तीव्र गतिमा गौतम बुद्ध विमानस्थलको काम

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्दा अत्याधुनिक रहने भैरहवाको गौतम बुद्ध विमानस्थलमा शून्य भिजिबिलिटीमै जहाज अवतरण गर्न सक्नेछ।
घनश्याम गौतम

काठमाडौँ — निर्माण सुस्त भएको भनी असन्तुष्ट दाता एसियाली विकास बैंकले दुई साताअघि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कामको अनुगमन गर्‍यो। अलि पहिला उसले सहयोग बन्द गर्ने चेतावनी नै दिएको थियो। जब यहाँ आयो र पछिल्लो अवस्था देख्यो, निचोडमा पुगेको छ– अहिलेचाहिँ तीव्र गतिमा काम भइरहेको रहेछ, निरन्तरता दिनुहोस्।

तीव्र गतिमा गौतम बुद्ध विमानस्थलको काम

निर्माण सम्झौता गरेको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले नेपाली कम्पनी नर्थ वेस्ट इन्फ्रा प्रालिलाई कामको जिम्मा दिएको थियो। तर दुई कम्पनीबीचको विवादले हालै ६ दिन काम रोकियो। विवाद समाधान गरेर अहिले चिनियाँ कम्पनी आफैंले काम गरिरहेको छ। अहिले दुई सिफ्टमा लगातार १८ घण्टा काम भइरहेको छ। ३५ जना चिनियाँसहित २ सय मजदुर विमानस्थलमा कार्यरत छन्।

भैरहवास्थित यस विमानस्थलले तीव्रता पनि यही वर्ष पायो। ३ वर्षमा भएको ४० प्रतिशत काममध्ये यो वर्ष मात्र २० प्रतिशतभन्दा बढी भएको छ। यो प्रगतिका आधारमा सन् २०१९ लाई ‘अपरेसन’ वर्ष घोषणा गरिने आयोजना प्रमुख ओम शर्माले बताए।

एसियाली विकास बैंकको अनुदान र ऋण सहयोगमा क्षेत्रीयबाट अन्तर्राष्ट्रियस्तरमा विकास गर्न थालिएको भए पनि सुरुका दुई वर्ष निर्माण कम्पनीबीचको विवाद, मधेस आन्दोलन र नाकाबन्दी समस्याले निर्माणले गति लिएन। लगातार काम भएको भए अहिले भैरहवाबाटै अन्तर्राष्ट्रिय उडान सुरु भइसकेको हुन्थ्यो। सरकारले यसलाई राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा महत्त्वपूर्ण रूपमा लिएको छ।

प्रमुख शर्माका अनुसार तीन हजार मिटरको धावन मार्गमा ग्राभेलिङ सकिएको छ। अब एक पत्र अन्तिम ग्राभेल गरेपछि कालोपत्रेको काम सुरु हुनेछ। ‘त्यसका लागि पनि सामग्रीदेखि पूर्वाधार सबै तयार छ,’ उनले भने, ‘सकेसम्म वर्षाअघि नै सबै रनवे कालोपत्रे सकिन्छ।’ टर्मिनल भवनको चौथो तला पूरा भइसकेको छ। कन्ट्रोल टावर, उद्धार तथा अग्नि नियन्त्रण भवन निर्माण पनि तीव्र भएको उनले बताए। त्यस्तै टर्मिनल भवनको भूमिगत तला निर्माणको काम सकिएको छ। ‘ठूला र अप्ठ्यारा सबै काम सकिए,’ उनले भने, ‘सन् २०१९ लाई अपरेसन वर्षकै रूपमा मनाउने गरी काम भइरहेको छ।’

यस्तो बन्नेछ विमानस्थल
निर्माणपछिको विमानस्थलमा ३ किलोमिटर लामो र ७० मिटर चौडा रनवे, २ किलोमिटर लामो र ३० मिटर चौडा ट्याक्सी पार्किङ, अन्तर्राष्ट्रिय टर्मिनल भवन, रनवेको दुवैतिर ढल निकास, यात्रु टर्मिनल भवन रहनेछन्। विमानस्थल सञ्चालन भएपछि वार्षिक ५ हजार ३ सय ४३ आन्तरिक र २ हजार २४ वटा अन्तर्राष्ट्रिय विमान अवतरण गर्नेछन्। विमानबाट वार्षिक ४ लाख १३ हजार यात्रु ओर्लने अनुमान छ। यो संख्या बढ्दै गएर सन् २०३३ मा १७ हजार ६ सय ५२ उडानबाट १० लाख यात्रु ओर्लने प्राधिकरणको प्रक्षेपण छ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण आइकाउको कोड फोर ईका अनुसार ३ हजार मिटर धावन मार्ग भएको विमानस्थलमा बोइङ ७७७ अर्थात् ५२ मिटरदेखि ६४.९९ मिटर चौडाइ रहेका जहाज सहजै अवतरण गर्न सक्छन्। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्दा अत्याधुनिक रहने यो विमानस्थलमा शून्य भिजिबिलिटीमै जहाज अवतरण गर्न सक्नेछ।

