘पहिला पनि ढाका वा पस्मिना बुन्ने, कपडामा डिजाइन भर्ने र तालिम दिने काम गर्दै आएकी थिएँ । पछि यस्तो निजी सोख र एनजीओको काम भनेको ‘प्याकेज’ टाइपको मात्रै हुने रहेछ भन्ने बोध भयो ।’ निजी क्षेत्रको काम भनेको पैसा भएर पनि स्थिरता नहुने ठान्दै सरकारी जागिरे हुँदा परिवारलाई समय दिन सकिने र जीवनमा स्थिरता पनि आउने भनेर उनी सरकारी दुनियाँमा लागेकी रहिछन् ।

हुलाक सेवामा प्रवेश गर्नासाथ पूर्णकलालाई विशुद्ध फाइन आर्टको कुरा मात्रै थाहा थियो । प्लेसमेन्ट, कम्पोजिसन, स्पेसिफिकेसन, प्रिन्टिङ आदिको पत्तो थिएन । त्यस बेला वरिष्ठ कला अधिकृत मोहननरसिंह राना, केके कर्माचार्यले हुलाक टिकटको शैली र प्रक्रियामा ‘गाइड’ गरेका रहेछन् । तर पहिलेजस्तो विशुद्ध कलाका भरमा, आर्ट गरेरै टिकट डिजाइन तयार गर्ने जमाना अहिले नरहेकाले केही अर्थमा सजिलो युगमा पनि आएकी छन् पूर्णकला । ग्राफिक्स डिजाइनको सुविधाले छोटो समयमा धेरै काम गर्न सकिने अवसर उनले पाएकी छन् ।

‘एउटै काम, शैली, टिकट साइजको वरपर दिक्कै लाग्ने गरी ग्राफिक्समा घोत्लिरहँदा कहिलेकाहीँ ‘मोनोटोनस’ पनि हुन्छ,’ उनी भन्छिन्, ‘तर, यो एकरीतको कामसँगै मुलुकको चिनारी जोडिने काम गर्न पाएकी छु भन्ने हुन्छ, अनि ढुक्क लाग्छ ।’

आर्टवर्क वा ग्राफिक्समा पनि कतिपय वनस्पति, संस्कृति, चाडपर्वसम्बन्धी काम भने निकै सजिलो लाग्ने गरेको रहेछ उनलाई । तर, व्यक्तिमालाको काममा भने हेरफेर भइरहने अवस्था आउने रहेछ । आफूले गरेका कामबारे बाहिरी बजारमा चियोचर्चा चल्ने गर्दा आफूले ध्यान दिएर सुन्ने गरेको पूर्णकला बताउँछिन् ।

‘जस्तो सुरुमा ‘सहिद’ भनेर निकालिएको रामप्रसाद राईको हुलाक टिकट छापिएर पनि उपयोगमा आएन । यस्तो गल्ती भेटिँदा भने हामी सबैले सचेत बन्नुपर्नेमा ध्यान बढी जान्छ । अहिले भने गृह मन्त्रालयबाट सहिदको सूची लिएर आएका छौँ, अब आइन्दा यस्तो गल्ती नहोस् भनेर,’ उनले सुनाइन्, ‘यसैगरी सहिद दुर्गानन्द झाको हातमा बम राखिएको टिकट आएपछिको चर्चा पनि मैले पढेकी छु । टिकटमा राखिने ‘स्पेसिफिकेसन’ आधारमा डिजाइनिङ उतारिने भएकाले विभाग, मन्त्रालयले गरेको निर्णयअनुसार काम भएजस्तो लाग्छ । यस्ता कुराहरू सार्वजनिक बहसमा नगए पनि मन्त्रालयभित्र र विज्ञहरूबीच बहस भएकै हुन्छ ।’

यदाकदा भने आफ्नो विवेक र अन्तरचेतनाले गरेको निर्णयले हुलाक टिकटमा पनि काम गर्न सक्ने पूर्णकलाको बुझाइ छ । जस्तो, सुरुमा हुलाक टिकटका लागि श्री ३ प्रधानमन्त्री देवशमशेरको श्रीपेच लगाएको फोटो आएको रहेछ, पछि मन्त्रालयभित्रको बहस र डिजाइनरको सुझावमा समेत श्रीपेच नलगाएको फोटोमा टिकट निकालिएको रहेछ । ‘हुलाक टिकट छाप्ने क्रममा मैले पनि सुझाव दिने गरेकी छु,’ उनी भन्छिन्, ‘कालिकोटको पचाल झरना, पर्वत–बाग्लुङ जोड्ने झोलुंगे पुल, बुद्धको थाङ्का चित्र, लुम्बिनी पिस म्याराथन, पश्चिम नेपालमा पाइने लोपोन्मुख चरा खरमजूर, तेह्रथुमको हयाथु्रङ झरना आदिको टिकट निकाल्न मैले सिफारिस गरेकी थिएँ ।’

