‘ब्याक बेन्चर’ बाबुराम

गंगा बीसी

काठमाडौँ — स्कुल र कलेज जीवनमा बाबुराम भट्टराई कहिलै पनि ‘ब्याक बेन्चर’ भएनन् । स्कुल जीवनमा उनी जहिले पनि अग्रस्थानमा बसे र सफलता पाए । एसएलसीमा बोर्ड फस्ट भएपछि उनीबारे एउटा भनाइ बन्यो, ‘बाबुराम नेभर सेकन्ड ।’

‘ब्याक बेन्चर’ बाबुराम

माओवादी आन्दोलनमा लागेपछि त्यही ‘नेभर सेकन्ड’ व्यक्तिको नामकै आधारमा सयौं व्यक्तिले उनलाई पछ्याए । खुला वा भूमिगत समयमा उनका फलोअरको संख्या ठूलै थियो । भूमिगत होस् वा खुला राजनीतिमा माओवादी पार्टीमा हुँदासम्म उनी जहिले पनि अग्रस्थानमै रहे । माओवादी उपाध्यक्ष, वरिष्ठ नेता हुँदै उनी प्रधानमन्त्री हुन सफल भए । त्यसबेला उनी संसद अघिल्लो रो मै देखिन्थे ।


यतिबेला उनी संघीय संसदमा 'ब्याक बेन्चर' भएका छन् । सँधै अग्रस्थानमा बस्ने उनी संसदको सबभन्दा पछाडिको सिटमा पुगेका छन् । गोरखा २ बाट निर्वाचित भएका उनी नयाँ शक्ति पार्टीको संयोजक समेत हुन् । हुन त राजनीतिमा ब्याक बेन्चर भएर के फरक पर्छ ? भन्नेहरु पनि छन् । तर बाबुरामका हकमा ब्याक बेन्चर नसुहाएको टिप्पणी हुन थालेको छ ।

‘सुहाउने, नसुहाउने कुरा होइन । म नयाँ बाटो बनाउन हिडेको ब्यक्ति हुँ । नयाँ बाटो बनाउने क्रममा कहिले पछाडि पर्नु अन्यथा होइन । सिटको कुरा होइन, विचारमा फ्रन्ट बेन्चर हुनु अहिलेको आवश्यकता हो’ यही मंगलबार राजधानीको विशालबजारस्थित निवासमा बाबुरामले कान्तिपुरसँग भने ।


विशालनगरको उनको निवासमा कार्यकर्ताको पनि खासै चहलपहल छैन । शान्त छ । निवास हेर्दा यस्तो लाग्छ, राजनीतिक दलको नेताको नभएर कुनै अनुसन्धानदाताको हो । उनी त्यही बसेर नयाँ शक्तिको भविष्य निर्धारण गर्दैछन् ।


माओवादी युद्धका एकजना ‘आर्किटेक्चर’ उनी थिए । उनी आफै पनि आर्किटेक्चरल इन्जिनियरिङ पढेका व्यक्ति हुन् । माओवादीमा प्रचण्ड र बाबुरामको उचित संयोजनले १० वर्ष युद्ध चलेको थियो । त्यतिबेला पार्टीभित्र प्रचण्ड बलिया थिए भने बाहिरी रुपमा बाबुराम । यसले माओवादी युद्ध हाँक्न सहज भएको थियो । पढन्ते बौद्धिक नेता बाबुराम माओवादीमा रहँदासम्म सफल राजनीतिज्ञको रुपमा देखिए ।

माओवादीमा रहँदा पार्टीभित्रकै कतिपय नेताका लागि उनी ‘अछुत’ नेताको रुपमा पनि रहे । उनलाई भारतको ‘एजेण्ट’ को चित्रण गर्दै शंकाको घेरामा पनि राखियो । राजनीतिक कार्यदिशा र पार्टीभित्रकै अछुत व्यबहार भोगेपछि उनले पार्टी छाडे । माओवादीलाई रातो स्टिकर टाँसेको घरको संज्ञा दिएर बाहिरिएका उनले केही नयाँ पुराना व्यक्ति राखेर जोडजाड गरे । उनले निर्माण गरेको पार्टी नयाँ पुराना सामाग्री जोडजाड गरेका जस्तो भयो । न नाम जस्तै नयाँ भयो, न उनले माओवादी, एमाले, कांग्रेसलाई भनेजस्तो पुरानो भयो । उनको पार्टीले स्थानीय, संघ र प्रदेशको निर्वाचनमा सफलता हाँसिन गर्न सकेन ।


