कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कष्टकर तर रोमाञ्चक

सगरमाथा शिखरमा पुगेपछि यो गर्छु र त्यो गर्छु भन्ने फुर्सदै हुँदो रहेनछ । कसरी सकुशल फर्किने भन्नेतिर ध्यान जाँदो रहेछ ।

काठमाडौँ — केहीअघि पाँच महिला सञ्चारकर्मीहरू संसारकै सर्वोच्च शिखरतिर उक्लिँदै थिए । क्याम्प ४ मा पुग्दा देउराली चाम्लिङ मासिकस्रावको चपेटामा परिन् । मुटु कठयांग्रिने चिसो अनि थरथर काम्दै गरेको कमजोर शरीर । यही बेला अक्सिजन सकियो ।

कष्टकर तर रोमाञ्चक

‘अब मरिन्छ क्यारे,’ उनले आत्तिँदै सोचिन्, ‘ज्यानभन्दा ठूलो कीर्तिमान पक्कै होइन ।’ जसै उनी फर्किने निधोमा पुग्दै थिइन्, त्यही बेला गाइड लाक्पानुरु शेर्पाले आफ्नै मुखको अक्सिजन निकालेर दिए । ‘त्यो निकै भावुक क्षण थियो,’ सफल सगरमाथा आरोहरणपछि राजधानी फर्किएकी देउरालीले तीन साताअघिको घटना सम्झिइन्, ‘सलाम शेर्पा दाइ ! उहाँ नहुनुभएको भए म सायद अहिले यहाँ नहुन पनि सक्थें ।’


धरानबाट स्वतन्त्र पत्रकारितामा रम्दै राजधानी पसेकी देउरालीसँगै अन्य तीन सफल आरोही सञ्चारकर्मीहरू पनि आफ्ना अनुभव सुनाउने क्रममा थिए । यिनीहरूको सगरमाथा यात्राको सुरुवाती अवधारणा भने पत्रकार रोशा बस्नेतबाट भएको थियो । उनकै अवधारणामा देउरालीसँगै भीजे रोजिता बुद्धाचार्य, कल्पना महर्जन, प्रियालक्ष्मी कार्की गरी पाँच पत्रकार जोडिन आइपुगे । यी पाँचमध्ये प्रियालक्ष्मी बीचैमा बिरामी परिन् र उनले चुचुरो टेक्न पाइनन् । बाँकी चार पत्रकारले सामूहिक रूपमा सगरमाथामा पाइला राखे । ‘म निराश भएको बेला हिम्मत दिने तिनै शेर्पा दाइ थिए,’ देउरालीले भनिन्, ‘हिमालमा शेर्पाको साथ निकै अर्थपूर्ण हुँदो रहेछ ।’


चुचुरो चुम्नेबित्तिकै देउरालीले आमा सम्झिइन् रे । आकाश, हिमाल, पहाड, घाम सबै आफूभन्दा निकै तलै देखेको क्षण निकै अविस्मरणीय थियो । ‘त्यहाँ पुगेपछि त्यो गर्छु र यो गर्छु भन्ने फुर्सद नै हुँदो रहेनछ,’ उनले सुनाइन्, ‘कसरी फर्किने भन्ने चिन्तातिर ध्यान जाँदो रहेछ ।’


हालैको दिन रोशा बस्नेतचाहिँ मस्त निद्रामा थिइन्, ओछ्यानमा । सपनामा उनी सगरमाथामा हिउँ खेलिरहेकी थिइन् रे । पहेंलो घामको झुल्को, काँचजस्तै चम्किला हिमालका चुचुरा अनि चिसो हावा । यत्तिकैमा कसैले बोलाएको आवाज आयो । ‘ब्युँझिँदा ओछ्यानमा थिएँ,’ उनले भनिन्, ‘यति कष्टकर तर रोमाञ्चक अनुभव बटुलियो कि सपनामा पनि आउन छोडेको छैन ।’


एक दशकअघि मोरङबाट पत्रकारिता पढ्न काठमाडौं आएकी रोशा हाल राष्ट्रिय समाचार समितिमा कार्यरत छिन् । महिलाहरू कोमल र कमजोर मात्रै हुँदैनन् भन्ने देखाउन आफूहरूले हिम्मत गरेको उनले सुनाइन् । ‘जब माइनस ४० डिग्रीको चिसो झेल्दै चुचुरो पुगियो,’ उनले सुनाइन्, ‘कम्मरमा दुवै हात राखेर लामो सास तानें । यसपछि भगवान सम्झें, अनि आमा–बुबा र पुर्खाहरू सम्झें ।’ चुचुरोमा उनीसँगै देउराली पनि थिइन् । दुवैले आधा घण्टा बिताए, तस्बिर लिए । ‘चढ्नु जति कठिन थियो, झर्नु उत्तिकै चुनौतीपूर्ण,’ रोशाले भनिन्, ‘त्यही भएर राम्रोसँग तल ओर्लिन सकूँ भन्दै भगवानसित बल मागें ।’


