२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

मोफसलका प्रिय डाक्टर

श्रद्धाञ्जली
उपत्यकाबाहिर न्युरो सर्जन नभएका बेला चितवन गई बिरामीको उपचार गर्नु डा. बालकृष्ण थापाको महानता थियो ।

काठमाडौँ — बेन्जामिन फ्रयाङ्कलिनले भनेका थिए, ‘भगवान्ले बचाउँछन्, डाक्टरले शुल्क लिन्छन् ।’ धेरैजसो बिरामीलाई धेरैजसो डाक्टर भेट्दा त्यस्तै लाग्छ ।

मोफसलका प्रिय डाक्टर

तर बालकृष्ण थापासँग उपचार गराउने कसैले पनि त्यो सोच्नै परेन । बरु हजारौंलाई बचाएका उनैलाई भगवान्ले बचाउन सकेनन् । चितवनमा सबैका प्यारा डा.थापासँग भरतपुर क्यान्सर अस्पताल सुधार्नेदेखि राम्रो न्युरो उपचार केन्द्र खोल्नेसम्मका योजनाहरू थिए । भेटेका हितैषीहरूलाई उत्साही बनाउने यी सक्रिय चिकित्सकले गत सोमबार जीवनदेखि नै विश्राम लिए । बंगलादेशको राजधानी ढाकाबाट आइरहेको यूएस बंगलाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा दन्केको आगाको ज्वालाले सम्भावनाको दीयोलाई झ्याप्पै निभाइदियो ।

विशेषज्ञता आर्जनको अर्थ विदेश पलायन जत्तिकै भइरहेको छ । बाँकी विशेषज्ञ चिकित्सकले राजधानी छाड्दैनन् । डा. बालकृष्ण भने यसका अपवाद थिए, जसले सेवाको थलो मोफसल बनाए । सबैको मनमस्तिष्कमा छाउन सफल उनी विविध क्षेत्रमा ज्ञान राख्थे । उनको अकस्मात मृत्युको खबरले स्तब्ध बनायो । घटना भएको २ दिनसम्म सामाजिक सञ्जाल उनीप्रति लेखिएका श्रद्धासुमनरूपी शब्दले भरिए ।

‘उहाँ एउटा शल्यचिकित्सक मात्र नभई बहुप्रतिभा सम्पन्न व्यक्ति हुुनुहुन्थ्यो,’ उनीसँग करिब २ दशकदेखि नजिक रहेर काम गरेका भरतपुर क्यान्सर अस्पतालका वरिष्ठ कन्सल्ट्यान्ट डा. विनय ठाकुर भन्छन्, ‘काठमाडौंको शिक्षण अस्पतालमा छोटो समयका लागि काम गर्दा उहाांसांग परिचय भएको थियो, पछि सँगै क्यान्सर अस्पतालमा काम गर्ने अवसर मिल्यो । क्यान्सरको ट्युमर सम्बन्धी शल्य चिकित्सामा उच्च स्थानमा नेपालमा गन्न सकिने सीप भएका चिकित्सकमध्ये उहाँ पर्नुहुन्थ्यो । उहाँ एकदमै जटिल किसिमको शल्यक्रिया पनि सामान्य किसिमले गर्नुहुन्थ्यो ।’

त्रिवि शिक्षण अस्पतालबाट स्वर्णपदकसहित एमबीबीएस गरेका सामान्य परिवारका थापाले बंगलादेशबाट न्युरो सर्जरीमा एमएस गरेका थिए । अन्य विधामा पनि उनी अब्बल रहेको सहपाठी र सहकर्मीहरू सम्झन्छन् । ‘बाहिर गएर लिएका तालिम र ज्ञानगुनमा उहाँ तत्काल अपडेट हुनुहुन्थ्यो । बिरामीको श्रद्धा र केयरमा निकै ध्यान दिनुहुन्थ्यो,’ ललितपुरको अल्का अस्पातलका नाक, कान, घााटी विभागका डा. सुमन थापा भन्छन्, ‘पैसा तिर्न नसक्नेलाई सित्तैमा पनि उपचार गरिदिनुहुन्थ्यो ।’ उनी मेडिकल अफिसर हुांदा सन् २००८ देखि २०१० सम्म न्युरो सर्जरी विभागमै क्यान्सर अस्पतालमा सांगै काम गरेका थिए । उनी थप्छन्, ‘न्युरो सर्जरीमा धेरै अगाडि हुनुहुन्थ्यो ।’

अघिल्लो वर्षको मेमा डा. थापा पाकिस्तानको पेसावर पुगेका थिए । ‘एसियन अष्ट्रेलियन’ स्तरको न्युरो सर्जरी सम्मेलनका उनी अन्तर्राष्ट्रिय स्रोतव्यक्ति थिए । विशेषज्ञता आदान–प्रदानका यस्ता अवसर उनी उपयोग गरिरहन्थे । यस पटक बंगलादेश यात्राको विषय पनि न्युरो (स्नायु) सम्बन्धी नै थियो । न्युरो सर्जनहरूको संस्थाले नवौं अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन आयोजना गरेर उनलाई निम्त्याएको थियो । त्यहाँबाट फर्केर उनले थप नयाँ विचार पक्कै केही दिने थिए होलान् । तर जहाज दुर्घटनाले अब त्यो अवसर कहिल्यै नजुर्ने भयो ।