आफ्नो जाति, वर्ग र समुदायको हकहितमा निकै सचेत पूर्णकलालाई आफ्नै लिम्बू भाषामा संवाद गर्न मुस्किल पर्ने रहेछ । सानैदेखि गौंथली चरीझैं गुँड फेर्दै यताउता चहारिरहनुपर्दा भाषामा उनी बहुभाषिक बनेकी रहिछन्, मातृभाषीभन्दा पनि । घरजम पनि उनै मन मिल्ने कलाकार सन्तोष विष्टसँग गरेकी रहिछन् । ‘एउटी महिलालाई पुरुष हेरीकन हरेक कामकाजमा अप्ठयारो त छ नै,’ उनी भन्छिन्, ‘आफ्नै सेवाको कुरा गर्दा, पनि म विशुद्ध प्राविधिक क्षेत्रकी कर्मचारी परेँ । कतिपय प्रशासनिक कुरा थाहा नहुँदा अथवा थाहा नदिँइदा धेरै कुरा बुझ्नै गाह्रो भइरहेको हुन्छ ।’

आफ्नै बलबुता र प्रयत्नमा यो चिनारीयुक्त ठाउँमा आइपुगेकै हुनाले पूर्णकला ‘आरक्षण’ भन्दैमा कसैले टिपेर ल्याएर कहीँकतै राख्ने पद्धतिको विरोधी रहिछन् । ‘आरक्षण भनेर मात्रै हुँदैन, आफू पनि सक्षम हुनैपर्छ,’ उनी भन्छिन्, ‘हाम्रो जस्तो पितृसत्तात्मक समाजमा महिलालाई शिक्षा, स्वास्थ्य, अधिकारको प्रशस्त सुविधा हुनैपर्छ । तर, आरक्षण मात्रै भनेर हुँदैनजस्तो लाग्छ । तर, एकोहोरो नाराले मात्रै न जीवन चल्छ, न समाज नै ।’

उनले महिलाहरू आफैं सचेत नभई अरूको कुरा मात्रै गर्ने होइन, सकारात्मक सोच राखेर आफैं अग्रसर हुनुपर्ने अनुभव सुनाइन् । नेपाली समाजमा र विशेषत: महिलामाझ पनि ‘अधिकार’ भनेर सदुपयोगभन्दा बढी दुरुपयोग गर्ने ‘ट्रेन्ड’ आफूले देखेकोमा पूर्णकला यसमा सुधार खोजिरहेकी थिइन् ।

कामकाजी महिला, अफिस, घर, आफन्तजन, नाता–कुटुम्ब सबैतिरको भागबण्डा मिलाउन पूर्णकलालाई सधैंजसो मुस्किल पर्ने गरेको छ । उनी विवाहपछि ताप्लेजुङ जान पाएकी छैनन् । श्रीमान् सन्तोषको कालिकोट पुस्तैनी घर जान पनि सकेकी छैनन् ।

‘यो जीवन पनि हुलाक टिकटजस्तै रहेछ,’ उनी सोचाइ बुझाइमा कविझैं पनि लाग्छिन्, ‘टिकटको खेस्रामा प्लेसमेन्ट, कम्पोजिसन, डिजाइनिङ चाहिएजस्तै जीवनमा पनि चाहिन्छ । विशेष अवस्थाजस्तै जसरी टिकट ‘रिप्रिन्ट’ मा आउँदैन नि, यो जीवन पनि यस्तै छ । एक पटकमा चाहे ५० हजार छापियोस् अथवा ५ लाख, टिकट एकैपटक मात्रै छापिन्छ । जीवन पनि एकबारको हो, जे–जस्तो कम्पोजिसन मिलाउन सक्यो, त्यस्तै मात्रै ।’

प्रकाशित : फाल्गुन २४, २०७४ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?