२०२३ सालमा भारत सरकारको आर्थिक सहयोगमा निर्मित आन्तरिक विमानस्थल अहिले ७ सय ८७ बिघा क्षेत्रफलमा फैलिएको छ। जग्गाको मुआब्जाबाहेक निर्माणमा मात्र ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैयाँ खर्च हुनेछ। त्यसमा एडीबीको १८ प्रतिशत अनुदान, ७१ प्रतिशत ऋण र बाँकी ११ प्रतिशत नेपाल नागरिक उड्डयन प्राधिकरणले लगानी गर्दैछ।

२५ लाख विदेशी पर्यटक भित्रिने
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तयार भएपछि लुम्बिनी र यस आसपासका क्षेत्रमा विदेशी पर्यटक बढ्नेछन्। गत वर्ष लुम्बिनी क्षेत्रमा स्वदेशी र विदेशी गरेर १६ लाख पर्यटक आएको लुम्बिनी विकास कोषले जनाएको छ। त्यसमध्ये झन्डै २ लाख तेस्रो मुलुका छन्। ती सबै काठमाडौं आएर आन्तरिक उडानबाटै लुम्बिनीमा आएका थिए। विमानस्थल सञ्चालनमा आएपछि विदेशी पर्यटक मात्र २१ देखि २५ लाखसम्म लुम्बिनीमा आउने अनुमान छ। सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले अन्तर्राष्ट्रिय विमानस्थल लुम्बिनी क्षेत्र र सिंगो प्रदेशको पर्यटन विकासका लागि महत्त्वपूर्ण भएको बताए। ‘सार्क क्षेत्रसहित विश्वका विभिन्न स्थानमा धेरै बुद्धिस्ट छन्,’ उनले भने, ‘अन्तर्राष्ट्रिय उडान सुरु भएपछि ती धेरै पर्यटकका रूपमा लुम्बिनीमा आउनेछन्।’ लुम्बिनी क्षेत्रको धार्मिक महत्त्वमा आस्था राख्ने विदेशी पर्यटकलाई लुम्बिनी ल्याउन विमानस्थलले ठूलो र महत्त्वपूर्ण सहयोग पुग्ने उनले बताए।

एक वर्षभित्रै सम्पन्न गर्न निर्देशन
एक साताअघि विमानस्थलको कार्यप्रगतिको निरीक्षण गर्दै पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले एक वर्षभित्र निर्माण पूरा गर्न निर्देशन दिएका छन्। ‘दिनरात जति सक्नुहुन्छ, त्यति काम गर्नुस्, अबको एक वर्षभित्र काम सक्नुस्,’ उनले भने, ‘तपाईंका समस्या के हुन्? भन्नुस्, तर कुनै पनि बहानामा काम ढिलो गर्न पाउनुहुन्न।’ उनले अहिलेको सरकार पहिलाको जस्तो नभएको भन्दै कुनै पनि बहानामा काम ढिलो गर्न सरकारले नदिनेसमेत अनुगमनकै क्रममा बताए।

६ महिना थप म्याद पाएको कम्पनीले १ वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको छ। निर्माणमा ढिलाइ भएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएको दाता एसियाली विकास बैंकले पनि दुई साताअघि अनुगमन गर्‍यो। अनुगमनपछि सहयोग रोक्ने धेरैमा आशंका थियो। निर्माण प्रगतिका आधारमा अनुदान नरोक्ने तर निर्माणलाई थप तीव्र पार्ने दबाब दिएपछि फेरि धेरैमा विमानस्थल निर्माण छिटो सकिनेमा आशा पलाएको छ।

आशा जगायो
लुम्बिनी विश्वविद्यालयका प्राध्यापक डाक्टर गीतु गिरीले पहिला जस्तोसुकै समस्या भए पनि यो वर्ष भएको कामले आशा जगाएको बताए। ‘काम अझै छिटो हुनुपथ्र्यो,’ उनले भने, ‘जति छिटो निर्माण सक्यो, उति छिटो पर्यटकीय सम्भावना र अर्थतन्त्रको विकासमा सहयोग पुग्छ।’ अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास हुँदा पलाएको खुसी निर्माणमा भएको ढिलाइले हराएको थियो। अहिले फेरि सन्तोष लाग्ने गरी काम भएको उनले बताए।

प्रकाशित : चैत्र ३०, २०७४ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?