मुलुककै शैक्षिक हब बन्दै धरान

प्रदीप मेन्याङ्बो

सुनसरी — करीब डेढ लाख जनसंख्या रहेको धरान उपमहानगरपालिकामा बाहिरबाट अध्ययन गर्न आउने विद्यार्थीको चाप पछिल्लो समय बढेको छ । धरानमा कृषि इन्जिनियरिङ, खाद्य प्रविधि, पोषण र आहार, चिकित्साशास्त्रको विषयमा उच्च तहसम्म अध्यययन गर्ने शैक्षिक संस्थाहरु भएकाले विद्यार्थीहरुको रोजाइ धरान परेको हो ।

मुलुककै शैक्षिक हब बन्दै धरान

यी बाहेक महेन्द्र बहुमुखी क्याम्पस र पिण्डेश्वर विद्यापीठमा पनि स्नातकोत्तर तहसम्म विभिन्न परम्परागत विषयको अध्यापन हुने गरेको छ ।


भविष्यमा स्कोप भएका, फरक विषय र समय, पैसा र मेहनतमा गरेको लगानी खेर नजाने विषय अध्ययन गर्न नयाँ पुस्ताका विद्यार्थीको आकर्षण बढेसँगै धरान प्रदेश १ को शैक्षिक हब बन्न थालेको छ । धरान बाहिरका विद्यार्थीहरुलाई मुलुकका अन्य शैक्षिक संस्थामा पठनपाठन नहुने कृषि इन्जिनियरिङ, खाद्य प्रविधि, पोषण तथा आहार र चिकित्साशास्त्रका विभिन्न विषयले तानेका कारण धरान शैक्षिक हब बन्न थालेको हो ।


कृषि इन्जिनिरिङ र पोषण तथा खाद्य प्रविधि विषयमा नेपालमै धरानमा मात्र पठनपाठन हुने गरेको छ । चिकित्साशास्त्रमा पनि अरु मेडिकल कलेजहरुमा भन्दा तेब्बर बढी २८ विषयहरु धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययन अध्यापन हुने गरेको छ ।


बुटवल देवीनगरकी रस्मी ज्ञवाली र सोलुखुम्बु नेचाका डिल्लिराम आचार्यले आफ्नो रुचिको विषय नेपालका अन्य शैक्षिक संस्थामा पठनपाठन नहुने भएकाले धरानमा आएको बताए । उनीहरु कृषि इन्जिनियरिङ पहिलो वर्षमा अध्ययनरत छन् ।

ज्ञवालीले भनिन्, 'प्लस टु पढेको बेला कृषि इन्जिनियरिङबारे कुनै जानकारी थिएन । प्लस टुको अन्तिम परीक्षा दिएपछि साथीहरुबीच अब के विषय लिएर पढ्ने भन्नेबारे छलफल भयो । साथीहरुबीच के पढ्दा शैक्षिक क्षेत्रमा लगानी गरेको समय, पैसा र आर्जन गरेको ज्ञान तथा सीप आफ्नो जीवन र समाजमा सदुपयोग गर्न सकिन्छ भन्ने छलफल भयो ।' धेरै विषयमध्ये कृषि इन्जिनियरिङले ध्यानाकर्षण गरेको उनले बताइन् । धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा कृषि इन्जिनियरिङ अध्ययन हुन्छ भन्ने थाहा पाएपछि प्रवेश परीक्षा दिएर पढ्ने अवसर पाएको उनको भनाइ छ ।


उनीजस्तै प्लस टु गरेपछि पोषणसम्बन्धी अध्ययन गर्न इटहरीको तरहराबाट आएका वसन्त राई आजभोलि खुशी छन् । आफूले रुचाएको विषय अध्ययन गर्न उनले धेरैजनासंग सोधीखोजी गरेका थिए । अन्त्यमा सिनियर साथीले दिएको सुझावका आधारमा धरानस्थित केन्द्रीय प्रविधि क्याम्पसमा सम्पर्क गर्दा स्नातकमा पोषणबारे पढाइ हुने जानकारी पाएपछि आफूले पोषण र आहार विषय पढ्ने अवसर पाएको उनले बताए । उनले भने, ‘पोषण विषय नेपालका लागि नितान्त नयाँ विषय हो । यसो त हात्तीसारमा मासु र डेरी प्रविधिमा स्नातकोत्तर तहसम्म पठनपाठन र अध्ययन अनुसन्धान हुँदै आएको छ । यद्यपि मलाई पोषण र आहारसम्बन्धी अध्ययन अनुसन्धान गर्न मन लागेरै यो विषय रोजेको हो ।’


बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बिरामीको उपचार गर्ने अस्पतालमात्र होइन । अनुसन्धान र उपचारसँगै चिकित्साशास्त्रमा अध्ययन अध्यापन प्रतिष्ठानको प्रमुख उद्देश्य हो । प्रतिष्ठानमा नेपाल र भारतसहित सार्क मुलुकका विद्यार्थीहरु चिकित्साशास्त्रमा एमबीबीएस, बीडीएसदेखि नर्सिङ र उच्च तहमा डीएम/एमसीएचसम्म अध्ययन गर्न आउने गरेका छन् । प्रतिष्ठानमा भारतीय विद्यार्थीसहित हाल १६ सय विद्यार्थीहरु एमबीबीएसदेखि एमडीसम्म अध्ययन गरिरहेका छन् ।

निजी क्षेत्रबाट ठूलो लगानीमा सञ्चालित सुनसरी टेक्निकल कलेजले स्वास्थ्य क्षेत्रमा प्राविधिक जनशक्ति उत्पादन गर्न हाल १८ महिने कोर्षदेखि स्नातकोत्तर तहसम्मका विभिन्न विषयका १८ वटा कार्यक्रम विस्तार गरेको छ । एउटै शैक्षिक संस्थाले यति धेरै कोर्ष सञ्चालन गरेको विरलै पाइन्छ । यसो त धरानमा तीन किलोमिटरको दुरीमा फरक फरक विषय पठनपाठन हुने शैक्षिक संस्था धेरै छन् ।


परम्परागत विषयहरु शिक्षा, विज्ञान, व्यवस्थापन, अंग्रेजी, नेपाली, राजनीतिशास्त्र, समाजशास्त्र, अर्थशास्त्र, संस्कृति तथा पुरातत्व, पत्रकारिता, भूगोल, इतिहास, संस्कृतदेखि होटल म्यानेजमेन्टसम्म पढ्ने विद्यार्थीको लर्को लाग्ने गरेको छ । यद्यपि, पछिल्लो समयमा बिकाउ विषयमा विद्यार्थीहरुको आकर्षण बढेको छ ।

आफ्नो रुचिको विषयमध्ये कृषि इन्जिनियरिङ, खाद्य प्रविधि, पोषण र सन्तुलित आहार, चिकित्साशास्त्र अध्ययन गर्न नेपालका विभिन्न जिल्लाबाट हजारौंका संख्यामा विद्यार्थीहरु यहाँ आउने गरेका छन् । केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका प्रमुख प्राडा धनबहादुर कार्कीले भने, ‘शिक्षामा अभिभावकको लगानीसँगै बिकाउ विषयतर्फ सबैको ध्यान केन्द्रित भएको छ । अध्ययन पूरा गरेपछि कतै न कतै राम्रो जागिर दिलाउने शिक्षातर्फ विद्यार्थीको आकर्षण बढेको छ । विद्यार्थीकै मागअनुसार हात्तीसारमा फूड टेक्नोलोजीमा चारवर्षे स्नातकदेखि स्नातकोत्तर तहसम्म र न्यूट्रिसन एन्ड डाइटिसियन विषयमा स्नातक कार्यक्रम सञ्चालन गरिएको छ ।’ उनका अनुसार ती विषयहरु अध्ययन गर्न प्लस टु सकिनसाथ मेचीदेखि महाकालीसम्मका विद्यार्थीहरु धरानमा आउने गरेका छन् ।

केन्द्रीय प्रविधि क्याम्पसबाट हालसम्ममा हजारभन्दा बढी खाद्य प्रविधिका दक्ष जनशक्ति उत्पादन भएका छन् । तीमध्ये करीब आधा प्रतिशत विदेशका विभिन्न खाद्य उद्योग र कलकारखानामा खाद्य प्राविधिकका रुपमा काम गरिरहेका छन् । बाँकी जनशक्ति स्वदेशकै विभिन्न खाद्य उद्योगका साथै खाद्य तथा गुण नियन्त्रण कार्यालयमा जागिरे जीवन बिताइरहेका छन् । स्वास्थ्यसम्बन्धी शैक्षिक केन्द्रको रुपमा विकास भएको प्रतिष्ठानमा नर्सिङदेखि स्नातकोत्तर तहसम्मका एनाटोमी, सामुदायिक औषधि, विधिविज्ञान, प्याथोलोजी, फर्माकोलोजी, एनेस्थेसिया, डर्माटोलोजी, नाककानघाँटी, जेनेरल प्राक्टिस, मेडिसिन, स्त्री तथा प्रसुती, आाखा, हाडजोर्नी, बालरोग, मानसिक रोग, रेडियोलोजी, सर्जरी, पेडोडोन्टिक्स, प्रोस्थोडोन्टिक्स, पेरियोडोन्टिक्सलगायत कार्यक्रम सञ्चालनमा छन् ।