देउराली र रोशा चुचुरो छेवैमा पुग्दै गर्दा रोजिता र कल्पनाचाहिँ सगरमाथा चुमेर तल फर्किंदै थिए । देउराली र रोशाले एकैसाथ सोधे, ‘माथि कति समय बस्न सकिने रहेछ ?’
रोजिताले भनिन्, ‘मलाई गाह्रो भइरहेको छ, तल ओर्लिन देऊ ।’ रोशाका अनुसार कल्पनाले चाहिँ ‘बधाई †’ को जवाफ पनि दिन भ्याइनन् । जसरी पनि सकुशल तल ओर्लिने ध्याउन्नमा थिए सबै जना । जब उनीहरू २० मिनेटको दूरी तल हिलारी स्टेपमा आइपुगे, रोशा चिप्लिएर लडिन् । हतारहतार उनका सहयोगी डाकिपा शेर्पाले उनलाई तानेर बचाए । ‘डबल रिङमा नरहेको भए पनि मेरो जीवनको यात्रा त्यही टुंगिन्थ्यो,’ रोशाले भनिन् ।


कल्पनाका अनुसार, सर्वोच्च चुचुरोमा पुगेपछि ‘यो गर्छु र त्यो गर्छु भन्ने फुर्सदै हुँदो रहेनछ, ।’ जब उनले चुचुरो चुमिन्, उनका आँखाभरि आँसु थियो । सुरुमा त्यो खुसीको आँसु थियो, पछि भने आक्रोश आँसुका रूपमा बदलियो । ‘सगरमाथा त भगवान्जस्तै हो नि,’ उनले भनिन्, ‘तर, चुचुरोवरिपरि फोहोरैफोहोर देख्दा मनभित्र आक्रोश फैलियो ।’ यद्यपि उनले पनि आधा घण्टाको अवधिमा सगरमाथाको सौन्दर्य आँखाले भ्याएसम्म हेरिन् । बादल र हिमालहरू निकै तल थिए ।


कुराकानीका क्रममा प्रियालक्ष्मी निकै उत्साहित थिइन् । उनी साथीहरूकै सफलतामा खुसी छिन् । बेस क्याम्पमा पुगेपछि बिरामी परेका कारण उनले बाँकी यात्रा तय गर्न सकिनन् । उनको छातीमा पानी जमेको थियो । ‘जब म सकुशल घर फर्किएर आएँ नि,’ उनी भावुक बनिन्, ‘जीवनको महत्त्व कति रहेछ भन्ने थाहा पाएँ । चुचुरोमा पाइला राख्न नसके पनि ठूलो ज्ञान लिएकी छु ।’

‘टाकुरामा देखें आमा–बुबालाई’


रोजिता बुद्धाचार्य

सहरका रंगमञ्चमा प्राय: भावुक भूमिकामा देखिन्थिन् रोजिता । पछिल्लो समय रवीन्द्रनाथ टैगोरको ‘मालिनी’ मा मूलपात्र बनेकी उनको अभिनयलाई धेरैले प्रशंसा गरेका थिए । साहित्यकार झमककुमारी घिमिरेको बायोपिकमा उनी झमक बनेकी छन्, फिल्म रिलिजको पर्खाइमा छ । सानैमा आमा गुमाउनुपरेका कारण उनी सधैं भावुक मनोदशामै हुर्किइन् । तर, उनी ‘कोमल मन, कमजोर पन’ जस्ता धारणालाई चिर्न चाहन्थिन् । प्रभावकारी गन्तव्य बन्यो, सगरमाथा आरोहण ।


‘हिमाल चढ्दाचढ्दै मेरो त डोरी नै झर्‍यो,’ उनले सुनाइन्, ‘म त आत्तिएर रुन थालिछु ।’ तर, उनले हिम्मत हारिनन् । ‘रुँदै हिमाल चढें,’ उनले भनिन्, ‘जब चुचुरोमा पुगें, टाकुरामा आमा र बुबाको अनुहार देखें । सायद स्वर्गबाट आमाले हेरिरहनुभएको थियो ।’ मान्छेले आँट गर्न सक्यो भने केही कुरा असम्भव नरहेको पाठ उनले सगरमाथा आरोहणपछि सिकेकी छन् । हिमाल चढेर फर्किएलगत्तै उनको स्वर भासिएको थियो । साथीहरू भेट्न आउँथे, तर उनीसँग फर्काउने आवाज थिएन । केही समयका लागि आवाजविहीन हुनुपर्‍यो ।


उनले पनि आफ्ना गाइड फुर्वा शेर्पाको प्रशंसा गरिन् । यति बेला उनी इटालीमा छिन् । त्यहाँ सगरमाथा चढ्दाको अनुभव सुनाउँदा मानिस छक्क परेको उनले म्यासेन्जरमा बताइन् । आधा दर्जन नाटक खेलिसकेकी उनी अब बिस्तारै रंगमञ्चतिरै फर्किने योजनामा छिन् ।

प्रकाशित : असार २०, २०७५ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?