कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

धरापमै गुजारा

बहुस्वामित्व, दर्ता नभएका र मुद्दा परेका जग्गामा बनेका घर पुनर्निर्माणमा चुनौती
लीला श्रेष्ठ

काठमाडौँ — चारैतिर भग्नावशेष । खण्डहर बनेको छ पूरै बस्ती । कति घर ग्वार्लाम्मै ढलिसकेका छन् । केहीचाहिँ मरक्क मर्किएर ढल्न ठिक्क परेजस्ता । तिनैमध्येको एउटा घरमा साँझ बिहान सामसाम–सुमसुम गरिरहेकी भेटिन्छिन्– गणेशकुमारी प्रजापति ।

धरापमै गुजारा

२०७२ वैशाख १२ को शक्तिशाली भूकम्पले पूरै देश हल्लाउँदा भक्तपुर नगरपालिका–४ तालाक्व बस्तीले पनि निकै क्षति बेहोर्‍यो । त्यहीँकी बासिन्दा हुन्, गणेशकुमारी । भान्सा र राखनधरन जीर्ण घरमै छ । त्यहाँभित्र पसेदेखि नै त्रस्त रहन्छन् उनीहरू । खाना पकाउनेदेखि खानेसम्म हतारोमै हुन्छ । सुत्नचाहिँ छोरीको घर जान्छन् ।


तीन वर्ष बित्दा पनि उनीहरूले नयाँ बनाउन त परै जाओस्, धरापजस्तो घर भत्काउनसम्म सकेका छैनन् । वरिपरिका भग्नावशेष जस्ताको त्यस्तै छन् । ‘अझै भग्नावशेष व्यवस्थापन भएको छैन,’ उनले भनिन्, ‘बाध्य भएर धराप घरमै बसिरहेका छौं, भत्किने डरले राति सुत्न छोरीको घर जान्छौं ।’ तीन दाजुभाइको बहुस्वामित्वको चारतले घरमा क्षति पुगेपछि पुनर्निर्माणका लागि सरकारले दिएको पहिलो किस्ता अनुदान (५० हजार रुपैयाँ) ले दुई तला भत्काए उनीहरूले । दुई तला अझै बाँकी छ । तालाक्व, बोलाछें क्षेत्रका करिब २ सय घर क्षतिग्रस्त छन् ।


भक्तपुर–९ गछेंका रत्नप्रसाद ताक्राको चारतले घरको एक पाखा पूरै भत्किएको छ । अर्को पाखो पनि चिराचिरा । भत्किएको भाग प्लास्टिकले छोपेर रत्नप्रसादका पाँच दाजुभाइका परिवार धरापमै गुजारा चलाइरहेका छन् । दुई दाजुभाइ भने डेरामा बस्छन् । उक्त घर सात दाजुभाइको बहुस्वामित्वमा छ ।


एक वर्ष टहरामा बिताए पनि उपाय नदेखेपछि धराप घरमै फर्किएको रत्नप्रसादले सुनाए । ‘सगोलको घर एक भाइले पुनर्निर्माण गर्ने आँट भएन,’ उनले भने, ‘अन्त जग्गा छैन, घर बनाउन सबै दाजुभाइ मिल्नुपर्छ ।’ सम्पदा क्षेत्रभित्र पर्ने भएकाले मापदण्डअनुसार पुनर्निर्माण गर्न थप कठिनाइ रहेको उनले बताए । यहाँ ४५ फिटभन्दा अग्लो घर बनाउन पाइँदैन । निजी आवास पुनर्निर्माणका लागि सरकारले पहिलो किस्ता ५० हजार दिए पनि त्यो पर्याप्त नरहेको पीडितको गुनासो छ । ‘क्षतिग्रस्त घरको व्यवस्थापन गर्नै तीन लाखभन्दा बढी लाग्छ, ५० हजारले के गर्नु ?,’ रत्नप्रसादले भने ।