अर्थमन्त्री हुने बेला बाबुरामले राजस्व बढाएर आफ्नो छवि राम्रो बनाए । प्रधानमन्त्री काल उनको मिश्रित रह्यो । खासगरी राजधानीका सडक विस्तारको श्रेय उनलाई जान्छ । ठूलो सडकमा गुड्नेको मनमा बाबुराम छन् । मुलुकमा आर्थिक क्रान्ति, समृद्धिको शब्दमै भए पनि मार्गचित्र अघि सार्ने व्यक्तिमध्ये उनी हुन् । अहिले मुलुक आर्थिक क्रान्तिको बाटोमा अघि बढेको वामपन्थी सरकारले दावी गरेको छ । माओवादी क्रान्ति वा आर्थिक क्रान्ति नारा स्थपित गर्ने एक व्यक्ति उनै हुन् ।


गत असोज महिनामा हतारहतार वामगठबन्धनमा सहभागी भएका उनी सिटको भागबण्डा नमिल्दा बाहिरिनु पर्ने अवस्था आयो । गोरखा २ मा माओवादीले सिट नछाडेपछि बाबुराम गठबन्धनबाट बाहिरिए । यसको कारण केवल निर्वाचन क्षेत्र मात्र नभएको भनाई बाबुरामको रहेछ ।

‘माओवादी, एमाले र संघीय फोरमबीच निर्वाचनमा मोर्चा बनाएर चुनाव लड्ने छलफल चल्दै थियो । त्यसबेला केपी ओलीजीले आउनुस् वाम गठबन्धनमा भने पछि हामी सहभागी भयौं । त्यो आकस्मिक र हतारमा भएको थियो’ उनले भने, ‘केवल गोरखा २ को सिटको मात्र कुरा होइन । अरु कारण छन् ।’ उनको भनाईमा माओवादीकै एउटा पक्षले नयाँ शक्तिलाई समावेश गर्न नचाहेको हो ।


‘माओवादी विसर्जन हुने खतरा’


राजधानीको विशालनगरस्थित शान्त निजी निवासमा भट्टराईले माओवादीमा आफू नभए पनि उक्त आन्दोलनबारे केही चिन्ता व्यक्त गरे । माओवादीमा रहँदा बाक्लै भेटघाटमा रहने नयाँ शक्ति गठन गरेपछि कम व्यस्त रहन्छन् । बाँकी समय उनी अध्ययन र चिन्तन मनन्मा खर्च गर्छन् । महिनामा एक दिन निर्वाचन क्षेत्र गोरखा जाने कार्यक्रमलाई निरन्तरता दिएका छन् । उनी सोमबार मात्र गोरखाबाट फर्किएका थिए ।


दश वर्ष युद्धमा बिताएका उनले माओवादी युद्धबाट प्राप्त उपलब्धी गुम्ने खतरा समेत औल्याए । माओवादीबाट २०७२ असोजमा अलग हुनुभन्दा केही दिन अघि अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराईबीच छलफल भयो लाजिम्पाटमा । त्यसबेला बाबुरामको प्रस्ताव थियो, ‘अब यसरी पार्टी चल्दैन । माओवादीलाई पुनर्गठन गरेर जाऔं । हालसम्मको उपलब्धीको रक्षा गर्दै समाजवादको लागि आधार तयार गरौं । अब कम्युनिस्ट मात्र भनेर हुँदैन, समाजवादको बाटो तय गर्ने विचार तय गरौ । पार्टी पनि नयाँ बनाऔ ।’


त्यसबेला प्रचण्डले त्यसको खास खण्डन नगरेको सुनाए, ‘समाजवादको यात्रा तय गर्ने हो । तर अहिले कम्युनिस्ट हटाउन सकिंदैन । सारमा तपाईले भनेको कुरा गलत होइन ।’ बाबुरामले नयाँ शक्ति पार्टीको गठन हुनुअघि एकपटक माओवादीलाई नयाँ शक्तिमा बदल्न गरेको प्रयास सुनाए । त्यतिबेला माओवादी तेस्रो अवस्थामा पुगेको थियो । एमाले र माओवादीबीच पार्टी एकता गर्ने सम्वन्धमा छलफल सुरु भएको थिएन । पुँजीवादी चरण पुरा भएको अवस्थामा माओवादीलाई नयाँ पार्टीको रुपमा विकास गर्ने ठूलो अवसर देखेको उनले सुनाए ।


