कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

कान्छा अभियन्ता

१८ वर्षे केपी अहोरात्र दु:खीहरूकै सेवाको योजनामा घोत्लिरहन्छन् । चाडपर्व केही नभनी कहिले अक्करे भीर छिचोल्दै दुर्गमका पहिरोपीडितका लागि राहत पुर्‍याउँछन् त कहिले झाडु बोकेर ‘क्लिन काष्ठमण्डप’ अभियानमा जुट्छन् ।
अर्जुन शाह

धनगढी — आमाबाबु अहिले पनि भारतका गल्लीमा चौकीदारी गर्छन् । उनी आफू भने कहिले दालचामल बोकेर हुम्लाका गाउँबस्ती पुग्छन् । कहिले ‘क्लिन काष्ठमण्डप’ अभियानको नेतृत्व गरेर मन्त्री लालबाबु पण्डितको हातमा झाडु थमाउँदै फोहर सफा गर्न राजधानीका सडकमा उत्रन्छन् ।

कान्छा अभियन्ता

पछिल्लो समय उनी बाजुरामा अनाथ बालबालिकाका लागि आश्रयस्थल निर्माण गर्ने अभियानमा अहोरात्र खटिरहेका छन् । ‘म बदलिन्छु र मेरो देश बदलिन्छ’ भन्ने मर्म हृदयमा राखेर अघि बढिरहेका छन् उनी ।

उनी हुन् भर्खर जुँगाको रेखी बस्ने उमेरका १८ वर्षीय केपी खनाल । अछामको रामारोशनमा जन्मिएका उनी कैलालीको लम्कीमा हुर्के–बढे । १२ कक्षासम्मको शिक्षा त्यहींबाट पूरा गरे । अहिले गाउँलेको सहारामा नेपाल कमर्स क्याम्पस, बानेश्वरमा बीबीएस तहमा अध्ययरत छन् ।
उनले ‘कान्छो सामाजिक अभियन्ता’ का रूपमा देशव्यापी रूपमा चर्चा पाइरहेका छन् । अहोरात्र दु:खीहरूकै सेवाको योजनामा घोत्लिरहन्छन् उनी ।

दसैंतिहार, जोसुकैको मन चंगा हुने चाड हो । अझ बालबालिका र भर्खरका युवाहरू त दसैंतिहारमा मख्खै परेर रमाउँछन् । तर उनले आफूलाई फरक धारमा उभ्याए । दसैंको मुखैमा खाद्यान्न लिन बाजुरा आउँदै गरेका हुम्ला श्रीनगरका एक युवाको पहिरोमा परी बाटैमा मृत्यु भएपछि घरपरिवार भोकै बस्नुपर्ने अवस्था रहेको समाचारले उनको मन छोयो । समाचार पढेर स्तब्ध हुनु मात्रको कुनै अर्थ छैन भन्ने लाग्यो उनलाई । भेडा लिएर बाजुरा आउँदै गरेका १२ परिवार घटनापश्चात् रित्तै फर्किएपछि भोकै बस्नुपरेका परिवारलाई केही राहत जुटाउने प्रण गरे उनले । समाचार पढेकै दोस्रो दिन फेसबुकमा ‘भोकै छ हुम्ला’ अभियान सुरु गर्दै सहयोगी हातहरूलाई अपिल गरे ।

‘थुप्रैले सहयोगको प्रतिबद्धता जनाए, केहीले चामल दिए, केहीले साबुन, केहीले दाल–तेल अनि केहीले नगद’ केपीले गएको तिहारका बेला सञ्चालन गरेको अभियान सम्झँदै भने, ‘साता दिनमै २५ परिवारका लागि पर्याप्त दालचामल र तेल साबुन जुट्यो ।’

सामग्री जुटे पनि हुम्लाको श्रीनगर पुर्‍याउन त्यति सहज भने थिएन । धनगढीदेखि बाजुरा सदरमुकामसम्म ढुवानी गर्न सहजै हुने भए पनि त्यहाँबाट कम्तीमा चार दिन खच्चडबाट बोकाउनुको विकल्प थिएन । श्रीनगर पुग्न खेप्नुपर्ने सास्ती आकलन गरे केपीले । धनगढी फर्किन कम्तीमा १० दिन लाग्ने भयो । त्यतिन्जेल तिहार मनाउन भ्याइँदैनथ्यो । तर पनि उनले हिम्मत हारेनन् । झोलीगुन्टा बोकेर टंक बिष्ट र काँसीराम बजगाईं दुई साथीलाई लिएर हुम्ला हुइँकिए उनी । धुलाम्मे बाटो, उकाली ओराली र कैयौं घुम्तीहरू । मार्तडीदेखि अगाडि–अगाडि खच्चड, पछिपछि उनी लागे ।

धनगढीबाट हिँडेको पाँचौं दिनमा उनको टोली हुम्लाको श्रीनगर पुग्यो । त्यहाँ पुग्दा स्थानीयले उनलाई मायाका साथ स्वागत गरे । २२ परिवारका लागि ५०/५० किलो चामल र दाल, तेल, साबुन हस्तान्तरण गरिसकेपछि फर्किने बेला विपन्न हुम्ली परिवारले गहभरि आँसु झार्दै ‘हाम्लाई कहिल्यै नबिर्सनु होला है’ भनेको अहिले पनि झल्झल्ती सम्झन्छन् उनी । ‘घर फर्कंदासम्म तिहार गइसकेको थियो । तर हुम्लीले दिएको मायाले तिहारको सम्झनै भएन,’ उनले भने ।

