२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

ऋणमा डुबे बारपाकी

हरिराम उप्रेती

काठमाडौँ — महाभूकम्पपछि केन्द्रविन्दु बारपाकमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि उच्च ओहोदाका धेरै आए । ‘अब पुनर्निर्माणले तीव्रता पाउँछ,’ बारपाक आएका सबैजसो नेता र मन्त्रीको भाषणको सार उस्तै हुन्थ्यो । ज्यान गुमाएका आफन्तको वियोग तथा टेन्ट र टहरामुनि बसेका बारपाकीहरू नेताको आश्वासनले धेरथोर आशावादी बने । बनिरहे ।

ऋणमा डुबे बारपाकी

भूकम्पको प्रथम वार्षिकीको दिन २०७३ वैशाख १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले बारपाककै गोपाल विकको घरको शिलान्यास गर्दै देशभर पुनर्निर्माण सुरु भएको सन्देश दिइन् । विककै घरको निर्माण सक्न झन्डै डेढ वर्ष लाग्यो । ऋण गरेर जसोतसो घर पूरा गरेका विकले अझै तेस्रो किस्ताको राहत पाएका छैनन् । ‘वैशाखमा अनुदान सम्झौता भएको, असारमा पहिलो किस्ताको ५० हजार पाएको थिएँ,’ विकले भने, ‘बर्खाले सामान ल्याउन नसक्दा पुसतिरबाट मात्र काम सुरु गर्दा ढिला भयो ।’ गत भदौमा पाँचकोठे घर निर्माण सकेसँगै विकले टहरोबाट मुक्ति पाएका छन् । ‘भूकम्पले आठ लाख ऋण बोकायो,’ विकले भने, ‘पालमुनि बस्नुभन्दा, ऋणको भारले बढी पिर हुँदो रहेछ ।’ मासिक दुई प्रतिशत ब्याजदरमा साहुसँग ऋण खोजेर घर निर्माण पूरा गरेको विक बताउँछन् ।

राष्ट्रपतिले शिलान्यास गरेको गोपाल विकको घर निर्माण पूरा भएपछि


सरकारले दिएको अनुदानले निर्माण सामग्री खरिद गर्न हम्मेहम्मे परेको विकको अनुभव छ । ‘गोरखा बजारमा एक बोरा सिमेन्टको ८ सय छ भने यहाँ एक हजार पर्छ, सामानको भाउ छोइनसक्नु छ, तीन लाखले कहाँ पुग्नु ?’ उनले भने । गत पुस २८ गते तेस्रो किस्ताको रकम माग गरे पनि अझैसम्म प्राप्त नभएको उनले गुनासो गरे । ‘राष्ट्रपतिले शिलान्यास गरेको घर भनेर हेर्न मान्छे पनि कति आए,’ विक भन्छन्, ‘इन्जिनियर मात्र पाँच पटक आए, हामीभन्दा पछाडि काम सकेकाले पैसा पाए, मैले पाइनँ ।’ राष्ट्रपति नै आएर जगमा इँटा राखेको घर भएकाले त्यसैमा आफू सन्तुष्ट रहेको विक बताउँछन् । सँगै रहेकी उनी श्रीमती मनकुमारीले थपिन्, ‘दु:खजिलो गरेर बनाइयो, फेरि एकपल्ट राष्ट्रपति नै आएर बनिसकेको घर हेरिदिए हुन्थ्योजस्तो लाग्या छ ।’


भूकम्पपछि बनेका धेरैजसो घर धेरथोर ऋण नगरी बनाउन नसकेको बारपाकवासी बताउँछन् । सरकारले दिएको तीन लाख अनुदानले एककोठे घर निर्माण गर्नसमेत गाह्रो पर्ने स्थानीयहरू बताउँछन् । बारपाक–१ का मीनबहादुर घलेले तीनकोठे घर निर्माण सक्न साढे ६ लाख खर्च गरे । ‘चार लाख आफैंसँग थियो, साढे दुई लाख ऋण गरेको हुँ,’ घलेले भने, ‘मजदुरी गरेर बिहान–बेलुकीको छाक टरेको छ, घर बनाउँदा लागेको ऋण तिर्न सकेको छैन ।’ भूकम्पअघि ढुंगाले छाएका एकनासको घर भएको बारपाक बस्तीको स्वरूप अहिले फेरिएको छ । लाहुरेको गाउँ भनेर चिनिने बारपाकमा हुनेखानेले करोडसम्म खर्च गरेर घर बनाएका छन् ।


‘भूकम्पले धनी र गरिब सर्लक्क छुट्टाएको छ,’ ८० वर्षीय लालजित घले भन्छन् । ढुंगाको छाना हुँदा धनी र गरिब उस्तै देखिए पनि अहिले त्यो अवस्था नहरहेको उनको बुझाइ छ । ‘डाँडामा गएर हेर्‍यो भने कुन धनी, कुन गरिबको घर, छाना हेर त्यसै पत्ता लाग्छ,’ घलेले भने । सामान्य घर बनाउनेदेखि लाखौँ खर्च गर्ने धेरैजसोलाई धेरथोर ऋण लागेको उनले बताए । ‘नसक्नेले बन्धन लगाएर बस्ने बाटो गरेका छन्,’ डिलबहादुर घलेले थपे । कामदारलाई ज्याला दिन र निर्माण सामग्री खरिद गर्नै धेरै रकम लाग्ने गरेको घलेले जानकारी दिए ।
आर्थिक अवस्था कमजोर रहेकाहरूले पनि पिल्लर भएको पक्की घर निर्माणमा चासो देखाउने गरेको वडा २ का अध्यक्ष लालबहादुर गुरुङ बताउँछन् । ‘धेरैजसोले पिल्लर उठाएर घर बनाएका छन्, त्यस्तो घर ऋण नगरी कसले बनाउन सक्छ,’ उनले भने । सामान्य घर बनाउन पनि ७ देखि ९ लाखसम्म लाग्ने घलेले बताए । ‘रड–सिमेन्ट बजारबाट ल्याउनुपर्छ, ढुवानीमै खर्च धेरै लागेको छ,’ उनले भने ।