‘त्यो उचित मौका थियो । किनकी पुँजीवादी चरण पुरा भई समाजवादको बाटोमा जाने अवस्था आएको छ । २१ औं शताब्दीमा जाने भनेको समाजवादी बाटो हो । त्यो लेनिन, माओले तय गरेको भन्दा फरक ब्यबहारिक बाटो हुन सक्थ्यो’ उनले भने, ‘प्रचण्डले अझै शास्त्रीय कम्युनिस्टको कुरा गरेर टिक्न सकिन्छ भन्ने लागेको थियो ।'


स्थानीय निर्वाचनमा कांग्रेससित धेरै ठाउँमा तालमेल गरेका प्रचण्ड, संघ र प्रदेशको चुनावको मुखमा एमालेसँग तालमेल र पार्टी एकता गर्ने घोषणा गरे । जसका बलमा वाम उम्मेदवारको बहुमत प्राप्त भयो । यो बहुमतलाई स्वभाविक ठान्छन् भट्टराई । दश वर्ष युद्धमा लागेका भट्टराईलाई एमाले माओवादी मिल्दा खासगरी प्रचण्डका लागि जोखिम देखेका छन् ।

‘माओवादी आन्दोलन विर्सजन हुने जोखिम छ । अस्तित्व मेटिन सक्छ । एमाले विगतदेखिनै बढी संसदीय धारमा डुबेको पार्टी हो । उसँग झण्डा र नाम मात्र कम्युनिस्ट छ । बाँकी सबै नीति तथा कार्यक्रम पुरानै छ’ उनको आरोप छ, ‘एमालेले संघीयता, धर्म निरीपेक्षतालगायतलाई पनि मनैदेखि स्वीकार गरेको होइन ।’ उनको तर्क छ, ‘प्रचण्ड एमालेमा मिसिन जानु भनेको माओवादीको अस्तित्व सकिनु हो । केही समयपछि प्रचण्डले बुझ्नुहुनेछ । उहाँ एकीकृत पार्टीको ठूलो नेता हुन सक्नुहोला, तर गलत नीतिमा फस्नुहुनेछ । ’ उनले प्रचण्डलाई आफ्नो बारी छाडेर अर्काको बारी जोत्न गएको संज्ञा दिए । ‘उहाँ आफ्नो बारी (माओवादी) छाडेर अर्काको बारी (एमाले) जोत्न जानु भएको छ, अर्काको बारीमा जोत्न जाँदा परिणाम के हुन्छ ? उहा र म व्यक्तिगत रुपमा असल मित्र हो ।’


‘एमाले, माओवादीसँग मुद्दामा सहकार्य हुन सक्छ’


संसदमा स्वतन्त्र हैसियतमा नयाँ शक्ति पार्टी छ । उनले पार्टीको मान्यता दिनुपर्ने माग गरेका छन् । एमाले र माओवादी एकता हुन गइरहेका सन्दर्भमा उनले आफू त्यसबाट चुनाव अघिनै अलग भइसकेको उल्लेख गरे ।

‘एमाले, माओवादीसँग पार्टी एकता हुँदैन । यी पार्टी लिएको बाटोमा नयाँ शक्तिको नीति मिल्दैन’ उनले भने, ‘केही मुद्दामा सहकार्य गरेर जान सकिन्छ । माओवादी एमालेमा मिसिएपछि उसको विसर्जनको बाटो सुरु भयो ।’


चुनाव अघि वाम गठबन्धन बनाउने बेला आफूले माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग ‘समाजवादी केन्द्र’ नामको पार्टी बनाउन छलफल गरेको खुलाए । ‘दुबै नेताले अहिलै कम्युनिस्ट नाम हटाए सकिन्छौ । पछि समाजवादी केन्द्रनै नाम राख्ने हो भन्नुभयो । दुबैलाई आँट गरेर नयाँ नाम प्रस्ताव गर्न भने, कुरा मिलेन’ उनले सुनाए । एमाले र माओवादी मिलेर नेपाल कम्युनिस्ट पार्टी नाम राख्ने प्रस्ताव गरिएको छ ।