त्यसअघि गएको दसैंमा उनले बाढीबाट बिचल्लीमा परेका गरिब परिवारका लागि सहयोग गर्न सामाजिक सञ्जालमार्फत अभियान चलाए । फेसबुकमा उनले ‘दशा लागेकालाई यो दसैं’ शीर्षकमा अभियान चलाएको ४ दिनमै २ लाख संकलन गरे । त्यस रकमबाट कैलालीका गरिब परिवारलाई खाद्यान्न तथा अन्य विभिन्न आवश्यक सामग्री वितरण गरे । सुरुकै जमर्कोले सफलता पाएपछि उनी निक्कै हौसिए ।

हुम्लाको अभियान सकेर फर्किने बेलासम्म स्नातक तहका भर्नाहरू खुलिसकेका थिए । उनको पढाइको भने टुंगो थिएन । भर्ना हुन आवश्यक खर्च थिएन उनीसँग । एक दिन लम्की बसपार्कमा डुल्दै गरेका बेला लम्कीचुहा नगरपालिका–२ का वडाध्यक्ष विष्णु ढकाल आफ्नो छोरालाई काठमाडौं पठाउन आएका बेला भेटिए । ‘अनायासै ढकालले मलाई तिमी पनि मेरो छोरासँगै काठमाडौं जान्छौ त भनेर सोधे, मैले हुन्छ नि भनें,’ खनालले सम्झँदै भने, ‘वडाध्यक्षज्यूले आफ्नै छोरासँग बस्न खान मिलाई दिनुभयो ।’

काठमाडौंमा उनी नेपाल कमर्स क्याम्पस, बानेश्वरमा बीबीएस तहमा भर्ना भए र दैनिक कलेज जान सुरु गरे । काठमाडौं खाल्डोमा पुगेकै पहिलो दिन राजधानी भएर पनि त्यहाँ ब्याप्त धूवाँधूलो र फोहरमैलाले उनको मन कुँडियो । पढाइसँगै सामाजिक अभियान गर्नुपर्छ भन्ने सोच पलायो उनमा । कैलालीमा रहँदै ‘म बदलिन्छु र मेरो देश बदलिन्छ’ भन्ने मर्मले अघि बढेका केपीले काठमाडौंमा पाइला टेकेको हप्ता दिनमै ‘क्लिन काष्ठमण्डप’ अभियान सुरु गरे ।

अभियानका क्रममा वर्तमान मन्त्री लालबाबु पण्डित, काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गी लगायतलाई राजधानीका सडक चोकमा झाडुसहित उतार्न सफल भए । खनालकै नेतृत्वमा सयौं युवाहरू झाडु लिएर फोहर उठाउँदै गर्दा धेरैलाई लाग्यो, कुनै एनजीओको कार्यक्रम होला । तर बुझ्दै जाँदा लालबाबुलाई सडकमा उतार्ने त सुदूरपश्चिमका १८ वर्षे युवक केपी खनाल रहेछन् भन्ने थाहा पाए धेरैले । त्यसपछि त ती १८ वर्षे युवकको चर्चा काठमाडौंका चोकचोकमा हुन थाल्यो ।

हाल उनी विकास सूचकांकमा सबैभन्दा पुछारमा रहेको बाजुरामा अनाथ बालबालिकाका लागि आश्रयस्थल निर्माण गर्ने महाअभियानमा जुटेका छन् । बूढीगंगा नगरपालिका–२ ब्रह्मतोला मलातीका शिक्षक बहादुर थापाले आमाबाबु गुमाएका ११ अनाथ बालबालिकालाई आफ्नै घरमै राखेर पठनपाठन गराउँदै आएको खबर सुनेपछि खनाल ती बालबालिकाका लागि आवास गृह निर्माण गर्न जुटेका हुन् ।

स्थानीय वसन्त प्राविमा कार्यरत थापाले ०७२ सालमा गाविसभित्रका लक्ष्मी नेपाली, संगीता नेपाली, मनिसा परी र पवन विकलाई आफ्नो घरमा ल्याए । १० वर्षमुनिका ती सबै बालबालिका आमाबाबु गुमाएकाहरू थिए । पछि उनले भतिजा गणेश थापाको सक्रियातामा ‘कन्सर्न बाजुरा’ नामक संस्था दर्ता गरे । संस्था भएपछि पत्रकार महासंघ बाजुरा लगायतले शैक्षिक सामग्री जुटाइदियो । शिशु तहदेखि ५ कक्षासम्म पढ्ने बालबालिका छन् अहिले त्यहाँ । छिमेकी गाउँपालिकाले समेत टुहुरा बालबालिका राखिदिन थापालाई अनुरोध गर्न थाले । तर बालबालिका बस्ने ठाउँ अभाव थियो । बर्सेनि बालबालिका थपिन थालेपछि शिक्षक थापालाई समस्या थपिँदै जान थाल्यो । उनीहरूका लागि आश्रयस्थलको समस्या हुन थाल्यो ।

अहिले ती बालबालिकाको आश्रयस्थल भवन निर्माण गर्न उनै खनाल अग्रसर भएका छन् । उनले भवन निर्माण गर्ने संकल्पसहित हालै बाजुरा पुगेर भवनको शिलान्याससमेत गरिसके । निर्माण पूरा गर्न ४० लाख बढी लाग्ने अनुमान छ । हालसम्म ७ लाख जुटाइसकेको उनी बताउँछन् । ‘परोपकार कार्यका लागि तमाम मनकारीहरू सहयोगका लागि अग्रसर हुनुहुन्छ होला भन्ने विश्वासले यो जमर्को गरेको हुँ,’ केपीले भने ।

प्रकाशित : जेष्ठ १९, २०७५ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?