धनगढीस्थित यातायात कार्यालयमा अनियमितता : ६ हजार दिनुस्, लाइसेन्स लानुस्

अर्जुन शाह

धनगढी — खुलमखुल्ला रकमको खेलोमेलोगर्दै सवारी चालक अनुमतिपत्र प्रदान गर्दै आएको धनगढीस्थित यातायात ब्यवस्था कार्यालयको चर्तिकला त्यतिबेला छताछुल्ल बाहिर आयो जतिबेला कार्यालय प्रमुखले संकलित घुस रकममा कार्यालयका अन्य मुख्य कर्मचारीलाई हिस्साबाट बञ्चित गर्न खोजे । 

धनगढीस्थित यातायात कार्यालयमा अनियमितता : ६ हजार दिनुस्, लाइसेन्स लानुस्

गत साउनयता सञ्चालन गरिएका विभिन्न सवारी चालक अनुमतिपत्र वितरणका बेला उठाइएको घुस करिव तीन करोड रुपैयाँ कार्यालयका प्रमुख कृष्णप्रसाद भुषालपछिका हर्ताकर्ता शाखा अधिकृत केशव जोशीलाई प्रमुख भुषालले ५० हजार मात्रै थमाए । त्यत्ति रकमले १२ वर्षदेखि लगातार कमाउ कार्यालय भनेर परिचित यातायातमा बसेर कमाईको सबै मेसो बुझेका जोशीको चित्त बुझ्ने कुरै थिएन् । उनको पारो तात्यो । जोशीले अर्का अधिकृत पुष्पराज पौडेलको पनि साथ पाए । भुषालका बिरुद्ध एक्सन गर्दै लाइसेन्स वितरण गर्ने बेला भेरिफिकेशन फारममा उनीहरुले हस्ताक्षर गरेनन् । दुबैजना अधिकृतले हस्ताक्षर गर्न नमान्दा सबै प्रकृया पुरा भएर पनि लाइसेन्स वितरण कार्य अघि बढ्न सकेन् । एक महिना त्यत्तिकै रोकियो ।


केही उपाय नचलेपछि भुषालले मेकानिकल इन्जिनियर विजय अधिकारीलाई भेरिफिकेशनको जिम्मेवारी दिए । अधिकारीसमेत केही दिनमै बाहिरिएपछि उक्त जिम्मेवारी नासु तहका कर्मचारीलाई दिइयो । त्यतिबेलासम्म कार्यालयका अधिकांश असन्तुष्ट कर्मचारी भुषालका बिरुद्ध एकजुट भई सकेका थिए । तर मुख खोल्न सकिरहेका थिएनन् ।


यसैबीच गएको फागुन १७ गते होलीको अघिल्लो राती ११ बजे कार्यालयका नासु प्रविण श्रेष्ठ, सहायक लेखापाल र करार सेवाका नरेन्द्र कठरिया आवेदन फारम अफलाइनमार्फत भर्न बसेका थिए । राजश्व शुल्कभन्दा तेब्बर रकम असुलेर ऐजेन्टद्वारा संकलन गरिएका फारमहरु अफलाइनबाट भित्रभित्रै आवेदन फारम भरिने गरेको ड्राइभिङ सेन्टरका प्रतिनिधिहरुले सुइको पाइ हाले । ८ जनाको समूह कर्मचारी बसेकै कार्यालय कोठामा घुसे । उनीहरुबीच कुटाकुट भयो ।


‘कार्यालयका ३ वटा कम्प्युटर तोडफोड भए’ त्यसबेला निमित्त प्रमुख उनै शाखा अधिकृत जोशी थिए । जोशीले कार्यालयमा भएको घटना हाकिमलाई जानकारी गराउदा पनि वास्ता नगरेको बताए । कार्यालय प्रमुख भुषालले भने कार्यालयमा कम्प्यूटर तोडफोड भएको जानकारी पाएपनि त्यसबेला आफु काठमाडौंमा रहेको बताएर पन्छिए । जोशीको यसै साता महेन्द्रनगर सरुवा भयो ।