चारतले घर भत्किएपछि भक्तपुर–५ तौमढीकी उमा पक्वानले पनि सपरिवार टहरामै बिताइन् । उनको तीन जनाको परिवार छ । अहिले गपली:मा डेरा लिएका छन् । भूकम्पको केही दिनमै उनीहरूले आफ्नो घरको भग्नावशेष हटाइसकेका थिए । तर, छिमेकीले उनकै जग्गामा भग्नावशेष थुपारिदिएपछि घर निर्माण अघि बढाउन सकेका छैनन् । ‘जग्गाको क्षेत्रफल थोरै छ, गल्लीभित्र साइकल छिर्नेसमेत ठाउँ छैन,’ उमाले भनिन्, ‘भग्नावशेष नहटाइएकै कारण पुनर्निर्माणका लागि जग्गाको नापजाँचसमेत गर्न पाइएन ।’


भक्तपुर–६ याछेंकी सुमित्रा सुवालको घरको एक पाखो ह्वाङ्ङै छ । दायाँबायाँ छिमेकीले घर बनाउन थालिसके । उनीहरूचाहिँ चिरा परेको घर टेकोले थेगेर बसिरहेका छन् । ‘चार महिना टहरामा बितायौं,’ उनले भनिन्, ‘सधैंभरि टहरामै बसेर पनि भएन, अहिले मन दह्रो पारी क्षतिग्रस्त घरमै बसेका छौं ।’ आर्थिक स्रोत बलियो नभएकाले घर बनाउन नसकेको उनको गुनासो छ ।


भक्तपुर र मध्यपुर थिमि नगरपालिकाको भित्री बस्तीका हजारौं परिवार अहिले उस्तै पीडामा छन् । थोरै जग्गामा बनेका बहुस्वामित्वका घरको पुनर्निर्माण कसरी गर्ने भन्नेमै अन्योल छ । कतिपयले खर्च अभावमा भग्नावशेष पन्छाउन सकेका छैनन् । पुस्तौंसम्म अंशबन्डा नभएका, नगरपालिकाले तोकेको मापदण्डभित्र पुनर्निर्माण गर्न नसक्ने परिवारहरू क्षतिग्रस्त घरमै बसिरहेको सरोकारवाला निकायले जनाएका छन् । भूकम्पीय आवास पुनर्निर्माण आयोजना कार्यान्वयन एकाइका अनुसार अनुदान सम्झौता गरी पहिलो किस्ता लिइसकेका लाभग्राहीमध्ये घर बनाउन चासो दिने कमै छन् । ‘जग्गा विवाद र स्वामित्वसम्बन्धी समस्याले पुनर्निर्माण कार्य न्यून पाइएको छ’, एकाइका सूचना व्यवस्थापन विशेषज्ञ भोजराज भट्टले भने, ‘भक्तपुरको हकमा जग्गाको क्षेत्रफल सानो र मापदण्डअनुसारका घर बनाउन नसकिने समस्या देखिएको छ ।’


भक्तपुरका तालाक्व, तौमढी, गोल्मढी, चोछें, याछें, गछें, यालाछें, सूर्यमढी तथा मध्यपुर थिमिका गाँतले, भुलाँखेल, लाय्कु, नगदेश, टिकनी, निकोसेरालगायत भित्री बस्तीमा भग्नावशेष व्यवस्थापन तथा पुनर्निर्माण चुनौती बनिरहेको छ । ‘नगरपालिकाले भूकम्पलगत्तैदेखि भग्नावशेष हटाउन सहयोग गरेको छ,’ नगरप्रमुख सुनील प्रजापतिले भने, ‘अहिले पनि त्यो सहयोग जारी छ ।’ बहुस्वामित्व, दर्ता नभएका, मोहियानी, गुठी, मुद्दा परेका जग्गामा बनेका घर पुनर्निर्माणमा समस्या भएको उनले बताए ।

प्रकाशित : वैशाख १२, २०७५ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?