३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बागलुङ बजारमा...

प्रकाश बराल

बागलुङ — बागलुङ बजारमा बाघको सालिक 
जोडी परेवा दिउँला कालिका, 
मलाई जुराई देऊ दिलको मालिक ...
वसन्त थापाको यो लोकभाका यहाँ निकै चर्चित छ । गीतले बाघका बारेमा जति बोल्छ, बजारको बीचोबीच बनाइएको बाघको सालिकले उत्तिकै ध्यान तान्छ ।

बागलुङ बजारमा...

बागलुङ र बाघको नाता के छ ? प्रस्ट भन्न सक्ने विरलै होलान् । तैपनि बाघसँगको जिल्लाको नामको नाताबारे बहस गर्न रुचाउनेहरू प्रशस्त छन् ।


बाघ र बागलुङबारे लेख र कृतिहरूसमेत प्रकाशित भएका छन् । आलोचकहरू भने बाघ र बागलुङबीच कुनै सम्बन्ध नभएको टिप्पणी गर्छन् । उद्योग वाणिज्य संघको अगुवाइमा सदरमुकामको मुख्य चोकमा राखिएको बाघको सालिक संयोगले निर्माण गरिएको हो । ‘मुलुक गणतन्त्र घोषणा हुनुअघि चोकमा राजा महेन्द्रको सालिक थियो,’ संघ अध्यक्ष जयराम भारीले भने, ‘आन्दोलनकारीले कतैका पनि राजाका सालिक तोडफोड गर्न बाँकी नराखेको सबैलाई थाहा छ । हामीले त्यहाँ खाली ठूटो छाड्नुभन्दा बाघको सालिक राख्नु उपयुक्त ठहर गर्‍यौं ।’ जिल्लासँग बाघको नाता जोडिएको इतिहास छ भन्ने सुनेकाले सालिक बनाइएको उनले बताए ।


संस्कृतिविज्ञ प्रेम छोटाले प्रकाशन गरेको ‘हनुमान नाच र बागलुङ’ नामक पुस्तकमा १८ वटा तथ्यका आधारमा बागलुङको नाम रहेको उल्लेख छ । तीमध्ये बाघको लस्करबाट बनेका केही तथ्यलाई देखाइएको छ । छोटाले ‘व्यघ्र लु’ र ‘व्यघ्रलुङ’ बाट बागलुङ नाम बनेको लेखेका छन् । उक्त पुस्तकका अनुसार मगर भाषामा ‘व्यघ्र’ भनेको बाघ र ‘लु’ को अर्थ खेद्नु हो भने ‘लुङ’ भन्नाले लस्कर बुझिन्छ । ‘यो परापूर्वकालदेखि मगरहरूको बस्ती हो । बाघ खेदेर बस्ती बसालेको भन्ने अर्थ यहाँ लागेको देखिन्छ,’ छोटा भन्छन्, ‘मगर भाषामा लुङको अर्थ लस्कर भएको र बाघको लस्कर लाग्ने गरेकाले नाम रहन गयो ।’ चितुवालाई बाघसमेत भन्ने गरिएकाले बाघको सम्बन्ध बढी भएको छोटाको तर्क छ । मगर, तिब्बती र खसआर्य भाषाको सम्मिश्रणबाट पनि बाघ, चउर र ढुंगाको पहरो जनाउने गरी बागलुङ नामकरण भएको हुन सक्ने उनले बताए । ‘बागलुङ’ मात्र लेख्न थालेको धेरै वर्ष भएको छैन । यसअघि बाग्लुङ लेखिन्थ्यो,’ उनले भने ।


शोधकर्ता र वन्यजन्तुसम्बन्धी जानकारहरूका अनुसार बागलुङमा बाघ पाइँदैन । स्थानीयले चितुवालाई नै बाघ भन्दै आएका हुन् । ‘पहाडी क्षेत्रमा चितुवा मात्र पाइन्छ,’ सहायक वन अधिकृत प्रकाश थापाले भने, ‘यतातिर पहाडमा चितुवालाई पनि बाघ भन्ने चलन छ ।’ संस्कृतिकर्मी छोटा पनि जनजिब्रोको बोलीसँग सहमत छन् । भन्छन्, ‘चितुवालाई पनि बाघकै नाम दिने गरिएकाले बाघलुङ हुँदै बागलुङ भएको हुनुपर्छ ।’ धार्मिक किंवदन्तीबाट पनि बागलुङको अर्थ खुल्ने उनको बुझाइ छ । पार्वतीले तपस्या गर्ने हिमालय पर्वतमा बाघहरूले घेरा हालेर सुरक्षा दिने गरेको किंवदन्ती र धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार बाघको शब्द आएको उनले बताए ।


जानकारहरू बागलुङजस्तै बुर्तिबाङ, पाङ र नाङलीबाङजस्ता ठाउँको नाउँमा ‘ङ’ आएको बताउँछन् । मगरबहुल स्थानमा यस्ता नाम आउने गरेको आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष महेशचन्द्र प्रधानले बताए । ७० वर्षीय विदुर खड्का पुराना सञ्चारकर्मी हुन् । उनी भने बाघसँग बागलुङको सम्बन्ध नभएको टिप्पणी गर्छन् । ‘बागलुङमा बाघ पाइँदैन, चितुवा मात्र पाइन्छ,’ उनले भने, ‘चितुवाको सालिक बनाउनुपर्नेमा सल्लाह नगरी बाघको बनाइयो ।’ पाटे बाघको सालिक बनाउँदा भ्रम परेको उनले बताए । यहाँको प्रसिद्ध तीर्थस्थल बागलुङ कालिका मन्दिर जंगलको बीचमा छ । मन्दिर आसपासमा हरेक दिनजसो चितुवा देखिने गरेको स्थानीयको भनाइ छ ।


