विश्वकिर्तिमानी आरोही कामिरिता को हुन् ?

सुरज कुँवर

काठमाडौँ — एभरेष्टभन्दा अघि ‘पन्ध्रौं–चुली’ नाम भएको विश्वकै अग्लो हिम चुचुरो सगरमाथामा सबैभन्दा धेरैपटक पाइला राख्ने आरोही कामिरिता शेर्पा बुधबार संसारभरका मिडिया न्यूजमेकर भइरहेका छन् ।  

यी ४८ वर्षिय आरोहीले बुधबार चुचुरोमा टेकेको पाइला यसपटक सरकारी रेकर्ड अनुसार २२ पुगेको छ । धेरैपटक सगरमाथा आरोहण गर्नेमा अहिलेसम्म तीन नेपाली शेर्पाहरुको किर्तीमान रहेको छ । जसमा सबैभन्दा पहिले आप्पा शेर्पाले सन् २०११ मा र सन् २०१३ मा फुर्बा तासी शेर्पाले रेकर्ड राखेका थिए । यी दुईकै हाराहारीमा कामिरिताले गत वर्ष २१ औं पटकको आरोहणको रेकर्ड बनाएका थिए ।

कामिरिताले २०५१ अघि दुई वर्ष चुचुरोमा पुग्ने प्रायस गरेका थिए । तर दुईपटकका प्रयास विफल भएका थियो । आफ्ना माइला भिनाजु र दाइको लहलहैमा पर्वतारोहणमा लागेका उनी २४ वर्षको उमेरमा २०५१ सालमा पहिलोपटक चुचुरोमा पुग्न सफल भए ।

‘मिति ठ्याक्कै याद छैन, डायरीमा त लेखेको छु,’ गत वर्ष २१ औं पटकको रेकर्ड बनाएर काठमाडौं फर्किएका कामिरिताले कान्तिपुरसँग भनेका थिए । २२ पटकको अरोहण मध्ये उनले १ पटक तिब्बतबाट चढेका हुन् ।

काठमाडौंको बौद्धमा बस्दै आएका कामिरिताले २०६५, ०६९ र ७० सालको वसन्तकालिन सिजनमा दुई–दुई पटक सगरमाथा आरोहण गरेका थिए । तर, ०६९ सालको दुईपटकको उनको चुचुरोसम्मको यात्रामध्ये एउटाले मात्रै सरकारी मान्यता पायो । त्यसवर्ष उनी ‘बाटो बनाउँदै’ पहिले ८८४८ मिटर उचाईको चुचुरोमा पुगे । बाटो बनाउँदै ओर्लिएपछि चौथो क्याम्पबाट फेरी उक्लिनुपर्‍यो । त्यसैले उनले दुईपटक चुचुरोमा पुगे पनि एकपटकको मात्रै सरकारी मान्यता पाए ।

‘मेरो गेस्टहरु चौथौं क्याम्प (७९५०मीटर) सम्म आइपुगेका थिए । म आधारशिविरमा फर्किने कुरै भएन, फेरी उनीहरूलाई डोर्‍याउँदै उक्लिएँ,’ ४ कक्षासम्मको औपचारिक शिक्षा लिएका उनले भनेका थिए ।

यसरी गरिएको दुइटा यात्रालाई पनि गन्ती गर्दा कामिरिताले सगरमाथामा २५ पटक पाइला टेकिसकेका छन् । तर, उनलाई कुनै पीर छैन् ।

‘मेरो पेशा नै हिमाल चढ्ने हो, अझै केही वर्ष आरोहण गर्छु २५ पटक पुगेपछि उक्लिन्न,’ उनले भनेका छन् ।

कामिरितालाई यो पेशामा ल्याउने उनका दाजु लाक्पारिताले पनि १७ पटक सगरमाथा आरोहण गरेर हाल चुचुरोमा उक्लिने कामलाई विश्राम दिइसकेका छन् । कामिरिताले २५ पटक पुगेपछि यस पेशमा रहेपनि हिमाल उक्लिने कामबाट भने विश्राम लिने मनशाय बनाएका छन् ।

