चार पुस्ताको पढाइ–अनुभव

सुरज कुँवर

काठमाडौँ — वि.सं १९१० अघि नेपालमा स्कुल थिएनन् । त्यसअघि कचहरी, धार्मिक सभाबाट मौखिक साक्षरता मात्रै हुन्थ्यो । शिक्षा मन्त्रालयका अनुसार, विहार, गुम्बा र बौद्ध शिक्षा केन्द्रमा बौद्ध धर्मदर्शनबारे र हिन्दू वैदिक शिक्षाअन्तर्गत गुरुकुल प्रणाली सीमित मात्रै थिए । विसं २००७ सम्म शिक्षा आम जनताको पहुँचमा थिएन । 

चार पुस्ताको पढाइ–अनुभव

२००७ सालको परिवर्तनपछि राज्यले शिक्षा विस्तार गर्‍यो । त्यसपछि शिक्षा काठमाडौंबाट गाउँतर्फ लाग्यो । गाउँलेहरूले शिक्षाको महत्त्व बुझेर आफ्ना नानीहरूलाई पाठशाला पठाउन थाले । अहिले नेपालमा चार पुस्ता स्कुल पढेको खोज्नुपर्‍यो भने, मुस्किल पर्छ । यस्तो परिवार विरलै भेटिन्छ । अर्थात् हजुरबा/आमा, बा/आमा, छोरा/छोरी र चौथो पुस्ताका नाति/नातिनी सबैले औपचारिक शिक्षा लिएकाहरू कहीँकतै मात्रै छन् ।

यीमध्ये चार पुस्ता स्कुल पढ्नेमा इलामको माघेगाउँका खगेन्द्रनाथ शर्माको परिवार एउटा उदाहरण हो । हाल काठमाडौं महानगरको पेप्सीकोला टाउन प्लानिङमा बसाइँ सरेको यो परिवारमा चारै पुस्ता सँगै छन् । अहिले सबै जना काठमाडौंको पेप्सीकोलामा बस्छन् । तर, उनीहरू सबैले अक्षर चिन्नका लागि पाठशालादेखि स्कुल पुगेको कथा भने फरक–फरक छ ।


सिलेट र खरीपाटी

खगेन्द्रनाथ शर्मा, ८४ (जिजुबुवा)

जन्म : विसं १९९१, असोज ०३, इलाम


म १२ वर्षको उमेरमा फिक्कलको त्रिचन्द्र पाठशालामा एकैपटक २ कक्षामा भर्ना भएँ । त्यसअघि मैले घरमै संस्कृत, हिसाब, ब्राहखरी, ठूलो वर्णमाला पढ्ने अवसर पाएँ । मेरा बुवा देवीभक्त उपाध्याय संस्कृतका ज्ञाता हुनुहुन्थ्यो । उहाँले बनारसमै गई पढ्नुभएको थियो । मलाई घरमै उहाँले जोड, घटाऊ, गुणन, भागा सिकाउनुभयो । संस्कृतको अमरकोश पढाउनुभयो । स्कुल नदेख्तै गीता, रुद्री, चण्डी, बंगाली भाषा पढाए । गोरखपुरबाट कल्याण पत्रिका आउँथ्यो । म त्यसमा धार्मिक कुरा पढ्थेँ । जब म १२ वर्षको भएँ, फिक्कलको त्रिचन्द्र पाठशाालामा २ कक्षामा भर्ना भएँ । तर, २ कक्षामा एक दिन मात्रै पढेँ ।

त्यसपछिका तीन वर्षमा मैले चारवटा कक्षा सकेँ । ३, ४, ५ र ६ कक्षा पास गरेँ । हामी त्यसबेला पढाउने शिक्षकलाई मास्टर भन्थ्यौं । सहपाठीहरू काठको धुलेपाटीमा माटो छरेर, सिन्काले लेख्थे । म भने सिलेटको पाटी र खरी प्रयोग गर्थेँ । त्यसताका दार्जिलिङबाट सिलेट, खरी ल्याइन्थ्यो । झोला आइसकेको थिएन । कपडाको टालोलाई छत्ता भनिन्थ्यो । त्यसमा किताब लपेटेर लैजान्थ्यौँ । स्कुल घरबाट डेढ घन्टा पैदल हिँडेर पुगिन्थ्यो । मेरो बिहे ४ कक्षामा पढ्दै गर्दा भयो । त्यसबेला म १४ वर्षको थिएँ । मेरी पत्नी भोगवती ११ वर्षकी थिइन् । कक्षामा बिहे भइसकेका थुप्रै हुन्थ्यौं । केटीहरू विरलै पढ्थे । मेरो कक्षामा एउटा मात्रै थिइन् । मेरा त्यसबेलाका सहपाठीमध्ये ताना शर्मा पनि हुन् । उनको त ३ कक्षामा पढ्दै बिहे भइसकेको थियो ।