२०२४ माघमा काभ्रेको कुशादेवीमा जन्मेका थापाले कुशादेवी माविबाटै पहिलो श्रेणीमा एसएलसी परीक्षा उत्तीर्ण गरेका थिए । त्यसपछि विज्ञान विषय पढेर उनी एमबीबीएसमा भर्ना भए । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्जबाट उनले २०५० सालमा एमबीबीएस पुरा गरे । त्यसपछि न्युरो सर्जरी पढ्न ढाका गए । २०५९ सालमा एमएस पुरा गरे ।

ढाकाबाट काठमाडौं आएका थापाले २०५९ सालको साउनबाट बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको न्युरो सर्जरी युनिट सम्हाले । करारमा रजिष्ट्रार न्युरो सर्जनबाट सेवा सुरु गरेका उनी जुनियर कन्सल्ट्यान्ट न्युरो सर्जन र कन्सल्ट्यान्ट न्युरो सर्जनमा बढुवाका साथै सोही अस्पतालमा स्थायी पनि भए । भरतपुर क्यान्सर अस्पतालमा ४ वर्ष डा. थापासँगै काम गरेका डा. विनोद भट्टराई भन्छन्, ‘उहाँ ढाकाबाट एमएस गरेर काठमाडौं आउँदा नेपालमा जम्मा ४/५ जना न्युरो सर्जन थिए । काठमाडौंमा मात्रै नभएर विदेशमा समेत राम्रा अवसरको कमी थिएन । तर काठमाडौं बाहिर जाने निधो गर्नुभयो । यसो गर्न आँट चाहिन्छ । जुन उहाँले गर्नुभयो ।’ सर्जन भइकन पनि बिरामीसँग कुरा गरेर उनीहरूको मन हल्का गराइदिने बानीका कारण उनलाई बिरामीहरूले निकै रुचाउँथे ।

बिरामीसँग मात्रै होइन, डा. थापा समाजसँग नियमित अन्तरक्रियामा हुन्थे । उनले दुइटा कविता संग्रह र एउटा निबन्ध संग्रह निकाले । शल्यक्रियादेखि सेमिनारसम्म, खेलकुददेखि राजनीतिसम्मका मञ्चमा देखिन्थे उनी । अस्पतालको सन् २०१६ को वार्षिक प्रतिवेदन अनुसार डा.थापा प्रमुख रहेको न्युरो सर्जरी युनिटले उक्त वर्ष १०३ वटा ठूला र ६१ वटा साना शल्यक्रिया गरेको देखिन्छ । सबैतिर भ्याउन सक्थे उनी । सबैले रुचाउने व्यक्तित्व थिए उनी ।

‘ज्ञान पनि धेरै भएको र अनुभवलाई बाँड्न रुचि राख्ने गज्जबको व्यक्ति हुनुहुन्थ्यो उहाँ’, चितवनका चिकित्सक प्रमोद लामिछानेले भने, ‘उहाँसँगै धेरै राम्रो सम्भावना पनि अस्ताएको छ । यो चानचुने क्षति होइन ।’ नेपाल चिकित्सक संघ चितवनका सचिव डा. भोजराज अधिकारी थापाको निधनले चितवनलाई अपुरणीय क्षति भएको बताउँछन् । ‘न्युरो सर्जन पनि चितवन आएर बस्छन् र ? भनी शंका गर्ने बेलामा उहाँ चितवन आएर कमाल गर्नुभयो । स्नायुमा क्यान्सर लागेकाहरूका लागि शल्यक्रिया गर्नुपर्दा उहाँजस्तो दक्ष र निपुण सर्जन नेपालमा अरु थिएन । अब यस्तो मान्छे चााडै तयार हुँदैन’, डा.अधिकारीले भने । चितवन आएर यहीं अडिएका डा. थापाको योजना थियो– जिल्लामा एउटा सुविधा सम्पन्न न्युरो र ट्रमा अस्पताल खोल्ने । त्यही कारण चितवनमा नमुनाको ‘न्युरो र ट्रमा’ अस्पताल खुल्छ भन्नेमा धेरै आशावादी थिए । खुल्ने मात्रै होइन, चल्छ भन्नेमा पनि ढुक्क थिए, उनका सहकर्मीहरू । सक्रिय जीवनशैली, सकारात्मक भावना र समुदायसँग मिलेर अगाडि बढ्ने शैलीका डा.थापा अब सम्झनामा मात्रै रहनेछन् । उनका योजनाहरू चितवनका लागिमात्रै नभई देशकै लागि पनि अति आवश्यक थिए । अब उनीसँगै ती योजनाहरू पनि बिलाएर जाने पो हुन् कि भन्ने चिन्ता जिल्लावासीमा छ ।

‘उपत्यका बाहिर न्युरो सर्जन नभएको समयमा चितवन आएर सेवा गर्नु उहाँको सबैभन्दा ठूलो योगदान हो’, अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्य शोक व्यक्त गर्दै भन्छन्, ‘उहाँको निधनले अस्पताललाई अतुलनीय क्षति पुगेको छ ।’

प्रकाशित : चैत्र ३, २०७४ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?