‘हिमाल चढ्नु सोचेजस्तो सजिलो छैन । पहिलेभन्दा इक्विप्मेन्टहरु राम्रा र हलुका आएका छन्, तर हिमाल भनेको ज्यानकै जोखिम भएको गाह्रो खेल हो,’ उनी भन्छन् ।

कामिका दुईजना छोरी पासाङ्ग डोल्मा र लाक्पा तेन्जिङ्ग छन् । उनी छोरीहरुलाई यो पेशामा सकभर ल्याउने मनस्थितीमा छैनन् ।

अधिकांश रेकर्ड होल्डरहरु अमेरिका लगायतका मुलुकमा पलायन मात्रै नभई उतैको नागरिकता लिएको बताउँदै उनले आफू भने त्यसो नगर्ने संकल्प गरेका छन् । ‘मलाई नेपालै राम्रो लाग्छ, विदेशी पासपोर्टको रहर छैन,’ २०७० को आरोहणमा पहिलो कतारी नागरिक सेख मोहम्मद अल थानीको अभियान ‘अरब हुइथ अल्टीच्यूट’को सफल आरोहण गराएका उनले भनेका थिए ।

उक्त अभियान सफल भएपछि कतारी शासकका सदस्य शेख मोहम्मद बिन अब्दुल्लाह अल थानीले कामिरितालाई कतार र साउदीअरबको एक महिने भम्रणको निम्तो दिएका थिए । ‘एक महिनाको भिसा थियो । १५ दिनमै नेपाल फर्कें,’ उनले भने । सेखले सबै प्रायोजन गरेको यात्रा सकेपछि काठमाडौं फर्किनेबेला उनलाई २ लाख ५० हजार थप पुरस्कार रकम दिइएको थियो ।

कामिरिता वर्षमा ६ महिना काठमाडौंमा आराम गर्छन भने ६ महिना हिमालतीर हुन्छन् । ‘हिउँदमा तीन महिना, बर्खामा तीन महिना मेरो समय काठमाडौंमा श्रीमती लाक्पा जाङ्मुसँग पूजापाठ र स्तुपा घुमेर बित्छ,’ शेर्पाले पछिल्लो भेटमा भनेका थिए ।

दुई सिजनमा गरेर वर्षमा १३ लाख हाराहारी आम्दानी गर्ने कामिरिताले हिमालमा उक्लिेने/ओर्लिने काममा २८ वर्ष बिताइसकेका छन् । २० वर्षको उमेरमा यो पेशमा आएका उनले हालसम्म आफ्नै आरोहण दलका ६ जना शेर्पाहरुले ज्यान गुमाएको दु:ख भोगेका छन् ।

हरेक सिजनमा जब उनी सगरमाथा आधार शिविरबाट चुचुरोतर्फ लम्किन्छन्, त्यसबेला कुनै न कुनै खोँचमा हिउँले पुरिएका आरोहीको शव देख्छन् । त्यतिबेला उनको पनि मनमा पनि लाग्छ रे, ‘मेरो पनि यस्तै हालत पो हुने हो की ? अब परिवारसँग भेट होला की नहोला π’ तर, उनको साहसमा भने कुनै कमी देखिँदैन ।

*यहाँ प्रयोग गरिएका सबै फाइल तस्बिरहरु कामिरिता शेर्पाले उपलब्ध गराएका हुन् ।

प्रकाशित : जेष्ठ २, २०७५ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्

मुक्तिनाथमा पर्यटकको चाप

रासस

बागलुङ — मुस्ताङको मुक्तिनाथ क्षेत्र पर्यटकले भरिभराउ छ । मुक्तिनाथ जानेमा बढीजसो धार्मिक पर्यटक रहेका छन् भने नेपालीपछि सबैभन्दा बढी भारतीय पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।

तस्बिर : रासस ।

धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य मुक्तिनाथ क्षेत्र अन्य पर्यटकको समेत रोजाइमा पर्ने गरेको छ । गएको चैत र वैशाखमा सबैभन्दा बढी पर्यटकले मुक्तिनाथको भ्रमण गरेका छन् । फागुन र जेठ पनि पर्यटकीय याम हो ।