कक्षा ६ पछि पढ्न भारत जानुपर्ने हुन्थ्यो । अहिले जस्तो फर्मल स्कुल थिएन । प्राइभेट पढ्नुपथ्र्यो । मैले पनि एक/डेढ वर्ष बनारसमा गई यूपी बोर्डबाट १० कक्षा (मेट्रिकुलेसन) पास गरेँ । आईए पनि प्राइभेट (कलेज रेगुलर नगई) इलाहबादबाटै सकेँ । बीए बनारस हिन्दु विश्वविद्यालयबाट पास गरे । राजनीति शास्त्रमा मध्यप्रदेशको सागर विश्वविद्यालयबाट एमए सकेँ । ५६ वर्षको उमेरमा २०४७ सालमा बनारस हिन्दू विश्वविद्यालयबाट राजनीति शास्त्रमै विद्यावारिधि सकँे । त्यसबेला म हजुरबा भइसकेको थिएँ ।


ब्ल्याकबोर्ड जमाना

रुद्रनाथ शर्मा, ६० (हजुरबुवा)

जन्म : २३, चैत्र २०१४, इलाम

मेरा पालामा बुवाका पालाको पाठशाला थिएन । इलाम बजारमै इलाम प्राइमरी स्कुल थियो । त्यहाँ म पहिले प्राइमरी कक्षामा भर्ना भएँ । यो सकिएपछि सोझै १ कक्षामा पुगे । त्यसबेला मेरो उमेर तीन वर्षको थियो । प्राइमरी स्कुलमा नेपाली, अंग्रेजी, गणित विषयका किताब आइसकेका थिए । सिलेट र खरी प्रयोग हुन्थ्यो । पोसाक भने थिएन । ड्रिल खेलाइन्थ्यो । स्कुलमा गोलो घन्टी टिनिनिनि बज्थ्यो ।

त्यसबेला अहिलेजस्तो गोलो होइन लेस बाँध्ने फुटबल खेल्थ्यौं । स्कुलमा खाजा लैजाने प्रचलन थिएन । स्कुलपछि सिगटा किनेर खान्थ्यौं । प्वाल परेका पैसा सुकी, मोहर चल्थे । रुपैयाँ त धेरै ठूलो मानिन्थ्यो । इलाममा मैले ३ कक्षासम्म पढें । त्यसपछि ६ महिना चन्द्रगढीमा झापा पढेँ । बुवाको पञ्चायत प्रशिक्षण केन्द्रमा जागिर भएकाले सरुवा जताजता हुन्थ्यो, म त्यतै जान्थें। ४ र ५ कक्षा नेपालगन्जमा भवानीपुर प्राइमरी स्कुल पढेँ । नेपालगन्जको स्कुलमा भारतबाट साइकल चढेर मास्टर पढाउन आउँथे । उनी एउटैले सप्पै विषय पढाउँथे । भुँइमै बसेर पढ्नुपर्थ्यो  ।


६ कक्षादेखि ९ कक्षासम्म मैले विजय मेमोरियल स्कुल, डिल्लीबजार, काठमाडौंमा पढेँ । फेरि १० कक्षा नेपालगन्जको बाँकेबगियामा रहेको मंगलप्रसाद स्कुलमा पढेँ । १० कक्षामा मेरो फी १० रुपैयाँ थियो । बुवाका पालामा मुठीदानले पाठशाला चलाइन्थे रे । मेरा पालामा ब्ल्याकबोर्ड आइसकेको थियो । नेपालगन्जमा पढ्दा मसीमा चोबेर लेख्ने बाँसका कलम थिए । हाई स्कुलमा मसी भर्ने फाउन्टेन पेन चलाइयो । मसीका सिसी बोकियो । त्यसताका हामी शिक्षकलाई सम्बोधन गर्दा मास्टरजी भन्थ्यौँ । एसएलसीपछि मैले कानुनमा स्नातक सकेँ ।


पहिलोपल्ट कम्प्युटर

विजय अधिकारी, ३३ (बुवा)

जन्म : ८, असोज २०४१, काठमाडौं

मेरो पालामा आइपुग्दा हाम्रो परिवार इलामबाट काठमाडौं सरिसकेको थियो । पुरानो बानेश्वरमा हाम्रो घर थियो । बुवाले व्यापार गर्नुभयो । पुरानो बानेश्वरमा रिलायन्स स्कुलमा नर्सरीमा भर्ना भएँ । मेरा पालामा पोसाक लागाउनुपर्ने भयो । तर, त्यसताका टाई र बेल्ट स्कुलले अनिवार्य गरेको थिएन । नर्सरीपछि एलकेजीमा पढ्न बानेश्वरकै शिशु निकेतनमा भर्ना भएँ । त्यहाँ यूकेजी नपढेर सोझै एकमा भर्ना भएँ । मेरा पालामा चारवटा रेखा भएको कपी (चारडिके), म्याथको बक्स भएको कपी आयो । बा र हजुरबाका पालामा जस्तो सिलेट हटिसकेको थियो । ४ देखि ६ कक्षा पढ्न बालाजुमा रहेको सिद्धार्थ वनस्थली स्कुल बस चढेर पुगेँ । स्कुल बसको मज्जा बुवा र हजुरबाले लिन पाउनुभएन । ७ देखि १० कक्षासम्म फेरि बत्तिसपुतलीमा रहेको प्यारागन स्कुलमा आएँ । त्यहाँ दार्जिलिङका शिक्षकसँग भेट भयो ।