यसैसाता मोटरसाइकल, जीप कारको लाइसेन्स परीक्षा लिंदैछ कार्यालयले । तोकेको अवधि अघिल्लै महिना सकिएको भन्दै कतिपय सर्वसाधारणले अनलाइनमा आवेदन फारम भर्नै पाएनन् । कार्यालय प्रमुख र उपल्लो तहका प्रमुखको संलग्नतामा नियम विपरीत भित्रभित्रै अफलाइन माध्यमद्वारा तेब्बर शुल्क असुलेर अहिलेपनि फारम भर्ने गरिएको खुलेको छ । अफलाइन माध्यमबारे कार्यालयका पनि सिमित कर्मचारीलाई मात्र जानकारी दिइएको हुन्छ । आवदेन शुल्क ५ सय भएपनि अफलाइन चलाएर डेढ हजार असुल्ने गरिएको छ । ‘अफलाइन माध्यम प्रयोग गरी आवदेन शुल्कवापत मात्रै कम्तीमा ५ लाख बढि संकलन गरिएको छ’ कार्यालयका एक कर्मचारीले भने, ‘मोटर साइकलको लाइसेन्स वापत मात्रै प्रत्येक लटमा कम्तीमा २ करोड संकलन हुन्छ ।’


कार्यालय प्रमुख भुषालले अफलाइन माध्यमबाट आवेदन फाराम भरिएको स्विकारे । ‘कुनै अति जरुरी ब्यक्तिका लागि यसको प्रयोजन गरिएको हो’ उनले भने, ‘रकम असुल्नका लागि प्रयोग भएको छैन ।’ अफलाइनबारे हल्ला हुन थालेपछि कार्यालयले देखावटी रुपमा अफलाईन चलाएको पाइएमा कार्वाही हुने भन्दै ३ पटक त परिपत्र नै जारी गरियो । तर एजेन्टहरुले संकलन गरेका फारम अफलाइनबाट गुपचुपमा रातको समयमा भर्दै गर्दा दुई साताअघि कार्यालय तोडफोड भएको थियो ।

अनलाइन देखावटी मात्रै

यातायात ब्यवस्था विभागले अनियमितता न्यूनिकरण गर्न तथा सर्वसाधारणको सहजताका लागि अनलाइन माध्यमबाट आवेदन भर्ने ब्यवस्था गरेको छ । तर अनलाइनले निश्चित आवेदक पुगेपछि थप आवेदन लिंदैन । त्यस्तो हुँदा आवेदन शुल्क वापत उठाउदै आएको अतिरिक्त रकम प्राप्त हुने बाटो बन्द भयो ।


रकम असुल्न खप्पिस कर्मचारीहरुलाई त्यत्तिले बाटो बन्द गरेन । विभागका उच्च अधिकारीसहितको संलग्नतामा अफलाइन माध्ययमबाट भित्रि बाटोबाट आवदेन लिन थालियो । नियमित प्रकृयामा मोटरसाइकल चालक अनुमतिपत्रका लागि आवदेन फारम भर्न ५ सय लाग्ने गरेकोमा अफलाइनबाट भर्दा सिधै १५ सय असुल्न थालियो । ‘अनलाईनबाट अघिल्लै महिना आवेदन फारम बन्द भएपनि तेब्बर रकम बुझाएपछि कार्यालयकै एक कर्मचारीले शुक्रवार फारम दर्ता भई सकेको जानकारी दिएका छन्’ आवेदन फारम भर्न सफल एक सेवाग्राहीले भने ।


मनपरी असुली

खुलेआम ६ हजार बुझाएपछि मोटरसाइकलको चालक अनुमतिपत्रका लागि लिखित र ट्रायल पास गर्नै नपर्ने कुरा थाहा नपाउने सर्वसाधारण समेत कमै छन् । गत साउनमा खोलिएको मोटरसाइकल चालक अनुमतिपत्रका लागि १४ हजारले आवेदन भरे । यी मध्ये आधा जसोले मात्रै निर्धारित राजश्व रकम ५ सय तिरेर आवेदन फाराम भर्ने मौका पाए । ‘लगभग ४ हजार आवेदकको दोब्बर रकम अर्थात एक हजार लिएर फारम भरिएको थियो’ कार्यालयकै नासु स्तरका अर्का एक कर्मचारीले भने । यसरी आवेदन शुल्कबाटै लाखौं रकम नियम विपरित असुलिन्छ ।


