२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

धार्मिक सहिष्णुताको नमुना गाउँ ‘रुम्जाटार’

कुम्भराज राई

ओखलढुंगा — ‘रुम्जाटारको कोदाको पिठो निर्गुनको दाउन, धर्म र कर्म गुरुङले लगे छक् परे बाहुन् ।’  झण्डै एक सय ५० वर्ष पहिले महान सन्त योगी ज्ञानदिलदासले भनेको यो भनाई अझै चर्चित छ ।

धार्मिक सहिष्णुताको नमुना गाउँ ‘रुम्जाटार’

‘घुमिफिरि रुम्जाटार’ नसुन्ने नेपाली कमै छन् । ऐतिहासिक र साँस्कृतिक रुपले मात्र नभएर भौगोलिक रुपले समेत अति सुन्दर मानिने रुम्जाटार धार्मिक सहिष्णुताको लागि पनि नमुना गाउँ हो ।


सँधैजसो अखण्ड हरिकिर्तन गाईरहेको अवस्थामा भेटिने रामकुमारी गुरुङ तमु ल्होछारको दिन पनि फुरुङ्गै भेटिन्छन् । उनी आफ्नो लागि सबै धर्म उस्तै भएको बताउँछिन् । ‘प्रभु येशु भनेपनि, शिवजी भनेपनि, गौतम बुद्ध भनेपनि आखिर भगवान एउटै हुन्’ रामकुमारी भन्छिन्, ‘सबै धर्मको सार भनेको सत्य बोल्नु र पाप काम नगर्नु नै हो ।’


रामकुमारी मात्रै होइनन् । रुम्जाटार धार्मिक सहिष्णुताको सम्भवत: देशकै त्यस्तो नमुना गाउँ हुनसक्छ, जहाँ रामनवमी होस् या कृष्ण अष्टमी । दशैँ तिहार होस् या क्रिसमस । सबै पर्वमा रमाउने गाउँलेहरु प्रशस्तै छन् । नेपालको संघीय संविधानले धर्मनिरपेक्ष राष्ट्र अंगिकार गरेपछि झनै यसले सहअस्तित्व र शान्तिको सन्देश दिएको छ ।

‘जसले जुन धर्म मानेपनि कसैको करकाप छैन । स्वेच्छाले धर्म मान्ने हो’ स्थानीय अगुवा थमनसिंह गुरुङले भने, ‘तर एउटाले अर्कोको धर्म र संस्कारप्रति उत्तिकै सद्भाव राख्नुपर्छ ।’ यहाँ ८० प्रतिशत गुरुङहरुको बसोबास छ । नेपाल एकीकरणको क्रममा सेनाको रुपमा पश्चिमबाट आएका गुरुङहरु रुम्जाटारमा बसेपछि उनीहरु पूर्वेली बनेका हुन् ।

शुरुमा भेडा चराउने, राडीपाखी बुन्ने र फिरन्ते जस्तै जीवनयापन भएका उनीहरुमा धार्मिक चेतना थिएन । तर जब वि.सं. १९३५ सालतिर जोसमनी धर्मका प्रवर्तक महान सन्त योगी ज्ञानदिलदास यहाँ आए त्यसपछि धार्मिक चेतना प्रवेश गरेको मानिन्छ । ज्ञानदिलदास रुम्जाटारमा प्रवेश गरेपछि धार्मिक आस्थाको विकास हुँदै गयो । स्थानीय ज्योतिदास गुरुङ ज्ञानदिलदासको अनुयायी भएको पुराना बुढापाकाहरु बताउँछन् ।

ज्ञानदिलदासका साख्य नाति तथा रुम्जाटार माविका पूर्व प्रधानअध्यापक दिलराम लामिछानेले तत्कालीन समयमा ज्ञानदिलदासले टुंगना भजनमार्फत गुरुङहरुलाई धर्मतर्फ आकर्षित गरेको बताए । वि.सं. १९०० को अन्ततिरबाट रुम्जाटारका गुरुङहरु दरबार निकट हुँदै गएपछि हिन्दु धर्मको प्रभाव बढ्दै गयो । राजा वीरेन्द्रदेखि अन्य राजपरिवारका विभिन्न सदस्यहरुको धाईआमाको रुपमा रुम्जाटारका गुरुङ महिलाहरु थिए ।

धार्मिक र साँस्कृतिक विविधताले उर्वर बन्दै गएपछि आपसमा एकताको भावना जाग्ने सर्वसाधारणको भनाई छ । ‘एउटै धर्म भित्र पनि अनेकन संस्कृति हुन्छन् । एउटै संस्कृतिमा पनि धेरै धर्म मान्नेहरु रमाउन सक्छन् ।’ स्थायी ठेगाना रुम्जाटार भई चिकित्सा विज्ञान प्रतिष्ठानका उपकुलपति समेत रहेका डा. गणेश गुरुङले भने, ‘रुम्जाटार त्यो सबै मिसिएको असहिष्णुताको विरोध गर्ने ठाउँ हो ।’

यहाँ शिव मन्दिर, कृष्ण मन्दिर, चर्च छन् । पहिचान खोज्ने क्रममा गुरुङहरुले गुम्बा निर्माणको अभियान शुरु गरेका छन् । जन्म र मरणमा लामा पढाउन थालेका छन् । गुम्बा निर्माणका लागि बुद्ध फाउण्डेशन नामक संस्था स्थापना गरेका छन् । ११ रोपनी क्षेत्रफलमा कम्तिमा सात करोड लागतमा गुम्बा बनाउन आर्थिक संकलन भईरहेको छ ।


क्रिस्चियन धर्मको प्रभाव उत्तिकै छ । चर्च बनिसकेको छ । प्रत्येक साता चर्चमा संगीतका लागि जानेको संख्या देखिन्छ । जुनसुकै धर्म मानेपनि सामाजिक क्रियाकलाप र आपसी सम्बन्ध राम्रो छ । संसारमा धर्मकै कारणले ठूलठूला युद्ध भईरहँदा रुम्जाटारले नेपालमा मात्रै नभएर समग्र विश्वमै धार्मिक सहिष्णुताको सन्देश दिनसक्छ ।

प्रकाशित : जेष्ठ ६, २०७५ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?