कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

सम्पदामा जागेको आशा

पुनर्निर्माण
भूकम्पले क्षति पुगेका सम्पदामध्ये ३ सय १४ को पुनर्निर्माण तथा जीर्णाेद्धार सुरु भएको छ। यीमध्ये ५६ वटा बहुवर्षीय योजनाअन्तर्गत निर्माण सुरु भएका हुन्। उपत्यकामा मात्रै सातवटा विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदा छन्।
दामोदर न्यौपाने

काठमाडौँ — वसन्तपुर क्षेत्रको नौतले दरबार जीर्णाेद्धार धमाधम भइरहेको छ। चीन सरकारको सहयोगमा बन्न लागेको हो यो दरबार। लामो समय अलपत्र रहेको यो दरबार बन्न लागेपछि वसन्तरपुर दरबार क्षेत्रमा रौनक बढेको छ।

सम्पदामा जागेको आशा

नौतले दरबारसँगै गद्दी बैठकको सबलीकरण पनि धमाधम भइरहेको छ। यसको सबलीकरण अमेरिकी सहयोगमा भइरहेको छ। यो दरबार सबलीकरण भएपछि अरू राणाकालीन दरबारसमेत बनाउन उदाहरणीय हुने पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहाल बताउँछन्।

उपत्यकाका तीन सहरमध्ये पुनर्निर्माणमा सुस्त भएको काठमाडौं हो। काठमाडौंको पनि हनुमानढोका दरबार क्षेत्रका मुख्य संरचना नौतले दरबार र गद्दी बैठकको सवलीकरण सुरु भएपछि सम्पदा पुनर्निर्माणमा आशा जगाएको छ। पुनर्निर्माण प्राधिकरणको तथ्यांकअनुसार देशभरिमा १ हजार ५ सय ९८ सम्पदामा क्षति पुगे। उपत्यकामा मात्रै १ हजार १ सय ६ वटा सम्पदामा क्षति पुगेको छ। तीमध्ये काठमाडौंमा ५ सय ६४ सम्पदामा क्षति पुगेका छन्। यो उपत्यकाको सबैभन्दा बढी संख्या हो। त्यसपछि ललितपुरमा २ सय ८४, भक्तपुरमा २ सय ५६ सम्पदामा क्षति पुगेका छन्। क्षति पुगेका सम्पदामध्ये ३ सय १४ को पुनर्निर्माण तथा जीर्णाेद्धार सुरु भएका छन्। यीमध्ये ५६ वटा बहुवर्षीय योजनाअन्तर्गत निर्माण सुरु भएका हुन्। उपत्यकामा मात्रै सातवटा विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदा छन्। विश्वसम्पदामा सूचीकृतमध्ये बौद्धनाथ मात्रै पुनर्निर्माण सम्पन्न भएको छ। बौद्धनाथ क्षेत्र विकास समितिको पहलमा चन्दा उठाएर यसको पुनर्निर्माण गरिएको हो। गत वर्ष नै यसको उद्घाटन गरिसकिएको छ। यसको जीर्णोद्धारमा १८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो। तर, अनुमानभन्दा ५ करोड बढी २३ करोड रुपैयाँ खर्च लाग्यो।

भक्तपुर दरबार स्क्वायर

प्राधिकरणका अनुसार भुइँचालोले क्षति पुर्‍याएका ११ जिल्लामा ७० वटा सम्पदा पुनर्निर्माण भइसकेका छन्। काठमाडौंका वसन्तपुर, स्वयम्भू, पशुपतिनाथ र बौद्धनाथ गरी चारवटा विश्वसम्पदामा ३१ सम्पदा पुनर्निर्माण सकिएका छन्। त्यसमध्ये १५ वटा चारवटा विश्वसम्पदा क्षेत्रका छन्। ललितपुरमा ११ वटा सम्पदा पुनर्निर्माण सकिएका छन्। तीमध्ये ५ वटा विश्वसम्पदा क्षेत्रका छन्। ललितपुरमा पाटन दरबार क्षेत्र विश्व सम्पदा सूचीमा छ। भक्तपुरमा ८ वटा सम्पदा पुनर्निर्माण सकिएका छन्। तीमध्ये ७ वटा विश्वसम्प्दा क्षेत्रका छन्। चाँगुनारायण र भक्तपुर दरबार क्षेत्र विश्वसम्पदा क्षेत्रमा पर्छन्।

यी सबै सम्पदा पुनर्निर्माण गर्न २० अर्ब ५५ करोड ३ लाख रुपैयाँ खर्च हुने प्राधिकरणको अनुमान छ। यीमध्ये गुम्बा, विहारको मात्रै पुनर्निर्माण गर्न ८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। पहिलो विश्वसम्पदा, दोस्रो राष्ट्रिय सम्पदा र तेस्रो प्राथमिकतामा स्थानीय सम्पदालाई राखेर पुनर्निर्माण भइरहेको विभागले जनाएको छ। भुइँचालो गएको तीन वर्ष पुग्दै छ। यो बीचमा सम्पदा पुनर्निर्माण सुस्त भए। कोही सम्पदा विवादले बन्न सकेका छैनन्। रानीपोखरी, धरहरा, काष्ठमण्डपजस्ता सम्पदा निर्माणमा विवाद देखिए।

पाटन दरबार स्क्वायर

प्राचीन स्मारक ऐन २०१३, प्राचीन स्मारक संरक्षण नियमावली २०४६ लाई ध्यान नदिँदा यी सम्पदामा विवाद आएका थिए। त्यही भएर यसको पुनर्निर्माणमा गति लिएनन्। यी सबै सम्पदा पुनर्निर्माण समयसीमा बनाएर काम थाल्न आफ्नो मातहतको निकाय पुरातत्त्व विभागलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले दिएका छन्। ‘सम्पदा जीर्णाेद्धार प्रक्रिया ढिलो हुन्छ। तर ढिलो भए पनि यसलाई सिफ्टसिफ्टमा काम गर्न सकिन्छ,’ अधिकारी भन्छन्, ‘एक सिफ्टमा गर्ने कामलाई तीन सिफ्टमा गरेर पनि चाँडो सक्न सकिन्छ। समयसीमा बनाएर काम गर्नुस्। जसरी हुन्छ काम चाँडो हुनुपर्छ।’

प्रकाशित : चैत्र ३०, २०७४ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?