सन् २०१८ को अप्रिलमा मुक्तिनाथ घुम्ने बाह्य पर्यटकको संख्या नौ हजार १०५ रहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित पर्यटक सूचना केन्द्रका अनुसार गत जनवरीदेखि अप्रिलसम्म १६ हजार ९८४ बाह्य पर्यटक मुक्तिनाथ पुगेका छन् । सबैभन्दा बढी आठ हजार ५५६ पर्यटक भारतीय रहेका छन् ।

मुक्तिनाथ घुम्ने आन्तरिक पर्यटकको भने कुनै लेखाजोखा छैन । बाह्यको तुलनामा दोब्बर आन्तरिक पर्यटकले मुक्तिनाथको भ्रमण गरेको बताइएको छ । एक्याप इलाका संरक्षण कार्यालय जोमसोमका प्रमुख तुलसीप्रसाद दाहालले जेठ अन्तिमसम्म मुक्तिनाथमा पर्यटकको चाप बढ्ने बताए ।

“अहिले दैनिक सयौं बाह्य पर्यटक मुक्तिनाथ आइरहेका छन्, आन्तरिक पर्यटकको पनि घुइँचो छ,’ उनले भने, “पर्यटकको चाप बढेपछि मुक्तिनाथ क्षेत्रका होटललाई भ्याइनभ्याइ छ ।”

मुक्तिनाथ, रानीपौवास्थित ‘स्रेने गेष्ट हाउस’ का सञ्चालक रामहरि फुयाँल बास बस्ने पर्यटक बढेको बताउँछन् । पर्यटकको चाप बढ्न थालेपछि मुक्तिनाथ क्षेत्रमा नयाँ होटल खुल्ने क्रम पनि उत्तिकै बढेको छ । मुक्तिनाथ क्षेत्रमा रहेका होटलमा अधिकांश विदेशी पर्यटकले रात बिताउने गरेका छन् । कतिपय पर्यटक भने छोटो समयमा मुक्तिनाथ घुमेर बास बस्न जोमसोम र अन्य ठाउँ जान्छन् ।

जोमसोमका होटल व्यवसायी अनिता शेरचन पछिल्लो समय आन्तरिक पर्यटकको संख्या बढेको बताउँछन् । “मुस्ताङ घुम्ने नेपालीको संख्या वर्षेनी बढ्दो छ, पर्यटकीय याममा हाम्रो पनि व्यस्तता बढ्छ,’ उनले भने । “मुक्तिनाथ दर्शन गर्न आउने तीर्थयात्री र यात्रामा रमाउने युवाको रोजाइमा मुस्ताङ पर्ने गरेको छ । यातायातको सहजताले पनि पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको हो ।

एक्याप जोमसोमका प्रमुख दाहालका अनुसार म्याग्दीहुँदै सडक मार्ग र पोखराबाट हवाई मार्ग भएर मुस्ताङ छिर्ने पर्यटकको संख्या सबैभन्दा बढी छ । यस्तै, मनाङहुँदै थोरङ्लापास भएर मुस्ताङ छिर्ने पर्यटकको संख्यामा पनि वृद्धि हुँदै गएको छ । मुस्ताङ छिर्ने अधिकांश पर्यटक मुक्तिनाथ पुग्ने गरेका छन् । सूचना केन्द्रका अनुसार वर्षेनी मुक्तिनाथ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढिरहेको छ ।

गत वर्ष कूल ४६ हजार ६७५ बाह्य पर्यटकले मुक्तिनाथ घुमेका थिए । सन् २०१८ मा उक्त संख्या थप बढ्ने अनुमान गरिएको छ । मुक्तिनाथ नपुगी अन्य मार्गबाट उपल्लो मुस्ताङको लोमान्थाङ लगायतका गन्तव्य घुम्ने पर्यटक पनि छन् । गतवर्ष ५२ हजार बाह्य पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए ।

प्रकाशित : जेष्ठ २, २०७५ १३:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्