प्रतिष्ठानका प्रवक्तासमेत रहेका हाडजोर्नी विभागका प्रमुख प्राडा पशुपति चौधरीले प्रतिष्ठानमा कुनै पनि रोगको उपचार गर्न सक्ने स्पेसियालिस्ट स्नातकोत्तर तहका एमडी/एमएस/एमडीएसदेखि डीएम/एमसीएच तहका सुपर स्पेसियालिस्ट जनशक्ति उत्पादन हुँदै आएको बताए । प्रतिष्ठानमा अधिकांश रोगका उपचार, डाइग्नोसिस र अनुसन्धान गर्न सकिने आधारभूत पूर्वाधार छन् । ती पूर्वाधारका आधारमा प्रतिष्ठानलाई सुपर स्पेसियालिटी सर्भिस दिन सक्ने अस्पतालको रुपमा विस्तार गरिएको हो ।

प्रतिष्ठानमा हाल चिचित्साशास्त्रमा विद्यावारिधिसम्मको अध्ययन, शोध गर्ने मेडिकल कलेज, दन्त चिकित्सा महाविद्यालय, नर्सिङ, स्नातकोत्तर तहको पब्लिक हेल्थ स्कुल, एप्लाइड साइन्सेजलगायत सञ्चालनमा छन् । प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियारले ती सबैलाई थप चुस्तदुरुस्त र पारदर्शी बनाएर गुणस्तरीय चिकित्साशास्त्र अध्ययन र अनुसन्धान गर्दै प्रभावकारी उपचार सेवा प्रदान गर्ने दक्षिण एशियाकै नमूना प्रतिष्ठान बनाउनेतर्फ ध्यान केन्द्रित गरेको बताए ।

सुपर स्पेसियालिटी सेवा विस्तारका लागि प्रतिष्ठानमा न्यूरोलोजी, न्यूरोसर्जरी, कार्डियोलोजी एन्ड कार्डियोथोरासिक सर्जरी, युरोलोजी, नेफ्रोलोजी, पल्मोनोलोजी, पेडियाट्रिक, मेटर्नल एन्ड चाइल्ड सेन्टर, ट्रमा सेन्टरजस्ता स्पेसियालिटी सेवा दिन प्रतिष्ठानमा पूर्वाधार छन् । नेपालका २० मेडिकल कलेजमध्ये प्रतिष्ठानका चिकित्सक र विद्यार्थीले गरेका रोगव्याधिमाथि वैज्ञानिक अनुसन्धान वार्षिकरुपमा चार सयको हाराहारीमा पुग्छ । अरु सबै मेडिकल कलेजको जोड्दा पनि यति पुग्दैन ।

कृषिमा यान्त्रिकीकरण गरी बढी उत्पादन गर्ने उद्देश्यले शैक्षिक सत्र ०५७ देखि धरानको पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा कृषि इन्जिनियरिङ विषय शुरु भएको हो । कृषि इन्जिनियरिङ पढाइ हुने यो देशको एउटै मात्र शिक्षालय हो । कृषि इन्जिनियरिङ कार्यक्रमका पूर्वसंयोजक यामकुमार राईले भने, ‘धेरैले कृषि विज्ञान र कृषि इन्जिनियरिङबीचको भेद छुट्याउन सकिरहेका छैनन् । रामपुरको कृषि विज्ञान क्याम्पसमा बालीनाली अध्ययन हुन्छ तर कृषि इन्जिनियरिङमा ती बालीनालीको उत्पादन बढाउन मद्दत गर्ने प्रविधि अर्थात् यान्त्रिकीकरणको अध्ययन हुन्छ ।’


उनका अनुसार कृषि इन्जिनियरिङमा बालीनाली उत्पादनका लागि पानी, मल, बीउ प्रयोगका लागि आधुनिक प्रविधि अपनाउने विषयसँगै यसको व्यवस्थापन, प्याकेजिङ, ब्रान्डिङ, लेबलिङसम्म अध्ययन हुन्छ । उनले धरानमा टेक्निकल युनिभर्सिटीको हब बनाउन पूर्वाधार भएको बताए ।

कृषि प्रधान मुलुक भने पनि कृषिलाई यान्त्रिकीकरण गर्ने कृषि इन्जिनियरिङ विषय नेपालमा भर्खरै मात्र प्रवेश गरेको उनले बताए । उनले भने, ‘उर्वर भूमिलाई भौतिक, रासायनिक क्षयीकरणबाट बचाउनका लागि पनि यो शिक्षा अहिलेको आवश्यकता हो । माटो, सिाचाइ र ऊर्जासँग सम्बन्धित रहेर कृषिका लागि चाहिने औजार तथा सामग्रीहरूको उत्पादनमा पनि सहयोग पुर्‍याउँदै आएको छ ।’