दुई अंकको आर्थिक वृद्धि नभई समृद्धि कठिन


हालै भारत भ्रमणका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले रेल र ठूला नदीमा पानीजहाज चलाउने सैद्धान्तिक सहमति गरे । तर उनले बढ्दो ब्यापार घाटा कम गर्ने विषयमा गंभीर नभएको भट्टराईको आरोप छ ।


‘अबको दुई दशकमा आर्थिक वृद्धि नभई मुलुक समृद्ध हुन सक्दैन’ उनले भने, ‘प्रधानमन्त्री ओलीले बढी कस्मेटिक कुरा गर्नुभयो । नेपालमा रेल, पानी जहाज ल्याउने कुरा राम्रो हो । योसँगै आर्थिक वृद्धिका कार्ययोजना खै ? क्षणिक आवेज्ञात्मक कुरा गरेर आर्थिक वृद्धि गरेर हुँदैन ।’


उनले मुलुकमा उत्पादन वृद्धि नगरेसम्म रेलै आए पनि ब्यापार घाटा बढ्दै गएर झन् संकट आउने चेतावनी दिए । ‘रेलले बाहिरको सामान बोकेर आउँछ, हामीले पठाउने कुरा भएन भने त्यसले झन् व्यापार घाटा बढाउँछ’ उनले भने, ‘बढ्दो ब्यापार घाटा कम गर्न मुलुकमा लगानी बढाउनु पर्‍यो ।’ उनले आफू प्रधानमन्त्री भएका गरेको बिप्पा सम्झौता वैदेशिक लगानी बढाउन गरेको तर्क गरे, ‘मलाई राष्ट्रघातको आरोप लगाइयो, वैदेशिक लगानीका लागि भएको सम्झौता थियो ।’

भट्टराईले भारत र चीनले आफ्नो स्वार्थ पूर्ति गर्न नेपालमा रेल ल्याउन सहयोग गर्ने बताए । ‘उनीहरु (भारत र चीन) ले बिभिन्न शर्त राखेर रेल ल्याइदिने हो, नेपालमा रेल आउँदा बढी सामान आउला, हामीले बाहिर पठाउने सामान पनि उत्पादन गर्नु पर्‍यो’ उनले भने ।


‘सरकारसँग कुरा छन्, योजना छैन’


पूर्व प्रधानमन्त्री, अर्थमन्त्री समेत रहेका बाबुराम भट्टराईले वामपन्थी सरकारले आर्थिक क्रान्ति, समृद्धिका ठूला गफ गरे पनि ठोस योजना नभएको भन्दै आलोचना गरे । ‘सरकारले आर्थिक समृद्धिका ठूला सपना बाँडेको छ, योजना बनाएका छैनन्’ उनले भने, ‘मुलुकको समग्र रुपान्तरण भिजन भएन भने कुराले केही हुनेवाला छैन । राष्ट्रिय औद्योगिक क्रान्तिको खाका कोर्नु आवश्यक छ ।’


‘मुलुकको ढुकुटी रित्तिएको अवस्था छ । यस्तो हुनुमा को दाषी हो ? एमाले अर्थमन्त्रीले आफ्नो पार्टीलाई बाहिर राखेर कांग्रेसका कारण ढुकुटी कमजोर भयो भन्नुभयो । यो होइन, एमाले पनि विगतमा निरन्तर सरकारमा छ । ऊ पनि त्यत्तिकै जिम्मेवार छ,’ उनले भने, ‘यो सरकारसँग आर्थिक वृद्धिका ठोस योजना छैन । गफ बढी छ । दीर्घकालीन योजना नभएसम्म समृद्धि संभव छैन ।’


जनताको चाहना स्थिर सरकार र काम गरेको हेर्न चाहेको उल्लेख गर्दै भट्टराईले सरकारको परीक्षा सुरु भएको बताए । ‘एक, डेढ वर्षमा सरकारको काम देखिने छ । बिना पूर्वाग्रह भन्छु, वाम सरकारसँग समृद्धिको जग बसाउने तयारी देखिंदैन ।’


प्रकाशित : चैत्र २८, २०७४ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?