बारपाककै रामजी घले टहराभित्र गुजारा चलाउँदै ।

कतिपय टहरामै
बारपाक–१ का राम्जी घलेलाई भूकम्प प्रतिरोधी घर निर्माणले तीव्रता पाएपछि फुर्सदमा बस्नुपरेको छैन । ज्याला मजदुरी गरेर बिहान–बेलुकीको गर्जो त टरेकै छ । ‘अरूको घरको गाह्रोमा इँटा थप्दा मेरो नि घर बनाउन पाए हुन्थ्यो सम्झन्छु,’ घले दुखेसो पोख्छन् । आर्थिक अवस्था निकै दयनीय भएका घलेलाई घर निर्माण सुरु गरिहाल्ने आँट भने छैन । ‘पहिलो किस्ताको रकमले जस्ता किनेर टहरो बारेको छु, चिसोले केटाकेटी बिरामी परिरहन्छन्,’ उनी भन्छन् । घर बनाउन ऋण खोज्दा कसैले नपत्याएको घलेको दुखेसो छ । ‘बैंकमा एक लाख निकाल्न गएको तेरो आम्दानी के छ, जग्गा कति छ, भनेर सोध्दा रहेछन्, ढाँटेर पनि पैसा नपाइने रहेछ, कागज देखा भन्दा रहेछन्,’ घले भन्छन्, ‘धन र मन मिले घर बन्ने हो, मन मात्र भएर धन नभएसि के गर्नु ?’


७९ वर्षीय शुकबहादुर घले पुरानै काठ र जस्ताले बारेर बसेका छन् । पैसा अभावमा घर निर्माण सुरु नगरेको उनले बताए । ‘अरूको देख्दा त बनाउन मन छ, यो बुढेसकालमा कहाँबाट कमाएको पैसाले घर थाल्नु ।’ तीन लाख रकम लिन विभिन्न सर्तहरू पूरा गर्नुपर्ने हुँदा पनि समस्यामा परेको पीडितहरू बताउँछन् ।

केहीले जगै हालेनन्
निजी आवास निर्माणका लागि १३ सय एक लाभग्राही रहेको बारपाकमा पाँच सय ५० जनाको मात्र तेस्रो किस्ताको रकमका लागि सिफारिस भएको छ । ९ सय ३६ परिवारलाई दोस्रो किस्ता रकम दिन सिफारिस गरिएको छ । चार वर्ष लाग्दासम्म बारपाकका करिब २ सय ५० घरले जगसम्म हाल्न सकेका छैनन् । विपन्न र भौगर्भिक हिसाबले पुरानो बस्तीमा बस्न आयोग्य भएकाहरूले जग हाल्न नसकेका हुन् । भूकम्पपछि गोजे बस्तीका करिब ६० घर र पुरानो दलितका २७ घर पूर्ण रूपमा विस्थापित भएका छन् । गोजे बस्तीका स्थानीयहरू छिमेकीको जग्गा भाडामा लिएर अलगाउँ भन्ने ठाउँमा बस्दै आएका निजी आवास पुनर्निर्माणमा खटिएका इन्जिनियर सुरेशचन्द्र पोखरेलले बताए । दलित बस्तीका स्थानीयहरू भने भूकम्पपछि स्वास्थ्य चौकीको सरकारी जग्गामा बस्दै आएका छन् ।


विस्थापित भएर बसेकाहरूले बस्ने ठाउँ टुङ्गो लगाइदिन माग गर्दै आएका छन् । चौथो बर्खा पनि टहरोमै बित्ने चिन्ताले सताउन थालेको हस्तराम विक बताउँछन् । ‘हामी कति दिन जस्ताले बारेको कटेरोमा बस्ने, यहाँ एक रात काट्न गाह्रो छ, यतिका वर्ष त बस्यौँ,’ विकले भने । पानी चुहिएर टहरोमा बस्न सकस भएको शुकमायाँ विक बताउँछिन् । ‘पानी नछिर्ने झुप्रो भए दुई गाँस खान कुनै गाह्रो कुरो होइन,’ विकले भनिन् । पुरानो दलित बस्तीमा धाँजा फाटेसँगै उनीहरू सरकारी जग्गामा बस्दै आएका छन् । दलित बस्तीलाई जीवित संग्रहालय बनाउने भनिए पनि विवादका कारण काम अघि बढ्न सकेको छैन ।


‘विस्थापित भएकाबाहेक एकल महिला र आर्थिक रूपमा विपन्न भएका केही घरधुरीले जग हाल्न सकेका छैनन्,’ इन्जिनियर पोखरेलले भने । ऋण गर्ने आँट नहुँदा घर बनाउन नसकेको स्थानीय फूलमायाँ गुरुङ बताउँछिन् । ‘५० हजार लिएको छ खाएको छैन, त्यो पैसाले भत्किएको घर पन्छाउन पनि पुग्दैन,’ उनले भनिन् । कार्यविधि आउनुभन्दा पहिले बनेका घरहरूले पनि अनुदान रकम पाउन सकेका छैनन् ।

प्रकाशित : वैशाख १२, २०७५ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?