कृषि इन्जिनियरिङ सकेका जनशक्तिले विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरूमा काम गर्नेसँगै आफ्नै पनि रोजगार सिर्जना गर्न सक्ने खुबी राख्ने गरेका छन् । सिाचाइ विभाग, कृषि विभाग, भूसंरक्षण तथा वन मन्त्रालयलगायत सरकारी निकायहरूमा कृषि इन्जिनियरहरुको माग बढेको छ ।

कृषि इन्जिनियरिङ जस्तै धरानमा ०६७ सालदेखि केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा शुरु भएको पोषण तथा आहार विषय अधिकांश विद्यार्थीका लागि नयाँ विषय हो । क्याम्पस प्रमुख प्रा डा कार्कीले भने, ‘असन्तुलित आहार, खानेकुराको कमी वा कुपोषणको प्रभावलाई हटाउने उपाय निकाल्नु पोषण तथा आहार विषयको अध्ययन क्षेत्र हो ।’ पोषण र आहार विषय पढेका दक्ष जनशक्तिले अस्पताल, खाद्य उद्योग, नेपाल सरकार तथा गैरसरकारी संस्थाले चलाएको परियोजना र जनस्वास्थ्य कार्यक्रमहरूमा रोजगार पाउने गरेका छन् । उनले भने, ‘स्वदेश र विदेशका तारे होटलहरु, खाद्य उद्योग, खेलकुद क्लब, जिमखाना, आर्मी तथा विद्यालयका होस्टललगायत अन्य क्षेत्रमा पोषण विज्ञको अत्यधिक माग छ । यो विषय अध्ययन गरेका जनशक्तिको माग तत्कालका लागि भने नेपालमा भन्दा विदेशमा बढी छ ।’


केन्द्रीय प्रविधि क्याम्पसमा पोषण र आहारका अतिरिक्त भूविज्ञान, मासु, दूध, इन्डिजिनियस खाद्य पदार्थलगायतमा फूड टेक, बीटेक, एमटेकसम्म अध्ययन अनुसन्धान हुने गरेका छन् । यी सबै विषय प्राविधिक भएकाले रोजाइमा परेको प्राडा कार्कीले बताए ।


धरानमा सरकारी स्तरबाट फरक विषयको अध्ययन अध्यापन हुने शैक्षिक केन्द्रहरु भए पनि निजी लगानीबाट सञ्चालन भएका ठूला शैक्षिक केन्दको अभाव भएको महेन्द्र बहुमुखी क्याम्पसका सहप्राध्यापक डा राजेन्द्र शर्माले बताए । उनले भने, ‘आफूलाई शिक्षा क्षेत्रमा हबको रुपमा स्थापित गर्न धरानले निजी क्षेत्रका ठूला लगानीकर्तालाई पनि आकर्षित गर्न जरुरी छ । सरकारी लगानीले पूर्वाधार तयार गरेको छ । अब स्वदेश र विदेशका नाम चलेका युनिभर्सिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्थाहरु पनि धरानमा स्थापना हुन जरुरी छ । यसका लागि प्रदेश सरकार, स्थानीय सरकारले कानून बनाउनु आवश्यक छ ।’ उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आफै पनि युनिभर्सिटीको हैसियतमा भएपनि कानूनी रुपमा त्यो हैसियत प्राप्त गर्न नसकेको बताए । केन्द्रीय प्रविधि क्याम्पस, कृषि इन्जिनियरिङजस्ता शैक्षिक संस्थालाई अपग्रेड गर्न पनि जरुरी छ ।’

धरान उपमहानगरपालिकाले फरक र जीवन उपयोगी विषयलाई उच्च अध्ययन केन्द्र बनाउन आफ्नो राजपत्रमा प्रकाशित नै गरिसकेको छ । राजपत्रमा भनिएको छ, ‘धरानका सबै उच्च शिक्षा अध्ययन केन्द्रहरूलाई बाह्य विद्यार्थीको आकर्षणको केन्द्रका रूपमा विकास गर्न सहकार्य गरिने छ । विशेष शिक्षाका केन्द्रहरूको व्यवस्थापनमा जोड दिइने छ ।’

धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाले भने, ‘हामीले धरानलाई शैक्षिक केन्द्र बनाउन यहाँका अन्य शैक्षिक संस्थाहरुसाग सहकार्य गर्ने नीति बनाएका छौं । सोही नीतिअनुसार स्थानीय सरकारले आफ्ना काम कारवाही अगाडि बढाउने छ ।’

प्रकाशित : असार १०, २०७५ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?