मोटरसाइकलको चालक अनुमतिपत्र प्राप्त गर्न ट्रायलमा उतीर्ण भएकाले २ हजार राजस्व तिरे लाइसेन्स हात पर्छ । तर ट्रायलमै फेल भएकालाई पनि लाइसेन्स प्राप्त गर्न कठिन छैन । लिखित र ट्रायलमा स्वयं उपस्थित भए ६ हजार तिरे लाइसेन्स हातमा आउछ । लिखित र ट्रायल दुबैमा उपस्थित हुन नसक्ने अवस्थामा भने १० हजार तिर्नुपर्ने हुन्छ ।

साउन महिनामा १४ हजारले आवेदन दिएका मध्ये ९ हजार उर्तीणको सूचिमा चढे । ‘ती मध्ये ४० प्रतिशत मात्रै ट्रायलमा उतीर्ण भएका हुन् । अरु सबैले ६ हजार तिरेर लाइसेन्स लिए’ नासु स्तरकै एक कर्मचारीले भने, ‘त्यही लटमा अढाई करोड उठाइयो ।’


जीप कारको चालक अनुमतिपत्र प्राप्तगर्न ट्रायल पास गरेकाले २ हजार ५ सय तिरे पुग्छ । तर १० हजार तिरे जोसूकैको लाइसेन्स पक्का हुने गरेको लाइसेन्स लिएकाहरुले बताए । ट्याक्टरको लाइसेन्स झिकेर सोमवार कार्यालयबाट फर्किदै गरेका राजेन्द्र रानाले भने, ‘१४ हजार बुझाएर लाइसेन्स बन्यो ।’ ट्याक्टरको लाइसेन्स झिक्न लाग्ने सरकारी राजस्व २ हजार ५ सय मात्रै हो । कार्यालय परिसरभित्र सेवाग्राहीहरु लाइसेन्स झिक्न बुझाउनुपर्ने रकम र एजेन्टबारे गफिंदै थिए ।


बस, ट्रकलगायत हेभी इक्वीपमेन्टको लाइसेन्स बनाउन लाग्ने राजस्व ३ हजार ५ सय हो । तर २० हजार बुझाए जोकोहीको लाइसेन्स बन्छ । यस्तै जेसिबीको रेट ३० हजार तोकिएको एक कर्मचारीले बताए ।

गज्जबको सेटिङ्ग

धनगढीमा लाइसेन्स वितरण गर्न तीन सदस्यीय टोली छ । यातायात कार्यालय प्रमुख अध्यक्ष, मेकानिकल इन्जिनियर र ट्राफिक प्रहरीका निरीक्षक समितिमा सदस्य रहेका छन् । फर्जी बाटोबाट वितरण गरिने लाइसेन्समा यी तीनै जनाको मुख्य हात रहने गरेको छ । नियम विपरित संकलन गरिएको रकमको प्रमुख हिस्सेदार उनीहरु हुन्छन् । भागबण्डा भने जिल्ला तहदेखि केन्द्रसम्म भागवण्डा हुने गरेको कर्मचारीहरु बताउँछन् ।


बढ्दो सवारी दुर्घटना

ट्राफिक कार्यालयकै तथ्यांकमा यस क्षेत्रमा सवारी दुर्घटना बृद्धि भएको देखिन्छ । ७ नम्वर प्रदेशमा हुने सवारी दुर्घटनाबाट औसतमा प्रत्येक २ दिनमा १ को मृत्यु हुने गरेको ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्यांकमा उल्लेख छ ।


कार्यालयका अनुसार यो बर्षको साउनदेखि फागुनसम्म १ सय १ दुर्घटना भएका छन् । यो अवधीको २ सय ३२ दिनमा १ सय २ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा परी गम्भिर घाइते ७४ र सामान्य घाइते १ सय २५ जना छन । सबै भन्दा बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकिल रहेकोछ । ‘यातायात कार्यालयमा लामो समयदेखि हुने गरेका आर्थिक अनिमियतता र बेथिति कै कारण यो प्रदेशमा सवारी दुर्घटना बढेको सहजै अनुमान गर्न सकिन्छ ।



प्रकाशित : चैत्र ८, २०७४ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?