खड्काले प्रकाशन गरेको ‘बागलुङका पवार खड्का’ पुस्तकमा बाग भनेको बगैंचा र ‘लुङ’ भनेको लस्कर भन्दै जंगल भएको स्थानका रूपमा चिनाइएको छ । उनले मगर भाषामा ‘बाङ’ को अर्थ पहरा र ‘लुङ’ को अर्थ ढुंगा भएकाले ढुंगे पहराका रूपमा बागलुङ रहन गएकोसमेत उल्लेख गरेका छन् । तिब्बती भाषामा ‘लुङ’ को अर्थ मैदान भएकाले बागलुङलाई ‘पहाड माथिको चउर’ भन्ने अर्थमा पनि जनजातिले बुझ्ने गरेका छन् । ‘पर्वत र बागलुङको सिमाना मालढुंगामा आइपुग्दा बागलुङ बजार ढुंगाको मैदानजस्तो मात्र देखिन्छ,’ खड्काले भने, ‘त्यसैले नामको अर्थ खोज्दा वस्तुगत तथ्य केलाएर मात्रै पारिभाषित गर्नुपर्छ । नत्र जनमानसमा भ्रम पर्न जान्छ ।’ अहिले पनि बागलुङमा बाङगेचौर, उपल्लाचौर, बागलुङचौर, कुँडुले चौर र नजिकै म्याग्दीको रत्नेचौर जस्ता ठाउँहरू छन् । जिल्लाभित्रै अधिकारीचौर, ग्वालीचौर, अमलाचौर, सुन्तलाचौर र बाटाकाचौर जस्ता ठाउँसमेत छन् ।


पर्वत, म्याग्दी, मुस्ताङ, डोल्पा, रोल्पा र रुकुमतर्फको व्यापारिक केन्द्र भएकाले बागलुङ सदरमुकाममा धेरैथरी जातजातिको बसोबास छ । जिल्लामा धेरैजसो मगरबहुल बस्ती भएकाले अधिकांश स्थानको नाम पनि उनीहरूकै भाषामा आधारित हुनुपर्ने सहप्राध्यापक विष्णु मैत्रेयको तर्क छ । ‘एउटै तथ्यले बागलुङ बनेको छैन,’ उनले भने, ‘धेरै किंवदन्ती र तथ्यको खोजी गरेर पत्ता लगाउनुपर्छ ।’


नेपाली भाषाका आदिकवि भानुभक्तभन्दा अघि संस्कृत भाषाको अनुवाद र नेपाली भाषाको विकासका लागि काम गर्ने विद्वान्हरू समेत बागलुङमा रहेको इतिहास छ । भानुभक्तले यहाँको मूलपानीमा आएर वीरशाली पन्तसँग संस्कृतशास्त्र अध्ययन गरेको शिलालेख भेटिएको छ । ‘वाकला’ भएकाहरूको लस्करबाट बाकलुङ हुँदै बागलुङ भएको हुन सक्ने साहित्यकर्मी काजी रोशनले बताए । नेपाली भाषाको उत्पत्तिस्थल र बोलीचालीमा अब्बल मानिस बस्ने स्थानका रूपमा बागलुङलाई धेरै कृतिमा उल्लेख गरिएको रोशनको भनाइ छ ।


नामको बहस जे भए पनि बाघको सालिकले पर्यटकीय आकर्षण थपेको होटल संघका अध्यक्ष नीलेश राजभण्डारीले बताए । ‘राजाको मूर्ति ढलेपछि बजारलाई चिनाउने केही थिएन । अहिले बाघ भएको छ,’ उनले भने, ‘धेरै पर्यटकले बाघको सालिकसँग फोटो खिचाएर बागलुङ आएको सूचना दिन्छन् ।’ स्थानीय तह कार्यान्वयनमा आएप्छि अघिल्ला वर्षका तुलनामा सदरमुकामको व्यापार कम भएको छ ।


व्यवसायीले व्यापार घटेको गुनासो गरे पनि बाघचोक अझै व्यावसायिक चोकका रूपमा चिनिन्छ । यहाँ अधिकांश बैंक, सुन पसल, फेन्सी र होटलसमेत सञ्चालनमा छन् ।


जिल्लामा हुने राजनीतिक कार्यक्रम, विरोधसभा र राष्ट्रिय विभूतिको स्मरण गर्दा पनि बाघ चोकलाई नै प्रयोगमा ल्याइन्छ । बाघचोक नजिकैबाट जिल्लाका सबै ग्रामीण बस्ती, गाउँपालिका र नगरपालिका पुग्ने जिप पाइन्छन् । टाढाबाट आउने यात्रीले पनि बाघचोकलाई आधार बनाएर भेटघाट गर्ने गरेका छन् । तीमध्ये कतिपयले बाघको सालिक पृठभूमिमा पारेर सेल्फी खिच्दै सोधखोज गरिरहेका हुन्छन्– के बागलुङमा बाघ पाइन्छ ?

प्रकाशित : असार १०, २०७५ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?