विश्वकिर्तिमानी आरोही कामिरिता को हुन् ?

सुरज कुँवर

काठमाडौँ — एभरेष्टभन्दा अघि ‘पन्ध्रौं–चुली’ नाम भएको विश्वकै अग्लो हिम चुचुरो सगरमाथामा सबैभन्दा धेरैपटक पाइला राख्ने आरोही कामिरिता शेर्पा बुधबार संसारभरका मिडिया न्यूजमेकर भइरहेका छन् ।  

विश्वकिर्तिमानी आरोही कामिरिता को हुन् ?

यी ४८ वर्षिय आरोहीले बुधबार चुचुरोमा टेकेको पाइला यसपटक सरकारी रेकर्ड अनुसार २२ पुगेको छ । धेरैपटक सगरमाथा आरोहण गर्नेमा अहिलेसम्म तीन नेपाली शेर्पाहरुको किर्तीमान रहेको छ । जसमा सबैभन्दा पहिले आप्पा शेर्पाले सन् २०११ मा र सन् २०१३ मा फुर्बा तासी शेर्पाले रेकर्ड राखेका थिए । यी दुईकै हाराहारीमा कामिरिताले गत वर्ष २१ औं पटकको आरोहणको रेकर्ड बनाएका थिए ।


कामिरिताले २०५१ अघि दुई वर्ष चुचुरोमा पुग्ने प्रायस गरेका थिए । तर दुईपटकका प्रयास विफल भएका थियो । आफ्ना माइला भिनाजु र दाइको लहलहैमा पर्वतारोहणमा लागेका उनी २४ वर्षको उमेरमा २०५१ सालमा पहिलोपटक चुचुरोमा पुग्न सफल भए ।


‘मिति ठ्याक्कै याद छैन, डायरीमा त लेखेको छु,’ गत वर्ष २१ औं पटकको रेकर्ड बनाएर काठमाडौं फर्किएका कामिरिताले कान्तिपुरसँग भनेका थिए । २२ पटकको अरोहण मध्ये उनले १ पटक तिब्बतबाट चढेका हुन् ।


काठमाडौंको बौद्धमा बस्दै आएका कामिरिताले २०६५, ०६९ र ७० सालको वसन्तकालिन सिजनमा दुई–दुई पटक सगरमाथा आरोहण गरेका थिए । तर, ०६९ सालको दुईपटकको उनको चुचुरोसम्मको यात्रामध्ये एउटाले मात्रै सरकारी मान्यता पायो । त्यसवर्ष उनी ‘बाटो बनाउँदै’ पहिले ८८४८ मिटर उचाईको चुचुरोमा पुगे । बाटो बनाउँदै ओर्लिएपछि चौथो क्याम्पबाट फेरी उक्लिनुपर्‍यो । त्यसैले उनले दुईपटक चुचुरोमा पुगे पनि एकपटकको मात्रै सरकारी मान्यता पाए ।


‘मेरो गेस्टहरु चौथौं क्याम्प (७९५०मीटर) सम्म आइपुगेका थिए । म आधारशिविरमा फर्किने कुरै भएन, फेरी उनीहरूलाई डोर्‍याउँदै उक्लिएँ,’ ४ कक्षासम्मको औपचारिक शिक्षा लिएका उनले भनेका थिए ।


यसरी गरिएको दुइटा यात्रालाई पनि गन्ती गर्दा कामिरिताले सगरमाथामा २५ पटक पाइला टेकिसकेका छन् । तर, उनलाई कुनै पीर छैन् ।


‘मेरो पेशा नै हिमाल चढ्ने हो, अझै केही वर्ष आरोहण गर्छु २५ पटक पुगेपछि उक्लिन्न,’ उनले भनेका छन् ।


कामिरितालाई यो पेशामा ल्याउने उनका दाजु लाक्पारिताले पनि १७ पटक सगरमाथा आरोहण गरेर हाल चुचुरोमा उक्लिने कामलाई विश्राम दिइसकेका छन् । कामिरिताले २५ पटक पुगेपछि यस पेशमा रहेपनि हिमाल उक्लिने कामबाट भने विश्राम लिने मनशाय बनाएका छन् ।


‘हिमाल चढ्नु सोचेजस्तो सजिलो छैन । पहिलेभन्दा इक्विप्मेन्टहरु राम्रा र हलुका आएका छन्, तर हिमाल भनेको ज्यानकै जोखिम भएको गाह्रो खेल हो,’ उनी भन्छन् ।


कामिका दुईजना छोरी पासाङ्ग डोल्मा र लाक्पा तेन्जिङ्ग छन् । उनी छोरीहरुलाई यो पेशामा सकभर ल्याउने मनस्थितीमा छैनन् ।


अधिकांश रेकर्ड होल्डरहरु अमेरिका लगायतका मुलुकमा पलायन मात्रै नभई उतैको नागरिकता लिएको बताउँदै उनले आफू भने त्यसो नगर्ने संकल्प गरेका छन् । ‘मलाई नेपालै राम्रो लाग्छ, विदेशी पासपोर्टको रहर छैन,’ २०७० को आरोहणमा पहिलो कतारी नागरिक सेख मोहम्मद अल थानीको अभियान ‘अरब हुइथ अल्टीच्यूट’को सफल आरोहण गराएका उनले भनेका थिए ।


उक्त अभियान सफल भएपछि कतारी शासकका सदस्य शेख मोहम्मद बिन अब्दुल्लाह अल थानीले कामिरितालाई कतार र साउदीअरबको एक महिने भम्रणको निम्तो दिएका थिए । ‘एक महिनाको भिसा थियो । १५ दिनमै नेपाल फर्कें,’ उनले भने । सेखले सबै प्रायोजन गरेको यात्रा सकेपछि काठमाडौं फर्किनेबेला उनलाई २ लाख ५० हजार थप पुरस्कार रकम दिइएको थियो ।


कामिरिता वर्षमा ६ महिना काठमाडौंमा आराम गर्छन भने ६ महिना हिमालतीर हुन्छन् । ‘हिउँदमा तीन महिना, बर्खामा तीन महिना मेरो समय काठमाडौंमा श्रीमती लाक्पा जाङ्मुसँग पूजापाठ र स्तुपा घुमेर बित्छ,’ शेर्पाले पछिल्लो भेटमा भनेका थिए ।


दुई सिजनमा गरेर वर्षमा १३ लाख हाराहारी आम्दानी गर्ने कामिरिताले हिमालमा उक्लिेने/ओर्लिने काममा २८ वर्ष बिताइसकेका छन् । २० वर्षको उमेरमा यो पेशमा आएका उनले हालसम्म आफ्नै आरोहण दलका ६ जना शेर्पाहरुले ज्यान गुमाएको दु:ख भोगेका छन् ।


हरेक सिजनमा जब उनी सगरमाथा आधार शिविरबाट चुचुरोतर्फ लम्किन्छन्, त्यसबेला कुनै न कुनै खोँचमा हिउँले पुरिएका आरोहीको शव देख्छन् । त्यतिबेला उनको पनि मनमा पनि लाग्छ रे, ‘मेरो पनि यस्तै हालत पो हुने हो की ? अब परिवारसँग भेट होला की नहोला π’ तर, उनको साहसमा भने कुनै कमी देखिँदैन ।


*यहाँ प्रयोग गरिएका सबै फाइल तस्बिरहरु कामिरिता शेर्पाले उपलब्ध गराएका हुन् ।


प्रकाशित : जेष्ठ २, २०७५ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?