त्यसबेला मैले कक्षा आठमा पढ्दा पहिलोपटक कम्प्युटर देखेँ । क्यान्टिनबारे मैले ४ कक्षामै पढ्दा जान्ने मौका पाएँ । म घरबाट टिफिन बोकेर लैजाने पुस्ता पनि हुँ । स्कुल पढ्दा साथीहरूबीच अटो डायरी लेख्ने चलन थियो । अहिले फेसबुकले त्यो हरायो । २०५७ मा एसएलसी सकिएपछि मेरो पालामा पहिलोपल्ट अनलाइनमा नतिजा हेरियो । त्यो भर्खर सुरुवात थियो । त्यसअघि गोरखापत्रमा छापिन्थ्यो । मेरै पालामा घन्टीलाई इलेक्ट्रिक बेलले विस्थापन गर्‍यो । ५ कक्षामै हामी ककनीमा पिकनिक गएका थियौँ । कक्षा १२ पछि म शैक्षिक भम्रणका लागि भारतको मुम्बई, दिल्ली, गोबा पुगेँ । हाम्रा पालामा यो सिकाइसँग जोडिएको थियो । तर, हजुरबाहरू भारतमै पढ्नुभयो । त्यो उहाँहरूको बाध्यता थियो ।


आइप्याड र एप

अक्षता स्कार्लेट अधिकारी, ४

जन्म : २२, असोज, २०७०, काठमाडौं

अक्षता खगेन्द्र नाथ शर्माकी पनातिनी हुन् । अर्थात् विजयकी छोरी । यी राजधानीकै उज्ज्वलतारा प्रि–स्कुलमा नर्सरीमा पढ्छिन् । तीन वर्षकै उमेरमा यिनले प्लेगुप्रमा भाग लिइन् । यिनका पालामा सिकाइ प्रयोगात्मक भएको छ । ‘लर्निङ बाई एक्टिभिटी’ मा आधारित छ । रंग वा कुनै वस्तुबारे सिकाउनुपरे, प्रिस्कुलले लेखेर होइन, देखाएर, छुन लगाएर सिकाउँछन् । यिनका बुवा विजय अहिले आफ्नो पालामा जस्तो घोकन्ते विधि हटेको बताउँछन् । ‘मेरा पालामा घोकेरै जाँच दिएँ । शिक्षकले जे लेखाउँनुहुन्थ्यो, त्यही उत्तरपुस्तिकामा लेख्नुपथ्र्यो,’ उनले भने, ‘छोरीको सिकाइ मेरो जस्तो छैन । जमिन–आकाश फरक छ ।’ विजयका पालामा जस्तो कालो बोर्ड कक्षाबाट हटिसक्यो । कक्षामा मार्कर बोर्ड छिरेको छ ।

कम्प्युटर, प्रोजेक्टर प्रयोग भइरहेका छन् । अहिले आँखा अगाडि देखाएर पढाउने गरिन्छ, सिकाइन्छ । विजय आफ्नी छोरीको इलेक्ट्रोनिक डिभाइसप्रतिको आकर्षणबाट चकित छन् । उनी आफ्नी आमाको आइप्याड चलाउँछिन् । कसरी अनलक गर्ने । कुन एपमा के छ ? यिनलाई कण्ठै छ । टीभीमा देखिने कार्टुन क्यारेक्टर चिन्छिन् । यस्ता कुरामा अक्षता हजुरबा र जिजुहजुरबालाई पनि उछिन्छिन् । बोली प्रस्ट छैन । तर तामिल भाषाको सिनेमाको गीत गाइदिन्छिन् । अहिले बर्थडे अनिवार्यजस्तै भएको छ । स्कुलले हरेक जात्रा, पर्वबारे सिकाउन, त्यस्तै पोसाकमा पठाउन भन्छ । सबैभन्दा बदलिएको कुरा, अहिले विद्यार्थीलाई गल्ती गरे लठ्ठी हान्ने त धेरै परको कुरा, हप्काउने जमाना पनि हरायो । त्यसैलै अहिले यिनका अभिभावक बालबालिकामा सकारात्मक सोच अत्यधिक हुने गरेको भन्छन् । अर्काे टिफिन बक्स पनि हरायो । अब स्कुलमै विद्यार्थीलाई पोषणअनुसारको खाना पाक्न थालेको छ । जुन अनिवार्य भएको छ । विद्यार्थी मात्रै होइन, अभिभावकलाई पनि स्कुलले बेलाबेलामा बोलाई सिकाउन थालेको छ । अक्षताको स्कुलले पनि हरेक तीन महिनामा अभिभावकलाई बोलाई घरमा के सिकाउने, कसरी सिकाउने भनी प्रशिक्षण दिन थालेको छ ।

१२ वर्षको उमेरमा मात्रै पाठशालामा भर्ना भएका अनि १४ वर्षमै बिहे गरेका अक्षताका जिजुहजुरबा शिक्षामा आएको यो परिवर्तन देखेर दंग छन् ।

प्रकाशित : फाल्गुन २७, २०७४ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?